लकडाउनले फुर्सदिलो भएपछि स्कुल बेलाका धेरै साथी निकै समयपछि सामाजिक सञ्जालमा सम्पर्कमा आएका छन्। फुर्सदिलो भए पनि सबैले सुनाउने कुरामा मुख्यतः कोरोनासँग सम्बन्धित अनुभव र विशेष गरी हामी जस्ता स्वास्थ्यकर्मीहरूबाट आफ्ना कोरोनासँग सम्बन्धित जिज्ञासा मेटाउने प्रयत्न गर्छन्।
मलाई भने एक जना सुरक्षाकर्मी मित्रको अनुभवले हाम्रो सुरक्षामा अहोरात्र खटिरहेका सुरक्षाकर्मीहरूको सुरक्षाको प्रश्नले सोच्न बाध्य बनायो।
उनका अनुसार कैलालीको गौरीफन्टा नाकामा भारतका विभिन्न ठाउँबाट आएका व्यक्तिहरूले नेपाल प्रवेश नपाउँदा हजार भन्दा बढी नेपाली देशभित्र प्रवेशका निम्ति आन्दोलनमा उत्रिएका थिए।
सामाजिक दूरी कायम गर्दै त्यत्रो ठूलो जमातमा रहेका नेपालीलाई व्यवस्थापन गर्न त्यहाँ उपस्थित सुरक्षाकर्मीलाई निकै सकस पर्यो।
मित्रले सुनाउँदै गए, उनले कोरोना चाँडै सर्न सक्ने सरूवा रोग भएको, सकेसम्म संक्रमणको जोखिममा भएका व्यक्तिहरूको सम्पर्कबाट टाढा बस्नुपर्ने र निश्चित दूरी कायम गर्नुपर्ने भन्ने जानकारी विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएका थिए। तर त्यस ठाउँको माहोल सोचेजस्तो सजिलो भने थिएन।
मनमा कताकता डर हुँदाहुँदै पनि भीड व्यवस्थापन गर्न उनी उद्दत थिए। डर त्यो बेलासम्म यथावत रह्यो जबसम्म त्यस नाकाबाट आएका संक्रमणको शंकास्पद बिरामीको परीक्षणको नतिजा आएन।
उनी भन्दै थिए, एकपटक कुनै कारण खोकी लागिहाल्यो भने पनि नाकामा कतै कुनै संक्रमितसँग सम्पर्क भएर त होइन भन्दै निरन्तर डरले मनमा घर बनाइराख्थ्यो।
कारण सुरक्षाकर्मीमा चेतना र उनीहरूको सुरक्षाको उचित प्रत्याभूति नहुनु। यद्यपी, सुरक्षाकर्मीको सुरक्षाको बारेमा धेरै बहस भएको पनि देखिँदैन तर उनीहरू पनि कोरोनासँगको लडाइँमा स्वास्थ्यकर्मीसँगको सहकार्यका अर्का योद्धा हुन्।
विश्व आज कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको छ र नेपाल पनि यसबाट अछुतो छैन। सबैको ध्यान यस रोगको संक्रमणबाट जोगिनमा केन्द्रित रहेको छ।
हालसम्म कुनै विशेष उपचार नभएको अवस्थामा हामी सबैले यस रोगको संक्रमण र यसबाट हुन सक्ने क्षतिबाट जोगिन आ-आफ्नो स्थानबाट आफैं प्रयत्न गर्नु नै कोरोनाको रोकथामको निम्ति निर्णायक पहल हुन्छ भन्ने कुरा विभिन्न राष्ट्रहरूको अनुभवबाट हामीले बुझिसकेका छौं।
कोरोना भाइरसको संक्रमण र सृजित भयाक्रान्त स्थितिलाई न्यूनीकरण गर्न आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखी अग्रपङ्क्तिमा उभिएर लडिरहेका प्रमुख योद्धाहरू हुन् स्वास्थ्यकर्मी र सुरक्षाकर्मी।
रोग रोकथाम, नियन्त्रण तथा बिरामीको उपचार गर्ने उत्तरदायित्व स्वास्थ्यकर्मीहरूमा हुन्छ भने देशमा शान्ति सुरक्षा गर्दै अन्य व्यवस्थापन गर्ने जिम्मेवारी सुरक्षाकर्मीको काँधमा हुन्छ।
यी समूह जस्तोसुकै विपद् तथा महामारीमा पनि खटिराखेका हुन्छन्।
हालको यस महामारीमा डटेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई कोरोना भाइरस र यसबाट कसरी आफ्नो स्वास्थ्यको समेत ख्याल गरी अरूलाई जोगाउन सकिन्छ भन्ने आवश्यक ज्ञान लगभग सबैमा छ र सबैजना सचेत समेत छन्।
यथेष्ट मात्रामा नभए पनि सरकारले सकेसम्म्म आवश्यक साम्रगी तथा उपकरणहरू प्रदान गरिराखेको पनि छ। तर यो महामारीसँगको लडाइँका अर्का योद्धा सुरक्षाकर्मीहरू आफू पनि सुरक्षित छन् कि छैनन् गम्भीर प्रश्न हाम्रासामु छ।
