कोरोना भाइरस उदय नभइदिएको भए यो लेख्दै गर्दाको समयमा म नेदरल्यान्ड्सको एम्स्टरडाम सहरमा हुने थिएँ। भारतबाहेक मैले पहिलोपटक देखेको विदेशको सहर हो एम्स्टरडाम।
अहिलेसम्म कोरोनाका कारण मरेका एक लाख बढीमध्ये मैले चिनेका एक जना मात्रै छन्। केही दिनअघि उनको नेदरल्यान्ड्समा मृत्यु भयो। उनीसँग दुई वर्षअघिको यसै साता म फुल्चोकीको डाँडा घुम्न गएको रहेछु। फेसबुक छ र यस्ता कुरा सम्झाउँछ।
फेसबुक संसारकै सबभन्दा कुरौटे पात्र हो।
केही दिनअघि पूर्व सहकर्मी मधु आचार्य दाइले फोन गरे, 'बाहिर निस्किनुस् न घरको पछाडिबाटै कुरा गरौं, धेरै भो नभेटेको।'
पाँच सय मिटरको दुरीमा हाम्रो बसोबास भए पनि भेट नभएको महिनौं भइसकेको थियो। छतमा म र छोरी जडौरीमा मिलेको दूरबिन बोकेर चरा हेर्दै थियौं। उसैलाई बोकेर निस्किएँ। केही मिटरको दुरी त राख्नै पर्यो। त्यसैले पर्खालमाथिको तारेबार वारिपारि बसेर गफ गर्यौं।
'किम दाइ त मरे नि,' एक्कासि यो नसोचेको कुरा पो झर्यो।
'कसरी?'
'कोरोना लागेर।'
मधु दाइ किम दाइ अर्थात् किम भेल्टम्यानका नजिकका मित्र हुन्। हरेक वर्षजसो नेपाल आउँदा किम दाइ उनकै घर बस्थे। हाम्रो कार्यालय पहिला सँगै थियो। किम दाइ मेरो टेबलनजिकै बसेर दिनभरी पढ्थे। उनका सबभन्दा नजिकका साथी भनेकै हजारौं किताब थिए। ती धुरन्धर विद्वान थिए, इतिहासमा चाख भएका।
माथि निस्केर कम्य्युटर खोलेँ र हतार-हतार इमेल हेरें। किम दाइको अन्तिम इमेल डिसेम्बर २७ मा शुक्रबार दुई बजे आएको रहेछ। इमेलको शिर्षक थियो, ‘HCHNYHE’ अर्थात Happy Christmas Happy New Year Happy Everything। किम दाइ अक्षरका पारखी थिए। उनले अक्षरको इतिहाससम्बन्धी किताब लेखेका छन् अर्थात् 'लाइफ अफ अल्फाबेट'।
मलाई पढ्नू भनेर उति नै बेला पठाएका थिए।
विकिपेडियाले थाहा पाइसकेछ उनको मृत्यु भएको, कारणसहित उनको पेज अपडेट गरिसक्यो। कति चलाख!
कोरोना नभएको भए किम दाइ अहिल्यै नै मर्दैनथे। अनि सायद मर्दैनथे एकलाख बढी मानिस। म अहिले किम दाइकै देशमा हुन्थेँ।
कोरोनाले उपद्रो मच्चाएपछि किम दाइको देशमा हुने भनेको कार्यक्रम रद्द भयो, म युरोप गइनँ। जान नपाएकोमा अहिले खुसी लागिरहेको छ। कम्तिमा यसरी घर बस्न पाइयो। छोरीसँग खेल्न पाइयो। उसँग गफिन अनि टाँसिन पाइयो। छोरी जन्मेपछिका विगत चार वर्ष यसरी कहिल्यै घर बसेको छैन। खासमा मैले उसलाई चिन्ने मौका हो भनेर फुरुंग छु।
तर संसार दुःखी हुँदा मेरा यी खुसीको खासै महत्व नहोला।
आधा विश्व ठप्प छ। जहाज उडेका छैनन्। गाडी गुडेका छैनन्। मान्छे हिँडेका छैनन्। लाखौं मान्छेले एकछाक खान नपाउने अवस्था आउन लागिसक्यो। कतिको रुवावासी छ। विदेशमा शव तह लगाउन हम्मे परिसक्यो भन्ने समाचार आइरहेका छन्। अरू कति मर्ने हुन्? हामीलाई नै पनि के हुने हो भन्ने जग्जगी छ?
