रातो मच्छिन्द्रनाथ जात्रा कहिले र कसरी सम्पन्न गराउने भनी ठोस निर्णय आएको थिएन। जात्रा सम्पन्न गराउन दवाब दिने उद्देश्यले गरिएका विरोध प्रदर्शनका तस्बिरहरू पुल्चोकमा बस्ने मेरा आफन्तले भदौ १८ गते बिहान फेसबुकमा राखेका थिए।
त्यसको केही समयपछि नै उपत्यकाको अर्को कुनामा बस्ने मेरी दिदीले फेसबुक लाइभमा रथ तानेको देखेर आमाबालाई फोन गरेर सोधेकी थिइन्, ‘रथ तानिराको छ। जात्रा हो र?’
टोलका से से बाज्या (राजोपाध्याय पुरोहित) रथ तान्न गएको थाहा नभएकाले मेरा आमाबालाई सुरूमा त त्यो पुरानो भिडियो होला भन्ने लागेको थियो रे। तर, टिभीमा जात्राको लाइभ हेरेपछि बल्ल आमाबाले थाहा पाए, ‘मच्छिद्रनाथको रथ तानेको रहेछ।’
पुल्चोकबाट मेरा आफन्तले फेसबुक लाइभ सुरू गरे।
लाइभमा उनीहरू भन्दै थिए, ‘यति धेरै मान्छे क्वारेन्टिनमा बस्छन् त? यति धेरै मान्छेको पिसिआर टेस्ट गर्न किट पुग्छ होला त? करुणामयका कारण पाटन कोरोनामय हुन बेर छैन।’
यस्तो सुनेर मलाई पनि साँच्चै चिन्तित बनायो- अबको स्थिति कस्तो हुने होला?
आफैंभित्र एउटा प्रश्न पनि आयो- के हामी नागरिकको कुनै जिम्मेवारी छैन?
सुरूमा पुल्चोकभन्दा डेढ किलोमिटर पर ललितपुरको कुनामा बसेर लाइभ हेर्दै हँसिमजाक गर्दै थियौं हामी। धिमे बाजाको तालमा कुर्ता-सुरूवाल लगाएका केही महिला नाच्दै थिए। उनीहरू साह्रै ‘लिवरेटेड’ लागेको थियो मलाई।
पुरानो मुलुकी ऐनको एघारौं संशोधनपछि लैंगिक समानताको लहरका कारण महिलाहरूले धिमे बजाउन र नाच्न छुट पाएका थिए। अहिले महिलाहरू धिमे बाजा बजाउँछन् र जात्रामा नाच्छन् पनि। त्यही झलक पुल्चोकमा पनि देखियो, डेढ दशकयता हाम्रा जात्राहरूमा भएको एउटा लोभलाग्दो परिवर्तन!
अर्को, लगनखेलमा हुँदा ‘याक्क मिसा भुज्या’ भनिने एक दिनबाहेक अरू दिन महिलाहरूले रथ तान्न नपाउने नियम छ। भदौ १८ गते भने महिलाहरूले पनि डोरी तानिरहेको फोटोमा देखिन्थ्यो। त्यो हेर्दा परम्परा तोडियो भन्ने लागिरहेको थियो। हामी जिस्केर भन्दै थियौं, ‘अब अनिष्ट हुन्छ! महिलाहरूले रथ ताने, क्षमापूजा गर्नुपर्छ!’
लाइभ भिडियो हेर्दै गर्दा एउटा मान्छे सानो बच्चा काँधमा राखेर घुम्न आएको देखेँ। मलाई झनक्क रिस उठ्यो, ‘के गरेको होला? यस्तो सानो बच्चालाई पनि बाहिर ल्याउन हुन्छ, त्यो नि भीडमा?’
