पढ्नु भनेको जागिर खानको लागि हो भन्ने मानसिकता संसारका धेरैजसो मुलुकमा अझै पनि व्याप्त छ।
अझ नेपाल जस्ता अल्पविकसित मुलुकहरूमा चेतनाको कमीले गर्दा पढ्नु भनेकै जागिर खाएर धेरथोर पैसा कमाउनु, आफ्नो जीवन गुजारा गर्नु अनि आफ्ना सन्तानलाई पढाएर उनीहरूलाई पनि आफू जस्तै जागिर खाने बनाउनु हो।
हाम्रा आमाबुवाले त्यही गर्नुभयो र सायद हामीमध्ये धेरैजसो अभिभावकहरू पनि त्यही बाटोमा अगाडि बढिरहेका छौं।
हाम्रो आमाबुवाको समयमा शिक्षा र चेतनाको कमी थियो,संचारको पहुँच यतिधेरै थिएन अनि गरिबी पनि अहिले भन्दा बढी थियो जसका कारण बच्चालाई पढाएर जागिर खाने बनाउने सोचाइ बाहेक उहाँहरूसँग दोस्रो सोचाइ मनमा आउनै सक्दैनथ्यो।
तर अहिले संचार सुविधाको विकास र यसले गर्दा सम्भव भएको विश्वव्यापीकरणले गर्दा हामीले विश्वका अरू ठाउँमा भैरहेका हरेक क्षेत्रका नयाँनयाँ प्रयोगहरूलाई पनि सजिलै थाहा पाउन सक्ने भएका छौं।
यही संचारको सुविधाले गर्दा अन्य देशहरूमा बच्चालाई पढाउने तरिका हाम्रो देशमा भन्दा बेग्लै छ भन्ने कुरा हामीले बल्ल बुझ्न पाएका छौं।
विकसित देशका बच्चाहरू पछि गएर वैज्ञानिक, लेखक, सोधकर्ता, प्राध्यापक, कलाकारलगायत हुन्छन्। अरूलाई काममा लगाउँछन्। तर हाम्रा अधिकांश बच्चाहरू जति पढे पनिअर्काको कम्पनीमा काम गर्न र कम्पनी मालिकको निगाहबाट प्राप्त भएको तलबले जीवन गुजारा गर्न बाध्य हुन्छन्।
आखिर किन यत्रो भिन्नता छ त हाम्रा र अन्य विकसित देशका बच्चाहरूमा? के हाम्रा बच्चाहरू उनीहरू भन्दा कम बुद्धिमान छन्? कदापी होइन, वास्तवमा घोकन्ते ज्ञानको हिसाबले सायद हाम्रा बच्चाहरू उनीहरूभन्दा धेरै अगाडि होलान् तर पढेको ज्ञानलाई कसरी उपयोगमा ल्याउने अनि जीवन कसरी जिउने सम्बन्धमा विकसित देशका बच्चाहरूले धेरै जानेका हुन्छन्।
मुख्य भिन्नता त्यही हो जसले गर्दा हाम्रो देशका बच्चाहरू जागिर खाने बन्छन् भने विकसित देशका बच्चाहरू जागिर खुवाउने बन्छन्।
विकसित देशका बच्चाहरूको पढाइमा दुई कुराले बढी महत्व पाएको हुन्छ- पहिलो कुरो विद्यार्थीभित्र भएको प्रतिभालाई बाहिर प्रस्फुटित गराउने अनि अर्को कुरो आफूले पाएको शिक्षालाई कसरी व्यवहारिक र व्यवसायिक बनाउने।
पढाउने विषयहरू एउटै भए पनि पढाउने तरिकाले गर्दा विकसित देशमा पढेका विद्यार्थीहरू भन्दा हाम्रो देशमा पढेका हाम्रा बच्चाहरू जीवनको दौडमा कमजोर हुन जान्छन्।
अध्ययनले के देखाउँछ भने संसारका अधिकांश मानिसलाई आफूलाई के मनपर्छ भन्ने नै थाहा हुँदैन अनि त्यही आफ्नो रुची थाहा नपाएर नै मान्छेले जीवनलिला समाप्त गर्छन्। तिनैमध्ये सायद हामी पनि हौला।
परिवारको सुझाव,समयमै आफूलाई चिन्न नसक्नु अनि आर्थिक दबाबले गर्दा अधिकांश मानिसहरू आफूले मन नपराएको काम जिन्दगीभरि गर्न बाध्य हुन्छन्।
आफूले मन नपराएको क्षेत्रमा काम गर्दा न त पूरै तन र मन लगाएर काम गरिन्छ न त त्यसमा प्रगति गर्न सकिन्छ। मानिस त्यो भूमरीमा परिसकेपछि त्यहाँबाट निस्कन निकै कठिन हुन्छ।
त्यसैले हामीले जुन कुरा भोगेर पीडित भएर बाँच्नु परेको छ त्यही कुरा हाम्रा भावी पिँढीले भोग्नु नपरोस् भन्ने हामी चाहन्छौं भने उनीहरूलाई हामीले आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्छ।
