हामीले सानैदेखि सुन्दै आएको ‘ज्ञान नै शक्ति हो’ भन्ने कथन अहिले शान्तिपूर्ण विश्वमा अझ बढी सत्य सावित हुँदै गएको छ।
सूचना प्रविधिको विकासले त यसलाई एक कदम अगाडि बढ्न मद्दत गरेको छ। अहिले ज्ञान भन्नु शक्ति मात्र होइन, धन, इज्जत अनि खुसी र सुख पनि भएको छ।
हुन त हामीले विभिन्न तरिकाबाट ज्ञान प्राप्त गर्न सक्छौं तर सबभन्दा सजिलो र सबैले मान्यता दिएको ज्ञान पुस्तकहरूको अध्ययन नै हो।
केही दसक अगाडिसम्म पनि पुस्तकको ज्ञान प्राप्त गर्न अहिले जस्तो सजिलो थिएन तर अहिले प्रविधिको विस्तारले गर्दा ज्ञान प्राप्त गर्न निकै सजिलो भएको छ। चाहनु मात्र पर्छ अधिकांश ज्ञान हाम्रो पहुँचमा छ। पुस्तक पढ्न ठूलो रकम खर्च गर्नु पर्दैन, न त धेरै समय नै पर्खिनु पर्छ।
धेरै पहिलेका विद्वानहरूले अधिकांश ज्ञान आफ्नै मेहेनत र खोजीबाट पत्ता लगाउनु पर्थ्यो तर अहिले हामी अरुले पत्ता लगाएको ज्ञानबाट सुरू गरेर धेरैभन्दा धेरै ज्ञान निकै छोटो समयमा प्राप्त गर्न सक्छौं।
सूचना प्रविधि र इन्टरनेटको विकासले ज्ञानलाई सर्वसुलभ बनाइदिएको छ। लाखौं पुस्तकहरू हामीले बिना कुनै शुल्क आफ्नो कम्प्युटरमा इन्टरनेटबाट प्राप्त गर्न सक्छौं। ज्ञान प्राप्त गर्नको लागि यो भन्दा राम्रो समय पहिले कहिले पनि थिएन।
त्यसैको कारणले होला अधिकांश विकसित अनि विकासशील मुलुकहरूमा पुस्तक पढ्ने मान्छेहरूको संख्या दिन प्रतिदिन बढ्दै छ। तर अफसोचको साथ भन्नुपर्छ यति सजिलै ज्ञान प्राप्त गर्ने सुविधा पाउँदा पाउँदै पनि नजिकको तिर्थ हेला भने जस्तै गरेर अधिकांश नेपालीहरू यो सुवर्ण अवसरको प्रयोग नगरी बसेका छौं।
विद्यालयका पाठ्यपुस्तक बाहेक नेपालमा नियमित रूपमा पुस्तक पढ्ने जनसंख्या नगण्य छ। अधिकांश परिवारमा उमेर पुगेका अभिभावक मात्र होइन, स्कुले केटाकेटीहरूले पनि नियमित रूपमा पढ्दैनन्। दुई तीन दशक अगाडिसम्म घरको कामले गर्दा फुर्सद नभएर या रातमा पढ्नको लागि बत्ती नभएर धेरैजसो बालबालिकाहरूले पढ्न पाउँदैनथे तर त्यो असुविधा अहिले अधिकांश मानिसहरूलाई छैन। तर पनि पुस्तक पढ्ने जनसंख्या बढ्न नसकेको कुरा विभिन्न तथ्याकंहरूले देखाउँछन्।
नपढ्नु भनेको ज्ञानबाट बन्चित हुनु हो। ज्ञानबाट बन्चित भएको एउटा नागरिकले देशको लागि के गर्न सक्ला? हाम्रो देशको अहिलेको अवस्थाले त्यही कुराको चित्रण गर्छ।
पढ्ने बानी सानो हुँदादेखि नै लगाउनु पर्छ, तर अहिले धेरैजसो नयाँ पिँढीको लागि पढ्ने भनेको स्कुलमा पढेका पुस्तकहरूलाई घोक्ने र गृहकार्य गर्ने मात्र हुन्छ। त्यस बाहेक पाठ्यक्रमभन्दा बाहिरका पुस्तकहरू किनेर या अन्य कुनै स्रोतबाट खोजेर पढ्नु भनेको समय बर्बाद गर्ने भन्ने जस्तो सोच भएको छ। बच्चाहरू भनेका देशका भविष्य हुन् त्यसैले यदि उनीहरूलाई पनि हाम्रो जस्तै नपढ्ने बानी लाग्यो भने हाम्रो देशको भविष्य के होला? अहिले नै किटानका साथ भन्न सकिन्छ।
