कक्षा चारमा पढ्ने स्याङ्जाका स्वरुप तिमिल्सिनालाई जन्मदिन के हो भनेर सोध्दा बुझेनन्। ती नौ वर्षे बालकलाई जन्मदिन बुझाउन अंग्रेजीको सहारा लिनुपर्यो।
'बर्थ-डे के हो, थाहा छ?'
उनले भने, 'ए ! ह्याप्पी बर्थ-डे। केक खाने दिन।'
उनको अनुहार खुसीले उज्यालो भयो।
'तिमी बर्थ-डे कसरी मनाउँछौ त?'
'स्कुल र गाउँघरमा डेरी मिल्क बाँड्ने, रात परेपछि केक काट्ने, सबैले खाने, मैनबत्ती निभाउने अनि चुच्चे टोपी पनि लाउने,' उनको व्याख्या सुनेर म हेरेको हेर्यै भएँ।
ती अवोध बालकको के कुरा, हामी ठूलावडा नै अचेल केक मोहमा नराम्ररी डुबिसकेका छौं।
पोहोर प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा नेपालको नक्सा आकारको केक काटे। यो घटनाले कति स्वाभिमानी नेपालीको आँखामा आँसु आयो। कतिपयले संसारमै चलेको चलन भने। लगत्तै सामाजिक सञ्जाल यस्तै टिप्पणीले भरिए।
केपी ओली प्रधानमन्त्री हुन्, नेपालका अभिभावक हुन्। केक काट्ने र कटाउनेले बुझ्नु पर्थ्यो, केक हाम्रो संस्कृति होइन। सयौंथरी जातजाति बसेको नेपालमा केक काटेर जन्मदिन मनाउने परम्परा कसको हो? यो संस्कृति हाम्रो कुन चाहिँ जनजातिमा छ?
कुनै सज्जनले भनेका छन्, मानिस मरेको दिन नरोऊ तर संस्कृति मर्दा जीवनभर विलाप गर।
म यहाँ जन्मदिनको हाम्रो संस्कृतिको कुरा गर्छु।
आमाका गर्भमा विकसित भ्रूण बच्चाका रूपमा बाहिर निस्केको दिनलाई जन्मदिन भनिन्छ।
हिन्दु धर्म र परम्परामा जन्मतिथिको बिहान अष्टचिरञ्जीवी (मार्कण्डेय, व्यास, कृपाचार्य, अश्वत्थामा, परशुराम, बलि, हनुमान र विभीषणको पूजा गरेर मनाइन्छ। अष्टचिरञ्जीवीको छोटो पूजा विधि वार्षिक व्रतरत्नावलीमा उल्लेख छ। शास्त्रले यी आठ जनालाई कहिल्यै मर्दैनन् भन्छ। अष्टचिरञ्जीवीसँगै षष्ठिका देवी, कार्तिकेय, भानु आदिको पूजा गरिन्छ।
जीवेम शरदः शतम् अर्थात् सयवर्ष बाँच भनेर जन्मोत्सव पूजा गर्ने व्यक्तिलाई टीका लगाई आशीर्वाद दिइन्छ, यिनै अमर व्यक्तिको जस्तै तिम्रो जीवन होस् भनेर।
ती अमर र प्रेरणादायक अष्टचिरञ्जीवीको बारेमा केही जानकारी लिनु मनासिब होला।
मार्कण्डेयः पुराणअनुसार मार्कण्डय मृकण्डु र मनस्विनीका छोरा थिए। उनी जस्तै आपतवपतमा पनि अविचलित थिए। साधना र तपस्याले काललाई पनि जितेका थिए भनिन्छ। उनका नाममा प्रचलित पुराणलाई मार्कण्डेय पुराण भनिन्छ।
व्यासः व्यास पराशर र सत्यवतीका पुत्र थिए। व्यास अठारै पुराणका निर्माता हुन् । उनी वेद वेदाङ्गका मर्मज्ञ पनि थिए।
कृपाचार्यः कृपाचार्य भारद्वाज कुलमा जन्मिएका थिए। कृपाचार्यले महाभारतको युद्धमा कौरवको पक्ष लिएर लडेका थिए। यिनी साहसी, कर्तव्यपरायण र पराक्रमी थिए।
अश्वत्थामाः अश्वत्थामा अद्वितीय धनुर्विद्याका ज्ञाता द्रोणाचार्यका पुत्र थिए।
