किताब चर्चा
सात साल अगाडिको कुरा। भारतमा स्वतन्त्रता संग्राम उच्च तापमा थियो। बिपी कोइराला र गिरिजाप्रसाद कोइराला बनारसमा थिए।
एकदिन बिपी खाटमा बसेर केही पढ्दै हुनुहुन्थ्यो, गिरिजाप्रसाद भुइँमा पल्टनुभएको थियो।
‘ए गिरिजा, आजभोलि के गर्दैछस्?’ बिपीले सोध्नुभयो।
त्यो समय गिरिजाबाबु साम्यवादतिर आकर्षित हुनुहुन्थ्यो। उहाँको जवाफ कुर्दै नकुरी बिपीले व्यंग्यपूर्ण ढंगमा भन्नुभयो, ‘तेरो नेता डाँगे कहाँ छन् अचेल?’
केरलाका विद्वान श्रीपद अमृत डाँगे भारतीय कम्युनिस्ट पार्टीका नेता थिए। गिरिजाबाबुले भन्नुभयो, ‘उनी त केरलामा छन्।’
बिपीले मुसुमुसु हाँस्दै सोध्नुभयो, ‘भारतीय कंग्रेसका नेताहरू कहाँ छन् नि?’
‘उनीहरू त जेलमा।’
‘अब कुरा बुझिस् त।’
मैले यो घटना गिरिजाबाबुकै मुखबाट सुनेको। बिपीको कुराले उहाँ झल्याँस्स हुनुभयो रे। नेपाली नेताहरूले समेत भाग लिएको भारतीय संग्राममा उतैका कम्युनिस्ट नेताहरूको झिनो उपस्थितिले समग्र कम्युनिस्ट विचारधाराबाट मोहभंग भएको उहाँ सुनाउनुहुन्थ्यो।
भारतीय संग्राममा कम्युनिस्ट पार्टीको संलग्नता वा असंलग्नताबारे धेरै लेखिएका छन्। हाम्रो आजको विषय यसबारे थप चर्चा गर्नु होइन। हामी आज कुनै पनि विचारधाराप्रति मान्छेको आकर्षण र विकर्षणका कारण केलाउँदैछौं। यसका लागि म रिचर्ड एच क्रसम्यानले सम्पादन गरेको र सन् १९४९ मा पहिलोपटक प्रकाशित ‘द गड द्याट फेल्ड’ किताबमाथि चर्चा गर्दैछु।
मान्छे कुनै पनि राजनीतिक दल वा विचारधारामा आबद्ध हुनुका पछाडि उसको वैचारिक पृष्ठभूमि हुन्छ। वैचारिक पृष्ठभूमिले नै वैचारिक आधार निर्माण गर्छ। त्यही आधारले मान्छेलाई निश्चित विचारधारा पछ्याउन प्रेरित गर्छ। तर, केही समयदेखि यस्तो देखिँदैछ, मानौं राजनीतिक दल वा विचारधारा भनेको शक्ति प्राप्त गर्ने साधन मात्र हो। मान्छे आज एउटा पार्टीमा छ, भोलि अर्कोमा छिर्छ। आज एउटा सिद्धान्तको खुरन्धार विरोध गर्छ, भोलि उसैको पैरवीमा लाग्छ। आज जुन नेतालाई धारेहात लाउँछ, भोलि उसैलाई तारिफको पुल बाँधेर चन्द्रमामा चढाउँछ। खासगरी चुनावको मुखमा सत्ताप्राप्तिको निम्ति गठजोड गर्न यस्तो ‘आयाराम–गयाराम’ प्रवृत्ति मौलाएको हामी पाउँछौं।
सत्ताको गरिमाले सिद्धान्तलाई भलै गौण बनाइदिएको होस्, तर राजनीतिक दलहरूले बोक्ने सैद्धान्तिक विचारधाराको महत्व र महिमा आज पनि उस्तै छ, जस्तो हिजो आदर्शका लागि राजनीति गरिने जमानामा थियो।
