राति तीन बजे दिमागमा केले ठ्याङ्ङ हान्यो हान्यो, अचानक निद्रा टुट्यो। आफू एक्लै छु भन्ने सोचेर डर लाग्यो।
एक्लै बस्न थालेको धेरै भइसकेको थियो। एक्लै बस्छु भन्ने कुराले स्वतन्त्र भएको महसुस हुन्थ्यो। तर त्यस दिन कत्ति एक्लै बस्नुपरेको होला जस्तो लाग्यो। एक्लै छु भन्ने कुरा पहिलोपल्ट थाहा पाएजस्तो भयो।
जिन्दगीमा गर्छु भनेर सोचेका काम गर्न नसकेजस्तो लाग्यो। गरेका काम कतै नपुगिरहेजस्तो लाग्यो। किन त्यस्तो सोच अचानक आइरहेको थियो, पत्तै लगाउन सकिनँ। म गलत सोच्दै छु भन्ने आभास पनि सँगसँगै भइराखेको थियो। तर रोक्न सकिनँ।
कोल्टो फेरेर सिरानीमुनिको मोबाइल हातमा लिएँ। यसो कन्ट्याक्ट लिस्टमा भएका नाम हेरेँ। तीमध्ये कसैले मेरो कुरा बुझ्लान् भन्ने लागेन। कोही आफ्नैजस्तो पनि लागेन। आफ्नो भन्ने को हो र के कुरा अरूलाई बुझाउने हो भन्ने पनि थाहा थिएन।
बत्ती बालेँ। खाटछेउमा राखेको किताब देखेर रिस उठ्यो। किताबको ठाउँमा कोही मान्छे भएको भए म उसैसँग रिसाउँथेँ होला!
निद्रा टुटिसकेको थियो। टेबलको फोटो फ्रेममा अडिएर मुस्कुराइरहेको आफ्नै फोटो हेरेँ। आफूलाई खुब मन परेको त्यो फोटोमा पनि खोट भेट्न थालेँ।
उठेर भित्तामा झुन्ड्याएको ऐना हेरेँ। अनुहारमा दुई-तीनवटा नयाँ पिम्पल देखेँ। आफू झनै नराम्री लाग्यो।
पहिलो महिनावारी हुँदा म चौध वर्षकी थिएँ। पहिलो महिनावारी भएको पाँच महिनापछि बल्ल दोस्रो महिनावारी भएको थियो। महिनावारी हुने दिन नजिकै आउँदा मलाई रुन मन लाग्थ्यो। डर लाग्थ्यो। रिस उठ्थ्यो।
के हुँदैछ भन्ने थाहा नहुने बेलादेखि म यस्तो भोगिरहेकी थिएँ। धेरै समय बितिसकेको थियो। मलाई एक महिनामा दुई-तीन दिन नै त्यसरी आफ्नो भावनासँग बग्न गाह्रो हुन थालेको थियो।
एक-दुई दिनमा ठिक हुन्छ भन्दै मैले वर्षौं कटाएँ। मैले त्यति धेरै वर्षबीच कसैलाई पनि मलाई बेलाबेला भइरहने असहज मानसिक स्थितिबारे भन्न सकिनँ। भन्नुपर्छ जस्तो पनि लागेन।
म आफूलाई के हुन्छ भन्ने आफैंमा पनि प्रस्ट थिइनँ। कसैलाई सोध्न पनि सकिनँ। स्वास्थ्यसम्बन्धी पढाइ हुने कतै पनि त्यसबारे पढाइएन। पहिला भोग्ने कसैले पनि मलाई यस्तो हुन्छ भनिदिएनन्। वा उनीहरूलाई पनि थाहा थिएन कि?
