विपत्तिहरू स्वभावैले बहुआयामिक तथा दूरगामी प्रभाव पार्ने खालका हुन्छन्। सजगता अपनाउनु वा जोगिन खोज्नु स्व-कर्तव्यबोध हो। तर ठूलाठूला विपत्तिबाट जोगिनलाई यो पर्याप्त हुँदैन। महामारीबाट जोगिनलाई त दूरदर्शिता र पूर्वतयारीको आवश्यकता पर्दछ। अन्यथा सहनुको विकल्प हुँदैन।
अहिले हामी यस्तै परिबन्धमा परेका छौं र सहनुको कुनै विकल्प छैन। असहज परिस्थितिलाई कसरी सामना गर्ने भन्ने कुरा केही हदसम्म व्यक्तिगत सोच,मनोवृत्ति र क्षमतामा निर्भर हुने कुरा हो। भलै यसलाई अन्य पक्षले पनि त्यति नै प्रभाव पारिरहेका हुन्छन्।
विपत्ति नियमित प्रकृयाको रूपमा समय समयमा देखा परिरहेको छ। विपत्तिको निरन्तरताले हाम्रो जीवनकालमा यहाँ भन्दा भयावह स्थिति पैदा नहोला भन्न सकिन्न। कैयौं अवगुण भएका विपत्तिले उत्पत्ति गरेका केही सकारात्मक आयामलाई आत्मसाथ गरेर मनोवैज्ञानिक रूपमा आफूलाई बलियो बनाउने र सुन्दर भविष्यको कल्पना गर्ने बाहेक आममानिससँग कुनै विकल्प नहुने रहेछ।
इतिहासका पाना पल्टाउँदै जाने हो भने त झन् मानव समुदायले भोगेका विपत्ति एकदमै अत्यास लाग्दा छन्। मानव समुदाय पटकपटक यस्ता विपत्तिसँग पैंठेजोरी खेल्दै यहाँसम्म आइपुगेको हो।
अर्थ,सामाजिक रूपमा धरासयी र मानसिक रूपमा विक्षिप्त बनाउनु त विपत्तिको विशेषता नै हो तर विपत्तिले जति कष्ट दियो मानव जीवन त्यति परिष्कृत हुँदै गयो,सोच बद्लियो ,एकता र सहयोगको भावनामा वृद्धि भयो,अनावश्यक खर्चमा कटौती गरियो ,उत्पादन र वितरणमा जोड दिन थालियो,कामदारको क्षमता र आयमा वृद्धि भयो,जीवन शैलीमा गुणात्मक सुधार आयो,दु:ख, कष्ट र वियोगलाई बिर्सेर मानिस अगाडि बढिरह्यो र हरेक कहालीलाग्दो विपत्तिलाई परिवर्तनको बाहकको रूपमा स्वीकार गर्यो।
पछिल्लो एक हजार वर्षको विश्लेषण गर्ने हो भने विपत्तिका कारणले ठूलो सामाजिक,आर्थिक तथा मानवीय क्षति भएको छ तर मानिस हारेको छैन बरू झन् सहनशील ,दृढ र परिस्कृत भएर अगाडि बढिरहेको छ।
चौधौं शताब्दीमा देखा परेको बुबोनिक प्लेग क्षतिको हिसाबले अहिलेसम्मकै ठूलो विपत्ति हो। यतिबेला लगभग २० करोड मानिसको जीवनलिला समाप्त भएको थियो।
यूरोपको आधा आवादी नै नष्ट गर्ने गरी आएको यो महामारीले अर्थतन्त्र,सामाजिक संरचना,उत्पादन प्रणाली ,औद्योगिक संरचनामा ठूलो आघात पुग्यो। तर यूरोपले हार मानेन जब अवस्था केही सहज भयो सुधारका सङ्केत दखिन थाले।
श्रमिकको अभावमा श्रमजीवी वर्गको सामाजिक मूल्य र आयमा वृद्धि भयो,उत्पादनसँग जोडिएका र निर्यात योग्य वस्तुको मूल्य वृद्धि भयो तर आन्तरिक मूल्य वृद्धि नहुँदा सर्वसाधारणको जीवन भने सहज रूपमै अगाडि बढ्यो ,उत्तरी युरोपमा देखिएको भोकमरी अन्त्य भयो,अन्यत्र अध्ययन गर्न जाने वातावरण नभएकोले देशभित्रै कलेज र विश्वविद्यालय खुल्न थाले परिणाम यूरोपको शैक्षिक अवस्थाले ठूलो फड्को मार्यो।