परशुरामः परशुरामलाई विष्णुका दसमध्ये छैटौं अवतार मानिन्छ। यिनी भृगुवंशी ऋषि जमदग्नि र रेणुकाका सन्तान थिए। यिनलाई परम पितृभक्त मानिन्छ।
बलिः बलि दैत्यका राजा थिए। दानव कुलमा जन्मेर पनि यिनमा सत्यवादी धारणा थियो। यी पुराणप्रसिद्ध दानी दैत्य राजा थिए। तिहारका देउसी र भैलोमा बलिराजको गुणगान गाइन्छ।
हनुमानः हनुमान रामायण प्रसिद्ध रामभक्त एक वानर हुन्। वायु र अञ्जनिका छोरा थिए। हनुमानलाई बलवान, वीर र शक्तिशाली वानरका रूपमा चिनिन्छ।
विभीषणः रावणका कान्छा भाइ यिनी लंका युद्धमा सत्यका पक्षमा लागेका कारण धर्मको जित भएको थियो।
जन्मदिनमा पूजा गरिने यी अष्टचिरञ्जीवी कुनै न कुनै विशेष गुणले युक्त छन्। जन्मदिनमा उनीहरूको पूजा गरेर आफूमा पनि त्यस्तै शक्ति, निष्ठा, धर्मको सम्मान, निपुणता, सेवाभाव र सिर्जनशीलता आओस् भन्ने कामना गरिन्छ।
हिन्दु परम्परामा तिथिका आधारमा जन्मदिन मनाउने चलन छ। हाम्रो पञ्चाङ्गमा सौर, चन्द्र, बार्हस्पत्यमानको वर्णन छ। जन्मदिन चन्द्रमानअनुसार प्रत्येक वर्ष घुमेर आइपुग्छ। चन्द्रमान सौरमानजस्तो ठ्याक्कै ३६५ दिनमा पर्दैन। चन्द्रमानअनुसार ३६० दिनको एक वर्ष हुन्छ।
सौरमानमा दिनको गणना घण्टा, मिनेट र सेकेन्डमा हुन्छ तर चन्द्रमान तिथिअनुसार घडी, पलाजस्ता इकाइमा गनिन्छ। चन्द्रमानको गणनाअनुसार जन्मदिन पर्नै भए पनि हामी सौरमानअनुसार मनाउँछौं।
हरेक शुभकार्य तिथिमा गर्ने हामीले वर्षमा एकपटक मनाइने आफ्नो जन्मोत्सव चाहिँ तिथिमै किन नमनाउने? मितिको आधारमा मनाउने जन्मदिन, जन्मदिन होइन भन्ने शास्त्रीय मान्यता छ। तसर्थ मान्छे जन्मिँदा, मर्दा र कुनै पनि पर्व तिथि गणनामै हुन्छ।
पात्रोअनुसार तिथि हेरेर बिहान उज्यालो भएपछि अष्टचिरञ्जीवीको पूजा पाठ गरेर जन्मदिन मनाइन्थ्यो। तर हामी आजभोलि रातको बाह्र बजेसम्म ह्यापी बर्थ-डे भन्दै लठ्ठिएका हुन्छौं।
डा. मतिप्रसाद ढकाल लेख्छन्, 'राक्षस सक्रिय हुने अन्धकार रातको १२ बजेमा निद्रा बिगारेर बर्थ-डेको शुभकामनाका नाममा 'विस' गर्नुभन्दा आरोग्य वा स्वस्थताका प्रतीक सूर्यले संसारलाई उज्यालो बनाइरहेको बिहान जन्मोत्सवको शुभकामना आदानप्रदान गरी धर्म र संस्कृति संरक्षण गर्नमा नै हामीले आफ्नो अस्तित्व भेट्न सक्नेछौं।'
हाम्रो संस्कृतिमा उज्यालोलाई विशेष महत्त्व दिइन्छ। शुद्ध कामनाका अनुष्ठान गर्दा हामी बत्ती बाल्छौं। जुनसुकै संस्कार र धार्मिक अनुष्ठानमा पहिला दियो बालेर मात्र सुरू गरिन्छ। बिहानबेलुका सहकालका लागि दियो नै बालिन्छ। साँझको बत्तीलाई विशेष महत्त्व दिएर भनिन्छ, तमसोमा ज्योतिर्गगमय। अर्थात् अँध्यारोमा उज्यालोको प्रवेश होस्।
यो अँध्यारो रातको अन्धकारमात्र होइन। अँध्यारो मनको, ज्ञानको, चेतना, सदाचार, सदव्यवहार, निष्ठा, इमान, आत्मबलको हो, भनूँ तमाम मानवजन्य विशेषताको हो। साँझको बत्ती सांस्कृतिक रीति तथा धार्मिक भावनाअनुसार बाल्ने उज्यालो हो। हाम्रो संस्कृति उज्यालोका पक्षमा छ।
