जन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने, यो लेख तयार पार्दासम्म विश्वभर करिब ३१ लाख २० हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने दुई लाख १७ हजार व्यक्तिको कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु समेत भइसकेको छ।
हालसम्म विश्वका १८५ देश सहित २१३ भौगोलिक क्षेत्रमा कोरोना भाइरस फैलिएको छ। कोभिड-१९ विरुद्ध विश्व नै लडिरहेको छ। यसका कारण विश्व बजार नै ठप्प प्रायः छ। अर्थतन्त्र कमजोर हुँदैछ, स्वास्थ्य सामाग्रीको अभाव सृजना भएको छ, दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज हुन पाएको छैन्, शैक्षिक क्रियाकलाप अलौकिक बनेको छ।
इष्टमित्रहरुको भेटघाट पनि अलौकिक नै बनेको छ जुन फोन सम्वाद र अनलाइनमा सिमित बनेको छ, समग्रमा भन्दा सामाजिक परिवेश अनि दैनिक जीवनी नै बदलिएको छ, नेपालको मात्र हैन विश्वभर नै यस्तै छ। यस भाइरसको सम्भावित संक्रमणले झन् शक्तिशाली देशहरु पनि आक्रान्त भएका छन्।
किनभने हरेक दिन करिब ५० हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलीरहेको छ भने हालसम्म भाइरसको उपचारको ठेगान भइसकेको छैन्। हालसम्म बिरामीको लक्षणअनुसार उपचार भइरहेको छ जसले बिरामीको अवस्था खराब झन् खराब हुन दिन्न। प्रमाणित भइ नसेका तर कोभिड-१९ को उपचारमा प्रभाकारी सिद्ध भएका केही औषधी समेत प्रयोगमा ल्याएर चिकित्सक तथा स्वास्थयकर्मीहरु कोभिड-१९ बिरामीको उपचारमा सक्रिय छन्।
स्वास्थ्य क्षेत्रमा दखल राख्ने देशहरुमा यस भाइरसको संक्रमण रोक्न तथा यसको उपचारका लागि आवश्यक औषधी पत्ता लगाउन हरसम्भव प्रयास गरिरहेका छन्। त्यस्ता औषधीहरु परीक्षण (क्लिनिक ट्रायल) पश्चात मात्र बजारामा आउने भएकोले आज-भोलि नै यसको उपचारमा प्रभावकारी औषधी उपलब्ध हुने छैन।
तर अबको केही महिनामा भने अवश्य पनि यसको उपचारमा सार्थक औषधी बजारमा उपलब्ध हुनेछ भन्ने विश्वास भने पक्कै गर्न सकिन्छ। यस प्रकारको परीक्षणमा भारतका अनुसन्धान केन्द्रहरु पनि सक्रिय भएर लागेका छन्।
भारत सस्तो र गुणस्तरीय औषधी तथा भ्याक्सिनमा सफल मानिएको देश हो। स्वास्थ्य क्षेत्रमा दखल राख्ने देशहरुमा पनि कोरोनाको उपचारमा हालसम्म पनि सफल नहुनु भनेको यस भाइरस फैलने खतरा झन्-झन् बढ्नु हो। अमेरिका जस्तो देशमा ५५ हजारभन्दा बढीको मृत्यु भइसको छ।
भ्याक्सिन छिट्टै बनाएर सफल परीक्षण भएपश्चात मानिसहरुमा व्यापकरुपमा प्रयोग भएपश्चात मात्र भाइरसको नियन्त्रण सम्भव छ। भ्याक्सिनमार्फत हर्ड इम्युनिटीको आधारमा यस भाइरसको फैलावट कम गर्न सकिन्छ (जसका बारेमा मैले यस आगाडिको लेखमा विश्लेषण गरेको छु)।
अन्यथा, यस भाइरसको संक्रमण वा फैलावट कम हुने छैन। संक्रमितको संख्या बढी भए पनि कोभिड रोगका कारण ग्रसित भने केही कम छन्। तर मृत्युदर करिब ७ प्रतिशत छ। हुन त यो लेख तयार पार्दासम्म नेपालमा भेटिएका ५४ संक्रमित मध्ये कसैको पनि मृत्यु नहुनु हाम्रो लागि राम्रो खबर हो। तर विश्वव्यापी महामारीको रुपमा फैलिएको यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाखभन्दा माथि जानु खतराको सूचक हो।
