काठमाडौंकी आशा भण्डारी नवजात शिशुदेखि सात वर्ष उमेरसम्मका बालबालिकालाई चाहिने सबै खाले लुगा बनाउँछिन्। गर्भवती र सुत्केरी आमाका लागि गाउन पनि बनाउँछिन्।
उनको व्यवसायको ब्रान्ड नाम हो 'बुलबुल'।
यसको कारखाना काठमाडौंको रातोपुलमा छ। यहीँबाट अनेक डिजाइनका लुगा तयार हुन्छन्।
'हाम्रा थुप्रै डिजाइन छन्। ग्राहकले भने अनुसार डिजाइन पनि गर्छौं,' आशाले भनिन्, 'गर्भवती, सुत्केरी, शिशु र बालबालिकाका गुणस्तरीय लुगा उपलब्ध गराउन बुलबुल सुरू गरेकी हुँ।'
बुलबुलमा हाल मलमल, कटन, रेवन लगायत कपडाबाट ४० भन्दा बढी डिजाइनका लुगा तयार हुन्छ। नवजात शिशुका लागि दौरासुरूवाल, परम्परागत ढाका सेट, सर्ट, फ्रक, नाइट ड्रेस, पास्नी ड्रेस इत्यादि बन्छ। आमाका लागि खास्टो, गाउन, फ्रक आदि बन्छ।
यी लुगाको एक हजार चार सय ५० रूपैयाँदेखि साढे चार हजार रूपैयाँसम्म पर्छ। बुलबुलबाट पसलका लागि थोकमा पनि बिक्री हुन्छ।
'बुलबुलका उत्पादन छोटो समयमै बजारले रूचाएको छ। कपडाको गुणस्तर र लुगाको डिजाइनमा ध्यान दिएकाले बुलबुल ग्राहकको रोजाइमा परेको हो,' उनले भनिन्।


आशाले बुलबुल चलाएको एक वर्ष मात्र हुँदैछ। यो छोटो अवधिमा बुलबुलका उत्पादन काठमाडौं उपत्यकासँगै विराटनगर, धरान, इटहरी, पोखरा, भरतपुर लगायतका सहरमा पुगेको छ। विदेशबाट पनि खासगरी 'मामु–छोरी सेट' र नवजातका शिशुका लुगाको माग आउने उनले बताइन्।
'विदेशबाट पनि राम्रो प्रतिक्रिया पाइरहेकी छु,' उनले भनिन्, 'अब छिट्टै ठूलो परिमाणमा बुलबुलका लुगा विदेश पुर्याउने योजना छ। तयारी गर्दैछौं।'
बुलबुलमा हाल मासिक सरदर एक हजार पाँच सय थान लुगा उत्पादन भइरहेको छ। ग्राहकको अर्डर अनुसार उत्पादन क्षमता बढाउँदै लगेको उनले बताइन्।
लुगाको यो व्यवसायका अतिरिक्त आशा निकै लामो समयदेखि शिक्षण पेसामा छिन्। उनी बिहान क्याम्पस पढाउँछिन्।
तीन वर्षअघि आफू आमा भएपछि उनलाई लुगा व्यवसायको अवाधारण आएको हो। आफ्नो बच्चाका लागि गुणस्तरीय र राम्रो डिजाइनको लुगा खोज्ने र किन्ने क्रममा उनले व्यवसायको सोच बनाएकी थिइन्।
'बच्चा भएपछि हरेक आमालाई आफ्नै कुनै व्यवसाय गरूँ भन्ने लाग्छ, मलाई पनि त्यस्तै भएको हो,' उनी भन्छिन्, 'बजारबाट किनेर ल्याएको लुगा गुणस्तरीय लागेन। डिजाइन पनि चित्त बुझेन। यस्तै कारणले गुणस्तरीय लुगा उत्पादन गर्ने योजना बनेको हो।'
उनले शिक्षणसँगै केही वर्ष मार्केटिङको पनि काम गरेकी थिइन्। यस कारण बजारबारे केही जानकारी थियो।


सुरूमा उनले एउटा ब्रान्डसँग सहकार्य गरेर काम अघि बढाइन्। त्यसो गर्दा आफूलाई सहज होला भन्ने उनको अपेक्षा थियो तर एक वर्षको सहकार्य फलदायी भएन।
अन्ततः उनी सहकार्य त्यागेर एक्लै अघि बढ्ने निर्णयमा पुगिन्। एक वर्षमा केही लगानी फसेको थियो, पछि हट्ने अवस्था थिएन। आफ्नो केही गहना बेचेर दुई लाख रूपैयाँ जुटाइन्।
उनले बेबी क्लोदिङ (बालपोसाक) मा काम गर्ने आफ्नो निर्णय अनुसार श्रीमानलाई पनि सहयोगको प्रस्ताव गरिन्। कुरा सुनेर सुरूमा श्रीमानले अनुभव नभएको काममा नलाग्नू राम्रो भन्ने राय दिए।
आशाले आफ्नो योजना र मार्केटिङको अनुभव सुनाइन्। एक वर्षको सहकार्यको कुरा पनि गरिन्।
'राम्रो कलेजमा पढाइरहेकी छ्यौ, सबै राम्रै भएको छ, अनुभव नभएको व्यवसायमा लागेर दुःख नगर भनेर सम्झाउनुभयो,' उनले भनिन्, 'मैले आफ्नो सबै कुरा सुनाएपछि उहाँ सहमत हुनुभयो।'
यति भएपछि आशाले आफ्नै घरबाट व्यवसायको काम सुरू गर्ने तयारी गरिन्। आवश्यक सामान जुटाइन्। पहिलो खेपमा ५० हजार रूपैयाँको मलमल कपडा किनिन्।
शिशुको दौरा–भोटो सेटबाट काम सुरू गरिन्। कटिङ र सिलाइका लागि तीन जना महिला नियुक्त गरिन्। एक सातामा ८० जोर दौरा–भोटो सेट तयार भयो।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी


'कपडा लगेर दिदीबहिनीलाई दिएँ। उहाँहरूले मैले दिएको डिजाइन अनुसार तयार गरिदिनुभयो,' आशाले भनिन्, 'अब बजारसम्म पुर्याउन र ब्रान्ड बनाउन चुनौती थियो। झोलामा लुगा बोकेर बजारतिर हिँडेँ।'
उनले सामाजिक सञ्जालबाट पनि प्रचार गरिन्।
यति भएपछि उनले व्यवसायलाई घरबाट बाहिर निकाल्ने निर्णय गरिन्।
'व्यवसाय गर्नु नै छ भने बन्द कोठामा बसेर हुँदैन। उपयुक्त ठाउँमा सार्ने निर्णय गरेर घरबाट बाहिर निस्किएँ,' उनले भनिन्, 'लुगा सिलाइ र बिक्री दुवैका लागि मैतीदेवीमा पसल राखेँ।'
थोक र खुद्रा दुवै व्यापार गर्ने गरी क्रमशः उत्पादन बढाइन्। शिशु र बालबालिकाका लुगा बेच्ने पसलसँग सहकार्य गर्दै अघि बढिन्। व्यवसायको गति बढ्यो।
यसरी सुरू बुलबुलमा हाल १३ जना महिला काम गर्छन्।
'छिट्टै एउटा पसल खोल्ने योजना छ। भविष्यमा बुलबुललाई बेबी क्लोदिङमा नम्बर वान ब्रान्ड बनाउने लक्ष्य छ,' आशाले भनिन्।






(बुलबुल क्लोदिङको इन्स्टाग्राम पेजमा जान यहाँ क्लिक गर्नुहोस्)