जम्मू यात्रा- १
जहाजबाट ओर्लिएर इमिग्रेसनतिर जाँदै गर्दा समाइराखेको हात छाडेर 'मन' अगाडि लाग्यो। उसलाई रेल्वे स्टेसन पुग्न मलाईभन्दा बढी हतार छ।
इमिग्रेसनको फारम भरेर बाहिर निस्किन लागेका बेला अचानक आफूबाट केही फुत्किएर गएजस्तो भयो। जिउ गह्रौं भयो। कसैले पछाडिबाट झोला बोकायो कि के हो?
फर्किएर हेरेँ, एक्लै छु। तन्किएर आँखा डुलाउँदा अलि पर आफूजस्तै कोही हिँडिरहेको देख्छु।
आफ्नो मन पनि चिन्दिनँ त?
'मलाई एक्लै छाडेर कता गएको?' सोध्न खोज्दा ऊ अझै टाढा पुग्छ। मन मबाट फुत्किएर रेल्वे स्टेसनतिर लाग्छ। मैले ट्याक्सीको टिकट काट्नुभन्दा पहिला नै ऊ रेल्वे स्टेसन पुगिसकेको छ।
तर म नपुगी टिकटको नाम मेरै हो भनेर उसले भन्न सक्दैन। मेरो नामको सिट रोकिदिन पनि सक्दैन। उसलाई मन हुन म चाहिन्छ। मलाई मनबाट बोल्न ऊ चाहिन्छ।
कोही छुटेपछि हलुंगो हुनुपर्ने हो। तर मन छुटेपछि उल्टो भयो। म भारी भएँ। अघि इमिग्रेसनको लाइनमा बस्दाभन्दा पनि भारी। जहाजमा चढ्नुअघि लाइनमा बस्दाभन्दा पनि भारी।
'स्टेसन कति टाढा पर्छ?' एयरपोर्टबाट निस्किएर मुख्य सडकको गतिमा ट्याक्सी मिसिन थालेपछि सोध्छु। आफ्नो बोली आफ्नो होइन जस्तो लाग्छ। बाहिर गुडेका गाडीहरूको आवाज ठूलो भएर हो?
मन बिना बोलेको भएर रहेछ।
ड्राइभर दाइ जवाफ दिँदैनन्। प्रश्न उनी र म बीचको हावामा कतै हराउँछ। म मनबिनै बोलेको थाहा पाए सायद। मनबाट बोलेको हो कि होइन, कति सजिलै थाहा हुन्छ।
'हतार हतारै छ दाइ चाँडै जान सकिएला?' मैले यसरी सोधेको भए हुन्थ्यो। वा हतारमा छु भन्नुभन्दा पहिला उनको घर कता हो, सोधेको भए पनि हुन्थ्यो। घरको प्रश्नले मान्छेलाई घर पुर्याउँछ। सहरमा हुनेलाई घर पुर्याउने कमै भेटिन्छन्।
मन सँगै भएको भए यस्ता संवाद सजिलै गर्थेँ।
उनले प्रश्न सुनेनन् कि सुनेर पनि जवाफ दिएनन्, थाहा भएन। मैले नसुनिने गरी सोधेको हुन सक्छु वा सुन्ने बेला उनले कसैलाई सम्झिएका हुन सक्छन्। कुरा नसुनिने कारणहरू धेरै हुन्छन्। हुन सक्छ, म जस्तै उनी पनि यस बेला मान्छे मात्रै भएर गाडी कुदाइरहेका छन्। मेरो मनझैं उनको मन पनि कतै हिँडिरहेको छ।
मन अन्तै पुगेका दुई भारी मान्छे बिना कुनै संवाद एउटै गाडीमा गुडिरहेका छौं।
हामीबीच टिकट काट्ने र च्यात्नेको सम्बन्ध छ।
मैले पुग्ने ठाउँसम्मको टिकट काटेको छु। उनले पुर्याउँछु भनेर टिकट च्यातेका छन्। टिकटको एउटा अर्धकट्टी उनीसँग छ। अर्को मसँग। अर्धकट्टी उनका लागि कारोबारको प्रमाण हो। मेरा लागि यात्राको। त्यसलाई जोड्न सक्ने भनेको हाम्रो कुराकानीले हो। जुन मन नभएकाले अहिले भएको छैन।
कसले सुरू गर्यो यो टिकट च्यात्ने परम्परा? टिकट काटेर हिँड्नेहरू आधा मन पछाडि नै छोडी हिँड्छन् भनेर अर्धकट्टी बोक्न दिएको हो? टिकट च्यात्नेहरू आधा मन कता छोडी हिँड्लान्?