अझ पछिल्ला दिनहरुमा संक्रमितको संख्या तथा यस रोगबाट मृत्यु हुनेको संख्या पहिलेको तुलनामा निकै बढ्नाले सबैको चिन्ता बढाएको छ। हाम्रो देशमा संक्रमितको संख्या कम हुनुमा लकडाउनको सकारात्मक प्रभावकोरुपमा लिनु पर्छ।
लकडाउलाई व्यर्थ सम्झनेहरुले लकडाउन नलम्बाउने तर्क अगाडि सर्नु स्वभाविक हो तर नेपालसंग यस्को विकल्प पनि छैन। किनकी सम्भावित जोखिम भइहालेमा प्रभावकारी उपचार सम्भव पनि छैन भनेर आत्मसाथ गर्नु जरुरी छ र लकडाउनलाई व्यर्थ हैन, बरु सम्भावित खतराको बुद्धिमतापूर्ण पूर्व तयारीको रुपमा लिनु पर्छ।
हालसम्मका कोभिड-१९ को उपचारमा गरिएका प्रयासहरुः
कोभिड-१९ को उपचार हालसम्म कुनै देशमा पनि प्रभाकारी रुपमा गर्न सकिएको छैन्। बरु रोग लाग्नै नदिन विश्वभर विभिन्न कदमहरु चालिएका छन्। हुन त रोगको उपचारभन्दा रोग लाग्न नदिनु नै उत्तम विकल्प हो। तर रोग लागेकाहरुको पनि सफल उपचार हुनु पर्दछ भन्ने न्युनतम मान्यता पनि छ।
त्यसैले स्वास्थ्यकर्मीहरु तथा स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरु दिनरात खटिरहेका छन्। कोही बिरामी उपचारमा आफ्नो घर परिवारभन्दा टाढै बसेर रोगीको उपचारमा संलग्न छन् भने कोही कोभिड-१९ को उपचारका लागि आवश्यक औषधी तथा खोपको विकासमा तल्लिन छन्। हालसम्म कोरोनाको उपचारमा केही पनि सफलता नभएकोले सक्दो छिटो उपचारमा प्रभावकारी औषधीको खोजीमा चिकित्सक तथा स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ता सक्रिय छन्।
सामान्यतः कुनै पनि भाइरस विरुद्ध प्रभावकारी मानिएको भिटामिन- सी र भिटामिन- डी ले केही हदसम्म फाइदा पुर्याउछ भन्ने मान्यता छ तर कोरोना भाइरस (सार्स कोभ–२) विरुद्ध यसको प्रभावकारिता हालसम्म पुष्टि भने भएको छैन्। कोरोना भाइरस विरुद्ध केही आयुर्वेद औषधीको प्रभावकारिताको जिकिर यसकै आधारमा गरिएको हुनुपर्छ।
प्रदेश ५ मा आयुर्वेद उपचारलाई अगाडि बढाइएको छ तर कोरोना विरुद्धको उपचारमा आयुर्वेदिक उपचारलाई के वैज्ञानिक आधारमा अगाडि ल्याईएको हो भन्ने जानकारी भविष्यमा आउला भन्ने विश्वास राखौँ।
केही औषधीहरुले भाइरसको वंश विकास गर्ने भाइरल कल्चरमा भाइरसको वृद्धिमा रोक लगाएको आधारमा ती औषधीहरुको पनि कोभिड-१९ को उपचारमा प्रभावकारिता अध्ययन गरिदैं छ। सेफारान्थिर र सेलोमेक्टिन नामक औषधीहरु यसै प्रकृतिका भाइरसको कल्चरमा प्रभावकारी सिद्ध भएका छन्। तर कोरोना भाइरस विरुद्ध यसको प्रावकारिताका बारेमा थप अनुसन्धानहरु भइरहेको छ।
कोरोना भाइरस मानव शरीरको कोषिका सतहमा रहेको एक प्रकारको इन्जाइम 'एसिई- २' (एन्जियोटेन्सिन कन्भर्टि¨ इन्जाइम– टाइप २) सँग बाधिएर कोषिकामा प्रवेश गर्ने भएकोले लोसार्टान जस्ता एन्जिओटेन्सिन रिसेप्टर ब्लोकर (एआबी) औषधीले फाइदा गर्न सक्ने अनुमान गरिएता पनि कोभिड १९ को उपचारमा प्रभावकारिता सुनिश्चित हुन सकेको छैन। यस सम्बन्धमा पनि थप अध्ययन जारी छ।
