देउवाले सरकारमा सहभागी हुन राप्रपालाई शनिबार पठाएको पत्रमा चार मन्त्रालय दिने, तर उपप्रधानमन्त्री दिन नसक्ने उल्लेख रहेको नेताहरूले बताएका छन् । पत्र पठाएलगत्तै देउवाले राप्रपा अध्यक्ष कमल थापा र नेता पशुपतिशमशेर राणालाई छलफलका लागि बोलाएका थिए । तर, थापाले भेटेनन् ।
राणासँगको भेटमा देउवाले राप्रपाले चलाएका पुरानै चार मन्त्रालय दिने प्रस्ताव राखेको कांग्रेसका एक नेताले जानकारी दिए । अघिल्लो सरकारमा राप्रपाले स्थानीय विकास, आपूर्ति, भूमिसुधार र पर्यटन मन्त्रालय पाएको थियो । देउवाले पहिलो चरणमा मन्त्री बनाउन एकजनाको नाम दिन पनि राणालाई आग्रह गरेको स्रोतले बतायो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
यसैबीच राप्रपा संसदीय दलको बैठकले मन्त्री सिफारिस गर्न पार्टी महामन्त्री जयन्त चन्दको संयोजकत्वमा तीनसदस्यीय समिति बनाएको छ । प्रमुख सचेतक कुन्ती शाहीका अनुसार समितिमा उनी र दिलनाथ गिरी सदस्य छन् । स्रोतका अनुसार अध्यक्ष थापालाई प्रत्यक्षतर्फ निर्वाचितलाई मात्र मन्त्रीमा पठाउन नेताहरूले दबाब दिएका छन् । राप्रपामा विक्रम पाण्डे, दीपक बोहोरा र सुनील थापा मात्रै प्रत्यक्षबाट निर्वाचित सांसद हुन् ।