एकपटक कक्षा आठमा पढ्ने विद्यार्थीहरूलाई एउटा अभ्यास दिएको थिएँ- आफ्नो गाउँलाई आफैंले डिजाइन गर्न पायौ भने कसरी गर्छौ?
उनीहरूले समूहमा छलफल गरे र एउटा चित्र तयार पारे। त्यो चित्रमा बाटो थियो। ठूला-ठूला भवनहरू थिए। सपिङ मल र मार्टहरू थिए। अग्ला-अग्ला भवन भएका अस्पताल र विद्यालयहरू थिए।
सबै बीच एउटा दृश्यले म अचम्मित भएँ। सडकमा गाडीहरूको अस्तव्यस्त जाम पनि थियो।
चित्रमा गाउँको बीचमा भएको चौतारो हटाइएको थियो। डाँडामा भएका केही रूखहरू काटेर सम्याइएको थियो।
विकासलाई हेर्ने विद्यार्थीहरूको दृष्टिकोण देखेर अचम्म लाग्यो। बोटबिरूवाले अक्सिजन दिन्छन् भनेर मैले कक्षामा उनीहरूलाई सिकाएको थिएँ। स्टोमाटा, क्लोरोफिल र माइटोकोन्ड्रियाको कुरा गरेको थिएँ। प्रकाश संश्लेषण प्रक्रिया बुझाएको थिएँ।
म स्तब्ध भएँ, मैले विज्ञान त पढाएँ तर यो प्रक्रियामा विद्यार्थीले पाएको ज्ञान र समाजको सम्बन्ध टुटेछ। प्रकृति र मानिसबीचको अन्तरसम्बन्धको व्यावहारिक पक्ष छुटेछ।
हुन पनि हो, हामीले 'विकास' लाई 'सहर' को पर्यायका रूपमा बुझाएछौं। हामीले नजिकका कुरा नजरअन्दाज गरेर टाढाका कुरा हेर्न लगाएछौं।
आफ्नो विषयको पाठ्यक्रम र पाठ्यपुस्तक नियालेर हेर्न थालेँ। म सन् १६६६ मा न्युटनले चकित परेर हेरेको स्याउको कुरा सुनाइरहेको थिएँ। भूपरिवेष्ठित देशमा बसेर समुद्रमा ज्वारभाटा आउने कारण व्याख्या गर्दै थिएँ। चन्द्रमाको आकाश किन कालो देखिन्छ भनेर बुझाइरहेको थिएँ।
गाउँमा पानीको अभाव थियो तर यो विषय कक्षाकोठामा कहिल्यै प्रवेश भएन। प्रत्यक्ष पानीको स्रोत नभएको ठाउँमा पानी कसरी ल्याउने वा बचाउने विषयको चिन्तनमा विद्यार्थीहरूको सहभागिता भएन।
सन् १८३१ मा माइकल फाराडेले प्रतिपादन गरेको मोटर इफेक्टको पढाइ भयो तर बेँसीमा वर्षैभरि चल्ने घट्टबारे कुनै छलफल भएन। चार्ल्स डार्विनका सिद्धान्तको सेरोफेरोमा डायनासोर कसरी हरायो भनेर इतिवृत्त सुनाएँ तर नजिकैको खानीखोलामा हराउँदै गरेका माछा कसरी जोगाउन सकिन्छ भनेर चर्चा भएन।
विभिन्न मानिसका अनुभवहरू सुन्दा थाहा हुन्छ, विश्वको ज्ञानबाट पनि टाढा भाग्न मिल्दैन। यसले मानिसमा जिज्ञासा बढाउँछ र खुला तरिकाले सोच्ने बनाउँछ। अरू जाति र प्राणीप्रति समानुभूति बढाउँछ।
तर, हामीले बाहिरी ज्ञानको चक्करमा आफ्नै घर र समाजको कुरा छुटाएछौं। घर र समाजबाट विद्यार्थीलाई टाढा राखेछौं। 'ठूला' भनिएका र प्रसिद्धि कमाएका मानिसको जीवनी सिकाउने क्रममा आफ्नै परिवार र समाजका मानिसले गर्ने कर्म पनि सम्मानित छ भनेर सिकाउन छुटाएछौं।
एउटा शिक्षकका रूपमा मैले गरेको ठूलो गल्ती थियो, आफ्नो परिवार र समाजप्रति हिन भावना उत्पन्न गराउने। विद्यालयमा हुँदा पढ्न अल्छी गरेका बेला शिक्षक र अग्रजले गाली गर्थे, 'आज पढेनौ भने आफ्नो आमाबाबुको जस्तै हालत होला। यही गाउँमै सडेर बस्नु पर्ला।'
