नेपाल सरकारले कक्षा एकदेखि नै संस्कृत भाषा पढाउने कार्यक्रम ल्याएको र त्यसका लागि पाठ्यक्रम समेत तयार भइसकेको भन्ने खबरले पछिल्लो समय नेपाली शैक्षिक जगत तरङ्गित छ।
संस्कृत भाषा पढ्न चाहनेको लागि ऐच्छिक विषयको रूपमा कक्षा एकदेखि आठसम्म लागू हुने भनिएको छ। यस सम्बन्धि बजारमा दुई थरी प्रतिक्रियाहरु व्यक्त भइरहेका छन्।
एक थरी मानिसहरु संस्कृत भनेको सामन्ती भाषा हो संस्कृत शिक्षा बुर्जुवा शिक्षा हो। अहिलेको अत्याधुनिक युगमा संस्कृत पढ्नु भनेको पश्चगमनतर्फ लम्कनु हो, संस्कृत पढाउने कुरा नेपालको बहुभाषिक नीतिको विरूद्धमा छ भन्ने जस्ता विचारहरु व्यक्त गरिरहेका छन्।
अर्काथरीले संस्कृतलाई ऐच्छिक विषयको रूपमा मात्र राखेर हुँदैन, यसलाई कक्षा एकदेखि बाह्रसम्मै अनिवार्य बनाइनुपर्छ। संस्कृत राम्ररी नपढेर हाम्रो देश पछि परेको हो। संस्कृत शिक्षाका माध्यमबाट मात्र हाम्रो सम्पूर्ण उन्नती प्रगति सम्भव छ। औषधी उत्पादनमा आत्मनिर्भर हुन होस् या नासाको वैज्ञानिक बन्न संस्कृत नपढी हुन्न भन्ने किसिमका तर्कहरु पेस गरिरहेका छन्।
यसै सन्दर्भमा तयार पारिएको यो लेख भाषा शिक्षणको आवश्यकता तथा सिकाइ प्रक्रियासँग सम्बन्धित सामान्य जानकारीका साथै दुइटै मतको खण्डनमा केन्द्रित छ।
औपचारिक शिक्षाको सुरुवात भाषाबाट हुन्छ। शिशुलाई सुरुमा अक्षर चिन्न र लेख्न सिकाइन्छ। ज्ञानार्जनको मुख्य माध्यम भाषा हो। अन्य विषयहरु पनि भाषाकै सहायताले सिकिन्छन्।
भाषामा आधारभुत दक्षता हासिल नगरिकन कुनै पनि विषयको अध्ययनलाई अगाडि बढाउन सकिँदैन। एकातिर भाषाले शिक्षाको माध्यमको काम गरिराखेको हुन्छ भने अर्कातिर बालकको मानसिक विकासमा पनि यसको अहम् भूमिका रहेको हुन्छ।
सिकाइ मनोवैज्ञानिकहरुले बालकको भाषीक विकास र संज्ञानात्मक विकासलाई परिपूरकको रूपमा हेर्ने गरेका छन्। भाषामा जति बढी पकड भयो ज्ञानार्जनमा त्यति नै प्रगति हुने गर्दछ। वास्तवमा भाषा शिक्षाको पूर्वाधारको रूपमा रहेको हुन्छ। त्यसैले संसारभरि औपचारिक शिक्षाको आधारभूत तहमा भाषा विषयको अनिवार्य विषयका रूपमा पढाइ हुन्छ। आ-आफ्नो देश वा प्रदेशको अवस्था, स्थिति र आवश्यकता अनुसार कति वटा र कुन कुन भाषा पढाउने भन्ने कुराको तय हुने गर्दछ।
बालकको पहिलो पाठशाला घर हो। घरबाट नै उसको सिकाइको आरम्भ हुन्छ। बालकले घरमा जुन भाषा सिकेको छ, विद्यालयमा पनि उसले त्यहि भाषामा सिक्न पायो भने सिकाइ सहज हुन्छ। त्यसैले प्रारम्भिक तहको शिक्षा मातृभाषामै दिनुपर्छ भनिएको हो।
माथिल्लो तहसम्मको ज्ञान मातृभाषामै उपलब्ध हुने अवस्था छ भने अन्य भाषा सिक्नु जरुरी नहुन सक्छ। जस्तो कि अङ्ग्रेजी मातृभाषी विद्यार्थीहरुले अन्य भाषा नसिक्दा पनि उच्च अध्ययनमा बाधा नहोला तर अधिकांश मातृभाषीका लागि त्यो अवसर उपलब्ध छैन। आफ्नो मातृभाषाका माध्यमबाट मात्र उच्च शिक्षा हासिल गर्न सकिने स्थिति नहुँदा अन्य भाषा सिक्नु आवश्यक हुन्छ।