दुखाईको लागि प्रयोग गरिने आईब्रुफेन नामक औषधीले एसिई- २ को सक्रियता बढाई मावन शरीरको कोषिकामा भाइरसको प्रवेशमा बढावा दिने भएकोले यसको प्रयोग नगर्नु नै उत्तम हुनेछ। बरु पारासिटामोल सुरक्षित रहेकोले कोरोना भाइरसको संक्रमितहरुले दुखाईको लागि आईब्रुफेनको साटो सिटामोल प्रयोग गर्नु राम्रो हुनेछ।
मलेरिया वा बाथ रोगमा सेमतमा प्रयोग हुने क्लोरोकुईन वा हाईड्रोक्सिक्लेरोकुईन नामक औषधीले पछिल्लो समयमा कोभिड-१९ रोगीको उपचारमा केही सकारात्मक प्रभाव रहेको देखिएको थियो फलस्वरुप धेरै देशहरुले यस औषधीको जोहो गर्न थालिसकेका थिए। डोनाल्ड ट्रम्पले समेत आशा गरेको यस क्लोरोकुइन औषधी भारतसँग उनले मागेका थिए।
तर यस औषधीको पनि कोभिड-१९ रोगीको उपचारमा वैज्ञानिक आधार नरहेको तथ्य अगाडि आएको छ। क्लारोकुइनमा अल्झिएको झिनो आशा समेत तुहिने सम्भावना बढी छ तर यस उपर थप अध्ययन भने जारी नै छ। उपचारमा सकारात्मक प्रभाव देखिएको यस औषधीको सार्थकता वा विफलता एउटा अध्ययनकै आधारमा तय गरिहाल्नु न्यायोचित नहोला।
किनकी यी औषधीहरुले मावन कोषिकामा रहेका इन्डोजोम भित्रका टोल लाईक रिसेप्टर र भाइरसको संसर्गलाई निस्कृय बनाई रोग बल्झाउन मद्धत गर्ने इन्फ्लामेटरी पाथवेलाई रोकिदिन्छ भन्ने पुष्टि भइसेकेको छ।
मानव कोषिकामा भाइरसको प्रवेशलाई मद्धत गर्ने एक अर्को प्रकारको एपी- २ एसोसिएटेड काइनेज इन्जाईम (एएके १) लाई सक्रिय हुन नदिएर तथा मानव शरीरमा ज्यानर कार्इनेज इन्जाइममार्फत इन्फ्लामेसन हुने बाटो रोकेर काम गर्ने ब्यारिसिटिनिब नामक औषधीले पनि केही हदसम्म कोरोनाको उपचारमा सम्भावना जगाएको छ ।
त्यस्तै शरीरमा हानी गर्ने साईटोकाईनहरु भाइरसको कारण हुने हुन्छ। विभिन्न प्रकारका हानिकारक इन्टरल्युकिन खासगरी आईएल ६ लाई रोक्ने टोसिलिजुमाब र आईएल- १ लाई रोक्ने एनाकिनरा नामक औषधीहरुमा धेरैको आशा जागेको छ। यस्ता एन्टिसाईटोकाईन औषधीहरुको कोरोना उपचारमा प्रभावकारिताको लागि थप अध्ययन अनुसन्धान जरुरी छ।
अन्य भाइरस जस्तै सार्स कोभ- २ भाइरसको केन्द्रमा रहेको न्युक्लिक एसिड आरएनएको वंशानुवृद्धिमा उपयोगी इन्जाइम आरएनए पोलिमेरेजलाई रोक्के सार्स कोभ- २ यानिकी कोरोना भाइरसको संख्या बढ्न नदिन रेम्डेसिभिर तथा फेभिपिराभिर औषधीहरु यस रोगको उपचारका लागि बजारमा आउन सक्ने औषधीको रुपमा रहेको छ।
यसको प्रयोग कोरोनाका बिरामीहरुमा प्रभावकारी समेत भएकोले अबको केही हप्तामा यस्को प्रभावकारिता पुष्टि भएमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कम गर्न सकिन्थ्यो। रेम्डेसिभिर नामक औषधी विगतमा इबोला उपचारमा पनि सहायक सावित भएको थियो। तर अन्य भाइरसको उपचारमा प्रयोग गरिने अन्य एन्टि भाइरल औषधी भने प्रभावकारी नभएको देखिएको छ। तर पनि लोपिनभिर र रिटोनाभिर नामक एन्टिभाइरल औषधी उपर अनुसन्धान भने भइरहेको छ।
