आमा सत्य र बाबु विश्वास हुन् भनेजस्तो चीन र भारत भूराजनीतिक हिसाबले हाम्रा लागि सत्य हुन् भने बाँकी विश्वका मित्रशक्तिहरू विश्वास हुन्। यी दुई छिमेकीसँग हाम्रा फरक खालका सम्बन्ध छन्। राजनीतिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक र आर्थिक हिसाबले दुवै छिमेकीका चरित्र फरक छन्।
केही वर्षअघि आमनिर्वाचन बेला नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतसँग मैले यी दुई छिमेकीका काम गर्ने तौरतरिकाबारे लामो कुराकानी गरेको थिएँ। महत भन्थे, ‘चीन साह्रै स्मार्टली प्रस्तुत हुन्छ, भारतले हल्लीखल्ली धेरै गर्छ।’
उनको भनाइको अन्तर्य के थियो भने, हाम्रा दुवै छिमेकीका काम गर्ने तौरतरिका फरक छन्। त्यसलाई हामीले बुझ्नुपर्छ र सोहीअनुसार व्यवहार गर्नुपर्छ। हामी प्रतिशोधमुखीभन्दा समाधानमुखी हुनुपर्छ। एकको विरुद्ध अर्कोतर्फको आबद्धता हाम्रा लागि घातक हुनसक्छ भन्ने विगतमा पटक–पटक पुष्टि भइसकेको छ।
अहिले पनि भारतसँग सबै सम्बन्धका ढोका बन्द गर्ने कदम हाम्रा लागि घातक हुनसक्छ। भारतसँग हाम्रा असहमति राखिराख्नुपर्छ, संवादको ढोका बन्द गर्न हुँदैन। भारतलाई भनिराख्नुपर्छ, नेपाल–भारत सम्बन्धको महत्व झक्झक्याइरहनुपर्छ। भारतमा नेपालका मित्रहरू छन्, नेपालप्रति सद्भाव राख्ने समुदाय छ। तिनीहरूमार्फत् भन्न लगाइराख्नुपर्छ। कूटनीतिक सफलता भनेकै यही हो। संवादको ढोका बन्द गरेर एकांकी कुरा गर्नु सदियौं पुरानो सम्बन्ध र नेपालमाथि सद्भाव राख्नेहरूमाथि समेत अन्याय हो।
भारत देश, त्यहाँको राजनीति, त्यहाँको समाज, त्यहाँका सञ्चारमाध्यमलाई हामीले राम्ररी पर्गेल्नुपर्छ। भारतीय सञ्चारमाध्यम, खासगरी टेलिभिजन सुन्ने र पत्याउने हो भने त भारत र पाकिस्तानबीच सधैं युद्धकै अवस्था रहेको प्रतीत हुन्छ। भारतीय टेलिभिजन हल्लाखोरीमा यति अगाडि छन्, उनीहरू ‘हमारी सैनिक नें मुहतोड जवाब देकर बहादुरीके साथ पिछे हट रही हैं’ भन्नेजस्ता समाचार प्याकेज उत्पादन गर्छन्। क्रिकेटमा हार भए खेलाडीको घरमा ढुंगा हान्न भीडलाई प्रोत्साहन गर्छन्, चोकमा थोत्रा टिभी फुटाएर तेन्दुलकर, धोनी र कोहलीको सेखी झार्ने काम पनि भारतीय टेलिभिजनहरूले गर्दै आएका छन्।
दर्शक बटुल्ने होडमा लागेका यी टेलिभिजनले पत्रकारिताका कुनै धर्म पालना गर्दैनन्। यिनले के भन्छन्, के समाचार दिन्छन्, त्यसको कुनै अर्थ छैन। राष्ट्र–राष्ट्रबीचको सम्बन्धलाई भीडले र हल्लाले निर्देशित गर्ने अवस्था आउन दिनु हुँदैन।
