नेपालले २०७२ सालमा भुइँचालोका रूपमा हाम्रो पुस्ताले देखेको सबभन्दा ठूलो विपद सामना गर्नुपरेको थियो। यसका साथै हाल विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणसँग जुध्न देशले संघर्ष गरिरहेको छ। हरेक वर्ष बाढी, पहिरो लगायत विपत्तिले पनि नेपाललाई असर गर्ने गरेका छन्।
सरकारले कोरोना संक्रमणबाट बच्न बन्दाबन्दीको नीति अबलम्बन गरिरहँदा, कोरोना परीक्षण दायरा फराकिलो पार्न नसकेको तथा उपलब्ध स्वास्थ्य संयन्त्रले कोरोना संक्रमितलाई उपचार तथा सहयोग गर्न असमर्थ रहेको भन्ने आम बुझाइले नागरिक स्तरबाट विरोध पनि हुने गरेको छ।
यस्तो अवस्थामा सरकारले स्वास्थ्य क्षेत्रमा दक्ष प्राविधिकको अभाव समेत खेपिरहेको छ। आगामी वर्षका लागि स्वास्थ्य तर्फ उल्लेख्य मात्रामा बजेट वृद्धि गरिएको छ भने नयाँ अस्पताल, स्वास्थ्य चौकी निर्माण तथा भएका संरचनाको भौतिक स्तरोन्नतिमा जोड दिइएको छ। तर प्राविधिक जनशक्ति अभावको विषयलाई पूर्णतया अवमूल्यन गरिएको छ।
यस बीच कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले अबलम्बन गरेको बन्दाबन्दीको नीति केही खुकुलो भएको छ भने आर्थिक वर्ष अन्त्य हुन लाग्दा समेत देशको समग्र अर्थतन्त्रमा प्रभाव पार्ने विकास निर्माणका गतिविधिमा असर परी निकै कम मात्रामा पुँजीगत खर्च भइरहेको छ। नेपालले ५ वर्ष अगाडि सामना गरेको भुइँचालो, हालको कोरोना महामारी र नेपालीले चाहना गरिरहेको आर्थिक विकासको सेरोफेरोमा नेपालजस्तो देशमा विपददेखि विकाससम्म प्राविधिकहरूको महत्वपूर्ण भूमिकाका विषयमा यो लेखमा चर्चा गरिएको छ।
प्राविधिकहरुको बहुआयामिक महत्वका पाटो हेर्नुअघि विगतमा प्राविधिकले विपद समयमा पुर्याएको योगदानमा एकछिन चर्चा गरौं। गोरखा भुइँचालोले करिब १० हजारको ज्यान लिनुका साथै हजारौं घाइते बनाइ ठूलो आर्थिक, भौतिक तथा सामाजिक विनाश समेत गरेको थियो। उक्त भुइँचालोका पराकम्पन लामो समयसम्म आइरहँदा र आम नागरिकमा ठूलो त्रास रहेका समयमा इन्जिनियरहरूले घरको स्थिति निरीक्षण गरी बस्न मिल्ने-नमिल्ने वा संरचनाको स्थितिका विषयमा स्थलगत रूपमै पुगी जानकारी दिएका थिए।
नेपाल इन्जिनियर्स एसोसिएसनले ५ हजारभन्दा बढी इन्जिनियर संलग्न गराई निःशुल्क घर निरीक्षण कार्यमा खटाएको थियो। प्राविधिकहरूले स्वतन्त्र रुपमा समेत सेवा दिएका थिए। तत्पश्चात राष्ट्रिय योजना आयोगबाट सुरुआती चरणमा भूकम्प पीडितको तथ्यांक संकलनमा पनि प्राविधिक प्रयोग गरिएको थियो। सोही तथ्यांककै आधारमा १० लाखभन्दा बढी घरधुरीलाई आकस्मिक सहयोग प्रदान गरिएको थियो।
भूकम्पले भौतिक सम्पत्ति विनाश गरी धेरैलाई बासबिहीन बनाएको र वर्षा सुरुआत हुँदै गर्दाको अवस्थामा पनि निकै कम खर्चिलो अस्थायी बास निर्माणमा प्राविधिकले सहयोग गरेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएसँगै १० लाखभन्दा बढी घरधुरी सर्वेक्षण पनि पटक पटक गरेर २५ सयभन्दा बढी प्राविधिकबाट सम्पन्न भएको थियो। सोही सर्वेक्षणमार्फत ८ लाखभन्दा बढीलाई लाभग्राही सूचीमा समाहित गरी पुनर्निर्माण अगाडि बढाइएको थियो।
