हरेक ब्रान्डको आफ्नो आयु हुन्छ। हजुरबुबाको पालामा ख्याति कमाएको ब्रान्ड नातिको पालासम्म आइपुग्दा बन्द भइसकेको हुनसक्छ, वा बन्द नभए पनि लोकप्रियता घटिसकेको हुनसक्छ। यस्ता उदाहरण हामी धेरै भेट्छौं।
केही ब्रान्ड भने यस्ता हुन्छन्, जुन हजुरबुबादेखि नातिसम्म आइपुग्दा पनि त्यसको ख्याति घटेको हुँदैन, बरू झन् झन् बढेको हुन्छ।
तिनैमध्ये एक हो, नारायण दाइको मःम पसल।
२०१९ सालमा खुलेको यो काठमाडौंकै पुरानो मःम पसलमध्ये एक हो। कम्तिमा चार पुस्तालाई मःमको स्वाद चखाइसकेको यो पसलको सुरूआत मासँ गल्लीबाट भएको थियो। तेस्रो पुस्तासम्म आइपुग्दा यसका नौ वटा शाखा पुगिसकेका छन्। हाल प्याफल, झोछेँ, नयाँबानेश्वर, पुतलीसडक, मंगलबजार, एकान्तकुना, दरबारमार्ग लगायत काठमाडौं उपत्यकाका आठ ठाउँमा र पोखरामा एउटा शाखा छ।
जब नयाँ पुस्ताले आफ्नो पुर्ख्यौली व्यवसाय नयाँ ढंगमा विस्तार गर्ने निधो गरे, उनीहरूले नाम दिए — नारायण दाइको मासँ गल्लीको फेमस मःम।
यो स्टोरीमा म काठमाडौंको यही मःम पसलको विगत र वर्तमानबारे चर्चा गर्दैछु।
यो पसल अहिले नारायण दाइका छोरी, ज्वाइँ र नातिहरूले चलाइरहेका छन्। उनका ६ जना छोरी छन्। तीमध्ये जेठी छोरी पुनम मालाकार र काइँली छोरी पुष्पा डंगोलको परिवार मःम व्यवसायमा संलग्न छन्। नारायण दाइको निधनपछि सुस्ताएको व्यवसायलाई छोरी–ज्वाइँ र नातिहरूले सञ्चालन गर्ने निधो गर्दै पहिलो विस्तार वसन्तपुरबाट गरेका थिए।
मैले यो स्टोरीको निम्ति जेठी छोरी पुनम र उनका श्रीमान निरोज मालाकारसँग कुरा गरेकी छु।

सबभन्दा पहिला विगतको कुरा गरौं।
जति बेला मासँ गल्लीमा नारायण दाइको मःम पसल खुल्यो, काठमाडौंमा मःम बेच्ने पसलहरू औंलामा गन्न सकिने संख्यामा थिए। मःम काठमाडौंको लोकप्रिय खाजा भए पनि यसले व्यावसायिक रूप लिइसकेको थिएन। त्यसमाथि त्यति बेला पसलमा बेचिने मःमको आकार पनि सानो हुन्थ्यो।
'बुबा (नारायण दाइ) ले त्यो समयका लागि एउटा चुनौतीपूर्ण निर्णय लिनुभयो,' २०५१ सालदेखि व्यवसायमा जोडिएका जेठो ज्वाइँ निरोजले भने, 'उहाँले अरू ठाउँको भन्दा ठूलो आकारको मःम बेच्ने गरी न्यूरोडको मासँ गल्लीमा पसल खोल्नुभयो।'
उनका अनुसार त्यति बेला एक प्लेटमा १२ वटा मःम दिइन्थ्यो र सुरूको मूल्य १ रूपैयाँ ५० पैसा थियो।
'कुनै ब्रान्ड चल्न वर्षौं लाग्छ। कुनै ब्रान्डले वर्षौं बित्दा पनि बजार लिन सक्दैन। तर नारायण दाइको मःम पसल कम समयमै हिट भयो,' उनले भने, 'त्यति बेला बुबाको हातबाट मःम खाएका धेरै जना अहिले पनि हामीकहाँ आउनुहुन्छ र बुबालाई सम्झनुहुन्छ।'
अहिले हामी काठमाडौंका मःम पसलमा ठूलो आकारको भाँडा प्रयोग गरिएको देख्छौं। एकैचोटि दर्जनौं प्लेट मःम पाक्ने त्यस्ता ठूला भाँडा त्यति बेला पाइन्थेन। त्यही भएर त्यो बेलाका मःम पसलले घरमा प्रयोग हुने सानो आकारको भाँडामै पकाउँथे। नारायण दाइले त्यसमा ठूलो परिवर्तन ल्याए।