हाम्रो समाजमा नपढ्ने बानी सृजना हुनुमा मुख्य दुई कारण देखिन्छन्।
पहिलो र मुख्य कारण भनेका हामी अभिभावकहरू नै हौं।
अधिकांशका घरमा साँझ पर्यो भने बाबु आमा कि टिभीमा धारावाहिक हेरेर बस्छन् अथवा आ-आफ्नो मोबाइलमा सामाजिक सञ्जाल चलाएर बस्छन्। त्यति मात्र होइन बच्चाले आफ्नो काममा अवरोध नगरोस् भनेर बच्चाहरूलाई पनि एउटा मोबाइल या ‘ट्याब’ थमाइदिन्छन्। आफ्नो आधिकारिक शिक्षा पूरा गरेपछि हामीले विरलै मात्र पुस्तक समातेका हौंला।
त्यस्तो पारिवारिक वातावरणमा बच्चाहरूले कसरी पढ्न सक्लान्? बच्चालाई पनि पढाइ भन्दा कम्प्युटर ‘गेम’ र भिडिओ हेर्नमा दिलचस्पी हुन्छ अनि बिस्तारै त्यो नै उसको बानी हुन थाल्छ। त्यसैले बच्चाहरूलाई पढाउनको लागि सबभन्दा पहिले हामीले आफूलाई सुधार्न निकै जरुरी हुन्छ।
हामीले टिभी या मोबाइल नहेरेर पुस्तक समातेर बस्यौं भने बच्चालाई पनि पुस्तक पकड्न नैतिक दबाब हुन्छ। घरमा साँझको खाना खाएर सुत्नु अगाडि सकभर एक घण्टा बच्चाहरू सँगसँगै बसेर आफू पनि पढ्ने अनि बच्चाहरूलाई पढाउने गर्न सकेमा त्यसले आफ्नो र बच्चा दुवैको ज्ञान र बानीमा सुधार गर्छ।
अर्को समस्या भनेको बजारमा बच्चाहरू लागि चाहिने पुस्तकहरू सजिलै उपलब्ध नहुनु।
नेपाली भाषाको पुस्तकको बजार निकै सानो छ। अरु देशमा जस्तो नेपालमा बच्चाहरू उमेर अनुसार वैज्ञानिक तरिकाले अनुसन्धान गरेर उनीहरूको लागि भनेर पुस्तकहरू प्रकाशित हुँदैनन्, भए पनि निकै नै कम हुन्छन्। यदि कसैले त्यसमा काम गर्न चाहे पनि ती पुस्तकहरू किन्ने मान्छे कम भएर उसले व्यापारमा नाफा गर्न सक्दैन र त्यो क्षेत्रमा कसैले पनि लगानी गर्ने आँट गर्न सक्दैन। त्यस्तो क्षेत्रमा सरकारले आफ्नै लगानी गरेर त्यसलाई जीवित राख्नुपर्ने हो तर सरकारलाई यसको बारेमा केही मतलब नै छैन। त्यस्तो अवस्थामा बच्चाहरूलाई पढ्नमा उत्सुक बनाउने पुस्तकहरू नभए पछि बच्चाहरूले पढाइमा मन गर्ने कुरा पनि भएन।
अनि उनीहरूलाई मन नपर्ने पुस्तकहरू जबर्जस्ती पढ्न लगाएपछि त्यसले बच्चाको पढ्ने बानीलाई सुधार्ने भन्दा पनि त्यसले पढाइप्रति वितृष्णा जगाउन सक्छ।
बच्चाहरूलाई पढ्ने बानी लगाउन उनीहरूलाई कमिकका पुस्तक, रमाइला कथाहरू भएका कार्टुनका पुस्तक, ‘सुपर हिरो या देवी देवताका कथाहरू भएका रंगिन चित्रसहितका पुस्तक दिनुपर्छ।
ती पुस्तकहरूमा हँसाउने कथाहरू पनि समावेश गरिदिए उनीहरूको पढाइप्रतिको चाख अझ बढ्छ। अनि ती कथाहरूमा उनीहरूले थाहा नपाउने गरी नैतिक ज्ञान र मानवता घोलिदिनु पर्छ।