पुनर्निर्माणमा स्थलगत खटिएर प्राविधिक सहयोग तथा किस्ता प्राप्तिको सिफारिसका लागि २५ सयभन्दा धेरै प्राविधिक खटाइएको थियो। यसका साथै सरकारी निकायबाहेक विभिन्न गैरसरकारी संस्था एवं अन्य निकायबाट भूकम्पीय पुनर्निर्माणमा ४५ सयभन्दा धेरै प्राविधिक खटिएका थिए। भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि दक्ष जनशक्ति आभाव रहेका बेला यिनै प्राविधिकको तालिमबाट ७० हजारभन्दा धेरै दक्ष कामदार उत्पादन भएका थिए।
प्राविधिकहरू अन्य विपद समयमा वा विपद जोखिम न्यूनीकरण सम्बन्धी अध्ययन र अनुसन्धानमा पनि उत्तिकै महत्वपूर्ण छन्। जल तथा मौसम विज्ञान सम्बन्धी ज्ञान हुने प्राविधिकले मौसम पूर्वानुमान गरी बाढी र पहिरो जोखिमबाट आम मान्छेलाई सचेत गराउने र जनधन क्षति कम गर्न मद्दत गर्छन्। यसैगरी सम्भावित बाढीको सतह सम्बन्धी अध्ययन गरी सोबाट बचाउने संरचना निर्माण, पहिरो जोखिम अध्ययन तथा रोकथामका उपाय विकास गरी जोखिम न्यूनीकरणमा प्राविधिकले नै सहयोग गर्छन्।
हाल विश्वभर फैलिएको कोरोना संक्रमण परीक्षण, पहिचान तथा उपचारमा पनि प्राविधिकले नै अग्रपंक्तिमा काम गरिरहेका छन्। कोरोना परीक्षणका लागि आवश्यक ल्याब टेक्निसियन हुन् वा बिरामी जाँच्ने डाक्टर, सबै प्राविधिक हुन्। हाल कोरोनाबाट बच्न विकास गर्नुपर्ने औषधि तथा भ्याक्सिन निर्माणमा समेत स्वास्थ्य खोजमा संलग्न प्राविधिकको खोज तथा अनुसन्धानको भर सारा विश्वले गरिरहेको छ।
तर नेपालमा यस्ता जनशक्तिको अवमूल्यन हुने गरेको छ। विगत ३० वर्षको इतिहास हेर्ने हो भने नेपालमा स्वास्थ्य क्षेत्रमा निकै कम मात्र दरबन्दी वृद्धि भएको छ। भएका दरबन्दीमा पनि स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्री सधैं अभाव छ। जसले गर्दा हाल नेपालमा कोरोना परीक्षणका लागि सरकारी संयन्त्रमा निकै कम दक्ष प्राविधिक उपलब्ध छन्। त्यस्तै निजी अस्पतालमा कार्यरत प्राविधिकलाई सरकारले प्रयोग गर्न नसक्दा परीक्षण दायरा निकै साँघुरो भएको छ। यसका साथै संक्रमित पहिचान, परीक्षण तथा उपचारमा संलग्न हुनुपर्ने स्वास्थ्यकर्मी (प्राविधिक) संख्या न्यून हुँदा क्वारेन्टाइन नै संक्रमण केन्द्र बनिरहेका तथा त्यहाँ बसेका व्यक्ति कोरोना बाहेकका रोगको जोखिममा छन्।
विपद समयमा मात्र होइन, देश विकासमा समेत प्राविधिकको ठूलो हात हुन्छ। कृषिमा आधुनिकीकरण, अनुसन्धान, उन्नत बाली प्रवर्द्धन लगायत कामका लागि कृषि सम्बन्धी अध्ययन अनुसन्धानमा लाग्दै हावापानी र भूबनोट सुहाउँदो उत्तम प्रविधि विकास गरेका, कृषि जानेका र बुझेका प्राविधिक आवश्यकता पर्छ।