दसैंमा घर जाँदा काटेको टिकटको अर्धकट्टी र घरबाट फर्किँदाको अर्धकट्टी एकैपल्ट सम्झिन्छु। तिनलाई जोड्न खोज्छु। सिंगो टिकट बन्दैनन्। च्यातिएपछि सिंगो बन्न धेरै कुरा असम्भव छ।
'तपाईंको घर कता नि?' धेरै बेर चुप लाग्नु परेर यो प्रश्न सोधौं सोधौं भएको छ। तर यो प्रश्न सोध्ने हुनलाई उनले पहिलो प्रश्नको जवाफ दिएको हुनुपर्थ्यो। वा मैले सुरूको प्रश्नभन्दा पहिला यो प्रश्न उनलाई सोध्नुपर्थ्यो।
प्रश्नको सोधाइले जवाफ फरक पर्छ। प्रश्नको 'अर्डर'ले जवाफ फरक पर्छ।
जे पर्ला सोध्छु भनेर बोल्नै लाग्दा उनको फोन बज्यो। रिङटोन जस्तै फोनको आवाज पनि ठूलै राखेका रहेछन्। उतापट्टीको आवाजले अहिले घर जान मिल्दैन भन्दै फोन काटेपछि उनको अनुहारको उज्यालोमा अकस्मात् बादल लाग्छ। हस् भन्ने इशारा गरेझैं मुन्टो हल्लाएर फोन राख्छन्। मानौं उता बोल्ने मान्छेले उनलाई देखिरहेको छ।
त्यतिन्जेल सँगै बस्दा अनुहारमा उज्यालो घटेको चिन्ने भइसकेछु। तर 'के भयो दाइ?' प्रश्न फेरि पनि बनेन। मन भएको भए मलाई नसोधी सोधिसक्थ्यो।
साढे तीन बजेको देखेर हतारिन्छु। हतार गरौं भन्न पनि मनसँगै छैन।
प्लेटफर्ममा जम्बु जाने रेल भेटेर मन मलाई पर्खिरहेको होला। छिटो पुगे पनि म नपुगी 'लौ आइसकेँ जाऊँ' उसले भन्न सक्दैन। '
एकछिन है मेरो मान्छे आउनै बाँकी छ' भनेर रेल रोकिराख्न पनि सक्दैन। उसलाई मन हुन म चाहिन्छ। 'मलाई म हुन...?'
नयाँ दिल्लीको तातो हावा हुर्र गाडीमा छिर्छ।
उनी र म आफन्त होइनौं। यो गाडी उनको होइन। मलाई स्टेसन पुर्याउने जिम्मा उनले होइन उनको कामले पाएको हो। काम उनलाई कसैले दिएको हो।
यस बेला हामी एउटै कम्पनमा हल्लिरहेका देखिन्छौं। एउटै ब्रेकले रोकिइरहेका देखिन्छौं। एउटै हतारमा यात्रा गरिरहेका देखिन्छौं। तर हाम्रा आफ्नै कम्पन छन्। आफ्नै ब्रेक छन्। आफ्नै हतार छन्।
मलाई रेल छुट्ने समयले हतार लगाएको छ। उनलाई साहुको फोनले ब्रेक लगाएको छ।
फोन नआउन्जेल उनी घर जान पाउने सम्भावनामा थिए। सम्भावना हुन्जेल आशा हुन्छ। फोन आएपछि सम्भावना सकियो, आशा पनि सकियो। सम्भावना हुँदाको उज्यालो र सकिएपछिको उज्यालो अनुहारमा स्पष्ट छुट्टियो। अनुहार सम्भावना र आशाको 'डिस्प्ले बोर्ड' त हो।
उनको डिस्प्ले बोर्डमा कामले बिदा नपाएको सूचना भर्खरै टाँसिएको छ। कामले अर्को कामका लागि बिदा पाएन। कामले अर्को कामका कारण बिदा पाएन।
हामी सबैको अनुहारमा डिस्प्ले बोर्ड छ तर त्यसलाई सबैले पढ्दैनन्। पढ्नेजति सबैले पढेँ भन्दैनन्।
फोन राखेपछि उनी निकैबेर बाहिर हेर्छन्। उनका आँखा गाडीभित्र पसेपछि बोलौंला भनेर पर्खिन्छु। मैले पर्खिरहेको उनलाई थाहा छैन।
'घरमा उनलाई कसले पर्खिरहेको होला?' डिस्प्ले बोर्डमा पढ्न खोज्छु। अक्षर नबुझिने भइसकेका छन्।
पछाडिबाट आएको एउटा प्राइभेट गाडी बेस्सरी हर्न बजाउँछ। उनी गति कम गर्छन् र साइड दिन्छन्। गाडी एकछिन बत्तिएर अरू गाडीको गतिमा हराउँछ।
ऊ साँच्चै हतारमा थियो?