‘सबै जना तिमीजस्तो डरपोक हुन्छ र, कोरोनाको डरले बच्चालाई घरभित्र थुनेर राख्ने? दुई किलोमिटर परको मामाघर नि नलग्ने?’ वर्क फ्रम होम गरिरहेका मेरा बच्चाको बाउले मलाई व्यंग्य गरे।
हुन त कोरोना महामारी सुरू भएयता मलाई आफ्नोभन्दा बच्चाको डर लागिरहेको छ। म संक्रमित भए मेरो बच्चालाई समस्या हुन्छ। मेरो कारणले मेरो बच्चा, ७५ वर्ष नाघेका आमाबा लगायत अरूलाई संक्रमण भए के गर्ने?
त्यही भएर कोरोनाको औषधि वा खोप पत्ता नलागेसम्म मैले अत्यावश्यक काम नपरूञ्जेल घरमै बस्ने निर्णय गरेकी थिएँ। लकडाउन, निषेधाज्ञा जारी भए पनि नभए पनि आफ्नो, बच्चा र परिवारको सुरक्षाका लागि स्वार्थी भएर सजगता अपनाउने। मभन्दा बिल्कुल फरक विचार भएका मानिस आफू मात्र नभई बच्चाहरू समेत बोकेर जात्रा हेर्न आएका थिए, भीडभाडमा सामेल थिए।
‘रथ भीडले तान्दैन वा रथ तान्न भीड भएर पुग्दैन’ भन्ने कुरा मजस्ता विभिन्न सञ्चार माध्यमको सहायताले लाइभ हेर्ने धेरैलाई (सायद नहेर्नेहरूलाई पनि) थाहा थियो। वा, हामी त्यसको अनुमान गरिरहेका थियौं।
रथ तान्ने प्रक्रियासँग जोडिएको तन्त्र तथा पूजा विधिबारे थाहा नभए पनि हामीले देखेको र मनाएको जात्रामा रथ तान्न विभिन्न दक्ष व्यक्तिले समन्वय गरिरहेका हुन्छन्।
रथ तान्ने डोरीको जिम्मा लिने छुट्टै समूह हुन्छ। रथ दायाँ-बायाँ ढल्किँदा एक जनाले डोरी तान्न निर्देशन दिन्छ। त्यही निर्देशनअनुसार अर्को समूहले डोरी तान्छ। त्यस्तै, एक जनाले रथको अगाडि भागमा भएको लामो काठमा बसेर डोरी तान्नेलाई निर्देशन दिन्छ। रथ तान्न अनुमति दिने वा रोक्ने से से बाज्या (राजोपाध्याय पुरोहित) हुन्छन्। रथ रोक्न पांग्रामा काठ राख्ने व्यक्ति हुन्छ। यी सबैको उपस्थितिविना रथलाई सहर परिक्रमा गराउन सकिँदैन।
निर्देशन दिने व्यक्तिले हाइस्ते भन्दा डोरी तान्ने समूह डोरी मिलाउँछन्। हस्तेभन्दा तान्न ठिक पर्छन्। र, हाऽऽऽ भन्दा सबैले हाऽऽऽ भन्दै रथ तान्छन्।
हाऽऽऽ जति लामो हुन्छ, रथ त्यति नै अगाडि बढ्छ।
डोरी तान्न निर्देशन दिने व्यक्तिले से से बाज्याको निर्देशनअनुसार तान्ने र रोक्ने इसारा गर्छन्। रथ रोक्ने इसारा गर्दा हाऽऽऽ भन्न रोकिन्छ र त्यही बेला रथको पांग्रामा काठ राखिन्छ।
भदौ १८ मा जोस्सिएर सडकमा आएका मानिसको भीडमा त्यो दक्षता कहाँ थियो र?
