पछिल्ला वर्षमा युद्धग्रस्त बनेको देश यमनमा हैजाबाट बच्न विशेष स्वास्थय कार्यक्रम सञ्चालन गरिएको छ। यस देशमा गएको छ महिनादेखि हैजाको प्रकोप फैलिएको छ।
गतहप्ता मात्र यहाँ हैजाबाट कम्तीमा पनि एक हजार १४६ को मृत्यु भएको समाचार सार्वजनिक गरिएको थियो। सो तथ्याङ्क अत्यन्तै डरलाग्दो हो भन्दै संयुक्त राष्ट्रसंघको सहयोगमा यस्तो स्वास्थ्य कार्यक्रम सुरु गरिएको समाचारमा उल्लेख छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यहाँ सरसफाई कार्यक्रम, खाना र पानीको आपूर्तीमा सतर्कता र औषधिको व्यवस्था गरेको बताइएको छ।
त्यस्तै यस रोगबाट बच्नका लागि यहाँका सञ्चारमाध्यममार्फत जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरेको बताइएको छ। हालैमात्र सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार गत अप्रिल २७ बाट सुरु भएको यस हैजाको प्रकोपबाट यहाँ एक हजार १४६ जनाको मृत्यु भएको छ।
साथै यस प्रकोपबाट अरु एक लाख ६६ हजार ९७६ जना प्रभावित भएका र ती मध्येका अधिकांश बिरामी उपचारपछि घर फर्किएका बताइएको छ। यमनका २३ प्रान्तमध्ये २० वटामा हैजाको प्रकोप नै देखिएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ।
यसअघि पनि उक्त सङ्गठनले यमनका विभिन्न प्रान्तहरुमा स्वास्थ्य सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो।
हालै गरिएको अर्को एक अनुसन्धानबाट अगामी छ महिनाभित्र यस प्रकोपबाट करिब संङ्ख्या तीन लाख व्यक्ति प्रभावित हुने देखिएपछि स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। रासस