त्यो दिन मौसम अलि फरक थियो। घरि कालो बादल मडारिएर गाँठो पर्थ्यो, घरि त्यही गाँठो कस्सिएर पानी परेजस्तो हुन्थ्यो।
हाम्रो लागि पनि विशेष दिन थियो त्यो। अघिल्ला दिनहरूमा कोरोना क्वारेन्टाइनमा पुग्ने हामी त्यस दिन आइसोलेसनमा जाँदै थियौं, जहाँ संक्रमित व्यक्तिहरूलाई राखिएको थियो।
मनमा डर नआएको होइन। तर, डरभन्दा ठूलो थियो, कोरोना पीडितलाई प्रेरणा र हौसला दिने भावना।
मध्याह्नको समय। हामी केही थान मास्क र स्यानिटाइजरको भरमा कोरोना संक्रमित राखिएको आइसोलेसन क्षेत्रमा जाँदै थियौं। त्यहीँबाट फर्किएका एक जना व्यक्तिको त्यसै दिन मृत्यु भएको थियो। उनको शव पाँच सय मिटर पर अस्पतालमा राखिएको थियो।
यी सब थाहा हुँदाहुँदै मन दह्रो पारेर हामी आइसोलेसनको प्रवेशद्वारभित्र छिर्यौं।
कोरोना संक्रमितहरू बस्न डोरीले छुट्टै ठाउँ तोकिएको रहेछ। उनीहरूको आवतजावत सीमित थियो। उनीहरू त्यहाँबाट बाहिर निस्कन पाउँदैनथे। हामी त्यो घेराभन्दा झन्डै छ मिटर वरै बस्यौं।
साथीहरू कार्यक्रम व्यवस्थापनमा जुट्नुभयो। मेरो आँखा चउर वरिपरि डुल्न थाले।
एक जना वृद्ध बुवा चर्को घाममा जामुनोको बोटमुनि शितल तापेर बस्नुभएको थियो। उहाँको अनुहार खिन्न देखिन्थ्यो। अलि पर करिब २७ वर्षीया युवती ६ महिने बच्चा काखी च्यापेर बसेकी थिइन्। उनको अनुहारमा छरिएको चिन्ता टाढैबाट ठम्याउन सकिन्थ्यो। अर्को कुनामा स्कुलको कक्षाकोठाभित्र मेरै उमेरको युवा झोक्राएर बसेका थिए।
त्यहाँ बसेका हरेक पात्रको मन गाँठो परेको थियो। रोगले एउटा गाँठो पारेको थियो, अवस्था र शोकले अर्को गाँठो।
कार्यक्रम व्यवस्थापनको काम सकिएपछि म यी गाँठो फुकाउने प्रयासमा लागेँ।
माइक मेरैअगाडि थियो, तर मन भारी भएर होला बोल्नलाई शब्दहरू निस्केनन्। मैले केही बेर आफूलाई सम्हालेँ। मन बलियो बनाएँ। त्यसपछि विस्तारै उनीहरूका रोग, शोक र आत्मग्लानीलाई आत्मसात् गर्दै प्रेरणाका कथा सुनाएँ। सफलताको किस्सा वर्णन गरेँ।
गाँठो विस्तारै खुकुलिँदै गयो। उनीहरूले सकारात्मक ऊर्जा महशुस गरेको मैले अनुभूति गरेँ।
संगीतको तालमा उनीहरू रमाए, हाँसे, नाचे। जो नाच्न जान्दैनथे, उनीहरूले दुई हातले ताली बजाए। अघिसम्म रोग र शोकले हतास बसेकाहरू त्यसरी रमाएको देखेर मन हर्षले गदगद भयो।
मलाई अहिले पनि याद छ, हाम्रै समूहमा आबद्ध युवाहरूले 'गलबन्दी च्यात्तियो, तिमले तानेर' भन्ने गीत गाउँदा ती वृद्ध बुवा पनि मुसुमुसु हाँस्दै एकोहोरो ताली बजाइरहनुभएको थियो।
मलाई लाग्यो, जतिसुकै डर लागे पनि यहाँ आएर हामीले गल्ती गरेनौं।
त्यो दिन कार्यक्रम सकेर फर्कंदा बाटोभरि एक किसिमको सन्तुष्टिले म भावविभोर भएकी थिएँ। हाम्रो समूहका अरू साथीहरूले पनि सायद त्यस्तै अनुभव गर्नुभयो होला।
आइसोलेसनमा थुनिएर बसेका ती सबै हामीजस्तै हुन्। एउटा दुर्भाग्यले कोरोना भाइरसको शिकार भए र त्यहाँ पुगे। आफ्नो परिवार र समाजबाट अलग्गिएर बस्न बाध्य उनीहरूको चेहरामा थोरै भए पनि खुसी छर्न पाउँदा हामीलाई गौरवको अनुभूति भयो।
सँगसँगै डर पनि थियो। कतै हामी पनि त्यो दुर्भाग्यको शिकार भइसक्यौं कि!