सबभन्दा महत्वपूर्ण कुरो के हो भने बच्चालाई जे मन पर्छ त्यो क्षेत्रमा विकास गर्न दिनु।
संसारमा हरेक मान्छे फरक हुन्छन्। प्राय: जसो परिवारमा आमाबुवाको छोराछोरीप्रतिको आशा एउटा हुन्छ तर छोराछोरीको रुची अर्कैतिर।
सबै आमाबावुले आफ्ना छोराछोरीले धेरै पढून्, ठूलो मान्छे बनून्, समाजमा इज्जत कमाउन् भन्ने चाहेका हुन्छन्।
समाजमा कस्ता व्यक्तिले इज्जत कमाएका छन् आफ्ना छोराछोरी पनि त्यही विषयमा लागून् भन्ने सोच्छन्। अनि छोराछोरीले पनि सानो हुँदा आफूले के बन्न चाहेको भन्ने पहिल्याउन सकेका हुँदैनन्।
त्यस्तो अवस्थामा स्कुलका गुरूको र आमाबावुको भूमिका निकै महत्वपूर्ण हुन्छ। यदि बाबु आमाले छोराछोरीलाई आफ्नो विचार अनुसार पढ्न लगाए भने र यदि त्यो क्षेत्र उसको लागि मन नपर्ने क्षेत्र रहेछ भने उसले जिन्दगीभर पीडाको जिन्दगी बिताउनु पर्ने हुन्छ। त्यो क्षेत्रमा न उसले प्रगति गर्न सक्छ न त त्यो क्षेत्रलाई सजिलै छोड्न नै।
बच्चाहरूले उनीहरूले हेरेका सिनेमा, पढेका पुस्तक, साथीभाइहरूले गरेको गफ अनि अरूले गरेको प्रगति देखेर आफ्नो रूची परिवर्तन गर्दै जान्छन्। तर त्यो क्षणिक हुन्छ। उनीहरूले आफ्नो वास्तविक रूची पहिल्याए भने त्यो दीर्घकालीन रूपमा रहन्छ अनि एक पटक आयो भने छोडेर जाँदैन।
मानौं कुनै बच्चालाई पढ्नमा यति धेरै रूची छ कि उसले पुस्तक पढ्न पाएपछि खाना खान समेत बिर्सन्छ। तर कक्षामा पढाइने किताबदेखि उसलाई निकै रिस उठ्छ, खाली कथा र उपन्यास मात्रै पढेर दिन बिताउँछ। उसको गणित अरू विषय भन्दा अलि कमजोर छ। परिवारको चाहना बच्चा डाक्टर बनोस् भन्ने छ तर त्यो कुरा सुन्दै ऊ रिसाउँछ र भन्छ “बरू बेरोजगार नै सही तर डाक्टर त बन्दैन।”
डाक्टर बन्न नचाहनुमा उसको मुख्य विरोध त्यो पेशामा समयको लचकता नहुनु हो। ऊ समयको पावन्दीमा बस्न चाहन्न।
हाम्रो मातापिताको बेलाको जस्तो सोचाइ भयो भने उसका आमाबुवाले उसको गणित कमजोर छ भनेर उसलाई गणितमा बढी ध्यान दिन लगाउने छन्, ट्युसन राख्नेछन्, अनि उसको गणित राम्रो हुँदै जानेछ।
मेहनत र समय दिएपछि राम्रो हुने नै भयो। पछि गएर उसको गणित राम्रो भएकोले आमाबुवाले उसलाई आफूले चाहेको डाक्टर बनाउन नसके पनि इन्जिनियर बन्न सल्लाह दिनेछन् अनि ऊ पनि हो मा हो मिलाएर त्यतैतिर लाग्नेछ अनि इन्जिनियरिङ पेशामा काम गर्न थालेपछि उसलाई पछुतो हुनेछ तर त्यसबाट उम्कन उसलाई असम्भव प्राय: भैसकेको हुनेछ।
तर यदि उसको पुस्तक पढ्ने रुचिलाई उसका बाबुआमाले पनि समर्थन गरे भने र उसलाई पनि त्यसमा रुची कम भएन भने त्यही क्षेत्रमा उसले प्रगति पनि गर्नेछ। उसले कुनै कम्पनीमा जागिरको लागि निवेदन हाल्दै हिँड्नु पर्ने छैन, हाकिमको गाली सहेर तनावमा काम गर्नुपर्ने छैन,उसको क्षमताले गर्दा कम्पनीहरू उसलाई खोज्दै आउनेछन् अथवा उसले आफ्नै सानोतिनो कम्पनी खोलेर आफैं काम सुरू गर्न सक्नेछ किनभने त्यो क्षेत्रमा काम गर्न उसलाई रुची छ।
उसको पढाइले डाक्टर, इन्जिनियरको जस्तो धेरै पैसा कमाउने जागिर नपाइएला तर पुस्तक समिक्षा गर्ने,पुस्तक सम्पादन गर्ने काममा उसले निकै खुसी भएर काम गर्नेछ।