जन्मदिनको पूजाविधिमा पनि अखण्ड दीप प्रज्ज्वलन गर्ने चलन छ।
तर आजभोलि जन्मदिन मनाउँदा पहिला प्रदीप्त 'दियो' नै निभाइन्छ। नेपाली लोकसमाजमा दियो निभ्नुलाई अशुभ मानिन्छ। ह्यापी बर्थ-डे भनेर ताली पिट्दै बलेको मैन निभाएर हामीले के गरेका हौंला? यो संस्कृति भएका विदेशी समुदायलाई यो राम्रै होला तर हाम्रो परम्परा होइन।
परम्परानुसार जन्मोत्सव मनाउँदा सखर र तिलको लड्डु, खीर, पुवा, हलुवा, अपुङ्गो, पुरी, फलफूल देवदेवीलाई चढाइ प्रसादका रूपमा ग्रहण गरिन्छ। सत्वगुणी भोजन ग्रहण गरिन्छ। गरिब, दुखीलाई सन्तुष्ट हुने गरी भोजन गराइन्छ।
आजभोलिका जन्मदिन पार्टीका नाममा केक, माछामासु र अझ मदिरामै लठ्ठिने प्रचलन छ। यो चलनले बच्चादेखि बुढा बाआमालाई समेत संस्कृतिको विकृत सलादमा डुबाइसकेको छ। आँखै लोभ्याउने रंगिन खाने कुरामा शरीरलाई हानी गर्ने तत्त्व रहेका विज्ञहरू बताउँछन्। अझ बजारमा पाइने धेरै केक अस्वस्थ्यकर छन्।
अझ अहिले त सामाजिक सञ्जालले मान्छेको जन्मदिनलाई यान्त्रिक बनाइदिएका छन्। सामाजिक सञ्जालमा एउटा जन्मदिन, साँच्चिकैको अर्काे जन्मदिन हुन्छ। अनि साथीभाइ, इष्टमित्र भन्ने गर्छन्– हैन वर्षमा कतिचोटि जन्मिस् हँ? आजको पुस्तालाई जन्मदिन भनेकै फेसबुकमा फोटो राख्ने र कमेन्ट, लाइक र रियाक्ट हेर्ने दिन भएको छ।
अनि फेरि बर्थ-डे गिफ्टको झमेला पनि छ। आमाबुवादेखि साथीभाइ, आफन्त र प्रेम सम्बन्धमा समेत यो गिफ्टले जरो गाडेको छ। अझ चित्त बुझ्दो गिफ्ट नपाएको झोंकका अरू पाटाहरू पनि छन्। उपहार मन, रहर र आफ्नो हैसियतले भ्याएको दिने हो, जन्मदिनका नाममा कसैले मनमौजी तरिकाले मागेको कुरा दिइने पक्कै होइन।
संस्कारको खास अर्थ अवगुण, दोष, कमजोरी हटाई परिष्कार गर्ने भन्ने बुझिन्छ। सनातन परम्परामा मानिसलाई संस्कारी बनाउन गर्भाधानदेखि अन्त्येष्टिसम्म विभिन्न सोह्र संस्कार गर्ने चलन छ। जीवनको परम लक्ष्य शारीरिक, मानसिक, बौद्धिक, शैक्षिक सम्पूर्ण आयामबाट संस्कृत बन्नु हो। सन्तान आमाबुबाका आत्मा र शरीरबाट उत्पन्न हुन्छन्। मातापितामा हुने गुण र दोष सन्तानमा पनि रहने शास्त्रीय मान्यता पनि छ।
त्यसैले संस्कारहीन अभिभावकका सन्तान संस्कारी बन्न सक्दैनन्। उसको मानसिक र शारीरिक वृद्धिमा अभिभावकको दोषै दौष गौडा बन्छन्।
अरूलाई देखाउने नाममा, अरूको सिको गर्न हामीले कतै हाम्रा सन्तानमाथि अन्याय त गरेका छैनौं? तपाईंले बच्चालाई जे संस्कार दिनुभयो बच्चा त्यही बन्ने हो। हामीले बच्चालाई जन्मदिनमा केक काट्ने, अनुहारभर दल्दै सबैको जुठो चाख्नुपर्ने, चुच्चे टोपी ठडाउने, रेस्टुरेन्टमा गएर झुम्न दिनुमा सन्तानको मात्र के दोष? अझ जन्माउने आमाबुवालाई नै पाखा लगाएर अरूसँग जन्मदिन मनाउने चलन छोराछोरीले कहाँबाट सिके?
