सामाजिक सञ्जाललाई कस्ने प्रावधान सहित तर्जुमा गरिएको सूचना प्रविधि विधेयक हाल प्रतिनिधिसभाको विकास समितिमा विचाराधीन छ।
सरकारले ल्याएको विधेयकमा सामाजिक सञ्जालमा लेखेकै भरमा पाँच वर्ष जेल, पन्ध्र लाखसम्म जरिमाना तिर्नुपर्ने प्रावधान छ।
मुलुकी फौजदारी संहितामा कुटपिट वा अंगभंग पारेको अवस्थामा समेत एक वर्ष कैद र दस हजार रुपैयाँ जरिमानाकै प्रावधान छ। जबकी सूचना प्रविधि विधेयकमा भने कसैलाई पिट्नुभन्दा पनि ठूलो अपराध सामाजिक सञ्जालमा लेख्नुलाई मानिएको छ। अर्थात् कसैले हातखुट्टा भाँचिदियो वा आँखा फुटालिदियो भने फेसबुक र ट्वीटरमा लेखेभन्दा कम सजाय पाउनेछ।
वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल सरकारले ल्याएको विधेयकले अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने पत्रकारले सबभन्दा धेरै दु:ख पाउने बताउँछन्।
'सत्तामा बस्ने मानिसले आफ्नोविरूद्ध प्रयोग हुने अभिव्यक्तिलाई नियन्त्रण गर्ने उद्धेश्यले यी कानुन बनेका हुन्', खरेल भन्छन्, 'जबकी गाली बेइज्जतीमा व्यक्तिले प्रमाण खोज्नुपर्छ र अदालतमा पेश गर्नुपर्छ। यो विधेयकमा राज्य संयन्त्र नै प्रमाण खोज्न दौडने प्रावधान छ।’
खरेल सत्ताले ल्याउने विस्मरणले नेताहरूलाई कठोर कानुन बनाउन उत्प्रेरित गरिरहेको बताउँछन्।
'नत्र केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रताका लागि नियन्त्रण र निस्सासिएको अनुभव गर्नु भएको थिएन कसरी भन्ने?’
सूचना प्रविधि विधेयक ल्याएका सञ्चार मन्त्री गोकुल बाँस्कोटाले विधेयकका प्रावधानको बचाउ गर्दै आएका छन्। तर खरेल भने एउटै कसूरमा फरक माध्यमबाट प्रयोग गर्न खोजिएको तर्क गर्छन्।
'यस्तो व्यवस्था संसारमा कहीँ छैन', खरेल भन्छन्।
सुन्नुस् सञ्चारमन्त्रीज्यू, सूचना प्रविधि विधेयकमा खरेलको भिडिओ ब्लग -
सम्बन्धित समाचार :
राष्ट्रपतिमाथि आक्रमण गर्दा र फेसबुकमा लेख्दा एउटै सजाय!
फेसबुक, ट्वीटरमा कसैलाई जिस्काए पाँच वर्ष जेल जाने कानुन बन्दै
होसियार! मुख थुन्ने कानुन बन्दैछ : गगन थापा
साइबर बुलिङ र सामाजिक सञ्जालको एउटै कसुरमा सजाय फरक