आजभोलि घुम्ने–खाने नयाँ ठाउँ पत्ता लगाउन हामी सामाजिक सञ्जाल चहार्ने गर्छौं। कतै नयाँ ठाउँ खुलेको छ कि भनेर साथीहरूलाई पनि सोध्छौं।
यसरी नै नयाँ ठाउँ खोज्दै गर्दा श्रीःघमा खुलेको फालुदा पसलको भिडिओ मेरो टिकटकमा आयो। पहिलो ग्राहकलाई एक कप फालुदा नि:शुल्क दिने भनेर प्रचार गरिएको भिडिओले मलाई आकर्षित गर्यो।
'फालुदा' भन्ने नाम सुनेर म जस्तै तपाईंहरूलाई पनि उत्सुकता भयो होला — यसको स्वाद कस्तो हुन्छ? के–के प्रयोग गरेर बनाइन्छ?
यिनै प्रश्नको उत्तर जान्न र फालुदा चाख्न म श्रीःघमा भर्खर भर्खरै खुलेको 'द फालुदा प्वाइन्ट' गएँ।
झट्ट हेर्दा फालुदा रंगीन लस्सी वा आइसक्रिमजस्तै देखिँदो रहेछ। खाँदा पनि लस्सी वा आइसक्रिमकै स्वाद आउँदो रहेछ।
आँत शीतल बनाउने फालुदा चाख्दै गर्दा मेरो भेट यसका सञ्चालक प्रफुल राजभण्डारीसँग भयो।
२९ वर्षका प्रफुलले आफ्नी श्रीमती रबिना श्रेष्ठ राजभण्डारीसँग मिलेर असोज २५ गतेबाट यो व्यवसाय सुरू गरेका हुन्।
प्रफुल र रबिनाको विवाह डेढ वर्षअघि भएको थियो। विवाहअघि उनीहरू आ–आफ्नै व्यवसाय गर्थे।
रबिना 'भिन्तुना कलेक्सन' नामको जुत्ता पसल चलाउँछिन् भने प्रफुलको 'क्राफ्ट टू क्राफ्ट' नामको पसल छ, जहाँ उनी हस्तकलाका विभिन्न सजावट सामग्री बनाएर बेच्ने गर्छन्।
यसरी फरक फरक व्यवसाय गरिरहेका यी दम्पतीलाई फालुदा व्यवसाय गर्ने आइडिया कसरी आयो?
मेरो यो प्रश्नमा प्रफुलले भने, 'हामी दुवै आ-आफ्नो पसललाई चाहिने सामान भारतबाट ल्याउँछौं। त्यसका लागि बिहेपछि दुई पटक दिल्ली गइसकेका छौं। दिल्ली जाँदा थरी थरीका परिकार चाख्ने गर्छौं। फालुदा पनि पहिलो पटक दिल्लीमै चाखेका हौं। एकचोटि खाएपछि यसको स्वाद जिब्रोमै झुन्डियो।'
पछिल्लोचोटि अगस्टमा दिल्लीबाट फर्केपछि नेपालमा फलुदा व्यवसाय सुरू गर्ने विचार आएको उनले बताए।
'विवाहपछि हामीले श्रीमान-श्रीमती मिलेर नयाँ व्यवसायमा हात हाल्ने योजना गर्दै थियौं। लुगा व्यवसाय गर्ने कि भन्ने थियो। तर जनशक्ति नमिलेर तुरून्तै खोल्न सकिएन,' प्रफुलले भने, 'त्यही बेला श्रीःघमा एउटा सटर खाली छ भन्ने थाहा पायौं। हामीलाई यो ठाउँ एकदमै मन पर्यो। यो ठाउँका लागि फालुदा व्यवसाय नै ठिक हुन्छ जस्तो लाग्यो।'

फालुदा भनेको पर्सियन सरबत हो। यो सरबत विभिन्न स्वादमा बनाउन सकिन्छ। प्रफुल र रबिनाले अहिलेलाई 'रोयल फालुदा' नामको एउटा मात्र स्वाद ल्याएका छन्।
केही समय यही एउटा स्वादमा ध्यान दिएर बिस्तारै थप्दै जाने उनीहरूको योजना छ।
करिब पाँच लाख रूपैयाँ लगानीमा सुरू गरेको यो आउटलेटले पछिल्ला दुई सातामा सोचेभन्दा राम्रो प्रतिफल दिएको उनीहरू बताउँछन्।
यसबीच उनीहरूले प्रचार प्रसारका लागि भिडिओ बनाएर टिकटकमा राखे। त्यसले ग्राहक झनै बढायो। खासगरी काठमाडौंकी पूर्वकुमारी तृष्णा शाक्यले यहाँ फालुदा आएको भिडिओ भाइरल भएपछि धेरै ग्राहक खोजी खोजी आउन थालेको प्रफुल बताउँछन्।