उनले महाबौद्ध गएर ठूलो आकारको डेक्ची किने र प्वाल–प्वाल पारेर मःम पकाउने भाँडामा रूपान्तरण गरे। यसरी तयार पारिएको भाँडामा एकैचोटि ३०–४० प्लेट मःम पकाउन सकिने भएपछि आएका ग्राहक फर्काउनुपरेन।
यसले नारायण दाइको पसलमा ग्राहकको भिड बढ्दै गयो।
भिड बढ्दै गएपछि उनले कुपन प्रणाली लागू गरे। काठमाडौंमा कुपन प्रणाली लागू गर्ने पहिलो मःम पसल यही भएको निरोज बताउँछन्।
उनका अनुसार त्यति बेला कोकको बिर्कोलाई कुपनका रूपमा प्रयोग गरिन्थ्यो। बिर्को पछाडि नम्बर लेखेर ग्राहकलाई दिइन्थ्यो। ग्राहकहरू त्यही नम्बरका आधारमा पालो कुरेर बस्थे। कतिपय ग्राहक त न्यूरोडको रञ्जना हलमा फिल्म हेर्न जानुअघि नारायण दाइको मःम पसल आएर कुपन लिन्थे र फिल्म हेरिसकेपछि त्यही कुपन देखाएर मःम खान आउँथे।
त्यो जमानामा नारायण दाइले सुरू गरेको कुपन प्रणालीलाई उनका छोरी–ज्वाइँ र नातिहरूले आधुनिक शैलीमा निरन्तरता दिइरहेका छन्। अहिले नारायण दाइको मःम पसलमा कुपन वितरण गर्न कम्प्युटर सफ्टवेयर जडान गरिएको छ। ग्राहकले पसलमा छिर्नेबित्तिकै पैसा तिरेर कुपन लिन्छन् र त्यसमा लेखिएको नम्बर हेर्दै पालो कुरेर बस्छन्।
यस्तो सफ्टवेयरले ग्राहकलाई मात्र होइन, दिनमा कति मःम बिक्री भयो भनेर हिसाब निकाल्न पनि सजिलो भएको निरोज बताउँछन्।
नारायण दाइको मःम व्यवसायलाई निरन्तरता दिइरहेको नयाँ पुस्ताले कुपन प्रणाली सँगसँगै अचारको स्वाद पनि तलमाथि हुन दिएको छैन।
कुनै पनि मःमलाई विशेष बनाउने अचारको स्वादले नै हो। नारायण दाइको मःमलाई पनि झोल अचार र खुर्सानीको पिरो धूलोले खास बनाएको छ। सुरूआतदेखि नै यहाँको झोल अचार र पिरो खुर्सानीको धुलो सबैले रूचाएका थिए। नयाँ पसलहरूमा यी दुवै अचार कायम छन्। यहाँ आउने पुरानो पुस्ताका ग्राहक नारायण दाइको पालामा अचारको स्वाद जस्तो थियो, अहिले पनि त्यस्तै रहेको बताउँछन्।


नारायण दाइको विशेषता के थियो भने, उनी आफ्नो मःम र अचारको स्वादमा सम्झौता गर्थेनन्। कुनै ग्राहकले आज नुन चर्को छ वा नुन कम छ भन्यो भने उनी बाँकी बचेको किमा जम्मै फालेर पसल नै बन्द गर्थे।
सरसफाइमा पनि उनको विशेष ध्यान रहन्थ्यो। आफू पनि सफा बस्थे, पसल पनि सफा राख्थे।
नारायण दाइका यी दुवै गुण नयाँ पुस्तामा सरेका छन्। सबै आउटलेटमा मःम र अचारको स्वाद उस्तै छ। डिजाइन र सरसफाइमा पनि समानता भेटिन्छ।
सायद पुस्तैनी हस्तान्तरण भएका यिनै गुणले हो, 'नारायण दाइको मासँ गल्लीको फेमस मःम' नाम राखेर वसन्तपुरमा खुलेको पहिलो पसल सुरूकै महिनाबाट सुपरहिट भएको थियो। सानो चिटिक्क परेको कोठामा खोलिएको पसलको डिजाइन नै धेरैले रूचाएका थिए। धेरै मान्छे यहाँ आएर मःम खान्थे र सँगसँगै फोटो खिचेर सामाजिक सञ्जालमा सेयर गर्थे। तिनै फोटो देखेर ग्राहक बढ्दै गए।