हरेक राजनीतिक पार्टी एउटा बृहत कथ्यमा उभिएको हुन्छ, जुन कथ्यले हजारौं–लाखौंलाई उक्त पार्टीको एक आह्वानमा ज्यान उत्सर्ग गर्न प्रेरित गर्छ। त्यस्ता कथ्य निर्माताहरू कोही साम्यवादी सपना देखाउँछन्, कोही उदारवादी उडान भर्छन्, कोही समाजवादको सयर गराउँछन् त कोही लोकतन्त्रको लालच दिन्छन्। आममान्छे त्यही बृहत कथ्यमा बेरिएर त्यसले देखाउने आदर्श राज्यको प्राप्तिमा हिँड्छ, भलै केही प्राप्त होस् या नहोस्। हात लागे शून्य भए पनि कोही आफूले चुनेको पथमा हिँडेको हिँड्यै गर्छ, कोही भने तान्त्रिकको टुनामुनाबाट फुकेजस्तो बौरिएर अलग्गै बाटो खोज्न थाल्छ।
हाम्रै सन्दर्भमा कुरा गर्ने हो भने, नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बृहत कथ्य निर्माण गर्यो। बिपीकै बेलाको यो कथ्यलाई आज पनि कांग्रेसी नेताहरू आफ्नो गुरुमन्त्र मान्छन्। कसैलाई गुरू थाप्नु, गुरुमन्त्र मान्नु र त्यसलाई गम्नुमा आकाश–पाताल फरक छ। कांग्रेसले समाजवादको मन्त्र जप्न छाडेको छैन, तर त्यस्ता नेता विरलै होलान्, जो समाजवादको मन्त्र जिउँछन्।
माओवादीको कुरा गरौं। साम्यवादी क्रान्तिले स्थापित गरेका मान्यतालाई उनीहरूले ठूलो कथ्य बनाए। वर्षौंदेखि त्यही विचाराधारा बोकेर हिँडे। त्यसैका बलमा हजारौंलाई ज्यान अर्पण गर्न प्रेरित गरे। आज त्यही पार्टीका नेताहरूको विचार, आचरण र जीवनशैली हेर्ने हो भने, अधिकांशमा कतै पनि साम्यवादी धार बाँकी छैन। जुन सिद्धान्तका बलमा उनीहरूले यत्रो ठूलो कथ्य निर्माण गरेर देशलाई दस वर्ष युद्धको आगोमा झोँके, आज उनीहरूको त्यही सैद्धान्तिक आधार भुत्ते भएको छ।
साम्यवादीहरूको सैद्धान्तिक विचलन नेपालको विरल अनुभव होइन। इतिहासले देखाउँछ, साम्यवाद संसारभरि यही नियतिबाट गुज्रियो।
बृहत कम्युनिस्ट सिद्धान्तले मुक्ति र समानताको कुरा गर्छ। संसारभरिका धेरै युवालाई यही कथ्यले कम्युनिस्ट आन्दोलनतर्फ आकर्षित गरायो। हामीकहाँ भने धरातलीय यथार्थ पनि कारण होला। यहाँ क्षेत्रीय विभेद छ, जातीय विभेद छ, जनतामा मुक्तिको कामना छ। यसले क्रान्तिकारी राजनीतिप्रति केही न केही आकर्षण थपिन्छ नै। नेताहरूको आचरणबाट कम्युनिस्ट सिद्धान्तको कलेवर भलै खुइलिँदै गएको होस्, तर आज पनि हाम्रो संसदमा आफूलाई कम्युनिस्ट भन्नेहरूकै दुईतिहाइ छ। यो विश्वव्यापी सैद्धान्तिक लहरको दाँजोमा भिन्न अवस्था हो।
