'हामी इञ्जिनियरहरूले बाटो र पुल बनायौं। बत्ती बाल्यौं। सडकले शिक्षा लानुपर्ने थियो। तर गाउँमा सडक आएपछि बियर, कोक, चुरोट र चाउचाउ मात्र पुगेछ। गाउँमा बत्ती बलेपछि बालबालिकाले पढ्न पाउनुपर्ने थियो। तर त्यही बत्तीमुनि जुवा र तास मात्र खेलिएछ।'
आठ वर्ष अगाडि ग्रामीण ललितपुरको एउटा सार्वजनिक विद्यालयमा शिक्षकका रूपमा काम गर्न पुगेका एक सिभिल इञ्जिनियरले आफ्नो अनुभव सुनाउँदै भनेका थिए।
उनले भनेजस्तै हामी देख्न सक्छौं- ठाउँठाउँमा सडक, पुल र भवनहरू बनेका छन्। मानिसहरूका हातहातमा मोबाइल फोन पुगेको छ।
२००७ सालदेखि आजसम्म शासन व्यवस्थामा पनि उथलपुथल भएको छ। राणाशासन, पञ्चायत, राजतन्त्र हुँदै हामी लोकतान्त्रिक गणतन्त्रमा छौं।
व्यवस्था परिवर्तनपछि त्यसलाई संस्थागत गर्न र दिगो बनाउन आज र भोलिको पुस्ता तयार हुनु पर्ने थियो। आजको पुस्ताले आफ्नो सोच र कर्ममाथि आत्मालोचना गर्दै दुःखले ल्याएको लोकतन्त्रका लागि भोलिको पुस्ता तयार गर्नु पर्थ्यो। तर त्यस्तो हुन सकिरहेको छैन। भोलि समाजको नेतृत्व लिने पुस्ता ओझेलमा छ।
भन्न त बालबालिकालाई हामी भविष्यका कर्णधार भन्छौं। तर उनीहरूलाई हेप्छौं। कसैले केही अपरिपक्व काम गर्यो भने 'कस्तो बच्चाजस्तो' भन्दै व्यंग्य गर्छौं। उनीहरूको आवाज सुन्दैनौं। घर, विद्यालय र समाजमा प्रश्न गर्न र आफूभन्दा ठूला मानिसलाई चुनौती दिन बन्देज लगाउँछौं।
केटाकेटीलाई हेर्ने हो भने उनीहरू साना-साना खुसीमा रमाउँछन्। झुटो बोल्दैनन्। खुला भएर आफ्ना भावना अभिव्यक्त गर्छन्। रून्छन्। हाँस्छन्। बेफिक्री भएर हिँड्छन्। दौडिन्छन्। लड्छन्। फेरि उठ्छन्।
बालबालिकालाई जीवनको लक्ष्यबारे सोध्ने हो भने अचम्मका कुरा गर्छन्- असल मान्छे बन्ने, कसैलाई दु:ख नदिने, भ्रष्टाचार रोक्ने, बालविवाह रोक्ने, समाज सेवा गर्ने, आफ्नो ठाउँ आफैंले बनाउने, आत्मनिर्भर बन्ने, समाज र देशलाई स्वाबलम्बी बनाउने।
आजको जमानामा हामीले खोजेको आदर्श नागरिक बालबालिकाले सोचेजस्तै हो।
दु:खको कुरा, उमेर बढ्दै जाँदा र कक्षा चढ्दै जाँदा बालबालिकाको मनको स्वच्छता विस्तारै हराउँदै जान्छ। शिक्षा पाएपछि उनीहरूको शरीर र मस्तिष्कको स्वच्छता बढ्दै जानुपर्ने हो, तर घट्दै जान्छ। समाजमा भिजेर ठूलो हुँदै जाँदा विस्तारै उनीहरू झुटो बोल्न सुरू गर्छन्। आफ्ना भावना लुकाउन थाल्छन्। अनि शनै: शनै: समाजका विकृतिहरूको दलदलमा फस्छन्।
आफू बन्छु र देश बनाउँछु भन्दै विद्यालयको भित्तेपत्रिकामा निबन्ध र कविता लेख्ने तिनै बालबालिका ठूलो भएपछि भ्रष्टाचार गर्न सुरू गर्छन्। अपराधमा लाग्छन्। आफ्नो काममा गैर-जिम्मेवार देखिन्छन्। वादविवाद प्रतियोगितामा तर्कका आधारमा पक्ष र विपक्षमा बोल्ने बालबालिका ठूला भएपछि स्वार्थ र लहैलहैका आधारमा कुनै गुट वा समूहको पछि लाग्न थाल्छन्।
यसको अर्थ हो, आज हामीले घर, विद्यालय र समाजमा केटाकेटी जसरी हुर्काइरहेका छौं, त्यो तरिका परिवर्तन हुनु आवश्यक छ। हालको अवस्थामा क्रमभंगता नहुने हो भने भोलि देश चलाउने विभिन्न ओहोदाका पात्र पनि आजभन्दा फरक हुने छैनन्। अनि आज जस्तो छ, भोलिको सडक, सदन, सरकार र समाज पनि त्यस्तै हुनेछ। भोलि पनि आज जस्तै लोकतन्त्रकै लागि लडिरहनुपर्ने छ।
