भनिन्छ, भोको पेटले धेरैबेर स्वतन्त्रताको गीत गाउन सक्दैन। कोरोना कहरका कारण यतिबेला धेरैजसो नेपालीको रोजगारी गुमेको छ। मजदुरहरू कामविहिन भएका छन्। यही कारण उनीहरूको पेट भोको छ।
चर्चित लोकगायक बमबहादुर कार्की र शिवा आलेको चर्चित लोक दोहोरीमा भनिएको छ, 'भेटै नहुनी, खोलापारि निरमाया, वारि म रूने'।
यो गीतलाई बिर्साउने गरी गत असोज ३ गते हामीकहाँ संविधान दिवस मनाइयो। पर्खालपारि निरमायाहरू रमाए, वारि गरिबहरू रोए।
संविधान दिवसको तामझाम
२०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधानले पाँच वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको खुसीयालीमा नेपालभर उक्त दिनलाई संविधान दिवसका रूपमा मनाइयो। काठमाडौंको सैनिक मञ्चमा उल्लेख्य भीडसहितको उपस्थितिमा हेलिकप्टरद्वारा पुष्पवृष्टिसहित निकै तामझामपूर्ण तरिकाले भव्य रूपमा सुकिलामुकिलाको घना उपस्थितिमा संविधान दिवस मनाइयो।
सैनिक मञ्चलाई पर्खालले घेरिएको उही भूगोलको वल्लोपट्टि गरिबीका कारण भोकमरीबाट पीडित संविधान ल्याउन संघर्षशील झुत्रेझाम्रे नेपाली भोकले तड्पिइरहेको दृश्य सञ्चारमाध्यमको क्यामरामा कैद गरिए।
एउटै भूगोलमा बसेका यी दुईथरीबीच एउटै पर्खालको फरक छ, त्यो पनि बर्लिनकोजस्तो होइन। एकथरी पर्खालपारि विकास, सुशासन, समृद्धिका राग अलापेका छन्। अर्काथरी पर्खालवारिबाट ती राग सुन्दै भोको पेट मिचीमिची मडारिएर बसेका छन्।
एकथरी उत्सव मनाउन जम्मा भएका छन्, अर्कोथरी भोका नांगालाई खान खुवाउने दाताहरू टुँडिखेलको खुलामञ्चमा आउँदैछन् रे भनेको सुनेर भोक मार्न आएका छन्।
यी दुईथरीबीच गायक कार्कीले भनेझैं भेट सम्भव छैन। पारि गजाएर बसेकाहरूले वारिको रोदन सुन्ने आँट मरिगए गर्दैनन्। मनकारीको भात ढुकेर बसेकाको आफ्नै अगाडि आकाशमा हेलिकप्टर उडेर पुष्पबढाइँ गर्दा ती ढुकुवाहरू विगतमा यो दिन ल्याउन आफूले धेरै संघर्ष गरेको सम्झन्छन्। पारिका सुकिलालाई यो अवस्थामा पुर्याउन आफूहरूको ठूलै योगदान रहेको थियो भन्ने पनि हेक्का राख्छन्।
हेलिकप्टरतिर हेर्दै ‘यो उड्ने खर्चले हामीलाई एकछाक खाना खुवाएको भए कमसे कम हाम्रो पेटले त आशिष दिन्थ्यो’ भन्छन्।
यसैबीचमा नेपालगञ्जमा २ महिनाको अन्तरालमा उपचार नपाएर ७ जना सुत्केरीको मृत्यु भएको खबरले ती भोकानांगाहरूको मन तान्छ। तर सुन्ने कसले?
'खोलो तर्यो, लौरो बिर्सियो' उनीहरू सम्झन्छन्। पर्खाल पारि बस्ने निरमायाहरूको कान छ, तर सुन्दैनन्। वारि बस्नेहरूसँग रूनुबाहेक अर्को विकल्प छैन। रूसी उखानमा भनिएझैं ‘उत्कट इच्छा फुटेको भाग्य’ लिएर उनीहरू बस्न र बाँच्न विवश छन्। यसरी पर्खाल पारि र पर्खाल वारि हुने खाने र हुँदा खानेबीचको कहिल्यै नपुरिने खाडल दिनानुदिन बढिरहेको छ।
समानता खोइ?