साम्यवादको उद्गम मानिने सोभियत संघमा कुनै समय सोभियत कम्युनिस्ट पार्टीको एकछत्र थियो। त्यही पार्टीले सन् १९१७ मा रुसी बोल्सेभिक क्रान्तिबाट सोभियत संघ निर्माण गर्यो। जुन दिन सोभियत संघ भत्क्यो, कम्युनिस्ट पार्टी असान्दर्भिक बन्यो। केही व्यक्तिले अवशेषका रूपमा उक्त पार्टी जोगाएर राखेका होलान्, तर जुन कम्युनिस्ट पार्टी लेनिन र स्टालिनले बनाएका थिए, त्यो अब उही रूपमा बाँकी छैन। चीनमा कम्युनिस्ट पार्टीको शासन भए पनि उनीहरूको व्यवहारिक सिद्धान्त व्यवहारवाद हो। चिनियाँ नेताहरू कम्युनिस्ट राजनीतिज्ञ कम, व्यापार प्रबन्धकजस्ता बढी देखिन्छन्।
यसबाट बुझिन्छ, कम्युनिस्ट पार्टीको एउटा आकर्षण सत्ता हो। लोकतान्त्रिक दलहरू भने सत्ताका लागि भन्दा सामाजिक रूपान्तरणका लागि बनेको दाबी गर्छन्। कम्युनिस्ट पार्टीको वैचारिक धरातलजस्तै लोकतान्त्रिक दलहरूको यो दाबी पनि पछिल्लो कालखण्डमा धेरै खिएर गइसके। सत्तासँग सानिध्य बनाइराख्न उनीहरू आफ्नो सिद्धान्तसँग सम्झौता गरेर समीकरण मिलाइरहन्छन्। यसले लोकतन्त्रको कथ्य पनि कमजोर सावित हुँदैछ।
सन् असी दशकमा जब बिपी चाबहिल बस्नुहुन्थ्यो, म उहाँको कुरा सुन्न गइरहन्थेँ। मलाई उहाँको ज्ञानको दायरा देखेर अचम्म लाग्थ्यो। बिपी कस्ता किताब र कस्ता लेखकलाई पढ्नुहुन्छ भन्ने मनमा खुलदुली जागिरहन्थ्यो। त्यही बेला मैले थाहा पाएँ, उहाँ जेलमा बस्दा तत्कालीन बेलायती राजदूतले पुस्तकालयबाट विभिन्न किताब तथा अन्तर्राष्ट्रिय पत्रिकाहरू लग्दिँदा रहेछन्। बुझ्दै जाँदा उहाँ सन् १९५३ देखि बेलायतबाट प्रकाशित हुने ‘एन्काउन्टर’ पत्रिका नियमित पढ्नुहुन्थ्यो भन्ने थाहा पाएँ।
बेलायती कवि तथा उपन्यासकार स्टेफन स्पेन्डर र अमेरिकी पत्रकार इर्भिङ क्रिस्टल संस्थापक तथा सम्पादक रहेको उक्त पत्रिकामा पछि १९५८ मा अर्का अमेरिकी पत्रकार मेल्भिन जे लास्की जोडिए। अरूले बीचैमा छाडे, मेल्भिन भने १९९१ मा पत्रिका बन्द नहुँदासम्म सम्पादककै रूपमा कार्यरत रहे।
यो पत्रिकाले युरोपको शीतयुद्धकालमा साम्यवादी लहर प्रतिरोध गर्नुका साथै उदारवादी विचारधारा प्रवर्द्धन गर्थ्यो। अमेरिकी गुप्तचर संस्था ‘सिआइए’ले गोप्य रूपमा आर्थिक सहायता गर्दै आएको खुलेपछि पत्रिका विवादित भयो। यति हुँदाहुँदै बिपी को–को लेखकलाई नियमित पढ्दा रहेछन् भनी थाहा पाउने हुटहुटीले म ‘एन्काउन्टर’ पत्रिका खोज्दै ब्रिटिस काउन्सिल पुगेँ। त्यहाँ केही पुराना अंक फेला परे। पछि चण्डीगढ पढ्न गएका बेला त्यसका पुराना अंकहरू किनेर पढ्ने मौका पाएँ।
