एक समय थियो, जब म हरेक दिनजसो टेलिभिजनमा 'तारक मेहताका उल्टा चस्मा' हेर्थेँ। अहिले पनि फुर्सत पायो कि यो हिन्दी शृंखलाको कुनै एपिसोड युट्युबमा हेरेर बस्छु।
मेरै उमेरका कति हुनुहुन्छ होला, जसको बाल्यकाल यही शृंखला हेर्दै बित्यो र आज पनि यसका 'फ्यान' हुनुहुन्छ!
त्यस्तै एक जना मैले भेटेँ, २० वर्षीय अजित यादव।
उनको पनि 'तारक मेहताका उल्टा चस्मा' र यसका पात्रसँगको सम्बन्ध मेरोजस्तै बाल्यकालबाट सुरू भएको रहेछ। तर जहाँसम्म म र उनीमध्ये को बढी फ्यान भन्ने सवाल छ, त्यसमा कुनै तुलनै हुन सक्दैन। उनी मभन्दा कहाँ हो कहाँ बढी फ्यान!
कतिसम्म भने, अजितले काठमाडौंको बिजुलीबजारमा खोलेको आफ्नो रेस्टुरेन्टको नामसमेत यही सिरियलको एक पात्रका नाममा राखेका छन्।
पात्र हुन्, जेठालाल।
र, अजितले उनको नाममा खोलेको रेस्टुरेन्ट हो — जेठालाल स्पेसल जलेबी एन्ड फाफडा।
'जलेबी फाफडा' भनेको नेपाली खानेकुरा होइन। यो भारतको गुजरातमा खाइने लोकप्रिय परिकार हो। अजित र म दुवैले यसको नाम 'तारक मेहता' सिरियलबाटै सुनेका हौं, जसका एक मुख्य पात्र जेठालाल यसका सोखिन हुन्छन्।
'याद भए अनुसार म पाँच वर्षको उमेरदेखि नै यो सिरियल हेर्ने गर्थेँ,' अजितले भने, 'आज पनि खाना खाने बेला यसको कुनै अंश हेर्न पाए आनन्द आउँछ।'

अजितको घर वीरगन्ज हो। उनी अहिले काठमाडौंको सेन्ट जेभियर्स कलेजमा पढ्दै छन्।
सानैदेखि व्यवसाय गर्ने सोच भएका अजितले जब काठमाडौं आएर रेस्टुरेन्ट खोल्ने निधो गरे, उनलाई झट्ट जेठालालको जलेबी फाफडा याद आयो।
'तारक मेहता सिरियलमा जेठालालले खाएको देखेर मलाई पनि यो कस्तो चिज होला भन्ने कौतूहल थियो,' उनले भने, 'रेस्टुरेन्ट खोल्ने विचार गरेपछि मलाई लाग्यो, काठमाडौंमा धेरैले नाम नसुनेको जलेबी फाफडाकै रेस्टुरेन्ट किन नखोल्ने?'
उनले त्यसपछि युट्युब र अन्य माध्यमबाट जलेबी फाफडा कस्तो परिकार हो र कसरी बनाइन्छ भनेर अध्ययन गरे।
अनि, आजभन्दा दुई महिनाअघि बिजुलीबजारको एउटा सानो घरमा उनले आफ्नो रेस्टुरेन्टको ठूलो बोर्ड टाँगे — जेठालाल स्पेसल जलेबी एन्ड फाफडा।
रेस्टुरेन्टको बोर्डमै उनले आफ्ना दुई प्रिय पात्र जेठालाल र उनकी पत्नी दयाको फोटो राखेका छन्। त्यसबाहेक रेस्टुरेन्टको झ्यालमा जेठालाल र दया बस्ने गोकुलधाम सोसाइटी, कार्यक्रमकी अर्की पात्र बबिताजीको फोटो पनि सजाएका छन्।
अजितले करिब दुई लाख रूपैयाँ लगानी गरेर यो रेस्टुरेन्ट खोलेका हुन्। सुरूमा इन्स्टाग्राममा पसलको नाम र जेठालालको फोटो भएको बोर्ड राख्दा एक दिनमै आठ लाख भ्युज आएको उनी बताउँछन्।
'अचेल सबै जना क्याफे खोल्छन्। रेस्टुरेन्टमा पनि धेरैको ध्यान म:म र चाउमिनमै छ। म भने बजारमा कतै नभएको परिकार राख्न चाहन्थेँ,' अजितले भने, 'अरूभन्दा मेरो रेस्टुरेन्ट यस कारण फरक छ, किनभने मकहाँ काठमाडौंमा विरलै पाइने जलेबी फाफडा पाइन्छ।'