कवि मविबि शाहले 'फेरि उसैका लागि' कविता संग्रहमा लेखेका छन्-
गर्छिन् पुकार आमा रोइकराई जोडले, होइन मेरो भन्छिन् सन्तान थरीथरीका।
वास्तवमा लोकतन्त्रको लाभ आम नेपालीमाझ जसरी पुग्नुपर्ने थियो, त्यसरी पुग्न सकेको छैन। गणतन्त्रका लागि आम नेपालीले संघर्ष गरेका हुन्।
संविधानसभाबाट संविधान बनाउने नेपालीको रहर २००७ सालदेखिकै हो। यस रहरमा तत्कालीन राजा त्रिभुवन र महेन्द्र दुवैबाट ठगिएका नेपालीले आफैं चुनेका जनप्रतिनिधिबाट गठित संविधानसभाबाट २०७२ सालमा संविधान पाएका हुन्। तर संविभानबाट प्राप्त लाभ वितरणमा भने समानता भएन। एकथरी खाइरहने, अर्कोथरी हेरिरहने गर्न वाध्य भए।
विगततर्फ फर्किँदा
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे युद्ध र ७ दल र माओवादीबीचको एकताका कारण गणतन्त्र सम्भव भएको हो। यसअघि यो आन्दोलनमा माओवादीका तर्फबाट धेरै धनजन क्षति भएको छ भने राज्यले कैयौं माओवादी कार्यकर्ता, तिनका सन्तान र आफन्त बेपत्ता बनाएको छ। स्वयम् माओवादीले पटकैपिच्छे सरकारको नेतृत्व गर्दासमेत घाइते, बेपत्ता र शहिदपरिवारको सम्मान हुन सकेको छैन।
कैयौं माओवादी नेता टाउकाको मूल्य चुकाएर अविरल रुपमा युद्ध मैदानमा होमिएका हुन्। उनीहरूको आह्वानमा आम नेपाली संघर्षमा उठेका पनि हुन्। हिजो जसले गणतन्त्रका लागि माओवादीलाई युद्धमा साथ दिए, जसले माओवादी र ७ दलले आह्वान गरेको १९ दिने जनआन्दोलनलाई साथ दिए, आज उनीहरूको कुनै लेखाजोखा छैन। कैयौं घाइतेहरु आज पनि विस्तारामा छन्। कतिको शरीरमा गोलीको छर्रा अझै छ। कति अर्धचेत अवस्थामा विस्तारामै छन्। कति बैसाखीको सहारामा बाँचेका छन्।
राज्यले बेपत्ता बनाएकाको न लास छ, न सासको गुञ्जायस नै छ। परिवार गुमाउनेको पीडा अलग्गै छ। यो दिनले उनीहरूलाई के दियो? पर्खालपारि भाषण गर्नेले यसबारेमा पटक्कै उल्लेख गरेनन्।
विकास,समृद्धि, भष्ट्राचारीलाई कारबाही, सुशासन आदिमा बग्रेल्ती बोलेर उनीहरूले संविधान दिवस मनाए। यो दिवस ल्याउन साहदत गर्नेलाई खासै सम्झिएनन्। पर्खालवारिका यी भोकानांगाले यो दिन खोजेका थिएनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले खान नपाएर अब नेपालमा कोही भोकभोकै मर्न पर्ने छैन भनेका थिए। देशको प्रधानमन्त्रीले जनताका लागि बोलेको कुरा योभन्दा ठूलो के नै हुनसक्ला? जिम्मेवार नेताले भन्नुपर्ने यही थियो, उनले भने।
तर के नेपालमा भोकले कोही मरेका छैनन्?
कोरोनाका कारण कैयौं रोजगारी गुमेको छ। रोजगारी गुम्दा आम्दानी छैन। यसले गर्दा ऋण तिर्न नसकी कतिले आत्महत्या समेत गरेका छन्। कतिले हातमुखको समस्याका कारण परिवार पाल्न नसकी आत्महत्या गरेका छन्। यसरी आत्महत्या गर्नु परेकाको विवरण सरकारसँग छैन?