मजस्ता विभिन्न सञ्चार माध्यमको सहायताले घरमा सुरक्षित रूपले लाइभ हेर्ने धेरैलाई अर्को कुरा पनि लागेको थियो– निषेधाज्ञा उल्लंघन गरेर बाहिर निस्केको भीडमाथि प्रहरीले कानुनी रूपमा हस्तक्षेप गर्न पाउँछन् र ‘माथिको आदेश’ आएपछि हस्तक्षेप हुन्छ। जनआन्दोलनदेखि मधेस आन्दोलन, डा. गोविन्द केसीको सत्याग्रह, इनफ इज इनफ अभियान, गुठी विधेयकविरुद्धको प्रदर्शन, खोकना प्रदर्शन लगायत थुप्रै प्रदर्शनमा भएका प्रहरी हस्तक्षेप र झडपको परिणाम हामीले देखेका छौं, भोगेका छौं।
नभन्दै यहाँ पनि हेर्दा हेर्दै रमाइलो माहोल भयावह बन्यो। झडपका दौरान कानुन कार्यान्वयन गराउने निकायका जिम्मेवार ट्राफ्रिक प्रहरीलाई प्रदर्शनकारीहरूले लखेट्दै कुटेको दृश्यले हामीलाई स्तब्ध बनायो। त्यो गलत मात्र नभई अपराध थियो। हामी त्यो देखेर मूकदर्शक भएका थियौं।
दोस्रो झडपमा प्रहरीले प्रदर्शनकारीहरूलाई गाबहाल र नटोल दुवैतिरबाट घेरेको देखिन्छ। विशेष गरी दोस्रो झडप के-कस्तो थियो, मैले लाइभ हेर्न पाइनँ। समाचारमा पढेँ अनि मेरा आमाबाबाट सुनेँ। केही भिडियोमा प्रहरीलाई ढुंगा हान्न पाएर मज्जा मानिरहेको प्रतिक्रिया पनि सुनियो। कुनै पनि प्रदर्शन वा विरोध गर्दा प्रहरीलाई ढुंगा हान्नुपर्छ वा ढुंगा हान्न पाइन्छ भन्ने सन्देश वा संस्कार किन र कहाँबाट बसालिँदैछ?
अर्कातिर, प्रहरी-प्रशासनले भदौ १८ जस्ता धेरै अवस्थामा अनावश्यक बल प्रयोग गर्छ, हिसांत्मक रूपमा प्रस्तुत हुन्छ। बालक, वृद्ध, बटुवा केही नसोची पानीका फोहोरा र लाठी बर्साउने वा गोलीसमेत हान्ने गरेको हामीले प्रत्यक्ष रूपमा वा समाचारमा देखेका छौं। प्रहरी हिरासत वा थुनामा यातना दिने र हिरासतमै थुनुवाहरूको मृत्यु हुने गरेको सर्वविदितै छ।
देशको जनसंख्याको ठूलो हिस्सालाई प्रहरी पूर्वाग्रही छ भन्ने अनुभव भइरहेको छ। निर्मला पन्तको बलात्कार मुद्दा, नवराज विक लगायत रुकुममा भएको हत्याकाण्ड, मधेस आन्दोलन, खोकनामा भएको विरोध प्रदर्शन आदिमा प्रहरीको भूमिकामाथि धेरैले शंका गरेका छन्।
पुल्चोक झडपमा धेरैको सहानुभूति बटुलेका प्रहरीले अर्को दिन कर्फ्यूबीच घर-घरबाट प्रदर्शनकारीहरू पक्राउ गरेको र यातना दिएको अपुष्ट खबर फेसबुक लगायत माध्यमहरूमा फैलिरहेको थियो। कानुन उल्लंघन गरेका प्रदर्शनकारीलाई पक्राउ गर्न त मिल्छ तर पूर्वाग्रही ढंगबाट कसुरको मात्राभन्दा धेरै दु:ख, यातना दिइँदै छ कि भन्ने चिन्ता हामीजस्ता धेरैलाई लागेको छ।
यो घटनामा धेरैले प्रश्न गर्दै छन्– दोषी को हो? जिम्मेवारी कसले लिनुपर्छ?