सामान्यतः तीन कक्षाबाट बालकलाई दोस्रो भाषा सिकाइमा अग्रसर गराउन सकिन्छ। सुरु सुरुमा पहिलो भाषाकै सहायताले दोस्रो भाषा सिकाउन थालियो भने बालकले सजिलो गरी सिक्छ। पहिले सिकेको भाषासँग पछि सिकाउन खोजेको भाषाको तालमेल मिलाउँदै गइयो भने सिकाइमा सहजता आउँछ।
यसरी आवश्यक अन्य भाषाको सिकाइलाई अगाडि बढाउन सकिन्छ। भाषा सिकाइको गति र स्तर अभिवृद्धिलाई उपयुक्त भाषिक वातावरण र पर्याप्त अभ्यासले सबैभन्दा बढी मदत पुर्याउँछ।
विद्यालयमा विद्यार्थीहरुलाई भाषा विषय मात्र पढाएर हुँदैन। विद्यार्थीले पढ्नु पर्ने अन्य थुप्रै विषय हुन्छन्। धेरै विषय पढाउँदा विद्यार्थीलाई अनावश्यक बोझ हुन गइ सिकाइ प्रभावकारी हुँदैन।
विद्यालयमा भाषा विषय एउटा, दुइटा र बढीमा तीन वटासम्म पढाउन सकिएला तर त्योभन्दा पनि बढी भाषा पढाउने कुरा अनावश्यक मात्रै होइन प्रत्युपादक हुन जान्छ। यो पनि जरुरी छ, त्यो पनि जरुरी छ, यसमा ज्ञानको भण्डार छ, त्यसमा ज्ञानको भकारी छ भनेर धेरैभन्दा धेरै भाषा विषय मात्र पढाउनतिर लागियो भने समग्रमा शिक्षाको उद्देश्य पुरा हुँदैन। बरु बालबालिकाको ऊर्जाशील समय बर्बाद हुन्छ। संसारमा जति पनि भाषामा ज्ञानको आविष्कार भएको छ, ती सबै भाषा एकै व्यक्तिले जान्न सम्भव हुँदैन र जान्न जरुरी पनि छैन। संसारका विभिन्न भाषामा उत्पादन भएका ज्ञानहरु कुनै एउटा, दुइटा सबल भाषाको माध्यमबाटै प्राप्त गर्न सकिने स्थिति बन्दै गएको छ।
नेपालका विद्यालय तहमा अनिवार्य विषयको रूपमा नेपाली र अङ्ग्रेजी भाषाको पढाइ हुन्छ। नेपालीलाई पहिलो र अङ्ग्रेजीलाई दोस्रो भाषाको रूपमा सिकाउन खोजेको देखिन्छ।
तर नेपालको बहुभाषिक अवस्थितिले गर्दा नेपाली भाषालाई नै दोस्रो भाषाको रूपमा सिक्ने विद्यार्थीको सङ्ख्या पनि ठूलो छ। नेपाली भाषा बहुसंख्यक नेपालीको मातृभाषा मात्र नभएर सम्पूर्ण नेपालीको साझा र सम्पर्कको भाषा पनि हो।
यहाँ अलग अलग समुदायका फरक फरक भाषा बोल्ने मानिसहरु नेपाली भाषाकै माध्यमबाट आपसमा अन्तरक्रिया गर्छन्। यो सरकारी कामकाजका साथै शिक्षा र सञ्चारको भाषा पनि हो। नेपाली परम्परा, समाज र संस्कृतिको अन्तर्य बुझ्न र नेपाली परिवेशमा समायोजन हुन नेपाली भाषा जान्नैपर्छ। त्यसै गरी संसारसँग सम्पर्क गर्न, विश्वसँग सम्बन्ध गाँस्न, अन्तर्राष्ट्रिय परिवेशमा घुलमिल हुन तथा संसारभरिका ज्ञान, विज्ञान र प्रविधिको आर्जन र उपयोग गर्न अङ्ग्रेजी भाषा जान्नु आवश्यक छ।