संसारका नामी विद्वानहरूले त्यो पत्रिकामा लेख्दा रहेछन्। जसमा पूर्वसम्पादक स्टेफन स्पेन्डर, गान्धीका जीवनी लेखक लुइस फिसर, फ्रेन्च कवि तथा उपन्यासकार अन्द्रेजिद, बेलायती लेखक तथा पत्रकार आर्थर कोस्लर, इटालियन लेखक तथा कम्युनिस्ट पार्टीका नेता इन्याजियो सिलोने र अमेरिकी राजनीतिज्ञ रिचर्ड राइट प्रमुख छन्। यीमध्ये आर्थर कोस्लरको ‘डार्कनेस एट नुन’ चर्चित छ, जसलाई जर्ज अरवेलले ‘उत्कृष्ट किताब’ भनेका थिए।
‘द गड द्याट फेल्ड’ यिनै छ जना लेखकको अनुभव संगालो हो। बिपीले नियमित छाया–संवाद गरिरहेका यी लेखकलाई पढ्दै जाँदा उनीहरू कसरी कम्युनिस्ट सिद्धान्तप्रति आकर्षित भए र के–कस्ता घटनाक्रमले त्यसबाट विकर्षित भए थाहा हुन्छ।
यो किताबको रचना एउटा उग्र बहसको बीचमा भयो। बेलायती पत्रकार तथा सांसद रिचर्ड क्रसम्यान एक साँझ नर्थ वेल्समा आर्थर कोस्लरसँग राजनीतिक बातचित गर्दै थिए। बातचित बहसमा परिणत भयो।
‘तपाईंहरू या त हाम्रो कुरा बुझ्नुहुन्न या बुझ्न चाहनुहुन्न,’ कोस्लरले भने, ‘तर, हामी पूर्व–कम्युनिस्टहरू तपाईंहरूको पक्षमा छौं, जसले कम्युनिस्ट पार्टीका कमी–कमजोरी पर्गेलेका छन्, त्यहाँभित्रको रहस्य बुझेका छन्।’
त्यसपछि उनीहरूको बहस फलानो–फलानो व्यक्ति कसरी कम्युनिस्ट भए र उनीहरूले किन कम्युनिस्ट पार्टी छाडे वा छाडेनन् भन्नेतिर मोडियो।
जब बहस आगोमा राखेको पानीझैं उम्लिन थाल्यो, रिचर्डले सोधे, ‘तपाईं कम्युनिस्ट पार्टीको सदस्य भएपछि के भयो? त्यो मलाई भन्नुस्। तपाईं अहिले कम्युनिस्ट पार्टीबारे के सोच्नुहुन्छ होइन, त्यो बेला के सोच्नुहुन्थ्यो भन्ने कुरा बताउनुस्।’
कोस्लरले आफ्नो कथा विस्तार लगाउन थालेका थिए, रिचर्डले बीचैमा रोकेर भने, ‘यसबारे त किताब लेखिनुपर्छ।’
कुरै कुरामा उनीहरूले केही यस्ता पूर्व–कम्युनिस्टको सूची तयार पारे, जो राजनीतिक सिद्धान्तप्रतिको आकर्षण र विकर्षणको सत्य खुलस्त बताउन सक्छन्।
सूची लामै बन्यो। उनीहरूले छाँट्दै, छोट्याउँदै गए। साँझसम्म आधा दर्जन लेखक तथा पत्रकारको नाम तयार भयो।
