बुधबार हुने निर्वाचनमा मतदान गर्नका लागि निर्वाचन आयोगले जारी गरेको फोटो सहितको मतदाता परिचय पत्र वितरण आइतबारबाट सुरू भएको छ। मतदानका लागि फोटो सहितको मतदाता परिचय पत्र अनिवार्य गरिएका कारण मतदाता बिहानैदेखि मतदान केन्द्रमा पुगेर आफ्नो मतदाता परिचय पत्र लिइरहेका छन्।
नेपालगन्ज नगरपालिकाको वडा नं १० को बन कार्यालयस्थित मतदान केन्द्रमा पनि प्रचन्ड गर्मीको प्रवाह नगरी मतदाता परिचय पत्र लिनेहरुको भीड थियो।
प्रचन्ड गर्मीमा लाइन लागेर मतदाता परिचय पत्र लिएका मतदाताहरु निक्कै उत्साहित देखिन्थे। ‘परिचय पत्र लियौं अब मतदान गरेर आफूलाई मनपर्ने उम्मेदवारलाई विजयी बनाउने हो,’ उनीहरुले बताए। बाँकेका सबै मतदान केन्द्रमा निर्वाचन गराउनका लागि मतदान अधिकृतसहित १ हजार ७ सय ७० जना कर्मचारी खटिएका छन्।
बाँकेमा २ सय ९५ मतदान केन्द्र छन्। मतदान केन्द्रको संबेदनशिलताका आधारमा सुरक्षाकर्मीलाई खटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले सम्वन्धित स्थानमा मतदान केन्द्र निर्माण गर्नेदेखि राजनीतिक दलका प्रतिनिधिसँग बैठक गरेर मतदानका लागि आवश्यक पर्ने प्रकृया पुरा गर्न कामहरू सुरू गरेका छन्।
८ वटा स्थानीय तह भएको बाँकेमा २ लाख ४६ हजार १ सय ४ जना मतदाता छन्।
अभय बस्नेत
२० वर्ष पछि हुन लागेको स्थानीय तहको चुनावले धेरै उत्साहित बनाएको छ। जनप्रतिनिधिहरु नहुँदा जनतालाई आफ्ना कामहरु गराउन धेरै गाह्रो थियो। विकास निर्माणका कामहरू ठप्प जस्तै भए। अब जनप्रतिनिधि आएपछि विकासको कामले गति लिनेछ। जनताले धेरै सुविधा समेत पाउने छन्।
चुनाव हाम्रा लागि मुस्लिमहरुको इद र हिन्दुहरूको दसैं तिहार जस्तै चाड पर्व भएको छ।
उद्धब प्रसाद शर्मा
देश विकासका लागि स्थानीय तहको निर्वाचन आवश्यक छ। जनप्रतिनिधि चुनिएर आए पछि सडक निर्माण र ढल निकासको ब्यवस्था हुनेछ। जनता कामहरु छिटो छरितो हुने भएकाले मतदता परिचय पत्र लिएर मतदान गर्ने तयारीमा जुटेका हौ। बत्ती गएर हैरान पारेको छ । चुनाव पछि नेताहरुले बत्ती नजाने ब्यवस्था गरिदिए भने नेपालगन्जबासीलाई धेरै राहात हुने थियो।
मिरा सोनी
चुनावमा भोट हाल्न परिचय पत्र लिन आएकी हुँ। मेरा नातेदार पनि उम्मेदवार छन्। म एउटा भोट मेरै नातेदारलाई दिन्छु। बाँकी भोट जनताको काम गर्ने राम्रो उम्मेदवार छानेर दिन्छु। चुनाव पछि बाटो बाटो र ढल बन्ने आशा गरेकी छु। मेरो परिवारमा ४ भोट छ हामी सबै जना आएर भोट हाल्छौ।