नेपाली भाषाभन्दा चिनिया भाषा बोल्ने मानिसहरुको सङ्ख्या कयौं गुना बढी छ। नेपालीको तुलनामा चिनिया भाषाको प्रयोग क्षेत्र निकै विस्तारित छ। उनीहरुको साधन स्रोतले सम्पन्न ठूलो देश छ। संसारको धेरैभन्दा धेरै ज्ञान, विज्ञान र प्रविधि उनीहरुको भाषामा आइसकेको छ। उनीहरु आफ्नो भाषालाई अन्तर्राष्ट्रिय भाषा बनाउने ध्याउन्नमा छन्। त्यसकारण चिनियाहरुका लागि अङ्ग्रेजी जान्नु जरुरी नहुन सक्छ तर हाम्रो जस्तो थोरै जनसङ्ख्या भएको सानो मुलुक अन्तर्राष्ट्रिय सम्पर्कको भाषाबाट विमुख हुनै सक्दैन।
अङ्ग्रेजीबाट हामी जति टाढा भयौँ त्यति नै पछाडि पर्न जान्छौ। यसप्रकार नेपालमा नेपाली र अङ्ग्रेजी भाषालाई नै अनिवार्य बनाइनुको औचित्य पुष्टि हुन्छ। अङ्ग्रेजी आवश्यक छ भन्नुको मतलब अङ्ग्रेजी मात्र आवश्यक छ भनेको होइन। हाम्रा विद्यालयहरु (खास गरी निजी) मा अङ्ग्रेजीलाई चाहिनेभन्दा बढी महत्व दिइने गरेको पाइन्छ। अङ्ग्रेजी जान्नु नै सबथोक जान्नु होइन। अङ्ग्रेजी सिकाउने नाममा आफ्नै भाषालाई उपेक्षा गर्ने प्रवृत्ति चिन्ताजनक छ। अङ्ग्रेजीलाई सर्वेसर्वा ठान्ने दास मनोवृत्तिबाट मुक्त हुन पनि जरुरी छ।
अर्कातिर ऐच्छिक विषयको रूपमा संस्कृत पढ्न पाउने कुराको विरोध गर्नु पर्ने कुनै कारण छैन। संस्कृत भाषाको आवरणमा हिन्दु धर्म र राजसंस्था फर्काउने प्रपञ्च रचिँदैछ कि भनेर आशङ्का गर्नु अनावश्यक कुरा हो। संस्कृतले नेपालका विभिन्न मातृभाषाहरुको संरक्षण र संवर्धनमा कतै पनि बाधा सिर्जना गर्दैन। बरु राज्यले संस्कृतमा लगानी गर्ने तर जीवित भाषाहरुको उद्धारका लागि लगानी नगर्ने? भन्ने किसिमको दबाब सिर्जना भएर मातृभाषाहरूको उत्थानमा लगानी वृद्धि गर्न राज्य बाध्य हुँदै जानेछ।
प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा लिन पाउने कुरा कानुनमै उल्लेख छ। त्यसका लागि २६ वटा मातृभाषामा प्रारम्भिक तहको पाठ्यक्रम समेत तयार भइसकेको खबर छ। आवश्यकता अनुसार अन्य मातृभाषामा पनि पाठ्यक्रमहरु बन्दै जालान्।
नेपालका सम्पूर्ण भाषाहरुको संरक्षण र संवर्धनका लागि राज्यले कस्तो नीति, योजना र कार्यक्रमलाई अगाडि बढाउने भनेर भाषा आयोग बनेको छ। कछुवाकै गतिमा भए पनि त्यसले काम गर्दै होला। प्रदेश सरकारले नेपाली बाहेक अर्को भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सक्ने प्रावधान पनि संविधानमा छ। देशभित्र बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिइएको देशमा अब पनि राज्यले नै भाषिक विभेद गर्छ भन्नु युक्तिसङ्गत देखिँदैन।
संस्कृत भाषा ज्ञानको भण्डार हो भन्ने कुरामा कसैको दुईमत छैन तर यो लोकजीवनमा प्रचलित जीवन्त भाषा पनि होइन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा समायोजन हुन चाहिने भाषा पनि यो होइन। त्यसकारण संस्कृतमा पूर्वीय ज्ञानको अपार भण्डार छ भन्दैमा सबैले पढ्नैपर्छ भन्ने हुँदैन। अहिलेको उत्तरआधुनिक भनिने युगमा ज्ञानका असङ्ख्य शाखा र विधाहरु छन्। विद्यार्थीसँग विषय छनोटका अनेकौं विकल्प छन्। व्यक्तिले आफ्नो रुची, क्षमता र आवश्यकता अनुसार जुनसुकै विषय, क्षेत्र वा पेसा रोज्न सक्छ। त्यसैले सबैले संस्कृत पढ्नैपर्छ र यसलाई अनिवार्य नै बनाइनुपर्छ भन्ने कुरा मनासिब छैन।
