केही समयअघि शक्तिशाली चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले पूरै नेपाल तात्यो।
सरकार अरु सबै कुरा छोडेर उनको भ्रमणको तयारीमा लाग्यो। कुनै एउटा छिमेकी देशको नेताले अर्को छिमेकी देशको भ्रमण गर्नु सामान्य कुरो हुनुपर्ने हो तर २३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको त्यो भ्रमण नेपालको लागि निकै महत्वपूर्ण पनि थियो र त्यसै अनुरूप त्यसले चर्चा पनि पायो।
चिनियाँ राष्ट्रपतिको भ्रमणले छोडेर गएका डोबहरू मेटिन केही समय लाग्नेछ। रातारात पुरिएका सडकका खाल्डाहरूको कालोपत्र उप्कन र रंगिएका सडकहरूको रंग पखालिन त्यति धेरै समय नलाग्ला तर सीको भ्रमणका असरहरू लामो समयसम्म रहिरहने कुरा निश्चित छ।
नेताहरूले प्रचार र अपेक्षा गरे जस्तो सीले कुनै ‘सप्राइज’ प्याकेज दिएर गएनन्। उनको भ्रमण हुनु नै ठूलो कुरो थियो, नेपालीले त्यसैमा चित्त बुझाए। सरकारले मागेजस्तो उनले गोजीबाट ‘रेडी मेड’ रेल निकालेर दिने स्थिति पनि थिएन। त्यसैले उनले नेपालीहरूलाई सम्भाव्यता अध्ययनको‘सप्राइज’ दिएर फर्के तर पनि सरकारको लागि त्यही नै ठूलो उपहार थियो र अहिले चीनसँग भएका सानातिना सम्झौतालाई बढाइचढाइ गरेर प्रचार गर्दैछन्। आफूले गरेर देखाउनुभन्दा पनि अर्काको मुख ताकेर बस्न पल्केका नेताहरूको लागि सायद त्यो नै ठूलो कुरो थियो होला र त्यसैमा रमाउँदैछन्।
सरकारले त्यो भ्रमणलाई आफ्नो राजनीतिक र कूटनीतिक सफलतासँग जोड्यो अनि कुनै असम्भव काम गरेजस्तो गरेर सबै श्रेय आफूले लिन खोज्दैछ। जनताहरू पनि केपी ओलीको व्यक्तित्व र उनको सरकारको कूटनीतिक क्षमतालाई नै यो भ्रमणको श्रेय दिन हिच्किचाउँदैनन्।
केपी ओलीको व्यक्तित्व र उनको सरकारको कूटनीतिक क्षमताले अवश्य पनि उत्प्रेरकको काम गरेको हो तर यो भ्रमण खासमा सरकारको कारणले मात्र नभई अन्य बाह्य तथा चीनका आफ्नै स्वार्थहरूले गर्दा सम्भव भएको हो।
उसो भए के थिए त कि कारक तत्वहरू,यसलाई केलाउनुपर्ने भएको छ।
यस पटक सी चिनफिङको भ्रमण हुनुलाई मुख्य तीन कुराले सहयोग गरेका थिए।
१. लामो समयपछि फर्किएको नेपालको राजनीतिक स्थिरता:
लामो समयसम्म गृहयुद्धमा फसेर शान्ति सम्झौता भएर केही राहतको स्वास फेरे पनि फेरि धेरै वर्षसम्म नेपाल राजनीतिक संक्रमण कालमा फसेको थियो। के होला, देशको राजनीति कतातिर जाला सबै अनुमानको विषय मात्र थियो। तर नयाँ संविधान बनेर त्यही अनुरूप चुनाव भएर नयाँ सरकार गठन भैसकेपछि नेपालको राजनीतिक स्थिरता केही हदसम्म सुनिश्चित भयो।
अहिले पनि केही असन्तुष्ट पक्ष र विप्लव समूहहरूले केही वितण्डा मच्चाउने काम जारी राखेकै छन् तर विगतको अस्थिरतालाई हेर्दा अहिले कति क्रियाकलापहरूलाई नगण्य भन्न सकिन्छ।
पछिल्लो पटक चिनियाँ राष्ट्रपति भ्रमण १९९६ सालमा भएको थियो जुन सालमा नै नेपालमा गृहयुद्ध सुरू भएको थियो। त्यसैले पनि राजनीतिक अस्थिरताको बीचमा भ्रमण गर्नु अर्थहीन र असुरक्षित पनि हुन सक्थ्यो।