आफ्नै भाषाका पुस्तक नपाइएमा अन्य भाषाका पुस्तकहरू पढाउन सकिन्छ। नेपालको अहिलेको सन्दर्भमा सायद अंग्रेजी नै त्यसको एक मात्र विकल्प हो। बच्चाहरूको पढ्ने रुचीको विषयमा धेरै ठूला/ठूला सोध र खोजहरू भएका छन् र त्यही अनुरूप नै अंग्रेजी भाषामा पुस्तकहरू छापिएका छन्।
नेपालमा छापाका ती पुस्तक पाउन अलि कठिन भए पनि इन्टरनेटमा अधिकांश पुस्तकहरू प्राप्त गर्न सकिन्छ अनि बच्चाहरूलाई कम्प्युटर या ट्याबमा ती पुस्तक पढाउन सकिन्छ। ती पुस्तकहरूले बच्चाको पढ्ने बानीलाई धेरै हदसम्म सुधार्छन्। तर बच्चाहरूको उमेर अनुसार कुन कक्षामा कस्ता पुस्तकहरू पढ्न दिने भन्ने बारेमा निकै सतर्क हुनुपर्छ।
बच्चाको उमेर नमिल्ने पुस्तक जथाभावी पढ्न दियो भने त्यसले नकारात्मक असर पनि पार्न सक्छ। बानी लागिसकेपछि वयस्क हुँदा पनि उनीहरूले पुस्तक पढ्न छोड्दैनन्।
पुस्तक पढ्नु भनेको जागिर खानु या कसैको अगाडि आफ्नो ज्ञान प्रदर्शन गरेर आफूलाई अरु भन्दा ठूलो देखाउनको लागि होइन। पुस्तक ज्ञानको भण्डार हो, त्यसैले यसले मानिसलाई ज्ञान दिने मात्र होइन धेरै व्यवहारिक र सामाजिक कुराहरू पनि सिकाउँछ। मानिसले कस्तो पुस्तक पढ्छ त्यसको आधारमा मानिसको चरित्र विकास पनि हुन्छ अनि पुस्तक पढ्दा यदि मन परेको पुस्तक छ भने निकै एकाग्र भएर पढिन्छ र त्यसले दिमागलाई थकाउने नभई दिमागलाई शान्त बनाउँछ।
आफूलाई मन परेको पुस्तक पढ्दा निकै आनन्द महशुस हुन्छ। त्यसैले पुस्तक पढ्नुलाई एउटा कामको रूपमा नभई रुची र मनोरन्जनको रूपमा विकास गर्नुपर्छ।
बच्चा अलि ठूलो भैसकेपछि (छ-सात कक्षामा पढ्ने भएपछि) पुस्तकमात्र पढ्न मिल्ने ट्याब्लेट किनिदिएमा त्यसमा हजारौं पुस्तकहरू सित्तैमा प्राप्त गर्न सकिन्छ। त्यसो गर्दा एकातिर पढाइ पनि हुन्छ भने अर्कोतिर कम्प्युटर या ट्याबको विकिरणले बच्चाको आँखा पनि बिग्रन पाउँदैन।
समय समयमा बच्चाहरूलाई पुस्तक पसलमा या पुस्तकालय लिएर गएमा त्यहाँको वातावरणले गर्दा उनीहरूलाई पुस्तकप्रति अझ बढी रुची जगाउन सकिन्छ।
यो अपार ज्ञानको भण्डारबाट एक थोपा ज्ञान पनि आफूले ग्रहण गर्न सकियो भने पनि हाम्रो लागि निकै उपयोगी हुन सक्छ। अझ त्यो भन्दा पनि महत्वपूर्ण त आफ्ना नानीहरूले भविष्यमा यसबाट आफ्नो जिन्दगी सुखी र खुसीसँग बिताउन सक्छन्।
आफूले पढ्न नसक्नु या नपाउनुमा अधिकांशहरूले पैसा, समयको र भाषा समस्या अगाडि तेर्स्याउँछन् जुन कुरो केही हदसम्म मनासिव पनि हो तर खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै ती सबै बहानाको समाधान पनि छ।
पैसाको कुरो गर्दा बजारमा चार पाँच सय हालेर किताब किन्ने नेपालीहरू निकै कम हुन्छन्। अझ विदेशी किताबहरू किन्दा त सय होइन हजार भन्दामाथि नै तिर्नुपर्छ। त्यसैले पैसा नै सबभन्दा ठूलो बाधक हो।