चीनमा भने फरक राजनीतिक अभ्यास छ। एकदलीय शासन प्रणाली अपनाएको चीनले तीव्र आर्थिक विकासमार्फत् सारा विश्वको ध्यान तानेको छ। संसारभर आपूर्ति प्रणालीमा चीनको बाहुल्य छ। चीनबिनाको विश्व अर्थतन्त्र 'प्यारालाइज्ड' हुने गरी उसले आफूलाई स्थापित आर्थिक शक्तिका रूपमा विकास गरिसकेको छ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र र सबल सैन्य शक्ति भएको मुलुक चीनसँग हाम्रो पुरानो कूटनीतिक सम्बन्ध छ। चीनसँग हाम्रो सामरिक र रणनीतिक सम्बन्ध पनि छ। उसले भारतजस्तो खुलेर नेपालका सत्तासीनको समर्थन या विरोध गर्दैन। शान्त कूटनीतिको अभ्यास गर्ने चीनले आफ्ना स्वार्थका काम हल्ला नगरी बनाउँछ भन्ने आमधारणा रहँदै आएको छ।
विगतमा नेपालमा चीनको स्वार्थ तिब्बतलाई लिएर चीनविरोधी गतिविधि नहोस् भन्नेमा सीमित थियो। अब चीनले क्रमशः विश्वशक्ति बन्ने प्रक्षेपणका आधारमा आफूलाई 'सफ्टपावर' का रूपमा अघि बढाउँदै लगेको छ। यस्तो अवस्थामा चीनले पनि आफ्ना निकट सहयोगीहरूको समूह तयार पारिरहेको छ, जसमा चीन नेपाललाई पनि समावेश गर्न चाहन्छ भन्ने खुलस्त छ।
भूराजनीतिक अवस्थितिले हामीलाई चीनसँग आबद्ध हुने सुविधा दिँदैन। बरू हामीले चीनलाई भन्नुपर्छ, ‘हामी तिम्रो स्वार्थको रक्षा गरिरहेका छौं र त्यसमा प्रतिबद्ध छौं। हाम्रो भूराजनीतिक अवस्थिति र जटिलताका कारण हामी खुला रूपमा आबद्ध हुन सक्ने अवस्थामा छैनौं।’
अहिले त हामी झन् संवेदनशील अवस्थामा छौं। गल्वान उपत्यकामा चीन र भारतको सीमा विवाद चर्कंदै मुठभेडको अवस्थासम्म पुग्दा हाम्रो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी वैचारिक छलफलका लागि 'भर्चुअल' बैठकमा व्यस्त थिए। भर्चुअल बैठकलाई व्यापक प्रचारप्रसार गरिएको थियो। उक्त बैठकले नेपाललाई कूटनीतिक लाभभन्दा हानि बढी भयो।
अर्कातर्फ, भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गरेपछि नेपालले भारतीय राजदूतमार्फत् भारत सरकारलाई विरोधपत्र पठायो। तै पनि भारतले वार्ता टार्यो। नेपालले आफ्नो तर्फबाट आफ्नो भूमि समेटेर नक्सा जारी गर्यो। यहाँसम्मका गतिविधि जायज छन्। भारतभित्रै पनि सुगौली सन्धिअनुसार महाकालीपारिको भूभाग नेपालको हो, नेपाललाई चिढ्याउन हुन्न भन्ने बहस चल्दै थियो। नेपालले भारतभित्र आफ्ना शुभेच्छुकमार्फत् त्यस्ता बहस अगाडि बढाउन पहल गर्नुको साटो असार १४ मा प्रधानमन्त्री केपी शर्मा ओली अचानक भारतविरुद्ध विस्फोट भए।
उनले तत्कालीन नेकपा एमालेका स्वर्गीय नेता मदन भण्डारीको जन्मजयन्तीमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावास सरकार गिराउन लागेको भन्नेजस्तो सनसनीपूर्ण अभिव्यक्ति दिए। भारतीय मिडिया आफ्नो विरोधमा लागेको पनि उनले चर्चा गर्न भ्याए।