आइसोलेसन र क्वारेन्टाइनमा यसरी उत्प्रेरणा र सांगीतिक अभियान सञ्चालन गर्दा समूहका साथीहरूलाई सुरक्षित राख्नु मेरो जिम्मेवारी हो। हुन त हामी कसैलाई पनि कोरोनाको कुनै लक्षण थिएन। तै पनि हामी आफ्नो पिसिआर परीक्षण गराउन गयौं।
त्यहाँ पाँचवटा फरक–फरक लाइन थिए। एउटा आरडिटी परीक्षण गर्नेको लाइन थियो, जहाँ क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी गरिँदै थियो। अर्को लाइन पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्नेहरूको थियो। अर्को लाइनमा कन्ट्याक्ट ट्रेसिङका व्यक्तिहरू आफ्नो विवरण रुजु गराउँदै थिए।
त्यही लाइनमा मैले तीन-चार जना दिदीबहिनी देखेँ, जो ठूल्ठूला लगेज साइडमा राखेर आरडिटी परीक्षण गराउन आएका थिए। उनीहरू विदेशबाट आएका रहेछन्। क्वारेन्टाइनमा १४ दिनको बसाइँ सकिएर होला, अनुहारमा चमक थियो। परिवारसँग पुनर्मिलन वा आफ्नै गाउँठाउँ फर्किन पाउँदाको खुसी उनीहरूको बोलीबाटै झल्किन्थ्यो।
ती दिदीबहिनीलाई मैले क्वारेन्टाइन स्थलमा कार्यक्रम गर्न जाँदा पनि देखेकी थिएँ। तीजको गीतमा छमछमी नाचेका थिए उनीहरू।
घर जान खुट्टा उचालेर बसेका उनीहरूको अनुहार एकैछिनमा ओइलायो। उनीहरूको आरडिटी परीक्षणमा एन्टिबडी पोजेटिभ आएछ। यो नतिजा आउनेबित्तिकै त्यहाँ उनीहरूमाथि गरिने व्यवहार र बोली नै फेरियो। मानौं उनीहरू कैदी हुन्।
म यो देखेर स्तब्ध भएँ।
त्यसैबीच भारतबाट आएर क्वारेन्टाइन बसेका केही युवाको आरडिटी रिपोर्ट आयो। रिपोर्ट देखेर उनीहरूको अनुहार उज्यालो भयो। हाँसो थामिनसक्नु थियो।
त्यो भीडमा कोही खुसी थिए, कोही खिन्न। मेरो मन पनि डर, चिन्ता र भयको गाँठोमा जेलिँदै थियो।
त्यहाँ पिसिआर परीक्षण गर्न आएकाहरूलाई बस्न एउटै बेन्च थियो। प्रत्येक व्यक्ति पालैपालो त्यही बेन्चमा बस्थे र स्वास्थ्यकर्मीले स्वाब संकलन गर्थे। बेन्चको छेउमा स्यानिटाइजर नभएको होइन। तर, स्वास्थ्यकर्मीले उनीहरूको हातमा मात्र छर्किन्थे। बेन्चमा भाइरसको जीवाणु खसेको छ भने त्यो पनि कति दिनसम्म जीवित रहन्छ र मान्छेलाई संक्रमित गराउन सक्छ भन्ने त्यहाँ कसैलाई परवाह थिएन।
त्यो लापरबाही देखेर मलाई अचम्म लाग्यो।
अर्को अचम्मलाग्दो कुरा त, अलि हुनेखाने, सुकिला-मुकिला व्यक्ति छन् भने बेन्चमा स्यानिटाजर छर्केर मात्र बसालिन्थ्यो। सामान्य व्यक्तिहरूलाई चाहिँ त्यसै राखिन्थ्यो।
म आफ्नो पालो आएपछि 'सबैलाई समान व्यवहार गर्नुस्' भनेर अनुरोध गर्न खोज्दै थिएँ। तर, धेरै भीड भएकाले केही कुरा गर्न पाइनँ।
पिसिआर परीक्षण गराएर घर फर्किंदा बाटोभरि मनमा कुरा खेल्यो- स्वाब संकलन गर्दा त यस्तो व्यवहार हुँदो रहेछ, रिपोर्ट पोजेटिभ नै आयो भने कस्तो व्यवहार गरिन्छ होला?