वा यो गाडीले मलाई बाटो छोड्नुपर्छ भनेर हर्न ठोकिरहेको थियो?
के हतार गर्ने सबै मान्छेहरू साँच्चै हतारमै हुन्छन्?
कि हतारमा छु भन्ने देखाउन हतार गर्छन्?
के म पनि साँच्चै हतारमा छु?
पर आकाशमा दौडिएका चराहरू बत्तिएर हामी कुदिरहेको बाटो काट्दैछन्। म दाहिने झ्यालबाट उड्दै गएका तिनलाई देब्रे झ्यालसम्म पछ्याउँछु।
के ती पनि हतारमा थिए?
'आफ्नै बिर्ता ठान्छन् सालाहरू,' बाहिर हेरिरहेको म ड्राइभर दाइको झोंक्किएको बोलीले झसंग भएर भित्र हेर्छु। पछ्याइरहेका चराहरू बादल बन्छन्।
दाइ कोसँग झोंक्किए? गाडीलाई जित्ने युवकसँग कि गाडीलाई रोक्ने मालिकसँग? प्रश्नको जवाफ मिलेन तर उनको झोंक मतिर सर्यो।
काठमाडौं एयरपोर्टमा दुई घन्टा पहिला आइपुगेर चेकजाँच सकेको थिएँ। वेटिङ रूममा लगभग एक घन्टा पर्खिएपछि एयर इन्डिया आयो। तर टर्मिनलबाट सिधै जहाजमा पुग्न पाइएन। जहाज चढ्ने सिँढीमै भारतीय कर्मचारीले सबै यात्रुको सुरक्षा जाँच दोहोर्याए। झोला खानतलासी गरे। लगभग आधा घन्टा खुला आकाशमुनि उभिएपछि बल्ल पालो आयो।
आफ्नै देशको विमानस्थलबाट उड्ने विमानमा चढ्न आफ्नै देशको बिमानस्थलको सुरक्षा विश्वासनीय भएन। पटकपटक दिल्ली जानेहरू एयर इन्डियामा उड्छन् कि उड्दैनन्?
त्यसरी दोहोरो जाँचमा नपरेको भए म कम्तीमा आधा घन्टा पहिला दिल्ली आइपुग्ने थिएँ। स्टेसन पुग्न यस्तो हतार हुने थिएन। मन मलाई छाडेर दौडिने थिएन। ड्राइभर दाइसँगको कुराकानी अर्कै हुने थियो।
उनको झोंकले मेरो झोंक पनि बल्झियो। आँखा जुधे। अब हामी बीच झोंकको नाता जोडिएको छ। रिस यसरी नै झोंक बनेर कतिको साथमा बसिरहेको होला? को-कोसम्म सरिरहेको होला? झोंक चलाउनेलाई यसका बारेमा कति थाहा हुन्छ? कि सडकमा झोंकको महामारी फैलिएपछि मात्र थाहा पाउँछन्?