विभिन्न ठाउँमा अस्पताल खुल्न थाले,अस्पतालमा व्यवसायिक स्वास्थ्यकर्मीको उपस्थिति हुन थाल्यो जुन पहिला थिएन,परम्परागत औषधि तथा उपचारका विधि मेडिकल साइन्सको उदय पछाडि विस्थापित भए ,चर्चको दबदबालाई तोडेर मानिस स्वतन्त्रपूर्वक आफ्ना विचार राख्न सक्ने भए अनि सामन्तवादको जग भत्काएर ब्ल्याक डेथ बिदा भयो।
फेरि १६ औं शताब्दीमा अर्को विपत्ति आइलाग्यो बिफर। यसको कारणले ५ करोड ५० लाख बढी मानिसको मृत्यु भयो। यस पछाडि देखा परेका प्लेग,हैजा र तेस्रो प्लेगका कारणले थप २ करोड मानिसको इहलिला समाप्त भयो।
जीवित भएकाहरूले पनि ठूलो अभाव र पीडा भोग्न बाध्य भए यति बेला पनि इटालीले ठूलो क्षति ब्यहोर्न पुग्यो। फेरि पनि सहनुको विकल्प रहेन।
विपत्तिसँगै मानव समुदाय फेरि जुर्मुराउन थाल्यो, विपत्तिपछि ब्यापक रूपमा अगाडि बढिरहेको औपनिवेशवादी सोचमा केही ब्रेक लाग्यो,जातीय(आर्थिक विभेद र धार्मिक अतिवादको अन्त्य भयो,समाजिक स्वीकारोक्ति देखिन थाल्यो भने मेडिकल साइन्सको विकासमा तीव्रता आयो यसरी ठूलो विनाशको बाबजुद केही सकारात्मक परिवर्तन गराएर यो विपत्ति पनि बिदा भयो।
यसबाट मानव समुदायले जसरी पाठ सिक्नुपर्ने हो त्यस्तो भएन मानवीय अहमता, साम्राज्यवादी सोच तथा सैन्य शक्तिको घमण्डले पहिलो विश्व युद्धको रूपमा अर्को मानव निर्मित विपत्ति सन् १९१४-१९८० निम्त्याइयो।
अलाइड पावर(ब्रिटेन,रूस,अमेरिका लगायत) र सेन्ट्रल पावर (जर्मनी ,अष्ट्रिया,हङ्गेरि लगायत) बीचमा भएको यो युद्धले ठूलो आर्थिक तथा मानवीय क्षति भयो।
तीव्र गतिमा अगाडि बढिरहेको औद्योगिकरणमा असर गर्यो। युद्धमा हार्ने जित्ने दुबैलाई पीडा र क्षति पुग्छ यहाँ पनि अवस्था फरक भएन ,सेन्ट्रल पावर विशेष गरी जर्मनी तहसनहस भयो जब सन्धि गरी युद्धको अन्त्य गरियो यहाँ पनि परिवर्तनको बहार देखिन थाल्यो। प्राविधिक विकासले तीव्रता पायो,विवाद समाधानमा कूटनीतिक पहल हुन थाल्यो,महिलाको सामाजिक तथा आर्थिक अवस्थामा सुधार आयो,नयाँ स्वतन्त्र राष्ट्रहरूको जन्म भयो,लिग अफ् नेसन्स् जस्ता सङ्घ संस्थाको सुरूआत भयो,समाजवादी चिन्तनको उदय भयो,अमेरिका नयाँ शक्तिको रूपमा उदायो,तत्कालीन साम्राज्यवादीहरूको ठूलो क्षति भयो,रसियामा तसार वंशको राजनीतिक एकाधिकार अन्त्य भयो।
तर भर्खरै युद्धको दलदलबाट मुक्त भएर अगाडि बढिरहेको मानव समुदायलाई फेरि अर्को विपत्ति आइलाग्यो सन् १९१८ मा जैविक महामारीको रूपमा स्पेनिस फ्लूको आतंक सुरू भयो। विश्वको एक चौथाइ जनसंख्या यसबाट प्रभावित भयो लगभग ४ करोड पचास लाख मानिसले मृत्यु वरण गरे भने अन्य क्षेत्रमा पनि अपुरणीय क्षति पुग्यो। तयारी र उपलब्ध साधनस्रोत भन्दा विपत्ति धेरै भयावह थियो र सहनुको विकल्प भएन तर यसले बलमत्त र धनमत्त भएर युद्ध गर्न तम्सिएका देशको वास्तविक हैसियत भने देखाइदियो र पाठ पनि सिकायो।
ठूलो क्षतिका बाबजुद मानव समुदाय फेरि सम्हालियो ,विशेष गरी मानवीय चेतना विकासमा यो कोशेढुङ्गा नै सावित भयो,जनस्वास्थ्यमा लगानी वृद्धि भयो,बेलायतबाट कामदारको बीमा गर्ने व्यवस्थाको सुरूआत भयो,आपसमा युद्ध लडेका देश पनि सहकार्यमा जुटे,विभिन्न देशहरूमा स्वास्थ्य मन्त्रालयको स्थापना भयो,स्वास्थ्यकर्मीहरूको पहुँच नीति निर्माणको तहसम्म पुग्यो।