सबैतिर कोरोनाको सन्त्रास बढेसँगै रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपालीहरू विभिन्न नाका हुँदै घर फर्किने क्रम नेपालमा लकडाउनको घोषणा भैसक्दा समेत रोकिएन, कोही महाकली नदीमा पौडी खेल्दै नेपाल प्रवेश गरे भने कतिले सीमाक्षेत्रमा आन्दोलन र नाराबाजी नै गर्नुपर्यो।
यी सबै घटनाको प्रमुख हिस्सा भने विभिन्न क्षेत्रमा सुरक्षाको निम्ति खटाइएका सुरक्षाकर्मीहरू बने।
सीमाक्षेत्रमा आन्दोलनमा सहभागी भएकामध्ये केहीलाई कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न अस्पतालमा उपचाररत छ्न्।
त्यसै क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरू पनि संक्रमणको उच्च जोखिममा रहेका छ्न्।
विभिन्न देशको अवस्था हेर्दा कोरोनाको संक्रमण हुने र यसबाट ज्यान जानेहरूमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संख्या पनि ठूलो छ। सुरक्षाकर्मी र स्वास्थ्यकर्मी कोरोनासँगको लडाइँमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका हुनाले उनीहरू संक्रमित भएपछि त्यसको प्रभाव धेरैजना व्यक्तिहरूमा पर्ने अन्य देशहरूको अनुभवले समेत बताउँछ।
अहिलेको विषम परिस्थितिमा सुरक्षाकर्मीले आफ्ना नियमित सुरक्षाका कार्यहरू मात्र नभई स्वास्थ्यकर्मी र समुदायसँग समन्वय गरी कोरोनाको महामारीलाई रोकथाम गर्न महत्वपूर्ण भूमिका निभाइरहेका छन्।
कोरोनासँगको लडाइँमा आफू पनि संक्रमणबाट बच्दै अन्य व्यक्तिलाई पनि संक्रमणको जोखिमबाट बचाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी छ।
स्वास्थ्यकर्मीसँगै कोरोनाको महामारीसँग लडिरहेका सुरक्षाकर्मीको समूह नेपालमा सबभन्दा बढी मानवस्रोत भएको पेसा हो, जस अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पर्दछन्।
सबै किसिमका सुरक्षाकर्मीहरूले यस महामारीसँग लड्न अन्य नियमित सुरक्षाका कार्यसँगै यस महामारीमा विशिष्ट भूमिका निर्वाह गरिराखेका छन्। सीमा क्षेत्र, सडक, अस्पताल, तथा मानिसको जमघट भइरहेको हरेक क्षेत्रका कुनै न कुनै प्रकारका सुरक्षाकर्मीहरू तैनाथ छन्।
राष्ट्रले लागू गरेको लकडाउनलाई सार्थक पार्नमा रातदिन खटिराखेका सुरक्षाकर्मीहरू आफू कति सुरक्षित छन् त, यसलाई पनि नियाल्नु अत्यावश्यक छ। यिनीहरूले काम गर्ने हरेक क्षेत्र जोखिमको सूचीमा पर्दछ।
हाल संक्रमित व्यक्तिहरूमा धेरै जना विदेशबाट आएका मानिसहरू छ्न्, उनीहरूको पहिलो सम्पर्क व्यक्ति सीमा वा विमानस्थल क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरू पर्न आउँदछन्।
यति मात्र नभई शंकास्पद बिरामीहरूलाई आइसोलेसनसम्म पुर्याउने र आइसोलेसनमा भएका बिरामीहरू भाग्ने गरेका घटनाहरूका कारण यस्ता स्थानहरूमा पनि सुरक्षाकर्मीहरू परिचालित छ्न् र बन्दाबन्दी पालना गराउन सडकमा खटिएका सुरक्षाकर्मीहरू पनि उत्तिकै जोखिममा छ्न्।
कोरोना भाइरसको रोकथाम तथा जोखिमबाट बच्न नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले आ-आफ्नो तयारी गर्दै आइरहेका छन्।
नेपाली सेनाले भाइरसविरूद्ध रोकथामका उपायबारे ज्ञान दिई क्वारेन्टाइन क्याम्प तथा अन्य संक्रमणको जोखिमयुक्त ठाउँमा काम गर्ने नेपाली सेनाको लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिर्इ) को समेत व्यवस्था गरेको छ।