आधारभूत तहमा संस्कृत अनिवार्य गराउँदैमा अर्थात् केही धातु रूपावली, केही शब्द रूपावली र केही लिङ्ग, वचन, काल, पक्षका उदाहरण घोकाउँदैमा विद्यार्थीले वेद पढ्न जान्ने होइनन्। वेद पढ्न त संस्कृतको उच्च अध्ययन गर्नुपर्छ। सबैको उद्देश्य संस्कृतको उच्च अध्ययन गर्ने हुँदैन। त्यसैले संस्कृत अनिवार्य गर्नु आवश्यक छैन।
भविष्यमा संस्कृत साहित्य, व्याकरण, दर्शनतिरै जान चाहन्छु र संस्कृत विश्वविद्यालयमा भर्ना भएर पूर्वीय ज्ञानको अध्ययन अनुसन्धानमै लाग्छु भन्नेलाई चाहिँ साधारण विद्यालयमा पनि संस्कृत पढ्ने अवसर दिनु आवश्यक नै थियो।त्यसैकारण संस्कृत भाषालाई ऐच्छिक विषयको रूपमा राखियो।
दैनीक जीवन व्यवहारलाई सहजीकरण गर्न, समकालीन ज्ञान र सूचनाहरु प्राप्त गर्न र विश्व परिवेशसँग सम्पर्क कायम गर्न संस्कृत जान्नै पर्ने जरुरी नभएकाले यसलाई अनिवार्य नबनाइएको हो। कसैकसैले नेपाली भाषाको जगेर्ना गर्न पनि संस्कृत पढ्नुपर्छ भन्ने जस्ता कुरा गर्छन् तर नेपालीको जगेर्ना गर्न संस्कृत होइन नेपाली नै पढ्नुपर्छ, नेपाली नै पढाउनुपर्छ। अझै भन्नु पर्दा नेपाली भाषाको प्रयोग क्षेत्र विस्तार गर्नुपर्छ।
कुनै भाषा उत्कृष्ट र कुनै निकृष्ट भन्ने हुँदैन। जुनसुकै भाषाले आआफ्नो क्षेत्र र समुदायको परम्परा र संस्कृतिलाई वहन गरेको हुन्छ। संस्कृतलाई संसारको सर्वोत्कृष्ट भाषा हो भनेर अनावश्यक महिमा मण्डन गर्ने चलन पनि छ। यसरी महिमा मण्डन गर्न थालेपछि यथार्थको नजिक पुग्न र विषयलाई ठिक ढङ्गले बुझ्न सकिँदैन।
कुनै पनि चिजप्रति आलोचनात्मक चेत नराख्ने हो भने त्यसका गुण र दोषको सही पारख हुँदैन। गुण र दोष राम्ररी नछुट्याइकन त्यसको समुचित उपयोग सम्भव छैन। आधुनिक ज्ञान निर्माणमा संस्कृत ज्ञान परम्पराको योगदान के हो ? समसामयिक सन्दर्भमा संस्कृत ज्ञान परम्पराको उपादेयता कति छ ? र व्यवहारिक जीवनमा यसको प्रयोग कसरी गर्न सकिन्छ ? भन्ने कुरातर्फ ध्यान नदिएर खाली त्यसको देवत्वकरण गर्नतिर लाग्नाले हाम्रो स्वतन्त्र विवेचन शक्ति पनि कमजोर हुन्छ।
संस्कृत भाषालाई जोगाइराख्नु पर्ने जरुरी नै छैन। यो जे छ, जति छ जोगिएर रहेको छ। जनजीवनमा प्रचलित जीवन्त भाषा भए पो नासिन्छ कि, मासिन्छ कि वा लोप हुन्छ कि भन्ने डर हुन्थ्यो। यो त शताब्दीऔं अघिदेखि स्थिर भएको छ। संस्कृत भाषा अब अनुसन्धानको भाषा हो। यसको उच्चस्तरीय अध्ययन अनुसन्धान गरेर यसमा भएको ज्ञान बाहिर ल्याउनु आजको मुख्य काम हो। नेपालमा संस्कृत सम्बन्धी भइरहेको अध्ययन र अनुसन्धानको गुण र मात्रामा वृद्धि गर्नु आजको आवश्यकता हो।