अर्कोतर्फ जब प्रथम विश्व युद्धले थलिएको जर्मनी तंग्रियो तब उसमा बदलाको भावना विकास भयो जर्मनीले पोल्याण्डमाथि आक्रमण गरेर दोस्रो विश्व युद्धको सुरूआत गर्यो।
समान भर्सिलेजको सन्धि तथा हिटलर र मुसोलिनी जस्ता सन्की शासक नै यसको मुख्य कारण भए सन् १९३९ बाट १९४३ सम्म एक्सिस पावर(जर्मनी ,इटाली ,जापन लगायत) र एलिक्स पावर(अमेरिका ,ब्रिटेन लगायत) बीच युद्ध भयो,तत्कालीन जनसंख्याको एक तिहाइभन्दा बढीको मृत्यु भयो,करोडौं घाइते भए ,अरबौं डलरको आर्थिक क्षति भयो र अन्त्यमा एक्सिस पावर चुक्यो।
जर्मनीले फेरि घुँडा टेक्यो,जापानले राम्रो पाठ सिक्यो,पूर्वी एसियामा जापानको दबदबा सकियो,हिटलरको क्रूर शासनको अन्त्य भयो,धेरै राष्ट्रहरूले राहतको सास फेरे,जातीय विभेद कम हुँदै गयो, व्यक्तिगत स्वतन्त्रता बढ्यो,उत्पादन र वितरणका नयाँ मोडेल निर्माण भए,तीव्र औद्योगिक प्रतिस्पर्धा हुन थल्यो,समृद्धि,आर्थिक र भौतिक विकास सबैको साझा लक्ष्य भयो,प्रजातन्त्रको बाहर आयो,आर्थिक,सामाजिक र शैक्षिक सूचकहरू सकारात्मक देखिए प्रकारान्तरले विश्व स्वास्थ्य संगठनको स्थापना भयो।
ठूलो क्षतिका बाबजुद यहाँबाट पनि मानव समुदायले केही प्राप्त गर्यो,सबभन्दा बढी त शान्तिको महत्त्व बुझ्यो। तर विपत्तिको श्रीङ्खला रोकिएन यलो फिवर,रसियन तथा हङकङ फ्लू ,एड्स लगायतका अनेकौं महामारीबाट करोडौंले ज्यान गुमाए अन्य क्षेत्रमा पनि प्रभाव पर्यो।
यसपछि भने जनस्वास्थ्यको क्षेत्रमा धेरै सुधार आयो,विभिन्न अनुसन्धान तथा प्रयोगहरू भए,प्रतिरक्षा शक्ति बढाउने खोपको विकास भयो,विशेष गरी तेस्रो विश्वका राष्ट्रहरूमा सामाजिक क्षेत्रमा ठूलो लगानी भयो र जनचेतनामूलक कार्यक्रमले व्यापकता पायो।
फेरि पछिल्लो दशकमा सास,इबोला तथा स्वाइन फ्लूले संकट निम्त्यायो तुलनात्मक रूपमा क्षति कम भएता पनि नवउदारवादी सोचलाई केही पाठ सिकाएकै हो। तर व्यापारिक (नाफामुखी) सोच भएकोे नवउदारवादले सामाजिक,स्वास्थ्य क्षेत्रलाई खासै महत्त्व दिएन,दूरदर्शिता र पूर्व तयारीमा कमी भयो। फलस्वरूप आज एउटा भाइरसले संसार आतङ्कित छ।
धेरैले ज्यान गुमाइसके,कैयौं संक्रमित छन्,सबै क्षेत्रमा असर परेको छ। आइएमफले विश्वको अर्थतन्त्र ९० वर्षयताकै गम्भीर मोडमा पुग्ने भविष्यवाणी गरेको छ। शक्ति राष्ट्रहरू हायलकायल भएका छन्। महामारी पछिको अवस्था झन भयानक हुने देखिन्छ।
दु:ख, पीडा,अभाव,त्रास त आफ्नो ठाउँमा छ नै तर यो विपत्ति पछि धेरै कुरामा सकारात्मक परिवर्तन आउने छन्, लगानीका आधार र प्राथमिकताका क्षेत्रमा परिवर्तन हुनेछ,मानिसको सोचमा परिवर्तन आउनेछ,जनस्वास्थ्यलाई महत्त्वपूर्ण पक्षको रूपमा हेरिनेछ,शक्ति सन्तुलनको नयाँ आयम देखिनेछ।
सामाजिक र जनतासँग प्रत्यक्ष सरोकारका क्षेत्रमा लगानी बढ्नेछ,ग्रामीण अर्थतन्त्रको महत्त्व बढनेछ् ,सिकाइ तथा कार्य सम्पादनमा प्रविधिको प्रयोग बढ्नेछ र मानवता सर्वमान्य सिद्धान्त हुनेछ।