विश्व विख्यात स्प्रिन्टर उसेन बोल्टले आफ्नो अन्तिम घरेलु दौडमा जित हात पारेका छन्। जमैकाको किङ्सटन रंगशालामा ३० हजार घरेलु दर्शकले खचाखच ट्रयाकमा ३० वर्षीय बोल्टले जितका साथ यस खेलबाट सन्यास लिए।
उनी विदेशी भूमिमा गत अगस्टमा लन्डनमा आयोजना भएको विश्व च्याम्पियनसिपमा अन्तिम पल्ट दौडिएका थिए।
आठ वटा ओलम्पिक स्वर्ण विजेता बोल्टले उनको सम्मानमा आयोजित दौडको सय मिटर दौड आरामले जिते। उनले १० दशमलव ०३ सेकेन्डको समय लगाए। उनी दौडिरहँदा रंगशालामा उपस्थित हजारौं दर्शक भुभुजेला र झन्डा हल्लाएर आनन्द मनाइरहेका थिए। सय र दुई सय मिटरको विश्व कीर्तिमानधारी धावकले जितपछि आफ्नो चिरपरिचित ‘लाइटनिङ बोल्ट’ को पोज दिनुअघि भूइँलाई चुमेका थिए।
यस समारोहमा जमैकाका प्रधानमन्त्री एन्ड्रयु होल्नेस र अन्तर्राष्ट्रिय एथलेटिक्स संघका अध्यक्ष सेबास्टियन कोए पनि उपस्थित थिए।
बोल्टले सय, दुई सय, ४ गुना सय मिटरको तीन वटा इभेन्ट्समा २००८ को बेइजिङ, २०१२ को लन्डन र २०१६ को रियो ओलम्पिकमा जित हात पारेर इतिहास रचेका थिए। उनी तीन वटा ओलम्पिकमा तीन वटा इभेन्ट्समा तीन पल्ट नै स्वर्ण जित्ने एक्लो खेलाडी बनेका थिए। तर, बेइजिङमा उनको सहयात्री नेस्टा कार्टरले ४ गुना सय मिटर दौडमा शक्तिबद्र्धक औषधी सेवन गरेको प्रमाणित भएपछि यसै वर्ष त्यो स्पर्धाको स्वर्ण खोसिएको थियो।
बोल्टको नाममा सय मिटर ९ दशमलव ५८ र दुई सय मिटर १९ दशमलव १९ सेकेन्डमा पुरा गर्ने विश्व कीर्तिमान छ।