कडा व्यङ्ग्य
देशले पर्खालपारि छैठौं संविधान दिवस मनाइरहँदा पर्खालवारिबाट एउटा हात कागजको थालीमा र अर्को हातले निधारको पसिना पुछ्दै आकाशमा पुष्पबढाइँ गरिरहेको हेलिकप्टरतिर हेर्दाको दृश्य कम कारुणिक छैन।
टुँडिखेलको खुलामञ्चमा मनकारी हात भेटिएर खान खुवाएको दृश्यले सरकारलाई जिम्मेवारी बोध गराउनुपर्ने होइन र? तर पारि अघाएका र वारि भोका भएकाले पर्खालको फरकले धन्न त्यस दिन हाम्रा प्रधानमन्त्रीले यो दृश्य देखेनन्। देखेको भए उनको सम्बोधनमा कहीँ कतै यो विषयले पनि ठाउँ पाउँथ्यो होला।
संवैधानिक व्यवस्था
नेपालको संविधान २०७२ को धारा २६ मा खाद्यसम्बन्धी हक व्यवस्था छ। उक्त धारामा लेखिएको छ- प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ।
यी हक उपयोग गर्न सरकारले संविधान प्रारम्भ भएको मितिले ३ वर्षभित्र कानुनी व्यवस्था गर्ने संविधानको धारा ४७ मा लेखिएको छ। तर आज छैठौं संविधान दिवस मनाइरहँदा पनि पर्खाल वारिकाहरूको लागि पर्खाल पारिकाले कानुन बनाइदिएका छैनन्।
यो हक संविधानमा लेखिएर मात्र जनताले पाउने होइन रहेछ। यसका लागि सरकार र ऊ निर्देशित राज्य संयन्त्रले यसको प्रत्यायभूत हुने गरी काम गर्नुपर्छ। यसका लागि संविधानले भनेअनुसार संविधान जारी भएको मितिले कम्तीमा ३ वर्षभित्र अर्थात् २०७५ सालको असोज २ गतेभित्र कानुन बनिसक्नुपर्ने थियो। आज अर्को ३ वर्ष बढी बित्न थाल्यो तर कानुनको अत्तोपत्तो छैन।
संविधानमा लेखिएको कुरा पालना नगर्ने तर पर्खालपारि संविधान दिवस मनाएको बाहना गर्न नछाड्ने प्रवृत्ति रहेसम्म संविधान कार्यान्वयन कठिन देखिन्छ। तर हामीकहाँ गरीबी, असमानता र भोकमरीकै कारण नागरिक मरेका छन्। बाँचेकाहरूमा पनि सन्तुलित आहार त परै जावोस्, हातमुख जोर्न समेत समस्या छ।
यसैकारण कवि मविबि शाह लेख्छन्-
सुनको थाली काहीँकाहीँ छ पात खाली, सक्दिनँ सुन्न भन्छिन् सन्तान थरीथरीका।
यी थरीथरीका सन्तान बनाउने पर्खाल नै हाम्रो एकमात्र शत्रू हो, जसले पारि र वारिलाई दुई वर्गमा बाँडेको छ।
गरिब र धनीबीचको खाडल पुर्न आन्दोलनमा लागेकाहरू धेरै थिए। तर आज पर्खालपारि तिर्पनताम् भएकाहरू छन्, पर्खालवारी भात माग्नु परेको छ। संविधान दिवसको हर्षोल्लास हेर्न वारिबाट पारि चियाउन पनि कसैले पाएनन्। उल्टै राष्ट्रपतिको सवारीअघि सुरक्षाकर्मीद्वारा बाटो सफा गर्न हटाइएका समेत यही खुलामञ्चतर्फ धकेलिए।
प्राचीन रोमको आधाभन्दा बढी सहर जलेर खरानी हुँदा बाँसुरी बजाएर रमिते बनेको सम्राट निरोलाई बिर्साउने घटना पर्खालपारि देखिए। यिनै भोकालाई गिज्याउँदै यही दिनको उपलक्ष्यमा मानपदवीका नाममा १० करोडजति खर्चिने गरी नामावली सार्वजनिक भयो।
आजको आवश्यकता घरबिहिनलाई बास, भोकालाई गास र नांगालाई कपास हो कि सम्भ्रान्तलाई तक्मा?बिचरा यी ढुकुवाहरूले कसरी थाहा पाऊन्?
पर्खालवारिको सार्वजनिक शौचालयका अगाडि टुसुक्क बसेर २ गाँस भात कुर्नेका लागि पर्खालपारिकाले कहिले हेर्लान्? यिनीहरूका लागि संविधान दिवस कहिले सारथी बनेर आउला?