तर पनि सबैका आ-आफ्ना परिस्थितिजन्य खुसी हुन्छन्। मेरा लागि यात्रा गर्न नपाउनु पनि खुसीको कुरा हो हालका लागि। कोरोना नभएको भए बितेका तीन महिनामा म दुई महिनाभन्दा बढी देश बाहिर हुन्थेँ। भारत, भुटान, इन्डोनेसिया, सिंगापुर, थाइल्यान्ड, नदेरल्यान्ड्स र नर्वे पुगेर यसै साता नेपाल फर्केको हुन्थेँ।
हाम्रा नजिकका पुर्खा भनिएका इन्डोनेसियाका ओरांगगुटान्स देख्थेँ वा ली क्वान युको सानो तर समृद्ध सिंगापुर। थिम्पुको सफा नदी देख्थेँ वा बैकंकको तामझाम। दिल्लीको भिडभाड वा एम्टरडामको बार।
तर अहिले बन्द सहरमा खुल्ला आकाश हेरेर बसेको छु। यो आकाशको कथा पनि समेटिएको छ किम दाइको किताब लाइफ अफ अल्फाबेटमा। उनी नक्षत्रहरूको गहिरो ज्ञान राख्थे। त्यसलाई उनले आकाशका कथाहरू भनेका छन्।
एकोहोरा अनि जिद्दी थिए किम दाइ। सायद कोरानालाई पनि नटेरी बसे कि?
मधु दाइ भन्दै थिए, 'कमोडमा बसेका उनी त्यहीँ मरे रे।'
त्यो निर्जीव कोरोनाले उनलाई उठ्नै दिएनछ। नफर्कने गरी बसाइदियो। उनी धनी देशमा भए पनि चाँडै मरे। पैसाले बनाएको यो पर्खाललाई मानिसलेबाहेक अरु कसैले चिन्दैन। पैसा चिन्ने वा धनी र गरिब चिन्ने मानिसमात्रै एउटा प्राणी हो यो पृथ्वीमा।
नीर्जिव कोरोनाले त झन् पैसा चिन्ने कुरा भएन। कालो, गोरो भन्दैन। त्यसैले यी पर्खाल वेवास्ता गर्दै कोरोना संसार डुलिरहेछ। कसको शरीरमा बास बस्छ वा कसको गाउँटोल र सहरमा आक्रमण गर्छ, भन्न सक्ने अवस्था छैन।
कोरोनाको साम्राज्य विस्तार भइरहँदा घरैको बास भएको छ। छोरीसँग भने निकै गफ हुन्छ। उसलाई कोरोना के हो, थाहा छैन।
तर सोध्छे, 'कोरोना कहिले जान्छ बाबा, अनि हामी घुम्न जाने है।'
न त ऊ न्युयोर्कको समाचार पढ्छे न आफ्नै सेरोफेरोको कुरा बुझ्छे। तर चार वर्ष पुग्नै लाग्दाका दिनमा अनेक प्रश्न गर्न थालेकी छ।
'बाबा हाम्रो घरमा तिमी मात्रै केटा किन भाको' भनेर सोधी। म छक्क परेँ। आफ्ना दुई हजुरआमा, आफू र आफ्नी आमा सबैलाई उस्तै देखेकी छोरी म मात्र घरमा केटा भएकोमा अचम्मित छ।
अझ अघिल्लो हप्ता त 'तिमी उभिएर सु गर्ने अनि मैले किन बसेर सु गर्ने बाबा' भनेर सोधी। 'म पनि उभिएर गर्छु' भन्दै थिई। मैले सम्झाउने प्रयास गरेँ। एकपटक त प्रयास नै पनि गरी। पूरै सुरूवाल भिजाई। त्यसपछि प्रश्न सोधेकी छैन।
यी प्रश्नका उत्तर त उसले ढिलोचाँडो बुझ्ने नै छ। तर उसले यीभन्दा जटिल प्रश्नका सामना गर्नुपर्ने छ भनेर उसलाई म अहिल्यै कसरी भनौं?