'चार बजे नपुगे त बर्बाद हुन्छ,' झोंकमै सही, दाइ मसँग बोलेको मौका छोप्दै कुरा उप्काउँछु।
'दिल्लीमा गाडी चालकले होइन सडकले कुदाउँछ,' उनी बाटोतिरै हेरीहेरी जवाफ दिन्छन्।
पर भित्तामा कसैले पोस्टर टाँसिरहेको छ। त्यसका अक्षर पनि स्पष्ट छैनन्।
उनलाई मलाई जति हतार छैन। हतार गरिदिए हुन्थ्यो भन्ने मेरो भाव बुझे कि जस्तो लागेको छ। तर हरेक यात्रुको हतार उनले लिएर सम्भव छैन।
अर्को मान्छेको हतार आफ्नो हुनलाई लामो सम्बन्ध चाहिन्छ। हाम्रो भेट भएको २६ मिनेट भयो। मेरा बारेमा उनले अनुमान गरेका होलान्। उनको बारेमा मैले अनुमान गरेको छु।
अरूका लागि हतार गरिदिनु सबभन्दा गाह्रो काम हो। अरूलाई के परिरहेको छ भनेर बुझ्नु, अरूले के सोचिरहेको छ भनेर बुझ्नु, अरूलाई बुझ्नु सबभन्दा गाह्रो काम हो। मैले पनि त उनलाई के परिरहेको छ भन्ने बुझेको छैन।
उनले फोन किन हुत्त्याएर फ्याँके? पछाडिको गाडी जित्दै गइरहेको बेला किन स्टेरिङ बलियो गरी समाए? मैले 'जम्बु जान लागेको' भन्दा पुलुक्क मतिर किन हेरे? राम्रोसँग नबोलेको मान्छेलाई कसैले पुलुक्क किन हेर्छ?
मैले उनलाई चिनेको छैन। उनलाई उनको साहुले कति चिनेको होला? उनले आफूलाई कति चिनेका होलान्? उनको 'स्पिड' कसको भरमा छ?
केहीबेर बस्दा यी सबै कुरा जान्न सम्भव छैन। लामो समय उनीसँग बस्न पनि सम्भव छैन। केहीबेर बस्दा जान्न सम्भव नभएका र लामो समय बस्न नपाएका यस्ता सम्बन्धहरू कति होलान्? मन भएको भए हिसाब गरिदिन्थ्यो।
उनलाई प्रश्न गर्न छोडेर आफैंतिर प्रश्न गरिरहन्छु। कुनैको जवाफ दिन्छु, कुनैको दिन्नँ। मन भएको भए आफूलाई सोध्ने प्रश्नबाट छानेर उनलाई प्रश्न सोधिसक्थ्यो।
हातमा पसिना आउँछ। झ्याल खोल्छु। बाहिरको तातो हावा पसिनामा मिसिन्छ। हावा पसिनामा मिसिनु र नयाँ दिल्ली पुरानो दिल्लीमा मिसिनु एकैपल्ट हुन्छ।
नयाँ दिल्ली र पुरानो दिल्ली कसरी क्षणमै छुट्टियो? कहिल्यै नपुगेको मैले पनि छुट्टिएको कसरी थाहा पाएँ? सहरलाई यस्तरी केले छुट्याउँछ?