चीनको मात्र कुरा नगरौं त्यो अस्थिरताको समयमा मनन योग्य उच्च राजनीतिक भ्रमणहरू भएका थिएनन्। त्यसैले राजनीतिक स्थिरतापछि जुन दल सरकारमा आए पनि एउटा छिमेकी देशको नाताले सानो आग्रह मात्रैले पनि चिनियाँ राष्ट्रपतिको भ्रमण अवश्य हुन्थ्यो त्यसमा कुनै शंका थिएन।
२. बढ्दो चिनियाँ महत्वकांक्षा र नेपालको भू-राजनीतिक स्थिति
विगत तीन दशकसम्म मुख्यरूपमा आर्थिक विकासमा केन्द्रित चीनले सी चिनफिङ सत्तामा आएपछि विश्व राजनीतिमा आफ्नो सुहाउँदो स्थान खोज्न थालको स्पष्ट हुन्छ।
आधुनिक चीनलाई प्राचीन चीनजस्तै शक्तिशाली स्थानमा स्थापित गर्न उनले ठूलो योजना अगाडि सारेका छन्। त्योमध्ये बीआरआइ पनि एक हो। त्यो योजनामा चीनको मात्र महत्वाकांक्षा लुकेको छैन सी चिनफिङ व्यक्तिगत इज्जत पनि लुकेको छ र त्यसलाई जसरी पनि सफल पार्नु चीनको लागि निकै महत्वपूर्ण छ।
तीन दशकको सफल आर्थिक क्रान्तिपछि विश्वको दोस्रो आर्थिक शक्ति भैसकेको चीनले अब विश्व राजनीतिक मानचित्रमा आफ्नो पहिलेको भन्दा ठूलो हिस्सा खोजेको छ र त्यसको लागि उसले हरेक साना ठूला देशहरूलाई आफ्नो पक्षमा लिनु निकै जरूरी हुन्छ।
अझ त्यसमा पनि छिमेकी राष्ट्रहरूको समर्थनले निकै ठूलो अर्थ राख्छ। आर्थिक रूपले नेपाल चीनको लागि ठूलो बजार नहोला तर पनि एउटा छिमेकीको हिसाबले नेपालले चीनले अघि सारेका योजनाहरूमा समर्थन या विरोध गर्छ त्यसको चर्चा विश्व राजनीतिमा ठूलै अर्थ राख्छ। कुनै पनि योजनामा यदि छिमेकी राष्ट्रले नै समर्थन गरेन भने स्वभाविक रूपमा त्यसको महत्व घट्छ।
अर्को महत्वपूर्ण कुरो चीनको लागि तिब्बती शरणार्थीको समस्या निकै संवेदनशील विषय हो। वर्तमान विश्व परिस्थितिमा तिब्बतलाई स्वत्रन्त्र राष्ट्र घोषणा गर्न असंभव भए पनि पश्चिमाहरूले चीनको टाउको दुखाउनको लागि भए पनि स्वतन्त्र तिब्बतको गोटी छोड्ने छैनन् र मौका पाउना साथ नेपाललाई चीनको विरोध गर्ने खेल मैदान बनाउन सक्छन् भन्ने चीनलाई राम्रैसँग थाहा छ। त्यसैले पनि नेपाललाई आफ्नो हातमा लिइराख्नु चीनको हितमा छ। हुन त चीनले वास्ता नगरे पनि नेपालले अहिले चीन विरोधी कुनै पनि गतिविधिहरूलाई समर्थन गर्ला भन्ने कुरा सोच्न सकिन्न तर स्वतन्त्र तिब्बतको बारेमा हुन सक्ने सानातिना गतिविधिहरूले पनि अन्तर्राष्ट्रिय संचार माध्यममा ठूलो स्थान पाउँछन् जुन कुरो चीनको टाउको दुखाइ हुन सक्छ। सी चिनफिङले नेपाल भ्रमणकै क्रममा पनि स्पष्ट भाषामा नै तिब्बतको विषयमा बोल्नुले त्यसको महत्व स्पष्ट पार्छ।
त्यसैले पनि हरेक छिमेकीलाई आफ्नो कुनै न कुनै स्वार्थपूर्तिको लागि केही इज्जत दिनु चीनको राजनीतिक चाल हो। त्यही चाल अनुरूप पनि सीको नेपाल भ्रमण आवश्यक नै थियो।
३. मोदी ‘फ्याक्टर’