उसले बुझ्दै जाली, मानिस कस्तो प्राणी हो भनेर। उसले मान्छेलाई चिनेकै छैन। जसै मानिस चिनिन्छ, त्यसपछि यो पृथ्वीमा सबभन्दा बढी डर उसैको लाग्छ।
मानिस कम्ता डरलाग्दो प्राणी होइन। मानिसले मानिसलाई मार्छ। गत ३४०० सय वर्षमा जम्मा २६८ वर्ष मात्रै यो पृथ्वीमा युद्ध भएको छैन जुन जम्मा ८ प्रतिशत मात्रै हो भनिन्छ। दस करोड मानिस त बीसौं शताब्दीमा मात्रै युद्धमा मारिए। त्यसका अगाडि कोरोनाका एक लाख त फासफुस हो।
तर पनि मानिस ज्याद्रो प्राणी हो। ऊ आफैंसँग लड्छ र अरुसँग पनि। यो पृथ्वीमा आफ्नो हैकम जमाउन उसले लाखौं वर्षदेखि प्रयास गरिरहेको छ। पृथ्वीमाथि विजय प्राप्त गरेँ भनेर बेलाबेला फुरुंग हुन्छ। जसै फ्यास्स कुनै विषाणु आइपुग्छ र राँइदाँइ गर्छ अनि मानिस केहीबेर भरंग हुन्छ।
किम दाइ बाहेक अहिलेसम्म मरेका एक लाख १४ हजारबढी मानिस म चिन्दिनँ। तर चिन्न किन नै पर्यो र? ती सबै मजस्तै त थिए। त्यसो होइन रहेछ। देखेभेटेको साइनो अर्कै हुँदोरहेछ।
फेसबुकमा आक्कल झुक्कल आउने किम दाइले यो वर्ष भने निकै धेरै पोस्ट गरेका रहेछन् र अन्तिम पोस्ट कोरोनाकै बारेमा रहेछ। अप्रिल १ मा मर्नुभन्दा १३ दिनअघि उनले विभिन्न स्रोतहरूको सूची राखेर पोस्ट गरेका रहेछन्।
सन् १९८१ मा लेखिएको उपन्यास 'द आइज अफ डार्कनेस' मा उल्लेख भएको वुहान ४०० नामक भाइरसदेखि त्यसपछि कोरोनासम्बन्धी गरिएका विभिन्न अनुमानको सूची फेसबुकमा टाँसेपछि सायद उनी कोरानाको आक्रमणमा परे। उनको त्यो कोरोनासम्बन्धी पोस्ट नै जीवनको अन्तिम पोस्ट बन्यो। जे पोस्ट गरे त्यसैले लग्यो।
उनको देश जाने तयारी क्रममा यसपटक अलि लफडा भएको थियो। दर्जनपटक पुगिसकेको भूमिमा यसपटक मलाई सुरूमा भिसा दिएनन् उनका देशका शासकहरूले।
अलि कडा इमेल लेखेँ राजदूतलाई- 'महामहिम, यो इमेल लेख्नुको प्रमुख उद्देश्य तपाईंलाई जानकारी दिनु हो- गरिब देशका हरेक नागरिक तपाईंका देशमा शरणार्थी नै बन्ने दिन कुरेर बसेका हुँदैनन् र तपाईंको भिसा अफिसरले सबै गरिब देशका नागरिकालाई सुरू शरणार्थी बन्नेछन् भन्ने पूर्वाग्रहसहित आवदेन हेर्न छाड्नुपर्छ। म दोहोर्याउन चाहन्छु, सबै गरिब देशका नागरिक शरणार्थी बन्ने सपना बोकेर बसेका हुँदैनन्। तपाईंको देश यसपटक जान नपाएकोमा म निकै खुसी छु।
कृपया यसई एउटा रिसको पोकाको रूपमा नबुझिदिनुहोला। तपाईंले आफ्नो केही समय यो पढ्न खर्चिनुहुनेछ भन्ने आशा छ। आगे तपाईंको मर्जी। कुनै दिन मिल्यो भने फेरि तपाईंको देश हेरौंला।
अन्तिममा महामहिम, पीडा तिनीहरूले मात्र बुझ्न सक्छन् जो पीडित छन्। कसैलाई बिनाकारण पीडा दिनु अपराध हो।'
राजदूतले मेरो पो भिसा रोक्न सक्छन् तर कोरोनाको सक्दैनन्। कोरोना भिसा आवेदन फारम भर्दैन। इमेल लेख्दैन। बैंक खाता देखाउँदैन। आयोजकले निम्तो पनि दिनुपर्दैन। ऊ बिनारोकतोक जता मन लाग्यो उतै जान्छ।