यसका साथै सबै खाले भौतिक निर्माणमा प्राविधिकको ठूलो हात हुन्छ। सडक तथा पुल, स्थानीय पूर्वाधार, खानेपानी तथा ढल निकास, जलविद्युत तथा सिँचाइ विकास, ठूल्ठूला भवन, सुरुङ तथा रेल मार्ग, एयरपोर्ट निर्माणमा प्राविधिकहरू मियोका रूपमा रहन्छन्। उपलब्ध साधनश्रोतको उच्चतम प्रयोगका लागि पनि प्राविधिक आवश्यक पर्छन्। उदाहरण, हाल स्थानीय तहमार्फत हुने सडक निर्माणमा प्राविधिक र प्रविधिको उचित प्रयोग भए कम खर्चमै वातावरण मैत्री तथा पहिरो लगायत विपद जोखिम न्यूनीकरण गर्ने गरी सडक निर्माण हुन सक्छ।
कम श्रोतको उचित परिचालन गरी उच्च परिणाम दिन सक्ने भएकाले विश्वमा प्राविधिक जनशक्तिको उच्च माग हुने गरेको छ। विदेशमा यी जनशक्तिले आकर्षक कमाइ गर्न सक्ने भएकाले नेपालबाट अध्ययनका लागि विदेशिने तथा उतै पलायन हुने युवामा ठूलो संख्या प्राविधिक जनशक्तिको छ। यसमध्ये पनि दक्ष इन्जिनियर र डाक्टर ठूलो संख्यामा विदेशिन्छन्। सरकारले आफ्नो लगानीमा पढाएका प्राविधिक जनशक्तिलाई समेत देशभित्र उपयोग गर्न सकिरहेको छैन। कृषि, वन, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा दखल राख्ने ठूलो जमात पनि विदेश पलायन भइरहेको छ।
उपलब्ध जनशक्तिको पनि अधिकतम उपयोग हुनुपर्नेमा सरकारी संयन्त्रमा पुरानो ढर्रामै काम गर्नुपर्ने, प्राविधिकहरु अध्ययन अनुसन्धान तथा परिणाममुखी कामभन्दा कागजी काममै रुमल्लिनुपर्ने बाध्यता छ। हामीकहाँ अध्ययन तथा अनुसन्धानको पाटो अत्यन्त कमजोर हुनाले देशलाई फाइदा हुने नयाँ प्रविधि परीक्षण गर्न तथा नयाँ आविस्कार गर्न कठिन छ। तसर्थ प्रविधि तथा अनुसन्धानमा हामी सधैं परनिर्भर हुनु परिरहेको छ।
प्राविधिकको उचित प्रयोग बिना गरिने निर्माणले जोखिम निम्त्याउँछन् भने अनुसन्धान बिना गरिने लगानी बालुवामा पानी हाले सरह हुन्छन्। नेपालमा दक्ष जनशक्ति उत्पादनको दायरा विगत एक दशकमा निकै फराकिलो भएको छ। यस्ता जनशक्तिको उच्चतम प्रयोग गरी देश रुपान्तरणमा लगाउनुपर्नेमा, यही एक दशकमा अध्ययनका लागि विदेशिने र विदेशमै पलायन हुने युवा जनशक्ति बढिरहेका छन्।
हाल नेपालमै उत्पादित जनशक्तिले विश्वमा कोरोना महामारीसँग जुध्न अग्रपंक्तिमा काम गरिरहँदा नेपालभित्रै भएका धेरै प्राविधिक जनशक्ति कामबिहिन भएर बसिरहनुपरेको छ। सरकारी संयन्त्रमा भने यी प्राविधिक जनशक्तिको अभाव हुनु र सरकार केवल स्वास्थ्य क्षेत्रको भौतिक स्तरोन्नतिमै लाग्नाले हाम्रो कमजोर अवस्था देखाइरहेको छ।
यस्तो परिप्रेक्ष्यमा नेपाललाई उन्नति पथमा लान सक्ने यी जनशक्तिलाई सरकारले देशमै बस्ने वातावरण मिलाउन अत्यन्त जरुरी छ। पोख्त जनशक्तिलाई विदेश पलायन गराएर, भएका जनशक्तिको उच्चतम प्रयोग गर्न नसकेर, पुरानै ढर्रामा देश चलाएर, विकासका नाममा अन्धाधुन्ध पैसा खन्याएर हामी कसरी अगाडि बढ्न सकौंला र? सोच्ने बेला अझै भएन र?
(लेखक सरकारी सेवामा इन्जिनियर छन्। )