‘कम्युनिस्टविरोधी प्रोपोगान्डा फैलाउनु वा कसैलाई आत्मालोचनाको अवसर दिनु हाम्रो उद्देश्य थिएन,’ रिचर्ड किताबको पहिलो अध्यायमा लेख्छन्, ‘हाम्रो उद्देश्य कम्युनिस्टमा रूपान्तरण भएका र पछि छाडेकाहरूको मानसिक अवस्था अध्ययन गर्नु थियो। सन् १९१७ देखि १९३९ बीचको त्यो वातावरण बुझ्नु थियो, जब कम्युनिस्ट सिद्धान्तको लहर उर्लेको थियो।’
‘हामी जुन कालखण्ड विवेचना गर्न खोज्दै थियौं, त्यसलाई राजनीतिज्ञहरूको राजनीतिक संस्मरणबाट न्याय गर्न सम्भव थिएन। उनीहरूको आत्मसम्मानले विगतको अनुभव खण्डित पार्न सक्थ्यो। वैज्ञानिक ढंगले विश्लेषण गराउने कि भनेर पनि सोच्यौं, तर त्यसले हामीले खोजेको कुरा छर्लंग पार्न सक्दैन थियो। मनोवैज्ञानिक वा समाजशास्त्रीय सिद्धान्तमा टेकेर गरिने विवेचनाले घटनाक्रमलाई सूत्रबद्ध ढंगले हेर्छ, जसमा मान्छेको अनुभूति दबिन्छ। हामी भने त्यही अनुभूति विस्तृत रूपले बाहिर आओस् भन्ने चाहन्थ्यौं।’
कुनै पनि कालखण्डको अनुभूतिलाई सिद्धान्तको आवरणमा बाँधेर होइन, भावनाले भिजाएर पानीझैं छर्लंग पार्ने खुबी सिर्जनशील लेखकहरूमा मात्र हुन्छ भन्नेमा रिचर्ड र कोस्लर एकमत भए। यसै आधारमा ती छ जना लेखकको नाम छनौट भयो।
छानिएका छ जनाले ‘द गड द्याट फेल्ड’ मा साम्यवादतर्फको यात्रा र त्यसबाट बहिर्गमनको वर्णन गरेका छन्। यीमध्ये आर्थर कोस्लर, इन्याजियो सिलोने र रिचर्ड राइट कम्युनिस्ट पार्टीका पूर्व–सदस्य नै थिए। अन्द्रेजिद सोभियत कम्युनिस्टको कट्टर समर्थन गर्थे। धेरै वर्ष सोभियत संघमा अन्तर्राष्ट्रिय संवाददाता भएर काम गरेका लुइस फिसरमा सोभियत संघको कम्युनिस्ट शासनप्रति गहिरो आकर्षण थियो। स्टेफन स्पेन्डर पनि केही समयलाई ब्रिटिस कम्युनिस्ट पार्टीको सदस्य भएका थिए।
फरक–फरक पृष्ठभूमिबाट आएका उनीहरू कम्युनिस्ट विचाराधाराबाट आकृष्ट हुनुका कारण पनि फरक छन्।
कोस्लरलाई सोभियत संघ समानताको राज्य हो भन्ने विश्वासले आकर्षित गर्यो। स्टेफन स्पेन्डर वन्धुत्व, भाइचारा र सामाजिक न्यायको सपनाले कम्युनिस्ट भए। उनी यस्तो समाजको परिकल्पना गर्थे, जहाँ सबैको आत्मसम्मान कायम होस्। साम्यवाद उनलाई त्यस्तै लाग्यो। अरू लेखक पनि अल्पसंख्यक नरहने र सबै जनतालाई बराबर व्यवहार गरिने कम्युनिस्ट शासनको आदर्श परिकल्पनाले तानिए।