त्यस्तै, अन्य निकायले पनि सुरक्षात्मक साम्रगी प्रदान गरिराखेका छन्। यद्यपी, यो कति र कुन तहसम्म लागू भएको छ, प्रश्न यथावत् नै छ।
सडक तथा सीमा क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीहरूलाई कोरोना भाइरससम्बन्धी ज्ञान अपर्याप्तताका साथै आवश्यक समूहले व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग समेत गर्न पाएका छैनन्।
अरू ठाउँमा झैं सुरक्षाकर्मीहरूले पनि न्यूनतम रूपमा पाउनुपर्ने सुरक्षा सामग्रीको अभाव झेल्नुपरेको छ, मास्क, स्यानिटाइजर वा ग्लोब्स पनि पर्याप्त छैनन्। त्यस्तै ड्युटीमा खटिने स्थानमा हात धुने सुविधाको व्यवस्थापन हुन सकेको छैन।
विभिन्न कारणमध्ये सुरक्षाकर्मीहरूमा रोगबारे सचेतना र रोकथामका निम्ति अपनाउनुपर्ने मुख्य सतर्कतासम्बन्धी ज्ञान धेरैमा छैन। यसमा पनि सम्बन्धित निकायहरूले ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।
कोरोना रोकथामको मुख्य अस्त्र मानिएको सामाजिक दूरीलाई सबैले कायम गरेर काम गर्ने मापदण्ड त छ तर व्यवहारमा कति लागू हुन सकेको छ प्रश्न यथावत् छ।
यी विभिन्न अभावका बीच कुनै व्यक्तिलाई कोरोना संक्रमण भएमा यसको असर धेरैमा पर्न जान्छ। लामो समयसम्म संक्रमणको अवस्था थाहा नहुँदा सम्पर्कमा आएका जनसाधारणहरू र सँगै काम गर्ने अन्य सुरक्षाकर्मीहरूमा पनि संक्रमणको जोखिम हुनसक्छ। एक जनामा संक्रमण भएमा ठूलो समूह क्वारेन्टाइनमा बस्दा त्यसको प्रभाव पनि ठूलो हुन्छ जस्तै एक जना नर्वेको सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिँदा अन्य १३०० व्यक्तिलाई पनि क्वारेन्टाइनमा राख्नु परेको थियो। विशेषगरी धेरै सुरक्षाकर्मीहरूमा सँगै खाने र सुत्ने परिपाटी रहेको छ र त्यसमा पनि सामाजिक दूरीलाई सही तरिकाले पालना गर्न सकिएन भने यो समूह कोरोना भाइरस संक्रमणको जोखिमबाट अछुतो रहन भने सक्दैन।
विश्वमा फैलिएको यस महामारीमा सुरक्षाकर्मीहरूले विभिन्न प्रकारका चुनौतीहरूको सामना गर्दै सबै नागरिकहरूलाई सुरक्षा प्रदान गर्न खटिरहेको अवस्थामा उनीहरूको समेत सुरक्षाको प्रत्याभूति गराउनु सबैको दायित्व तथा कर्तव्य हुन आउँछ। उनीहरूको स्वास्थ्य सुरक्षाका लागि निम्न कार्यहरू गर्न समेत आवश्यक छ।
१. वर्तमान अवस्थामा तल्लो तहमा रहेर काम गर्ने सुरक्षाकर्मीहरूमा अझै कोरोनाको बारेमा पर्याप्त जानकारी छैन, त्यसैले सम्पूर्ण सुरक्षाकर्मीहरूलाई कोरोना भाइरस र यसको रोकथाम तथा नियन्त्रण सम्बन्धी पूर्ण मात्रामा ज्ञान दिनुका साथै फिल्डमा खटिनुभन्दा अगाडि आफू र अरूलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने बारेमा आवश्यक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिन आवश्यक छ।
२. सुरक्षाकर्मी स्वयंले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखी सामाजिक दूरीको पालना गर्दै कार्य गर्ने र कम्तीमा न्यूनतम रूपमा चाहिने सुरक्षा सामग्रीको प्रयोग गरी कार्यस्थलमै साबुन पानीले हात धुने वा स्यानिटाइजरको व्यवस्था मिलाउनु पर्दछ।
३. सरकारले आवश्यक मात्रामा मास्क, ग्लोब्स्, स्यानिटाइजर, पिपिर्इ तथा आवश्यक सामग्रीको व्यवस्थापन तथा आपूर्ति हरेक तह तथा ठाउँसम्म गर्नुपर्दछ।
४. सबै नागरिकले सुरक्षाकर्मीहरूको काममा सहयोग पुर्याउनुका साथै मनोबल बढाउने कार्य गर्नु पर्दछ।
(लेखक स्वास्थ्य सेवा विभागकी वरिष्ठ जनस्वास्थ्य अधिकृत हुन्।)