कारोना भाइरसको रोगीको रगतबाट तयार पारिएको सार्स कोभ- २ विरुद्ध एन्टिजेनिक क्षमता रहेने प्लाज्मालाई कोरोना रोगीको ब्लडमा ट्रन्सफ्युजनमार्फत भिश्रण गराएमा रोगी निको हुने प्लाजमा थिरापी पनि वैज्ञानिकरुपमा प्रमाणित भइनसकेकोले यस उपर थप उनुसन्धान र परीक्षण जारी रहेको छ। भारतले यसमा आशा जगाएको छ।
दिल्लीका केही बिरामीमा यसको प्रयोग गरेपश्चात सफलता हात मिलेको थियो। हालसम्म विश्वभरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस संक्रमितको उपचारमा सघाउन सक्ने आधार रहेका लगभग एक सय पचार विभिन्न प्रकारका औषधीहरु उपर अनुसन्धान भइरहेको छ।
प्रतिक्षा भ्याक्सिन कै
उपचारको लागि जे जत्ति प्रयास भएपनि भाइरसको फैलावट नियन्त्रण नभएसम्म यस महामारीले झन्-झन् दुख दिने नै छ भने समग्र मानव जीवनमा खलल पुर्याउनेछ। विश्व अर्थतन्त्रलाई प्रभाव पार्नेछ भने शिक्षा क्षेत्र पनि प्रभावित हुनेछन्। कोभिड-१९ को उपचार प्रक्रिया वैज्ञनिक रुपमै सफल भएमा हामी यसको रागीहरुलाई मृत्यु हुनबाट जोगाउन सकिन्छ।
जसले मृत्युदर कम गर्नेछ तर महामारीमा रोगको उपचारभन्दा पनि रोगको फैलावट रोक्नु पर्ने हुन्छ। अनि मात्र रोगबाट ग्रसित हुने व्यक्ति कम हुनेछ। नत्र रोगीहरु दिनानु दिन बढ्दै जानाले स्वास्थ्य सामग्रीको समेत कमी हुन गई उपचार प्रभावित भएर मृतकको संख्या बढ्ने छ। त्यसैले अकको प्रतिक्षा भनेको भ्याक्सिनको नै हो।
भ्याक्सिनमार्फत हर्ड इम्युनिटी विकसित गर्दै कोरोना भाइरसलाई फैलनबाट रोक्नु पर्छ भन्ने मान्यता स्थापित छ तर रोग भएकोलाई पुन रोग लाग्छ कि लाग्दैन भन्ने विषय समेत अनुसन्धानकै क्रममा रहेकोले हर्ड इम्युनिटीको आधारभूत मान्यताको सार्थकतामा समेत थप अनुसन्धान गर्नु जरुरी छ। तर यसको पुष्टिको लागि हामीले केही वर्ष कुर्नु पर्नेछ।
त्यसैले पनि अहिले उपचारका विकल्पहरुमा विश्वभर नै भ्याक्सिनको व्यग्र प्रतिक्षा गरिएको छ। हामी पनि त्यही बाटा पछ्याईरहेका छौँ। भ्याक्सिन बनेर परीक्षण गर्न र बजारमा ल्याउन करिब ३ देखि ६ महिना लाग्न सक्छ। भारत सस्तो र गुणस्तरीय भ्याक्सिन बनाउने देशमा पर्छ र भ्याक्सिन निर्माणमा सक्रिय भएर विभिन्न प्रयोगशालाहरु लागि परेका छन्।
आशा गरौँ, व्यग्र प्रतिक्षामा रहेका भ्याक्सिन चाडै बजारमा आउने छ र कोरोना भाइरसको नियन्त्रण भई हामी तपाई सबै सामान्य जीवन शैलीमा फर्कने छौँ। भ्याक्सिन बनेर बजारमा आए पनि भ्याक्सिनको वितरण ठूलो चुनौतिकोरुपमा आउनेछ। विश्वभरका मानिस वा संक्रमित क्षेत्रका मानिसहरुका लागि आवश्यक भ्याक्सिन उत्पान त्यति सहज भने पक्कै छैन। आशा गरौँ भ्याक्सिनको वितरण पनि सहज हुनेछ।
त्यतिन्जेलसम्म भाइरस फैलबट रोक्न मद्धत गर्नु हामी सबैको दायित्व हो। त्यसैले स्वविवेकले सामाजिक दुरी कायम राखौँ, हात सफा गरौँ, चिकित्सकको सल्लाह मनन गरौँ र घरबाहिर अत्यावश्यक भए मात्र बाहिर निस्कौँ। तपाईको सुरक्षाको लागि चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालकर्मी तथा अनुसन्धानकर्ता सक्रिय छन्, बरु तपाईहरु घर मै बस्ने साहस जुटाउनु होस्।
(लेखक पाटन अस्पतालमा एमडी अध्ययनरत छन्।)