नयाँ किताबहरू महँगा छन् र किन्ने आर्थिक सामर्थ्य छैन भने अरुले एक पटक पढिसकेका किताबहरू किन्न सकिन्छ अनि आफूले पढिसकेर त्यो किताबलाई बेच्न या आफ्ना अरु साथीहरूलाई पनि पढ्न दिन सकिन्छ।
त्यसो गर्दा आफूलाई पनि किताबप्रति रुची बढ्दै जानेछ। तर अहिले इन्टरनेटमा विभिन्न भाषाका लाखौं पुस्तकहरू सित्तैमा प्राप्त गर्न सकिन्छ। बजारमा भर्खर निस्केका महंगा पुस्तकहरु किन्न नसके पनि हामीले इन्टरनेटमा सित्तैमा पाइने अमुल्य पुस्तकहरु सजिलै पढ्न सक्छौं ।
दिनभरि काम गरेर साँझ अलिकति मनोरन्जन र विश्राम गर्न छोडेर पुस्तक पकड्न धेरैलाई अल्छी लाग्नु स्वभाविकै हो तर समय भनेको निकाल्न सकिने कुरो हो। आफ्नो प्राथमिकता केमा छ भन्ने मात्रै ठूलो कुरो हो।
काम न काजका टिभीका धारावाहिक हेरेर समय खेर फाल्नुभन्दा पुस्तक पढ्नुमा धेरै फाइदा छ। राम्रो पुस्तक छानेर पढ्यो भने टिभीले दिने मनोरञ्जन र सूचना पुस्तकले पनि दिन्छ त्यसको अतिरिक्त ज्ञान दिनु त छँदैछ।
अर्को समस्या हो भाषाको।
अलि बुढो पुस्ताको लागि यो समस्या होला तर नयाँ पिँढीको लागि यो कदापि समस्या होइन।
नेपाली भाषामा विभिन्न खालका विज्ञानसम्बन्धी पढ्न लायक धेरै पुस्तक नहोलान् तर पनि साहित्यका पुस्तकहरू सजिलै अनि सस्तो मै प्राप्त गर्न सकिन्छ। यदि अंग्रेजी भाषाको ज्ञान छ भने त जिन्दगीभरि पढेर पनि नसकिने पुस्तकहरू जताततै उपलब्ध छन्।
अहिलेका अधिकांश बच्चा र युवाहरूको लागि अंग्रेजी भाषाका आफ्नो उमेर अनुसारका पुस्तक पढ्न सायद समस्या पनि नहोला।
यदि समस्या भए जानी/नजानी भए पनि ती पुस्तक दोहोर्याई तेहेर्याई पढ्नु र तिनलाई बुझ्नु नै बुद्धिमानी हुनेछ किनभने हामीले चाहे पनि नचाहे पनि आधुनिक विश्वमा हामी अंग्रेजीबाट अलग्ग भएर बस्न सक्दैनौं र ढिलो चाँडो हामीले अंग्रेजीका पुस्तकहरू पढ्नु नै पर्नेछ ।
संसारका अधिकांश सफल व्यक्तिहरू पुस्तकप्रेमी हुन्छन्। विल क्लिन्टनले अक्सफोर्डमा पढ्दा एक वर्षमा ३०० पुस्तक पढेका थिए रे त्यसले उनलाई राष्ट्रपति पद जित्न र पछि राष्ट्रपति भैसकेपछि राज्य सत्ता चलाउन निकै सहयोग गरेको थियो भन्ने कुरा उनी आफैंले भनेका छन्।
त्यस्तै स्टिभ जब्सले आफ्नो चर्चित स्टानफोर्ड विश्वविद्यालयको एउटा भाषणमा ‘कनेक्टिङ द डट्स’ को कुरा गरेका थिए। उनले त्यसमा आफूले आर्जन गरेको ज्ञान जीवनको कुनै न कुनै समयमा उपयोगी हुन सक्छ भन्ने कुरालाई दर्शाएका थिए।
के थाहा हामीले पढेको ज्ञान पनि हाम्रो जीवनको कुन समयमा कतिबेला काम लाग्न सक्छ।
त्यसैले अल्छी नमानी आजैदेखि आफू पनि पढ्न थालौं अनि आफ्ना बच्चाहरूलाई पनि पढ्न सिकाऔं।
त्यसैमा हाम्रो आफ्नो, हाम्रा बच्चाको अनि हाम्रो देशको भविष्य पनि जोडिएको छ।