सायद इमेलको बाणले भिसा अधिकारी घाइते भए, भिसा दिए। तर मभन्दा अघि कोरोना पुग्यो। मेरो बाटो थुनिदियो।
मलाई किम दाइको देश छिराउने भिसा पासपोर्टमै टोलाएर बसेको छ। यी शब्दका बाण बनाउने अक्षरका बारेमा किम दाइले खुब लेखेका छन्। स्वरहरूलाई लिपिबद्ध गरेर भाषाको रूपमा सुरूआत गर्ने संस्कृतको जन्मथलो यो भारतीय उपमहाद्वीपमा उनी आइरहन्थे।
'ती अक्षरले भाषामात्रै बनाएका छैनन्। ती अक्षरले नक्षत्रबारे बोल्छन्, चक्रहरूका बारे बोल्छन्, आकाशका पनि कथा भन्छन्,' उनले लेखेका छन्।
उनी २०१९ मा काजकिस्तान पुगेका रहेछन्। हरेक वर्ष आफ्ना साथीलाई इमेलमा वर्षभरि गरेका कुरा समेटेर लेख्थे। यसपटक आफ्ना धेरै मित्रहरूले पृथ्वी छाडेकामा निकै दुःख मनाउ गरेका थिए। ७० वर्षका उमेरमा उनी वुहानबाट सल्केको कोरोनाको कोपभाजनमा परे। उनको घरमा रहेका हजारौं किताबले अब उनकै औंलाहरूको स्पर्श पाउने छैनन्।
यो पक्का हो, कोरोना सधैँ रहने छैन। केहीपछि यो साम्य हुनेछ। जहाज फेरि उड्नेछन्। गाडी फेरि गुड्नेछन्।
मानिसहरूले जंगली जनावर खान छाड्ने छैनन्। चमेरा वा सालक पनि मारिने क्रम चलिनै रहनेछ। बाघ-गैंडाको तस्करी पनि पक्कै हुनेछ। मानिस यसरी नै यहाँसम्म आएको हो। न त उसले छोराछोरी पाउन छाड्नेछ, न युद्ध गर्न पछि पर्नेछ।
नेताहरूले यो भाइरसलाई पार लगाएको वा लगाउन नसकेको आरोपमा चुनाव जित्नेछन् वा हार्नेछन्। नयाँ नेता उदाउनेछन् वा यिनीहरू नै बलिया हुनेछन्। भाइरस हराएको दिन महाभोज गरिनेछ। मानिसले आफ्नो क्षमता र शक्तिका अगाडि जो कोही पनि झुक्नेछन् वा हार्नेछन् भन्ने सन्देश दिनेछन्। कथा लेखिनेछन्। भाइरसको नाममा इतिहास कोरिने छ।
धनी मुलुकमध्येबाट कसैले खोप बनाउनेछ र संसारभरि बेच्नेछ। कच्चा तेलको गिरेको मूल्य उकासिने छ। वायुमण्डल फेरि प्रदुषित हुनेछ। अर्बौं जनसंख्या भएको मानिसमा लाख मरेर खासै केही फरक पर्ने छैन।
तर डार्विनले भनेजस्तै सक्नेहरू नै बाँच्ने हुन् भन्ने कुरा फेरि एकपटक प्रमाणित भएको मानिनेछ।
फेरि प्रश्न आउँछ, यो पृथ्वीको बनोट एउटा मात्रै प्रजातिका लागि थिएन। यहाँ एकबिना अर्को बाँच्न सक्दैन। अरू त के मरेपछि कुहिन पनि मानिसलाई अरु कसैको सहारा चाहिन्छ। यदि विज्ञानलाई मान्ने हो भने बाँदरबाट हामी मानिस भयौं, गएका लाखौं वर्षमा। उसो भए अबको लाखौं वर्षमा मानिस अरू केही बन्नुपर्छ। नभए हामीले अहिले बुझेको विज्ञान गलत छ।
घर बस्दा सकेसम्म आफ्नै सेरोफेरो हेर्न थालेको छु। वरिपरिका चरा हेर्न थालेको छु। जडौरी दूरबिन बोकेर साँझ-बिहान छतमा निस्कन्छु। मानिसले बनाएका चरा अर्थात् जहाज नउडे पनि खास चरा निर्वाध उडिरहेका छन्। ती चराहरू सोच्दै होलान्- ती मानिसले बनाएका ती बडेमानका आकाशै थर्काएर उड्ने पखेटेयन्त्र किन उडेका छैनन् आजकल!