दुई वर्षपहिले पनौती, काभ्रेको बोर्डिङ स्कुलले मन्त्रोचारणसहित दियो बालेर, टीका, माला लगाई विद्यालयका छात्रछात्रालाई जन्मदिन मनाउन सिकायो। उक्त कार्यक्रम महानन्द सापकोटा वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको थियो। केटाकेटी जन्मदिन मनाउने नयाँ तरिका देखेर छक्क परेको प्रतिष्ठानका अध्यक्ष लक्ष्मण सापकोटाले बताए। यो त कस्तूरीले बिनाको बासना थाहा नपाएजस्तो भएन र?
आजभोलि कतिपय विद्यालयका क्यान्टिनमा प्रत्येक दिनजसो केक काटिन्छन्, बत्ती निभाएर जन्मदिन मनाइन्छ। अनि शिक्षकहरू बसेर ताली पिट्छन्। केक खाएर मुख मिठ्याउँछन् तर केटाकेटीलाई नेपालीको जन्मोत्सव परम्पराबारे जानकारी समेत दिँदैनन्।
अहिलेको विश्वव्यापीकरण र भौतिकवादी सोचाइले हामीलाई कति निरीह बनाएको छ। उपभोक्तावादले हाम्रा आवश्यकता जन्माइदिएको छ। घरबाट आवश्यकता निस्कने होइन कि बजार पुगेपछि हामीलाई यो वा त्यो केके चाहिन्छ केके?
विश्वविद्यालयका कक्षामा राजेन्द्र सुवेदी सरका भनाइ सम्झिन्छु– 'बेच्न सक्ने र जान्नेले हावा बेचेका छन्। दुई-चारवटा आलुका चाना हालेर ठूलो पोको बनाइ चिप्स बेचेका छन्। हामीले भने आफ्नो चिन्तन विश्वबजारमा पुर्याउन सकेनौं। केबल सिको गर्यौं। त्यही कारण अहिले युवा विदेसिन बाध्य छन्।
हामीले आफ्नो मौलिकपनका बारेमा बालबच्चालाई जानकारी दिनु पर्ने होइन र? केटाकेटीसँग बसेर आफ्नो संस्कार, संस्कृतिका विषयमा कहिल्यै कुरा गर्छौं हामी? बरु वाहियात भनेर हेयभावना राख्छौं। अनि त्यो कलिलो मस्तिष्कले कहिले सिक्न पाउँछ?'
हामीले हाम्रो संस्कार र संस्कृतिका विषयमा बालबच्चालाई जानकारी दिनुपर्छ। उनीहरूसँग हाम्रो संस्कृति र परम्पराका विषयमा खुलेर कुरा गर्न सक्छौं। हामीले सनातन परम्पराअनुरुप बालबच्चाको जन्मदिन मनाएर सिकाउन सक्छौं। हाम्रो संस्कार र संस्कृति मानिसको शारीरिक, मानसिक विकासका लागि उत्कृष्ट रहेको बुझाउन सक्छौं।
केटाकेटीलाई आफूभन्दा ठूला मान्छेबाट आशीर्वाद लिन लगाउँदा उनीहरूमा सम्मानभाव उब्जन्छ। भोका-गरिबलाई खुवाउन सिकाउँदा उनीहरूलाई जीवनको मूल्य बुझाउँछ। सहयोग गर्न सिकाउँछ। बच्चामा सामाजिक भावना बढेर जान्छ।
यसको मतलब अन्य धर्म, संस्कृति बुझ्नै हुन्न भन्ने होइन। अनि आफ्ना संस्कृतिमा रहेका हरेक कुरा स्वीकार्नै पर्छ भन्ने पनि होइन। संस्कृतिका विकृत र अन्धविश्वासका पक्ष छाडेर सत्यलाई आत्मसात गर्न पर्छ। अनि आफ्नो राम्रो परम्परा जोगाउन सबैले भूमिका खेल्नै पर्छ।
नभए दियो बाली पूजा गरेर जन्मोत्सव मनाउने हाम्रो उज्यालो संस्कार मैनबत्ती निभाउन थालेको पुस्तासँगै हराउनेछ। अनि 'जीवेम शरदः शतम्' अर्थात् सय वर्ष बाँच भन्दै दिइने आर्शीवाद 'ह्यापी बर्थ-डे टु यु' मै सीमित हुनेछ।
(लेखक शर्मा त्रिभुवन विश्वविद्यालयबाट नेपाली लाेकसाहित्यमा विद्यावारिधि गर्दैछिन्।)