मासँ गल्लीमा नारायण दाइको हातबाट मःम खाएकाहरू पनि उनकै नाममा खुलेको यो पसल फर्की फर्की आउन थाले। यसले लोकप्रियता झन् झन् बढ्दै गयो। सुस्ताइसकेको व्यवसायले नयाँ गति लिन थाल्यो।
'अहिले पनि पुरानो पुस्ताका ग्राहक बुबालाई नामैले चिन्छन्,' निरोजले भने, 'कतिपय ग्राहक त आफू बच्चा बेलादेखि नै बुबा र हजुरबुबासँग यहाँ मःम खान आउँथेँ भन्नुहुन्छ। त्यो सुन्दा हामीलाई खुसी लाग्छ। नयाँ पुस्ताले पनि यहाँ आएर मःम खान थालेपछि उहाँका बारेमा चासो राख्छन् र सोधीखोजी गर्छन्।'
उनका अनुसार नयाँ आउटलेट खोल्दा सबभन्दा बढी लगानी आन्तरिक सजावटमा भयो। अहिलेसम्म ५० देखि ६० लाख रूपैयाँ लगानी भएको उनी बताउँछन्।
यहाँ आउने धेरै ग्राहक स्थानीय हुन्। त्यसबाहेक विदेशीहरू पनि बेला बेला आइरहन्छन्। विभिन्न वेबसाइटमा नारायण दाइको मःम पसलबारे पढेका विदेशी खोजी खोजी आउने गरेको निरोजको भनाइ छ। यो काठमाडौंकै पुरानो मःम पसलमध्ये एक भएकाले विदेशी पर्यटकहरूको आकर्षण केन्द्र रहेको उनको भनाइ छ।
'कतिपय विदेशी त हामीकहाँ आएर मःमको इतिहास, पकाउने तरिका र काठमाडौंको जीवनशैलीसँग यसको सम्बन्धबारे जान्न खोज्छन्,' उनले भने, 'हामी पनि आफूलाई थाहा भएका कुरा बताइदिन्छौं।'
पहिले पहिले बफ (राँगाको मासु) मःम मात्र पाइने नारायण दाइको पसलमा अहिले चिकेन (कुखुराको मासु) र साकाहारी मःम पनि पाइन्छ। यसबाहेक छोयला र अरू नेवारी परिकारहरू पनि पाइन्छन्।

नारायण दाइका सबै मःम आउटलेटमा स्वाद एकनास हुनुको एउटा कारण किमा पनि हो। उनीहरू गौशालास्थित कारखानामा किमा तयार पार्छन् र बिहानै सबै आउटलेटमा पठाउने गर्छन्। मासु किन्नदेखि त्यसमा मरमसला मोल्नमा पनि विशेष ध्यान दिँदै आएका छन्।
जहाँसम्म व्यापारको कुरा छ, हरेक आउटलेटमा दैनिक दुई सयदेखि तीन सय प्लेट मःम बिक्री हुने निरोज बताउँछन्। अहिले मःम प्लेटको १६० देखि २४० रूपैयाँ पर्छ।
नारायण दाइको मःम पसलका सबै आउटलेटमा करिब ७५ जना कर्मचारी छन्। सबै पसल बिहान १२ देखि राति ८ बजेसम्म खुल्छ। प्राय: दिनैभरि ग्राहकको आउजाउ भइरहन्छ। बढी भिड लाग्ने साँझतिर हो। पछिल्लो समय फुडमान्डूसँग मिलेर घर–घरमा मःम डेलिभरी गर्न पनि थालिएको छ।
नयाँ पुस्ताका व्यवसायी अब नारायण दाइको मःम पसललाई अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी गर्दै छन्। अहिले नेपालीहरू अध्ययन र रोजगार सिलसिलामा संसारभरि फैलिसकेकाले अन्य देशमा पनि मःमको माग बढेको निरोज बताउँछन्।
'अब हामी विदेशमा नयाँ आउटलेट खोल्न गृहकार्य गर्दैछौं,' उनले भने।
***
सबै तस्बिर: आर्या श्रेष्ठ/सेतोपाटी