काडमाडौं, वाफलको ज्ञानोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा धेरै ठाउँमा एउटा अनुभव सुनाउँछन्। विद्यालयका प्रधानाध्यापक भएलगत्तै उनको विद्यालयले एसएलसीमा उत्कृष्ट नतिजा ल्याएछ। मानिसहरूले उनको प्रशंसा गरेछन्। तर उनी भन्छन्, 'यो नतिजा म प्रधानाध्यापक भएर आएको होइन। विद्यालयमा यो ब्याच नर्सरीमा हुँदादेखि हामीले नयाँ अभ्यास थालेका थियौं। मिहिनेत बढी गरेका थियौं। त्यसैको प्रतिफल हो।'
एउटा विद्यालय बनाउन नर्सरीदेखि सुरू गर्नु परेजस्तै देश बनाउन र लोकतन्त्र जोगाउन विद्यालय र बालबालिकाको शिक्षा र हुर्काइबाट सुरू गर्नुपर्छ।
बालबालिकाको शिक्षा र हुर्काइको दायित्व शिक्षकको मात्र होइन। हो, शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ। पाठ्यक्रमको बोध गराउने, केही सीप, ज्ञान र चरित्र सिकाउने भूमिका शिक्षककै हो। तर शिक्षक मात्र लागेर हुँदैन।
एउटा विद्यार्थी शिक्षकको नजिक त दिनको ६ घन्टा हुन्छ। बाँकी समय ऊ परिवार, साथी, समुदायका मानिस र मिडियासँग हुन्छ। उसले अरूले गरेको व्यवहार हेर्छ, सुन्छ, अन्वेषण गर्छ। सोहीअनुसार आफू पनि गर्न खोज्छ।
एउटा अफ्रिकी उखान छ, 'एउटा बच्चा हुर्काउन एउटा सिंगै गाउँ लाग्नुपर्छ।'
सुरूमा त संसद र सरकारले केटाकेटीको सर्वांगीण विकासलाई प्राथमिकतामा राख्नैपर्छ। बालबालिकालाई केन्द्रमा राखेर छलफल, योजना निर्माण र त्यसको कार्यान्वयन गर्नुपर्छ।
योसँगै देशमा समृद्धि र शान्तिको अपेक्षा गर्ने हो भने हरेक क्षेत्रका सचेत नागरिकले यो जिम्मेवारी लिनैपर्छ। बालबालिकाहरू त्यही सिक्छन्, जे हामी देखाउँछौं।
विज्ञहरू भन्छन्, बालबालिकाले हामीले उनीहरूलाई के उपदेश दियौं भन्दा पनि कस्तो व्यवहार गर्यौं, त्यसबाट सिक्छन्। व्यवहार र चरित्र पढाउने र सिकाउने कुरा होइन, देखाउने कुरा हो।
धेरै सकिँदैन भने पनि आफ्नो कर्मबाट केही कुरा सिकाउन सकिन्छ। आज समाज बनाउन रगत बगाउनुपर्छ भन्ने छैन। फेरि शहीद बन्नु नपर्ला। तर आफ्नो घर, टोल र आफ्नो सम्पर्कमा आउने बालबालिकाका अगाडि इमानदार भएर सत्कर्म मात्र प्रदर्शन गर्न सकियो भने समाजको भलो हुनेछ।
के हामी जिम्मेवारीबोध सिकाउन सक्छौं?
विद्यालयमा विद्यार्थीहरूले घोक्नुपर्छ, आफ्नो कामको जिम्मेवारी आफैंले लिनुपर्छ भनेर सिकाउँछौं। उनीहरूले त्यो कुरा रट्छन्, परीक्षामा अंक पनि ल्याउँछन्। तर, समाजमा कसैले यो अभ्यास गरेको देखेनन् भने व्यवहारमा उतार्न सक्दैनन्। कुनै कामको जिम्मेवारी लिइसकेपछि त्यसको सफलता मात्र होइन, असफलताको पनि भागिदार आफैं हो। विभिन्न बहानाहरूबाट भाग्न पाइँदैन।
तर, मिडियाहरूमा एकले अर्कालाई दोष थोपरेको समाचार धेरै नै आउँछन्। समाजको अग्रभागमा देखिने मानिसले जिम्मेवारीबोधको अभ्यास नगर्दा त्यसले केटाकेटीको मनस्थितिमा नकारात्मक प्रभाव पार्छ। परीक्षामा जवाफ लेखेर उत्कृष्ट अंक आए पनि उनीहरूले गैर-जिम्मेवार बन्न सिकिरहेका हुन्छन्।
के हामी इमानदारिता सिकाउन सक्छौं?
