नवलपरासीको सुनवलमा मानवीय क्षति हुने गरी गराइएको बम विष्फोट घटनाको अनुसन्धान गर्न प्रहरीले चारजनालाई पक्राउ गरेको छ
विष्फोट विप्लव नेतृत्वको नेकपाले गराएको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–३ का पुरुषोत्तम रेग्मी, सरावल गाउँपालिका १ का कान्तिशङ्कर पराजुली, सुनवल नगरपालिका–१२ की दुर्गादेवी पाण्डे र मध्यबिन्दु नगरपालिका–९ का धनबहादुर कुमाल छन्। उनीहरुले निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए।
पक्राउ परेका सबैलाई जिल्लाका विभिन्न स्थानमा भएका बम विष्फोट, सवारीसाधन माथिको आगजनीका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए। सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको चुनावी प्रचारप्रसार अभियान लक्षित गरी आइतबार सोमनाथ पुलमा बम नजिक विष्फोट गराइएको थियो।
प्रहरीले टाईम बम राखेर विष्फोट गराएको अनुमान गरेको छ। विष्फोटमा छ जना घाइते भएका थिए। घाइतेमध्ये सुनवल नगरपालिकाका लेखनाथ सुवेदीको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको छ। अर्की गम्भीर घाइते बेलकुमारी कठरियाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
मनोनयन दर्तापछिको एक हप्ताको अवधिमा बर्दघाट र सुनवल नगरपालिकामा पाँचवटा विष्फोट र आगजनीका घटना भएका छन् जसमा तीनवटा विष्फोट र दुईवटा सवारीसाधन माथि आगजनी भएका छन्।
घटनामध्ये चारवटा माओवादी केन्द्र माथि भएका छन्। एउटा विष्फोटको घटना नेकपा एमालेका उम्मेदवारको घरमा गराइएको छ। सबै घटना विप्लव समूहले गराएको आशङ्कामा जिल्ला सुरक्षा समितिले उनीहरुमाथि निगरानी बढाउँदै आएको छ। रासस