हुन त आइसोलेसन र क्वारेन्टाइनमा बस्न बाध्य व्यक्तिहरूलाई कस्तो व्यवहार गरिन्छ भन्ने मलाई राम्ररी थाहा छ। त्यसैले पनि म चाहन्थेँ, म लगायत मेरो कुनै पनि साथीलाई पोजेटिभ नदेखियोस्।
म मेरो रिपोर्ट कहिले आउँछ भनेर पर्खिरहेकी थिएँ। घरबाट कतै गएकी थिइनँ। चार दिनसम्म नआएपछि सम्बन्धित व्यक्तिलाई फोन गरेँ। उहाँले भन्नुभयो, 'तपाईं ढुक्क हुनुहोस्, रिपोर्ट नेगेटिभ छ। पोजेटिभ भइदिएको भए अहिलेसम्म फोन आइसक्थ्यो।'
मलाई पनि पोजेटिभ होला भन्नेमा शंका थिएन। किनभने, मलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन। झन् उताबाटै त्यसो भनेपछि म ढुक्क भएँ। घरपरिवार, साथीभाइ सबैलाई मेरो रिपोर्ट नेगेटिभ आयो भनेर सुनाएँ। सबै खुसी भए।
पाँचौं दिनमा म जाजरकोट गएँ। मेरो स्वाब संकलन गरिएको छ भन्ने सबैलाई थाहा थियो। सबैले के भयो भनेर सोध्थे। म 'रिपोर्ट आइसकेको छैन, तर नेगेटिभ छ रे' भन्थेँ।
कुनै लक्षण नदेखिएकाले मेरो अवस्था सामान्य थियो।
सातौं दिनमा म सुर्खेतकै स्थानीय रेडियोमा बिहानदेखि व्यस्त थिएँ। खाना खाने फुर्सद पनि थिएन। दिउँसो झन्डै १ बजेको हुँदो हो। सडकछेउको एउटा पसलमा खाजा खाँदै थिएँ। फोन आयो। उताबाट भन्नुभयो, 'तपाईंको रिपोर्ट पोजेटिभ आयो।'
मलाई त विश्वास नै लागेन। अचम्ममा परेँ। केही दिन अघिसम्म 'मेरो रिपोर्ट नेगेटिभ आयो' भनेर सबैलाई भन्दै हिँडेकी थिएँ। अब फेरि 'म कोरोना पेजेटिभ हुँ' भनेर भन्नु! घरपरिवारलाई कसरी सम्झाउनु! साथीहरूलाई के जवाफ दिनु!
म हत्तपत्त खाजा र काम छाडेर घरतिर लागेँ। हडबडमा अगाडिबाट आइरहेको जीपसँग मेरो स्कुटर झन्डै ठोक्किएको थियो। त्यो समय मैले साँच्चिकै होस गुमाएकी थिएँ। ट्राफिक प्रहरीले रोक्न खोज्दा पनि अगाडि बढिरहेँ।
उताबाट फेरि 'तपाईं छिट्टै आइसोलेसनमा आउनुहोस्' भनेर फोन आयो। म स्तब्ध हुँदै घर फर्केर सामान प्याक गर्दै थिएँ। मेरी दिदीले रुँदै भन्नुभयो, 'अन्त जानुपर्दैन, तँ घरमै आइसोलेसनमा बस्।'
हामीले पहिलेदेखि घरमा एउटा कोठालाई होम-आइसोलेसनका लागि तयार गरेका थियौं। यसको निम्ति राष्ट्रिय मापदण्ड आइसक्दा पनि मैले घरमै आइसोलेसनमा बस्न धेरै बिन्ती गर्नुपर्यो।
मेरो 'होम-आइसोलेसन' सुरू भयो। दुई दिनपछि साथीहरूको पनि रिपोर्ट आयो। केही साथीको पोजेटिभ देखियो। उनीहरू पनि आफ्नै घरभित्र आइसोलेसनमा बसे। केही बुद्धिजीवि व्यक्तिहरूले हामीलाई कोरोना पोजेटिभ देखिएको छ भनेर सामाजिक सञ्जालमा लेखिदिनुभएछ। चार भित्ताभित्र बन्द कोठामा बन्दी भएर बस्दा पनि तारन्तार आउने फोन र मेसेजले हुरूक्कै पार्यो।