कुनै पनि मुलुकको प्रधानमन्त्रीका लागि यो शोभनीय अभिव्यक्ति थिएन। निकट भविष्यमा सुरू हुने स्थायी समिति बैठकमा आफूले झेल्नुपर्ने सम्भावित संकट टार्न उनले यस्तो अभिव्यक्ति दिएको प्रस्ट बुझ्न सकिन्छ। एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीसँग कुनै अमूक देशको दूतावास सरकारविरुद्ध प्रयोग भइरहेको प्रमाण छ भने तिनलाई फिर्ता पठाउने प्रशासनिक र कूटनीतिक प्रक्रियातर्फ लाग्नुपर्छ। भाषणबाजी गर्दै हिँड्ने होइन।
प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिएको मञ्च मदन भण्डारी फाउण्डेसन भारत सरकारको अनुदान प्राप्त गर्ने संस्था हो। उनकै दल तत्कालीन नेकपा एमालेभित्र उक्त फाउण्डेसनमार्फत् भारतको अनुदान लिएर जिल्ला–जिल्लामा पार्टीको समानान्तर संयन्त्रका रूपमा इकाइ विस्तार गरेकोबारे पटक–पटक छलफल भएको थियो।
भारतसँगको सम्बन्धलाई हामीले दुई शिराबाट हेर्नुपर्छ। भारतसँग हामी कुन हदसम्म सम्बन्ध बिगार्दै जाने? विगतमा पटक–पटकका नाकाबन्दीका कारण नेपालमा भारतविरोधी ठूलो समूह छ। उनीहरूमा यसपालि फेरि भारतविरोधी भाव जागृत भएको छ। उता, भारतमा पनि टेलिभिजन र भारत–चीन टकराव तथा नेपालको भूमिकाका कारण जनमानसमै नेपालविरोधी भावना बढ्दै गएको छ। यी दुवै घातक छन्।
भारतले सधैं नेपालमा आफ्नो भूमिका नभएका ठाउँमा चीनको हात रहेको व्याख्या गर्दै आएको छ। यो गलत हो। नेपाल र भारतको द्विपक्षीय सम्बन्ध अर्को कुनै मुलुकबाट निर्देशित हुन सक्दैन। न त चीन र नेपालबीचको सम्बन्ध या नेपाल र अन्य मुलुकबीचको सम्बन्ध तेश्रो मुलुकबाट निर्देशित हुन्छ। नेपाल, भारत या चीनले आफ्नो मुलुकलाई नै केन्द्रमा राखेर द्विपक्षीय सम्बन्ध अघि बढाउँछन्। त्यसको सबैभन्दा बढी ज्ञान त भारतको नाकाबन्दीमा चीनको सहयोग खोज्न पुगेका प्रधानमन्त्री ओलीलाई अझै बढी होला।
प्रधानमन्त्री ओलीको पहिलो प्रधानमन्त्रीकालको चीन भ्रमण क्रममा महत्वपूर्ण सम्झौता त भए। तर त्यसको कार्यान्वयनका लागि फलोअप बैठकमा नेपाली अधिकारीहरूलाई चिनियाँ समकक्षीले 'भारतसँग तिमीहरू सम्बन्ध नबिगार, भारतसँग जति लागत–प्रभावी अर्थतन्त्र तिमीहरूले चीनसँगको व्यापारबाट निर्माण गर्न सक्दैनौं’ भनेको जानकारहरू बताउँछन्।
यसको अर्थ चीनले नेपाललाई काखी च्यापेर भारतसँगको आफ्नो द्विपक्षीय सम्बन्ध बिगार्न नचाहेको पनि हो। सँगसँगै, नेपालको हितमा कुरा राखेको पनि हो। यसलाई बुझौं, मनन गरौं।
धेरै भड्काउपूर्ण र कित्ताकाट खोज्ने संस्कार सभ्य कूटनीति, राजनीतिक र बौद्धिक चेतभित्र पर्दैनन्। कहिलेकाहीँ मौनता नै गतिलो उत्तर हुन्छ। सत्य आत्मसात् गर्दा र सुझबुझपूर्ण व्यहार गर्दा हाम्रा धेरै समस्या आफैं समाधान हुन्छन्।