कम्युनिस्ट पार्टीका तीन जना भित्रिया र बाँकी तीन जना अनुयायीको अनुभवले भन्छ– साम्यवादी सिद्धान्तले सत्यमा एकाधिकार जमाउँछ। अर्थात्, साम्यवादी सिद्धान्तभन्दा बाहिर अर्को कुनै सत्य छैन भन्ने कथ्य निर्माण गर्छ। साम्यवादी क्रान्तिबाट स्थापित शक्तिले विश्वास गर्ने सत्यलाई कसैले चुनौती दिन सक्दैन। पार्टीका कार्यकर्ता होस् वा आमजनता, सबै त्यो सत्यमा पूर्ण समर्पित हुनैपर्छ। न त्यसलाई नकार्न सकिन्छ, न प्रश्न गर्न। मुक्तिकामी लडाइँबाट स्थापित सिद्धान्तलाई शाश्वत सत्य मानेर हिँड्नु र शक्तिको सेवामा लाग्नु नै कम्युनिस्ट आदर्श हो।
त्यही भएर कम्युनिस्ट पार्टीमा नेतृत्वले एकचोटि बोलिसकेपछि धेरै कम मान्छेले त्यसलाई चुनौती दिएको हामी देख्छौं। सोभियत संघको इतिहास हेर्ने हो भने, ट्रोत्स्कीजस्तो लेनिनका समकालीन नेता शक्तिविरुद्ध फरक मत राख्दा मेक्सिकोमा निर्वासित हुनुपर्यो। निर्वासनकै क्रममा तत्कालीन सोभियत शासक स्टालिनले उनको हत्या गराए। ट्रोत्स्की मात्र होइन, सोभियत कम्युनिस्ट सिद्धान्त र शैली चित्त नबुझाउने र प्रश्न गर्नेहरू हजारौंको देशभित्र र बाहिर हत्या गरिएको इतिहास छ। सामन्ती व्यवस्थामा सत्ताका लागि एकले अर्कालाई मारेजस्तै कम्युनिस्ट शासनमा पनि हामी यस्ता थुप्रै हत्याकाण्ड भएका देख्छौं। प्रायः हत्याकाण्डको कारण एउटै छ– नेतृत्वलाई प्रश्न गर्नु।
कम्युनिस्टहरू साम्यवादलाई समाजवादको उच्चतम विन्दु मान्छन्। त्यसैलाई समाज रूपान्तरणको अन्तिम सत्य ठान्छन्। समाजका सबै विकृतिको समाधान साम्यवादले गर्छ भन्ने बृहत कथ्य निर्माण गरिसकेपछि भर्खरको कलकलाउँदो युवा त्यसमा स्वतः समर्पित हुन पुग्छ।
एउटा युरोपेली भनाइ चर्चित छ, मान्छे २५ वर्षसम्म कम्युनिस्ट भएन भने ऊ युवा नै होइन। यसरी जब सत्यमा शक्तिको एकाधिकार कायम हुन्छ, त्यो एकाधिकारविरुद्ध प्रश्न गर्ने छुट कसैलाई हुँदैन। प्रश्न गर्नेहरू या त मारिन्छन्, या पाखा लगाइन्छन्। मनमनमा कम्युनिस्ट सिद्धान्त छाडेकाहरू पनि सितिमिति मुखले कम्युनिस्ट छाडेँ भन्न धकाएको हामीले देखेका छौं। खुलेआम कम्युनिस्टबाट बाहिरिँदा भौतिक सफायाको डर त अहिले नहोला, तर विगतको भूतले धेरैलाई लामो समय छाड्दैन।
यस सन्दर्भमा आर्थर कोस्लर लेख्छन्, ‘सैद्धान्तिक सम्बन्धले कस्तो गहिरोसँग जकड्दो रहेछ भने, एकचोटि छाडेर गइसकेपछि पनि जीवनपर्यन्त पछ्याइरहन्छ।’