एकातिर कोरोनाको तनाव, अर्कातिर छिनछिनमा आउने फोनले मलाई मानसिक रूपमा कमजोर बनाउन थाल्यो।
कतिसम्म भने, मलाई कोरोना लागेको थाहा भएपछि मेरो छिमेकीको तरकारी पसल र फ्रेस हाउस बन्द भयो। कोही ग्राहक आइदिएनन्। तीन किलोमिटर तल अंकलको घरमा पनि त्यस्तै समस्या आयो, जहाँ म गएकै थिइनँ। दुई किलोमिटर पर फुपूको घरमा भैंसी गोठमै सुक्न थाले। मेरी फुपूलाई घाँस लिनधरि बाहिर निस्किन दिइएन, जबकि म त्यहाँ आउने-जाने गरेकै थिइनँ।
अहिले मेरो परिवार र छरछिमेकीहरूको आयस्रोत बन्द हुँदैछ। काम गरेर परिवार पालिरहनुभएका मेरो बुवा घरमै बन्द हुनुहुन्छ। साथीहरूसँग फोनमा कुरा गर्दा उनीहरू पनि यस्तै समस्या र गुनासो सुनाउँछन्।
एक जना भन्दै थिए, 'बरू सरकारले बनाएको आइसोलेसनमा गएको भए अलिकति पोषणयुक्त खानेकुरा त खान पाइन्थ्यो! घरमा खाने चामल त सकिन लाग्यो, पोषणयुक्त खाना कसरी खानु!'
उनको यस्तो भनाइले मलाई आमाको एउटा प्रश्न याद आयो। उहाँले सोध्नुभएको थियो, 'सजना, घरमा यस्तो गाह्रो भएको छ। सधैं काम काम भन्दै बाहिर हिँड्थिस्। तैंले काम गर्ने संघ-संस्थाले केही सहयोग गर्दैैन?'
उहाँको प्रश्न सुनेपछि म ढोका बन्द गरेर रोएकी थिएँ।
कसरी भनुँ म आमालाई, म न सरकारी अधिकारी, न गैरसरकारी संस्थाको कर्मचारी। यो संकटको घडीमा सरकार र पीडित व्यक्तिहरूलाई सहयोग गर्नुपर्छ भनेर स्वयंसेवकका रूपमा खटिएकी पो हुँ त!
म कसैको थिइनँ, तर परिआउँदा सबैको हुनुपर्छ भनेर लागेकी थिएँ। आज आफैंलाई पर्दा सहयोगको त कुरै छाडौं, स्वास्थ्य लाभको कामनासमेत कसैबाट नसुन्दा मनमा गाँठो परेको छ।
कोरोना लागेको छ भन्दैमा कैदीजस्तो व्यवहार गर्ने यो समाज र यो सरकारसँग म के अपेक्षा गर्न सक्छु?
म लगायत मेरा साथीहरू होम आइसोलेसनमा बसेको १५ दिन बितिसक्यो। अबको एक सातापछि मात्र हामी घरबाहिर निस्कन सक्छौं। आजसम्म हामीलाई कुनै लक्षण देखिएको छैन। हामीले सरकारले बनाएको नियम पूर्ण पालना गरेका छौं।
सरकारलाई मेरो अनुरोध छ, अहिले आइसोलेसनमा बसेपछि दोस्रोपटक परीक्षण नगराई घर पठाइएको छ। कुरा बुझेकाहरूलाई त ठिकै हो, तर हाम्रो समाजमा यस्ता व्यक्ति पनि छन्, जो चाहेर पनि बुझ्न चाहँदैनन्। उनीहरूको मन शान्त पार्न पनि दोस्रो परीक्षण अनिवार्य रूपमा गरिनुपर्छ।
मैले यसबीच मान्छेको जस्तो व्यवहारसँग जुध्नुपर्यो, त्यो आफैंमा अकल्पनीय थियो। आज धेरैका नजरमा मेरो परिचय 'कोरोना पोजेटिभ' भएको छ। थाहा छैन, कहिलेसम्म समाजमा मेरो यही परिचय रहिरहनेछ!
(लेखक उत्प्रेरणा तथा सांगीतिक उपचारात्मक अभियान तथा बालिका बचाउ अभियानका संयोजक हुन्।)