दोस्रो चरणमा यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ।
दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ जना मतदाता रहेको आयोगले जनाएको छ। निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणका लागि मङ्गलबारसम्मको समयसीमा तोकेको छ।
दोस्रो चरणको निर्वाचनको लागि कायम गरिएका चार हजार ५८१ मतदानस्थलमा आएर मतदाताले धमाधम परिचयपत्र बुझेर लैजाने कार्य भइरहेको उनले जानकारी दिए।
आयोगले मतदाता परिचयपत्र वितरणसँगै सही तरिकाले मतहाल्न सिकाउन हरेक मतदान केन्द्रमा एक जनाको दरले मतदाता शिक्षा कार्यकर्तालाई खटाइएको छ। दोस्रो चरणको निर्वाचन एक महानगरपालिका, सात उपमहानगरपालिका, ११ नगरपालिका, २१५ गाउपालिका गरी ३३४ स्थानीय तहमा हुँदैछ।
यो निर्वाचनका लागि तीन प्रदेशमा आठ हजार ३६४ मतदान केन्द्र कायम गरिएको छ। दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुने छ। रासस