सिद्धान्तलाई नै सत्य मान्ने र त्यही सत्यमा एकाधिकार राख्ने कम्युनिस्ट आचरणलाई यो किताबको शीर्षकले नै छर्लंग पार्छ। यहाँ ‘द गड द्याट फेल्ड’ भनेर ईश्वरलाई बिम्बका रूपमा प्रस्तुत गरिएको छ। यसलाई धार्मिक ईश्वर होइन, सैद्धान्तिक ईश्वरका रूपमा बुझ्नुपर्छ।
जसरी धर्ममा आस्था राख्ने आस्तिकहरू ईश्वरको अस्तित्वलाई चुनौती दिँदैनन्, त्यस्तै अवस्था कम्युनिस्ट शासनमा हुन्छ, जहाँ सिद्धान्तमाथि एकाधिकार जमाउने व्यक्ति वा सत्तालाई चुनौती दिइँदैन।
जसरी आस्तिकहरू ईश्वरले नै उन्मुक्तिको मार्गप्रशस्त गर्छ भन्ने मानेर हिँड्छन्, यहाँ पनि ईश्वरले जस्तै उन्मुक्ति कम्युनिस्ट विचारधाराले दिन्छ भन्ने विश्वास गरिन्छ। त्यही विश्वास पछ्याउँदै उनीहरू सत्ता हातमा लिन्छन्। र, फेरि शक्तिको बलमा त्यही सत्य स्थापित गर्न खोज्छन्।
घरमा पूजा भइरहेको बेला पण्डितजीलाई यसो किन गरेको, त्यसो किन गरेको भनेर प्रश्न सोधे के हुन्छ? या त पूजामा विघ्न हालेको भन्दै पण्डितजी र घरपरिवार मिलेर तपाईंलाई चुप लगाउँछन्, या पूजा नसकिएसम्म घरबाटै बाहिर निकाल्छन्। कम्युनिस्टहरूको प्रवृत्ति यस्तै हुन्छ। धर्मान्धहरू जस्तै यी पनि कम्युनिस्ट सिद्धान्त र त्यो सिद्धान्तमा एकाधिकार जमाएर बसेको शक्तिलाई आँखा बन्द गरेर पत्याउँछन्, पछ्याउँछन्।
सत्यमाथिको यो एकाधिकारलाई अर्को तरिकाबाट पनि बुझ्न सकिन्छ।
यो किताब पढ्दा के थाहा हुन्छ भने, साम्यवादप्रति जति आकर्षण क्याथोलिकहरूलाई छ, त्यति प्रोटेस्टेन्टलाई छैन। यसको कारण, प्रोटेस्टेन्टहरू धर्मले स्थापित गरेको विधानलाई नै प्रश्न गर्छन्। क्याथोलिकहरूमा भने ईश्वरप्रति पूर्ण समर्पण हुन्छ। त्यही भएर ल्याटिन अमेरिकीहरू धेरै वामपन्थी झुकाव राख्छन्। उनीहरू जसरी ईश्वरप्रति समर्पित छन्, साम्यवादी सिद्धान्त पनि त्यस्तै अन्तिम सत्य हो र त्यो सत्यको निम्ति आफूलाई समर्पण गर्न अप्ठ्यारो मान्नु हुँदैन भनेर विश्वास गर्छन्।
प्रश्नमाथिको बन्देजसँगै साम्यवाद र फासीवादको एकता पनि यी लेखकलाई कम्युनिस्ट सिद्धान्तबाट विकर्षित गराउने कारण बन्यो।
त्यति बेला सारा युरोपेलीहरू साम्यवादलाई मुक्तिको बाटो मानेर हिँड्दै थिए। ठाउँ–ठाउँमा फासीवादविरुद्ध साम्यवादीहरूले मोर्चा कसेका थिए। हिटलरको उदयसँगै लोकतान्त्रिक समाजवादीहरूलाई अवमूल्यन गर्न जर्मन कम्युनिस्ट पार्टीले नाजीहरूसँग घाँटी जोड्यो। स्पेनका फ्रान्सिस्को फ्रयांको र सोभियत संघका स्टालिनबीच सम्झौता भयो। स्टालिन र इटालीका मुसोलिनीले पनि सम्झौता गरे।