सहर बढ्दै गर्दा उपत्यकाको दक्षिणमा रहेको भैसेंपाटीमा केही रुख बाँकी छन्, त्यसैमा चराहरू चिरबिर गर्छन्। मेरै घर भएको ठाउँमा पनि कि खेत थियो होला, नभए रूख वा झाडी। अहिले मेरा लागि ती मासिए। म जस्तै ७ अर्ब बढी मानिस छन्। अब ९ अर्ब हुन्छन् छिट्टै। मासिने त आखिरमा अरू हुन्। मानिस त सधैं फस्टाइरहेको छ।
समय थिएन भनौं भने विगतका केही वर्षमा फेसबुक र ट्विटरमा मात्रै कति समय बित्यो होला। तर वरिपरिका चरा हेर्ने फुर्सद भएन। अहिले थाहा पाउँदैछु वरिपरि कति रमाइलो रहेछ। अनि कति विविधता।
भंगेरा कति फुरफुर गरेका अनि ढुकुर कति शान्त। काग यति किन कराउँछन् अनि धोबिनी चरी कति राम्रा। सुगा किन घरिघरिमात्रै आउँछन् अनि जुरेलीको चाकमा यसो रातो रङ किन हुनुपरेको होला। भंगेरा पनि भाले र पोथी बिल्कुल फरक छन् अनि घर भंगेरा र रुख भंगेरा अर्कै। परेवा र डाँग्रे घरभित्रै छिरौंलाजस्तो गर्छन्। तर कोइलीको दर्शन पाउन पनि हम्मे छ। उसको आवाजमै चित्त बुझाउनुपरेको छ। खै, कता लुकेर बसेको छ कुन्नि। डाँग्रेको आवाज कस्तो कर्कस् अनि कोइलीको किन आनन्द लाग्ने खालको। आखिरमा आवाज नै त हो।
तर मलाई कुनै मनपर्छ अनि कुनै मनपर्दैन। किन होला? यो पृथ्वी किन यति विविध छ? त्यसको पक्कै कारण छ। कति प्रश्न छन् कति मनमा। यो पृथ्वी बुझिसक्नु छैन। एकबारको जुनिमा यो अर्बौं वर्ष पुरानो पृथ्वीलाई कति नै बुझ्न सकिन्छ र!
तर पनि सोचिरहन्छु, मानिस मरेर सकिई नहाल्ला। तर कुनै यस्तो समय आउने छ, जुन बेला विज्ञानको चमत्कारले पनि मानिसलाई जोगाउन सक्ने छैन।
विज्ञानले मानिसको मर्ने दर घटाउला तर सबैलाइ जोगाउन सक्ने छैन। कोरोनाले देखाइदिएको छ कि हाम्रो शक्ति कति छ भनेर। लाखौं वर्षअघि मानिस बाँदर थियो भने अबको लाखौं वर्षपछि ऊ अर्को केही बन्ने छ। करोडौं वर्षपछि पृथ्वी यस्तै रहने छैन किनभने यो सधैं यस्तो थिएन।
परिवर्तन नै पृथ्वीको नियम हो। यो चलायमान छ। कोरोना जान्छ, अर्को आउँछ जसरी मानिसहरू फेरिरहन्छन्। किम दाइ मरे, हामी पनि ढिलोचाँडो मर्छौं। उदाएको घाम पक्कै अस्ताउँछ। त्यो घाम फेरि उदाउँछ।