उनीहरूले असोज २५ गते पसल उद्घाटनको दिन 'द फालुदा प्वाइन्ट' को टिकटक अकाउन्ट फलो गर्ने पहिलो पाँच जना ग्राहकलाई एक कप फालुदा नि:शुल्क दिने अफर ल्याएका थिए।
'यो अफरले धेरै ग्राहक आकर्षित भए भन्ने मलाई लाग्छ,' उनले भने।
प्रफुलका अनुसार त्यस दिन एक जना बालक पसल खुल्ने प्रतीक्षा गर्दै बाहिर कुरिरहेका थिए। उनी टिकटकमा फलो गरेर नि:शुल्क खान आएका रहेछन्।
'जब मैले ती बालकलाई पसल अगाडि कुरिरहेको देखेँ, मलाई त्यही बेला हाम्रो आइडिया हिट भयो भन्ने लाग्यो,' उनले भने।
अब हामी फालुदामा के–के चिज हालिन्छ भन्ने हेरौं।
यसमा रोज सिरप (रूवाब्जा), सेवाइ, तुलसीको बीउ, बदाम, रबडी, जेली र आइसक्रिम प्रयोग हुन्छ।
यी सबै चिज जुटाउनु सबभन्दा ठूलो चुनौती भएको प्रफुल बताउँछन्।
'आइसक्रिम बाहेक अरू सबथोक हामी आफै बनाउँछौं,' उनले भने, 'बिहान ६–७ बजेदेखि तयारी सुरू गर्छौं, सबै काम सक्न चार घन्टा लाग्छ।'
उनले अगाडि भने, 'सबथोक आफै बनाउँदा स्वाद तलमाथि हुँदैन। धेरैलाई अत्यधिक गुलियो मन नपर्न सक्छ, त्यसैले सबैको स्वादलाई ध्यानमा राखेर हामी मध्यम गुलियो खालको फालुदा बनाउँछौं।'
पछिल्ला दुई सातामा उनीहरूले तयार पारेका सबै सामान बिक्री भइरहेको छ। एक दिन साँझ ६ बजे नै सब 'सोल्ड आउट' भएको थियो।


प्रफुल र रबिनाले विवाह अघिदेखि गर्दै आएको व्यवसाय जारी राखेका छन्। ती व्यवसाय हेर्न कर्मचारीहरू भएकाले उनीहरूको पूरा ध्यान फालुदामा छ।
उनीहरू हरेक दिन दिउँसो १२ बजे पसल खोल्छन्। प्राय: ३ बजेदेखि ग्राहकको भीड लाग्न सुरू हुन्छ।
'हामीकहाँ सबै उमेर समूहका ग्राहक आइरहेका छन्,' रबिनाले भनिन्, 'धेरैजसो आउने बालबालिका र युवायुवती हुन्। बालबालिकाले आफ्ना आमाबुबालाई पनि तानेर ल्याउँछन्।'
'कतिपय ग्राहक फालुदा भनेको के होला, यसको स्वाद कस्तो होला भन्ने उत्सुकताले पनि चाख्न आउँछन्,' उनले भनिन्।
उनलाई सबभन्दा सन्तुष्टि चाहिँ त्यति बेला भयो, जब नेपाल घुम्न आएका एक भारतीय पर्यटक फालुदा खान आए र भने, 'तपाईंहरूले एकदनै ओरिजिनल स्वादको फालुदा बनाउनु हुँदो रहेछ।
सुरूका केही दिन उनीहरूले फालुदा खान काठको चम्चा प्रयोग गरेका थिए। अहिले ग्राहकको सुझाव अनुसार प्लास्टिकको चम्चा प्रयोग गर्न थालेका छन्।
भारतमा फालुदा प्राय: कचौरामा दिइन्छ, तर यहाँ उनीहरू कपमा दिन्छन्। यसको पछाडि प्रफुलको आफ्नै तर्क छ।
'अचेल मानिसहरू खानाको फोटो खिचेर सामाजिक सञ्जालमा राख्न मन पराउँछन्। कचौरामा राख्दा फालुदाको रंगीन डिजाइन हराउँछ, कपमा डिजाइन प्रस्ट देखिन्छ,' उनले भने।
सुरूआती कारोबारले उत्साहित बनाए पनि जाडो मौसम आउँदै गरेकाले व्यापार खस्किन सक्ने चुनौती उनीहरूले देखेका छन्।
यो जाडोमा जसोतसो टिकाउन सके अर्को गर्मीमा व्यापार चम्किन्छ भन्नेमा उनीहरू विश्वस्त छन्।
'जाडोमा पनि मान्छेहरू आइसक्रिम खाँदै नखाने त कहाँ हुन् र! फालुदा पनि त्यस्तै त हो,' उनीहरूले भने।
***