महिनावारी भएपिच्छे मलाई उस्तै असहज हुन्थ्यो। म कहिले डराउँथेँ, कहिले आत्तिन्थेँ।
मलाई जे हुन्थ्यो, त्यो 'मुड स्विङ' रहेछ। धेरैपछि मनोविज्ञान पढ्दा थाहा पाएँ। त्यो हुनु अस्वाभाविक होइन भन्ने थाहा भयो। मानसिक स्थितिमा आउने उतारचढाव अर्थात् मुड स्विङलाई त मैले मेरो पहिलो महिनावारीसँगै बोक्न थालेकी रहेछु।
महिनावारी हुनुभन्दा केही दिनअगाडि कुनै कारणबिना मलाई रिस उठ्थ्यो। छिट्टै झिँझिन्थे। एक्लो महसुस गर्थेँ। भावनाहरू छिनछिनमै परिवर्तन भइरहन्थे। त्यो प्रक्रिया लामो समय भने हुँदैन थियो।
केही दिनपछि सामान्य हुन्थे। सामान्य भइसकेपछि फेरि सबै राम्रो त चल्दैछ जस्तो लाग्थ्यो।
कसैकसैलाई लामो समयसम्म मुड स्विङ हुन्छ भन्ने पढेकी थिएँ। धेरै दिन मुड स्विङ हुनेहरूले कसरी आफूलाई सम्हाल्दा हुन्, सोचेर डराएकी थिएँ।
मुड स्विङ हुँदाको भावाना अलि जिद्दी हुँदो रहेछ। त्यो बेलाको भावना व्यक्तिमा हाबी भएको अनुहारमै प्रस्ट देखिँदो रहेछ। मुड स्विङको चेत भइसकेपछि यो सबैलाई हुँदो रहेछ भन्ने थाहा पाएँ। यो आफैंमा भयानक रोग होइन भन्ने बुझेँ। तर जीवनमा बुझेका, पढेका, लेखिएका, सुनेका सबै कुरा व्यवहारमा लागू भइहाल्दैनन् भन्ने पनि बुझेँ।
हिजोआज म मुड स्विङ हुँदैछ भन्ने थाहा पाउँछु। मुड स्विङ हुने समय आउनुअगाडि मानसिक रूपमा तयार हुन्छु भनेर सोच्छु। आफ्नो भावना मज्जाले आफ्नै सुरमा बग्न दिन्छु भनेर योजना बनाउँछु। तर मुड स्विङ हुँदा खै किन म कमजोर भइहाल्छु।
मुड स्विङको समय चल्दैछ भनेर म एक्लैले मात्रै बुझेर नहुँदो रहेछ। म यसै पनि एक्लै त कहाँ रहेछु त? मुड स्विङ त व्यक्तिगत अनुभवसँगै सामाजिक अनुभव पनि रहेछ।
तीन महिनाअगाडि म र अर्की एक जना साथीले गोसाइँकुण्ड जाने भनेर प्याकिङ गर्यौं। कहाँ बस्ने, कति दिनमा फर्कने सबै निधो भइसकेको थियो। कोठाको ताल्चा लगाएर निस्कने बेला साथीले फोन गरी अनि भनी, 'नजाम् यार, मेरो मुड स्विङ भयो।'
जिस्केर भनेकी होला भनेर 'कहाँ पुगिस्, म निस्केँ है' भनेँ।
ऊ त कोठाबाट निस्केकै थिइन।
उसको मुड स्विङमा ऊ एक्लै कहाँ रहिछे त?
म त नजिककी साथी थिएँ। योजना रद्द भएको पिर परे पनि उसलाई बुझेँ। तर के उसका अफिसका साथीहरूले उसलाई त्यसरी नै बुझ्छन्? उसको परिवारले? आफन्तले? समाजले?
के मुड स्विङ भएका बेला मलाई मेरो साथीसंगीले बुझ्छन्? परिवारले? अफिसका स्टाफले? कलेजले? सार्वजनिक स्थानमा भएका मान्छेले?
मुड स्विङमा हुँदा हामी एक्लै कहाँ रहेछौं र?
मलाई यस्तो बेला कतै साथीसंगीसँग झर्केर बोल्छु कि भन्ने डर लाग्छ। अफिसको काम गर्दागर्दै म यति धेरै दबाबमा काम गर्न सक्दिनँ भनेर रोइदिउँला भन्ने डर लाग्छ। सकेसम्म त्यस्तो समय नयाँ व्यक्तिसँग भेट्न खोजिहाल्दिनँ। मलाई पहिलोपटक भेट्नेहरूले मेरो मुड कसरी बुझ्लान्? आफैं पनि बुझ्दिनँ। त्यसैले पनि अरूले बुझ्लान् जस्तो लाग्दैन।
मसँग जोडिएका सम्बन्ध र व्यवसायमा मुड स्विङ भएको मलाई अर्कै बुझ्न सक्ने सम्भावना छ। व्यक्तिगत जीवनमा त मुड स्विङ चरणबारे सुनाउँला, बुझाउँला तर व्यावसायिक जीवनमा कतिलाई बुझाउने? के भनेर बुझाउने?
यस्तो मलाई मात्र भएको होइन। मैले केही साथीहरूसँग उनीहरूका अनुभवबारे कुरा गरेँ। उनीहरू पनि मैलेजस्तै यस्तो हुनु सामान्य हो भन्ने थाहा पाउँदा-पाउँदै यसलाई स्विकार्न थालिसकेका थिए।
यस्तो अहिले पनि मलाई भइरहेको छ। मजस्तै अरू धेरै केटीलाई भइरहेको होला। जैविक र प्राकृतिक दुवै रूपले मुड स्विङ हामीसँगै रहनु नै छ भने हामीले यसलाई बुझ्नुको विकल्प छैन। यसले सामाजिक सम्बन्धलाई पनि असर पार्छ भने ती सम्बन्धमा हुनेले पनि यसलाई बुझ्नुको विकल्प छैन।
यो महिलाको मात्र कुरा नभएर पुरुष, परिवारका सदस्य तथा काम गर्ने ठाउँका 'कलिग' हरूको पनि दायित्व हो। यो पढाइ हुने हरेक ठाउँमा पुग्नुपर्ने कुरा हो। चर्चा हुने हरेक ठाउँमा चर्चा हुनुपर्ने कुरा हो।
के तपाईं यो विषयमा चर्चा गर्न तयार हुनुहुन्छ?
(क्रान्तिशिखा धितालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)
Twitter:@krantishikha