हालचालै संसद पुनःस्थापना हुनुअगाडि एउटा समाचार आएको थियो- मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान।
उक्त समाचारका अनुसार धेरै मन्त्रीहरू निर्वाचन तयारीका लागि देश दौडाहामा थिए। हुन त यो हाम्रो देशको लागि साधारण घटना हो। जुनसुकै राजनीतिक दलको भए पनि प्रधानमन्त्री र मन्त्रीहरू सरकारको काम छाडेर आफ्नो दलगत काममा सक्रिय सहभागी भएका बग्रेल्ती उदाहरण छन्।
तर बालबालिकाले पाउने शिक्षाको नजरले हेर्ने हो भने यो निकै घातक छ। यस्ता घटनाबाट हामी नयाँ पुस्तालाई समेत गैर-इमानदारिता र स्वेच्छाचारिता सिकाइरहेका छौं।
के हामी लोकतान्त्रिक चेतना सिकाउन सक्छौं?
हामीले कर्मले भन्दा पनि पदले सम्मानित हुने समाज बनाएका छौं। भोट दिएर जिताएको आफ्नै प्रतिनिधिलाई पनि माननीय र सम्माननीय भन्नुपर्छ। हेलिकप्टर वा गाडी चढेर आउनेलाई सजाएको मञ्चमा राख्छौं, आरामदायक सोफा वा कुर्सीमा राख्छौं। खादा र माला लगाइदिन्छौं। फाँट र पहाडमा हिँडेर आएका बुढाबुढी र केटाकेटीलाई घाम वा चिसोमा घन्टौं कुराएर भए पनि उनीहरूलाई पर्खिन्छौं। उनीहरूको सम्मानमा अनेकन विशेषण दिन्छौं। रिबन काट्न उनीहरूलाई नै दिन्छौं। मञ्चमा गएर बोल्न पनि उनीहरूलाई नै दिन्छौं। पुरस्कार उनीहरूकै हातबाट दिन लगाउछौं।
यो देखेर बालबालिकाले सिकिरहेछन्- जातव्यवस्था जस्तै पद र सत्ताको आधारमा पनि मानिस ठूलो सानो हुने रहेछ। लोकतन्त्र त 'सामाजिक शिक्षा' किताबको पाठमा मात्र रहेछ। बाहिर समाजमा त अझै राणाशासन र पञ्चायत नै रहेछ।
माथिका केही उदाहरण मात्र हुन्। जिज्ञासु बालबालिकाले हरेक क्षण आफूभन्दा ठूलालाई चिहाइरहेका हुन्छन्- भान्छा र आँगनमा, चौतारा र चौरमा, पत्रपत्रिका र टेलिभिजनमा, फेसबुक र टिकटकमा। उनीहरूकै नक्कल गरिरहेका हुन्छन्।
यी सबै पारिवारिक र सार्वजनिक ठाउँमा बालबालिकालाई यस्तो अनुभूति होस्, उनीहरूका अग्रजले उनीहरूलाई माया गरिरहेका छन्। ख्याल राखिरहेका छन्। वयस्कलाई जस्तै समान व्यवहार गरिरहेका छन्।
उनीहरूलाई यस्तो लागोस्, उनीहरूका लागि स्वच्छन्द भएर खेल्ने ठाउँ छ, हाँस्ने र रूने ठाउँ छ, नाच्ने र गाउने ठाउँ छ, जुनसुकै पृष्ठभूमिको भए पनि पूर्वाग्रहमुक्त भएर उनीहरूलाई बुझ्ने ठाउँ छ।
यी सबै स्थानमा उनीहरूले आफ्ना अग्रजको कर्मबाट सिकून् कि लोकतन्त्र, जिम्मेवारीबोध, नेतृत्व, इमानदारिता कस्तो देखिन्छ भनेर।
बिरुवाको टुप्पोमा पानी हालेर केही हुँदैन। पानी त जराले छुने गरी हाल्नुपर्छ। देशलाई अग्रगमनको बाटोमा अगाडि बढाउन पनि जरा छोएर हेरौं, केटाकेटीलाई महसुस गरेर उनीहरूमाथि लगानी गर्दै सुरू गरौं।
(लेखक विजयमणि पौडेल किङ्स कलेजका सामुदायिक केन्द्र प्रमुख र टिच फर नेपालमा पूर्व प्रज्ञार्थी हुन्।)
ट्विटरः @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढन् यहाँ क्लिक गर्नुस्)