विश्व राजनीतिक र आर्थिक मानचित्रमा उदाउँदै गएको भारतको सत्तामा आएपछि मोदीले औपचारिक या अनौपचारिक रूपमा पटक-पटक नेपालको भ्रमण गरे। निकै चतुर नेता मोदीले किन नेपाललाई यति धेरै महत्व दिए त्यो त उनलाई नै थाहा होला तर नेपालमा उनको त्यति धेरै आवतजावत हुँदा चीन चाहिँ अवश्य तर्सेको हुनुपर्छ। राजनीतिक, आर्थिक, धार्मिक र साँस्कृतिक रूपमा पूरै भारत परस्त नेपालमा मोदीको पटक पटकको भ्रमणले चीनलाई असर गर्ने त होइन भनेर चिनियाँ राजनीतिक वृत्तमा पक्कै पनि चिसो पसेको हुनुपर्छ।
राजनीतिक र आर्थिक दुवै रूपमा एसियाका दुई मुख्य खेलाडी चीन र भारत दुवैलाई विश्व मानचित्रमा आफ्नो स्थान सुरक्षित गर्नु छ र त्यसमा दुवैलाई छिमेकीको रूपमा नेपालको सहयोग अत्यन्तै जरूरी छ।
जति नजिकिन खोजे पनि भारत र चीन जहिले पनि एक आपसका प्रतिस्पर्धी हुन् र रहिरहनेछन् भन्नेमा शंका छैन। दुई शक्ति राष्ट्रहरू बीचको सम्बन्ध जहिले पनि प्रतिस्पर्धी हुने गर्छ, त्यो प्रकृतिको नियम पनि हो।
त्यसैले पनि नेपालमा भारतको असर कम गर्न पनि चीनले आफ्नो तर्फबाट केही गर्नु आवश्यक थियो। राजनीतिक रूपमा मात्र होइन ठूला-ठूला रणनीतिक परियोजनाहरू भारतको हातमा नपरून् भनेर पनि चीन चिन्तित भएको हुनुपर्छ। त्यसैले पनि नेपालप्रति आफ्नो प्रभाव भारतलाई र विश्वलाई देखाउन पनि सीले नेपालको भ्रमण गर्नु जरूरी भैसकेको थियो।
हुन त नाकाबन्दीको बेलामा नेपालमा मोदी र भारत विरोधी लहर नै चलेको थियो। त्यही कारणले नेपाललाई एकाएक चिनसँग धेरै नजिक हुन निकै सहयोग पुर्यायो तर पनि चामत्कारिक नेता मोदीले चाहे भने फेरि नेपालीसामू आफ्नो गुमेको छविलाई फिर्ता ल्याउने सक्छन्। खाली मोदीले अरु एक दुई पटक भ्रमण गरेर नेपालीको राम्रो कुरो गरिदिए पुग्छ।
हजारौं जनताका हत्याराहरूलाई उनीहरूले गरेका बर्बरतालाई बिर्सेर उनीहरूलाई सम्मान साथ सत्तामा पुर्याउने नेपालीहरूले मोदीले लगाएको नाकाबन्दीले दिएको त्यो कष्ट सजिलै भुल्नेछन् र उनलाई फेरि महान् नेताको संज्ञा दिनेछन् भन्ने कुरामा दुईमत छैन। त्यसैले पनि यदि छिट्टै कदम नचल्ने हो भने निकै नजिक भैसकेको सम्बन्ध र हातमा आएको माछो फुत्किने डर चीनलाई थियो। त्यसैले पनि उनले त्यो काम सति सक्दो छिटो गर्नुपर्ने थियो।
त्यसैले सीको त्यो भ्रमणलाई कुनै व्यक्ति, दल या सरकारको राजनीतिक र कूटनीतिक सफलताभन्दा पनि विविध कारणहरूले सम्भव गराएको हो भन्ने कुरा बुझ्नु जरूरी छ।
तर श्रेय जसले लिए पनि उनको भ्रमणले नेपालको विश्वसामू गुमेको साख पुनः फर्केको छ,विश्वसामू नेपालको समाचार बनेको छ। सीले बोलिसकेपछि चीनले जसरी पनि उनको त्यो भनाइ पूरा गर्न आफ्नो पूरै शक्ति प्रयोग गर्ने नै छ।
त्यसैले यो भ्रमणले केही ठूला योजनाहरूको लागि बाटो खुलेको छ। त्यसैगरी भविष्यमा नेपालमा चिनियाँ पर्यटकहरू अझ बढ्ने निश्चित छ। त्यसले आगामी वर्षको नेपाल भ्रमण वर्ष सफल बनाउन निकै महत्वपूर्ण योगदान पुर्याउने छ।
आशा छ, सीको यो भ्रमण सुरूआत होस् र यस्ता उच्चस्तरीय भ्रमण भारत र चीनबाट मात्र नभई अन्य शक्ति राष्ट्रहरूबाट पनि भैरहोस् अनि नेपालको महत्व विश्वमा बढ्दै जाओस्।