यसअघि नयाँ दिल्ली दुईपल्ट आएको थिएँ। उतैबाट फर्किएको थिएँ। कुनै भव्य शोरूममा आएर फर्किएको रहेछु। शोरूमको ढोका खोलेर पछाडि पुगेजस्तो भयो। थिएटर फेस्टिभलका लागि हिँडेको मान्छे स्टेजबाट ब्याक स्टेजमा पुगेको जस्तो भयो। नदीको मुहानतिर गएको जस्तो। सहरको मुहान नदीको मूल जस्तो होइन। नयाँ दिल्ली र पुरानो दिल्ली नजिकै भएर पनि टाढा टाढा रहेछन्।
बाटो साँघुरो हुँदै गयो। भिड बढ्दै गयो। अघि चौडा बाटोमा लागेको समयभन्दा दोब्बर समय बाटोले लिन थाल्यो। रूख घट्दै गए, मान्छे बढ्दै गए।
अघिसम्म बाटोमा गाडी मात्र सुनिइरहेका थिए। अहिले बाटोका मान्छे सुनिन थाले। नयाँ दिल्ली र पुरानो दिल्लीमा सुनिने आवाज फरक रहेछ। देखिने मान्छे फरक रहेछन्।
म बाटोमा हिँडेका मान्छेहरू नियाल्छु। परपर देखिएका घरहरू नियाल्छु। फोहोरका थुप्रो नियाल्छु। भत्किएका बाटा पनि नियाल्छु। अनि घडी पनि नियाल्छु।
गाडीको कुदाइ अघिभन्दा चाँडो हुन थालेजस्तो लाग्छ। यस्तो लाग्छ, यो उनको परिचित बाटो हो। कि अघि हामीभन्दा चाँडो दौडिनेहरू भएकाले ढिलो भएजस्तो लागेको?
कि मन नजिकै आइसकेको भएर यी कुरा थाहा पाउँदैछु?
'कहाँ जान लाग्नुभएको तपाईं?' उनी बल्ल मलाई प्रश्न सोध्छन्। यस्तो लाग्छ मसँग बोल्नका लागि उनी पुरानो दिल्ली पर्खिरहेका थिए। वा हुन सक्छ मन नजिकै आइसकेको प्रभाव मेरो अनुहारमा परिसक्यो। उनले त्यसैलाई पढेर प्रश्न सोद्धैछन्।
'जम्मू जाँदै छु।'
किन भनेर सोध्दैनन्।
'त्यहाँ नाटक महोत्सव छ त्यसैले,' आफैं जवाफ दिन्छु। मन पक्का नजिकै आइसकेको छ। मैले नसोधिएका प्रश्नको जवाद दिन थालेको छु।
उनी सिसामा मेरो अनुहार हेर्छन्। हाम्रो आँखा जुध्छ। म मुसुक्क हाँस्छु। उनी पनि हाँस्छन्। लौ आइपुग्यो भनेजसरी गोजीमा बोकेको अर्धकट्टी स्टेरिङ छेउको किलामा उन्छन्। त्यहाँ अरू धेरै अर्धकट्टीहरू छन्। सबैमा आफू देख्छु।
'जम्मूमा दिल्लीको फोन लाग्दैन। सेना रोडमा झरेको छ भन्छन्। विचार गर्नू है भाइ,' ट्याक्सीको चाबी बन्द गर्दै भन्छन्।
उनको अनुहारको डिस्प्लेमा अक्षर स्पष्ट हुन थालेका छन्।
'रेलले टिकट बेचेको छ दाइ, पुर्याउला नि,' ढोका खोलेर ओर्लिँदै जवाफ दिन्छु र झोला निकाल्न थाल्छु। उनी स्टेरिङ समाउँदै मतिर फर्किन्छन्। मैले झोला तान्दै गर्दाका हरेक क्षण नियालिरहन्छन्।
'ल दाइ लागेँ अब,' ढोका लगाइदिँदै बिदा माग्छु।
'घरमा बच्चा जन्मिएको छ,' स्टेरिङमा हात समाउँदै दाइ बोल्छन्, 'मेरो घर पनि उतै हो।'
उनले यस्तो भन्दै गर्दा कोही आएर झ्याप्प अँगालो मार्छ। मन रहेछ। म आइपुगेको कसरी थाहा पायो?
ट्याक्सी पर बाटोमा पुगेर बिलाउन लागेको देख्छु।
ड्राइभर दाइ र म अब एक अर्कासँग बोल्न सक्ने दुरीमा छैनौं। गाडीमा हुन्जेल पनि थिएनौं। तर मैले मनलाई भेटेपछि उनले जाने बेला बोलेको बोली, मसँगै गफ गरिरहेको छ।
छुट्टिने बेला बोलेको बोली अन्तिम होइन रहेछ। उनी बल्ल खुल्न थालेका छन्। हामी बल्ल बोल्न थालेका छौं।
(जम्मू यात्राको दोस्रो भाग मंगलबार प्रकाशित हुनेछ)
सुरज सुवेदीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्