एकथरी भन्छन्- दोष निषेधाज्ञा उल्लंघन गर्ने प्रदर्शनकारीहरूको। अर्काथरी भन्छन्– जनताको दु:ख नबुझ्ने र कानमा तेल हालेर बस्ने सरकार, प्रशासन र सरोकारवालाहरूको।
मेरो विचारमा पाटनको घटनालाई ‘आइसोलेटेड’ रूपमा मात्र हेरिनु हुँदैन। यस्ता घटना देशमा विद्यमान दण्डहिनता र जे गरे पनि जवाफदेही हुन नपर्ने अवस्थाको पुनरावृत्ति हो। मानिसको भीडदेखि प्रहरी-प्रशासन लगायत सार्वजनिक निकायहरू सबैतिर जवाफदेहीताको कमी छ।
यहाँ मानिसका जायज माग र अधिकारहरू कुण्ठित छन् भने सरकार र प्रशासन पनि संवैधानिक तथा सांस्कृतिक अधिकार प्रयोग गर्नेहरूमाथि अराजक र असंयमित बनेको छ। प्रदर्शनकारीको टाउकोमा सबै गल्ती थोपरेर सरकार, प्रशासन र सरोकारवाला निकायहरू पन्छिन सुहाउँदैन। पुल्चोक घटनामा स्थानीय सरकार, गुठी संस्थान तथा सरोकारवाला निकायहरू सबै चुकेकै हुन्।
कोरोना महामारी र लकडाउन सुरू भएपछि वैशाखमा जात्रा हुँदैन होला भनी पाटनवासीले चित्त बुझाएकै थिए। त्यसैबीच रथ बन्न थाल्यो। मच्छिद्रनाथको रथारोहण पनि भयो। रथ तान्ने दिन तोकिँदै गर्दा सबैलाई लाग्यो अब जात्रा हुन्छ। तर, लामो समय निर्णय नहुँदा र कोरोना महामारी बढ्दै जाँदा टोल-टोलमा गफको विषय बन्यो, ‘जात्रा कसरी हुन्छ? जात्रा समयमा सम्पन्न नगरे के हुन्छ?’
बेलाबेला म फोन गरेर बालाई सोध्थेँ, ‘जात्रा के हुन्छ?’
जात्राका लागि प्रस्तुत विकल्पहरूमा उनीहरूको धारणा सोध्थेँ।
मेरो ७५ वर्ष कटेका आमाबा फोनमा भन्थे, ‘रथ तान्न सीमित मान्छे प्रयोग गरे पनि तानेको हेर्न आउनेलाई रोक्न सकिँदैन। कर्फ्यू नै लगाए पनि मान्छे हेर्न त आउँछन् आउँछन्। लोकले मान्ने लोकेश्वरको दर्शन गर्न को आउँदैन? मान्छेलाई सम्झाउने बुझाउने जिम्मा कसैले लिन मानेको छैन जस्तो छ।’
‘अनि खटयात्रा गरे हुन्न?’
उनीहरू भन्थे, ‘एकचोटि खटमा राखेर देउता घुमायो भने विभिन्न बहानामा सधैं खटयात्रा गराउन लगाउँछन्। रथयात्रा मासिन्छ।’
‘रथयात्रा हुन सकेन भने साँच्चै भक्तपुर लग्छ त मच्छिद्रनाथलाई?’
‘सुनेको कुरा, किम्बदन्ती हो। थाहा छैन।’
रातो मच्छिद्रनाथ त विम्ब हो, हामी बाँचेको आजको समयमा राजा नरेन्द्रदेवका पालामा जस्तै जनता, विशेषगरी किसानहरूले दु:ख पाइरहेका छन्। किम्बदन्तीअनुसार मच्छिद्रनाथलाई भारतबाट नल्याइन्जेल खेतमा धानका बाल त लहराए, तर धानभित्र चामल फलेन। अहिले मल अभाव छ, मल उपलब्ध भएन भने धान फल्दैन।
किम्बदन्तीमा सहकाल र समृद्धिका लागि मच्छिद्रनाथलाई नेपाल मण्डल ल्याइएको थियो। अब आधुनिककालका मच्छिद्रनाथको खोजी हुनुपर्यो?
(रुकमणी महर्जन नेपाल ल क्याम्पसका उप–प्राध्यापक हुन्।)