सिंगापुरमा भइरहेको आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रको खेल अन्तर्गत अहिले नेपाल र अफगानिस्तानबीच खेल भइहरेको छ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
१० ओभरको खेल सकिँदा अफगानिस्तानले बिना कुनै विकेट क्षति ४९ रन बनाएको छ।
***
केही महिनाअघि मात्र टेस्ट क्रिकेटको मान्यता पाएको अफगानिस्तान सन् २००९ देखि नेपालको अगाडि तगारो बन्दै आइरहेको छ। सन् २००३ मा एसियाली क्रिकेटमा आवद्ध भएपछि अफगानिस्तानले त्यसको २ वर्षपछि युथ–१९ विश्व कपको छनोटमा भाग लिएको थियो।
यतिबेला अफगानिस्तान नेपालका लागि खासै चुनौती बनेको थिएन्। अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो।
तर, सन् २००८ विश्व कप छनोट खेल्दै गर्दा अफगानिस्तानले आफ्नो क्षमता देखाउन थालिसकेको थियो। सन् २००७ मा मलेसियामा भएको एसिसी एलिट कपको फाइनलमा अफगानिस्तान फाइनलसम्म पुगेको थियो। यतिबेला नेपालले ४८ रनले अफगानिस्तानलाई पराजित गर्दै २००८ को विश्व कपमा आफ्नो स्थान सुनिश्चित गरेको थियो।
२०१० को विश्व कपसम्म आइपुग्दा अफगानिस्तानले पहिलो पल्ट नेपाललाई छनोट हुनबाट रोकेको थियो। सन् १९९८ देखि अनवरत विश्व कप खेल्दै आइरहेको नेपाललाई २००९ एसिसी युथ–१९ एलिट कपको सेमिफाइनलमा अफगानिस्तानले ६ विकेटले पराजित गरेपछि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाल विश्व कप खेल्नबाट बञ्चित भएको थियो।
२०१४ को विश्व कपको छनोटमा पनि नेपाल युथ विश्व कपमा समावेश हुनबाट बञ्चित भएको थियो। यतिबेला छनोट प्रतियोगिताको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्ससँग नेपाल ७६ रनले पराजित हुँदै विश्व कपमा छनोट हुन असफल भएको थियो। अफगानिस्तान भने समूह विजेता बन्दै विश्व कपमा छनोट भएको थियो।
यसैले विहिबार अफगानिस्तानविरुद्धको खेल नेपालका लागि अति महत्वपूर्ण मानिएको हो। नेपालले आयोजक सिङ्गापुरलाई ४ र मलेसियालाई ५ विकेटले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। तर, नेपालको ब्याटिङ त्यति सुदृढ देखिएको छैन्।
नेपाली टोलीमा आदिल खान, आशिफ शेख र दीपेन्द्रसिंह ऐरी जस्ता विशेषज्ञ व्याट्सम्यान छन् तर उनीहरु रन बनाउनबाट चुकिरहेका छन्।
नेपालजस्तै अफगानिस्तानले पनि प्रतियोगिताको सुरुवात उत्कृष्ट ढंगले गरेको छ। अफगानिस्तानले पनि मलेसिया र सिङ्गापुरलाई अघिल्लो खेलमा पराजित गरिसकेको छ। त्यसैले विहिबार हुने खेलले नेपाल र अफगानिस्तानबीच विश्व कपमा स्थान पाउने टोलीको समिकरण लगभग तय गर्नेछ।
यसपालि ४ वटै टोलीले होम एन्ड अवेको आधारमा दुई पल्ट एक आपसमा भिड्नु पर्ने नियम छ। नेपालले विहिबार प्रतियोगिताको कडा प्रतिद्वन्दी अफगानिस्तानसँग भिडेपछि अर्को खेल आउँदो मंगलबार खेल्ने छ। नेपाली कप्तान सन्दीप लामिछाने दुई खेलमा १० विकेट लिएर उत्कृष्ट लयमा देखिएका छन्। उनको प्रदर्शन अफगानिस्तानविरुद्धको खेलमा पनि महत्वपूर्ण हुनेछ।