जब कुनै क्षेत्रमा रुची हुन्छ मानिसले त्यसमा रात दिन नभनी काम गर्न सक्छ,त्यो कामबाट उसलाई कुनै थकावट हुँदैन। खुसी भएर रात दिन काम गरेर पछि सफल नहुने भन्ने प्रश्न नै हुँदैन।
उसले यदि कुनै कम्पनीमा नै जागिर खायो भने उसको रुची, क्षमता र मेहेनतले गर्दा उसले त्यहाँ प्रगति गर्दै जानेछ र चाँडै उच्च ओहदामा पुगेर अरूलाई जागिर दिने बन्न सक्छ।
यदि उसलाई जागिर खाने रुची भएन भने पनि उसले आफू जस्तै रुची भएका अन्य व्यक्तिहरूसँग साझेदारीमा कम्पनी खोलेर त्यही आफ्नो सम्पादन व्यवसायलाई फैलाउँदै लान सक्छ। उसले जागिरको लागि कसैको मुख पनि ताक्नु परेन बरु आफ्नो कम्पनीमा उसले अरूलाई जागिर दिन सक्ने हुन्छ।
यो त एउटा काल्पनिक उदाहरण मात्र हो।
धेरैजसो विद्यार्थीहरूको जीवनमा यही कहानी दोहोरिन्छ। हामीले सुनेका, पढेका अधिकांश सफल व्यक्तिहरूको कहानी पनि यस्तै नै हुन्छ।
कुनै पनि व्यवसाय या काम सानो ठूलो भन्ने हुँदैन, कामलाई सानो ठूलो हाम्रो सोचाइले बनाउने हो।
मेहेनत गरेर काम गरेमा आफूलाई मनपरेको हरेक क्षेत्रमा सफल हुने निश्चित छ।
यसको तात्पर्य के हो भने हामीले पनि बच्चाहरूलाई डाक्टर, इन्जिनियर हुने दबाब दिएर नपढाऔं। उनीहरूलाई मन परेको विषय छान्न दिऊँ। अझ त्यो भन्दा पनि महत्वपूर्ण उनीहरूको रुची पत्ता लगाउन उनीहरूलाई घर र स्कुलमा सहयोग गरौं।
कुनै निश्चित क्षेत्रमा रुची भएका बच्चाहरूको रुची र क्षमता पहिचान गर्न हामीले उनीहरूलाई आफ्नो तर्फबाट सहयोग गर्यौं भने हामीले आफ्नै देशमा निकै सक्षम र सफल व्यापारी,उद्यमी,शिक्षक,डाक्टर, प्राविधिक, प्राध्यापक, कलाकार उत्पादन गर्न सक्नेछौं जो आफ्नो कामप्रति निकै रुची राखेर काम गर्नेछन् र समाजको लागि आ-आफ्नो क्षेत्रबाट उचित योगदान दिन सक्षम हुनेछन्।
तर त्यसो भन्दा स्वभाविक एउटा प्रश्न मनमा उब्जन्छ- सबैले जागिर खुवाउने भएपछि जागिर खाने चाहिएको त?
त्यसमा पनि समस्या हुनेछैन किनभने परिवारले र गुरूहरूले सहयोग गर्दागर्दै पनि धेरैजसो विद्यार्थीहरूले आफ्ना रुचीहरू निर्क्यौल गर्न सक्दैनन्। ती बच्चाहरू यस्ता हुन्छन् जसको कुनै खास क्षेत्रमा रुची हुँदैन, सबै कुरामा ठीकै हुन्छन्, तर कुनै पनि क्षेत्रमा पोख्त हुँदैनन्। उनीहरूलाई जे काम गरे पनि खासै फरक पर्दैन, जुन क्षेत्रमा मेहेनत गर्यो। त्यसैमा दक्षता हासिल गर्छन्।
उनीहरूको लागि जुनसुकै पेशा पनि स्वीकार्य हुन्छ, खाली राम्रो कम्पनी, राम्रो हाकिम र राम्रो तलब भए हुन्छ र तिनैले जागिर खाने जमातको प्रतिनिधित्व गर्नेछन्। त्यसो भनेर उनीहरू कम बुद्धिमान भनेको होइन। खाली फरक यत्ति हो कि उनीहरूको एउटा विषय र क्षेत्रमा मात्रै रुची हुँदैन, सबै क्षेत्रमा काम गर्न र रमाउन सक्छन्।
अबको यो विश्वव्यापी प्रतिस्पर्धाको नयाँ युगमा हाम्रा स्कुलहरूले अनि अभिभावकहरूले पनि विद्यार्थीहरूलाई घोकन्ते पढाइबाट व्यवहारिक र व्यवसायिक पढाइतर्फ लानु अत्यावश्यक भैसककेको छ।
जिन्दगीको यो दौडमा हाम्रा बच्चाहरू पछि परे भने उनीहरूलाई कसैले पर्खिने छैन। अहिले सूचना तथा संचारको पहुँचको सही उपयोग गरेर अन्य सफल शिक्षा पद्धति भएका देशहरूसँग सिकेर हाम्रा बच्चाहरूलाई पनि यो दौडको अग्रपंक्ति पुर्याउन हामीले तुरुन्तै कदम चाल्नु अत्यावश्यक भैसककेको छ।