झट्ट नाम सुन्दा एउटै जस्तो लागे पनि जलेबी र फाफडा दुई भिन्नै परिकार हुन्। जलेबी भनेको जेरी जस्तै हुन्छ। यसमा रातो रङ भने हालिँदैन। फाफडा चाहिँ विभिन्न स्वादको मसला हालेर बनाइने बेसनको रोटी हो। यो पातलो र लाम्चो आकारमा काटिएको हुन्छ। कतिपयले यसलाई पापड पनि भन्छन्।
जलेबी र फाफडा सँगसँगै खाइने भएकाले नाम पनि आपसमा मिसिएको हो, काठमाडौंमा जेरी–स्वारी वा हलुवा–स्वारी भनेजस्तै।
अजितको रेस्टुरेन्टमा एक प्लेटमा तीनवटा जलेबी र तीनवटा फाफडा आउँछ। मूल्य सय रूपैयाँ पर्छ।
'सामाजिक सञ्जालका कारण अहिले विभिन्न ठाउँका मान्छेले मेरो रेस्टुरेन्टबारे थाहा पाएका छन्,' उनले भने, 'त्यही भएर काठमाडौं उपत्यका मात्र होइन, धुलिखेल, चितवन र झापादेखिका मान्छे जलेबी फाफडाको स्वाद चाख्न आउँछन्।'
यहाँ आउने धेरैजसोले यो परिकारको नाम सुनेको उही 'तारक मेहताका उल्टा चस्मा' सिरियल हेरेर नै हो।
अजितका अनुसार यहाँ दिनको २०० देखि ३०० जना ग्राहक आउँछन्। कतिले रेस्टुरेन्टमै बसेर खान्छन् भने कतिले घरमा प्याक गरेर लैजान्छन्। रेस्टुरेन्टमा खानेले पनि घरमा परिवारलाई चखाउन लैजाने गरेको अजित बताउँछन्।
'प्रायः ग्राहकले मसँग सिरियलकै कुरा गर्छन् र आफ्नो बाल्यकालका दिन सम्झन्छन्,' उनले भने, 'धेरैले जेठालाल र दयाको फोटो देखेर खुसी हुँदै रेस्टुरेन्टको बोर्ड देखिने गरी फोटो पनि खिच्छन्।'
अजितको रेस्टुरेन्टमा अहिले जलेबी फाफडा मात्र पाइन्छ। त्यसबाहेक पाइने भनेको चिया हो। ठाउँ सानो भएकाले थप खाना नराखेको उनी बताउँछन्।

यो रेस्टुरेन्ट बिहान ७ देखि राति ७ बजेसम्म खुल्छ। पकाउने र सहयोगीसमेत दुई जना कर्मचारी छन्।
रेस्टुरेन्ट खोल्नुअघि अजित वीरगन्जमा बुबाको काममा सघाउँथे। उनका बुबाको ट्रक बनाउने वर्कसप छ। त्यहाँ काम गर्दागर्दै व्यवसायको सिप सिकेको उनी बताउँछन्।
'रेस्टुरेन्ट खोल्न पनि बुबा र दाइले धेरै सहयोग गर्नुभयो,' उनले भने, 'सानैदेखि बुबाको व्यवसायमा काम गरेकाले मलाई रेस्टुरेन्ट खोल्ने आँट आएको हो।'
यो रेस्टुरेन्टबाट नयाँ खालको परिकार चखाउन पाएको र मान्छेहरूलाई बाल्यकालको सम्झनामा फर्काउन सकेकोमा अजित निकै खुसी मान्छन्।
'यहाँ जलेबी फाफडा मात्र होइन, बाल्यकालको सम्झना पनि पाइन्छ। पुराना दिन सम्झिँदै मान्छेहरू खुसी भएको देख्दा मलाई पनि खुसी लाग्छ,' अजितले भने।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***



