इस्लाम धर्मालम्बीको मुख्य पर्व इर्द उल फित्र (इद) पर्व आज नेपालगन्जमा आपसमा आर्शिवाद तथा शुभकामना आदान प्रदान गरी मनाइएको छ।
मुस्लिम क्यालेन्डर अनुसार रमजान महिना भर सूर्योदय भएदेखि सूर्यास्त नहुँदासम्म उपवास अर्थात रोजा बस्ने चलन छ।
एक महिना लामो रोजा पुरा भएपछि आज नेपालगन्जको विपी चोकमा भेला भएर मुस्लिम समुदायले सामुहिक रूपमा नबाज बाचन तथा एक आपसमा शुभकामना आदान प्रदान गरेका छन्।
नमाज पढिसकेपछि एक अर्कासँग गला मिलाएर इदको शुभकामना आदान–प्रदान गर्दै भाइचारा र आत्मीयता साटासाट गरेका छन्।
यस वर्षको इदको २ दिन पछि स्थानीय निकायको निर्वाचन पनि भएकाले सामूहिक नवाज पछिको इद चुनावमय भएको छ।
नेपालगन्ज उपमहानगरपालिका सबै उम्मेदवारहरू बिहानैदेखि नेपालगन्जको बिपी चोकस्थित इदगाहामा पुगेर मुस्लिम धर्मालम्बीलाई शुभकामना दिदै भोट मागेका छन्।
इदकै शुभकामना आदान प्रदान कार्यक्रममा एमालेका मेयरका उम्मेद्वार समसुद्धिन सिद्दिकी र राप्रपाका मेयरका उम्मेद्बार डा धबल शम्शेर राणाले शुभकामना आदान प्रदान गर्दै निर्वाचनमा सफलताको शुभकामना आदान प्रदान गरेका छन्। राणा मेयर हुँदा सिद्दिकी उप मेयर थिए।
त्यसै गरी एमालेका उम्मेदवार सिद्दिकी र नेपाली कांग्रेसका युवा नेता सुरेन्द्र हमालले पनि शुभकामना आदान प्रदान गरेका छन्।
सिद्दिकी र हमाल भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्। भारोत्तोलनका खेलसँगै नेपालगन्जको राजनीतिका दुई पहलमानले शुभकामना आदान प्रदान गर्दै दुई पहलमानले खेलकुद र राजनीतिमा प्रतिपर्धा गर्दै नेपालगन्जको विकास र सम्बृद्धिमा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए।
त्यसै गरी कांग्रेसका उम्मेद्वार सुरेश कुमार कनोडिया, माओवादी केन्द्रका दामोदर आचार्य र संघीय समाजवादी फोरमका कमरद्दिन राईले पनि मतदातासँग शुभकामना आदान प्रदान गर्दै भोट मागेका थिए।
२०६८ को जनगणना अनुसार नेपालमा इस्लाम धर्मालम्बीको जनसंख्या ११ लाख ६४ हजार छ। इदका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।