जब साम्यवादी र फासीवादीहरू एकठाउँ उभिने अवस्था आयो, फासीवादविरुद्ध लडिरहेका युवा कम्युनिस्टहरू अलमलिए। जहाँबाट उनीहरूलाई सैद्धान्तिक उत्प्ररेणा आउँथ्यो, त्यो स्रोत धमीलो भएको उनीहरूले देखे।
पार्टीभित्रको अन्तरद्वन्द्व विकर्षणको अर्को कारण हो। कुनै समय मुक्ति, समृद्धि र समानताको कामना गर्नेहरूका निम्ति सोभियत संघ ‘सपनाको भूमि’ थियो। कम्युनिस्ट शासकहरूले आफैं पनि यसलाई प्रोपोगान्डाका रूपमा बढावा दिएका थिए। यही कामनाबाट निर्देशित भएर त्यो समय अमेरिकाबाट समेत धेरै युवा सोभियत संघ बसाइँ सरे। स्टालिनको उदयपछि भने स्थिति बदलियो। पार्टीभित्र आन्तरिक द्वन्द्व र काटमार सुरू भयो, जसले धेरैको कम्युनिस्ट पार्टीबाट मोहभंग गरायो।
यो किताबको खुलासा के भने, यत्रो स्वतन्त्रता र मुक्तिको कामना गर्दै साम्यवादी धारमा छिरेका व्यक्तित्वहरू त प्रश्न गर्ने ठाउँ नपाएर अलमलिन्छन् र फर्किएर आउँछन् भने, सामान्य मान्छेले दिनानुदिनको जीवनमा प्रश्न गर्ने खुकुलो ठाउँ नपाए लोकतन्त्र कसरी दिगो रहन सक्छ?
लोकतन्त्रमा कुनै पनि सिद्धान्तको एकाधिकार हुनु हुँदैन। त्यस्तो एकाधिकारले लोकतन्त्रको लाज राख्दैन। पछिल्लो समय संसारभरि लोकप्रियतावादी लोकतन्त्रको बोलबाला छ, जहाँ चुनावी प्रक्रियाका माध्यमबाट स्थापित सिद्धान्तले आफूलाई शाश्वत सत्यमा बदल्छ र प्रश्न गर्ने ठाउँ दिँदैन। भारतमा त्यस्तै छ, अमेरिकामा त्यस्तै। नेपाल पनि यो लहरबाट मुक्त छैन।
विगतका कम्युनिस्ट मुलुकहरूमा जस्तै अचेल लोकतन्त्रमा प्रश्नमाथि पहरा लगाइँदैछ। सत्तारुढ दलका नेताहरू नै हामीले बोलेपछि बोल्यो बोल्यो भनेजस्तो गर्छन्। नेताको मुखबाट जे झर्छ, अनुयायीहरू त्यसैलाई ध्रुवसत्य मान्छन्। कसैले प्रश्न गरे ‘अरिंगालको गोलो’ बनेर जाइलाग्छन्। सामाजिक सञ्जालमा दोहोलो काढ्छन्। यस्तो प्रवृत्तिले सरकारका नीति तथा निर्णयमाथि प्रश्न उठाउने लोकतान्त्रिक संस्कार निरुत्साहित हुँदैछ।
लोकतन्त्र दीगो रूपमा स्थापित गर्ने हो भने ‘सम्राट नांगो छ’ भन्ने चेतना भएको सानो बालकको खाँचो पर्छ। हाम्रो लोकतन्त्रलाई अब कस्तो आकार दिने हो, त्यो हाम्रा ‘सम्राट’ हरूकै हातमा छ।
उनीहरू नांगै हिँड्न खोजेका हुन् कि ‘तिमी नांगो छौ’ भनी प्रश्न उठाउन छुट दिने हुन्?
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)