परीक्षामा कम अंक ल्याउने साथीले त झन् योभन्दा निकृष्ट तहको गाली खानुपर्थ्यो।
आफू शिक्षक हुँदा मैले त्यही गल्ती दोहोर्याको थिएँ। आज फर्केर हेर्दा लाग्छ, विद्यार्थीको परिवार र समाजलाई अपमानित गरेर मैले अक्षम्य अपराध गरेको थिएँ।
जानी-नजानी मैले विद्यार्थीलाई सिकाइरहेको थिएँ, कोदालो र हलो छाडेर कलम समाउनुपर्छ। शारीरिकभन्दा मानसिक श्रम ठूलो हो। तिमीहरूको आमाबाबुले बाँचिरहेको जीवन उत्कृष्ट होइन। तिमीहरूको गाउँ विकासका मामिलामा धेरै पछि परेको छ।
हरेक परिवार र समाजका आफ्नै सामर्थ्य र चुनौती हुन्छन्। आफ्नै विगत र वर्तमान हुन्छन्। आफ्नै प्रकारका स्रोत, साधन र आवश्यकता हुन्छन्। दैनिक जीवनमा विद्यार्थीहरू उक्त वास्तविकतासँगै बाँचिरहेका हुन्छन्।
तर, विद्यार्थीको वास्तविकताको छलफल र चिन्तन हुने 'स्पेस' मेरो कक्षाकोठामा थिएन। कक्षाकोठा र समाजबीच एउटा गहिरो खाडल थियो।
एकपटक मेरा भान्जा विद्यालयबाट घरमा आए। दिदीले उनलाई घर नजिकैको चौतारो बढार्न भन्नुभयो।
'फुर्सद छैन' भन्दै भान्जाले जवाफ दिए, 'टन्नै होमवर्क छ।'
यो त एउटा उदाहरण मात्र हो, विद्यार्थीहरू घोक्ने र लेख्ने गृहकार्यको चक्करमा यसरी अल्झिन्छन्, सामाजिक र पारिवारिक जिम्मेवारीबाट पनि उनीहरू टाढिन्छन्।
अध्ययन सकेपछि विद्यार्थीहरू फर्किने कुनै समाजमा नै हो। त्यो समाज आफू जन्मेर-हुर्केको हुन सक्छ वा बसाइ सरेर पुगेको स्वदेश वा विदेशको हुन सक्छ। तर, पढुन्जेल उनीहरू समाजबाट टाढा हुन्छन्। आजको दिनमा स्नातक पास गर्न १८-१९ वर्ष लाग्छ। यति धेरै वर्ष उनीहरू परिवार र समाज आफ्नो नै होइन जसरी कक्षाकोठाको चार भित्ताभित्र कैद हुन्छन्। उनीहरू शब्द, अंक, सूत्र र सिद्धान्तमै सीमित हुन्छन्।
करिब दुई दशक विद्यालय र कलेजमा बिताएर पेसागत दुनियाँमा प्रवेश गर्दैगर्दा बल्ल उनीहरू झल्याँस्स हुन्छन्- समाज त किताबमा पढेजस्तो सजिलो छैन। स्कुल-कलेजमा विभिन्न विषय र संकाय छुट्टिएजस्तो समस्याको समाधान छुट्याउन सजिलो छैन।
त्यसपछि धेरै युवायुवती विचलित हुन थाल्छन्।
उद्यमशीलता पढाउने एक उप-प्राध्यापकले व्यंग्यात्मक शैलीमा भनेका थिए, 'नेपालको शिक्षाको लक्ष्य त पूरा भएको छ। हाम्रो शिक्षाले सबैलाई गफ हान्न सिकाएको छ। गफ त सबैले हानेकै छन् नि!'
उनले इंगित गर्न खोजेको कुरा हो, हामीले लेख्न, व्याख्या गर्न, विश्लेषण गर्न, विचार राख्न सिकाएका छौं। पढे-लेखेका सबैले त्यो त गरेकै छन् नि। हामीले मेहनतका साथ काम गर्न सकिरहेका छैनौं। आफ्नै समाजसँग नजिक छैनौं। विश्व दृष्टिकोण लिएर स्थानीय समस्याको समाधान खोज्न सकिरहेका छैनौं। किनकि हामीले त्यो सिकाएकै छैनौं।
देशमा समृद्धि अपेक्षा गर्ने हो भने अबको शिक्षा सिद्धान्तको रटानबाट माथि उठ्नु जरूरी छ। विद्यार्थीको दुई दशकको उर्वर र सिर्जनशील समयमा उनीहरूलाई विश्वसँगसँगै आफ्नो समाजमा अन्तरघुलन हुने अवसर सिर्जना गर्नु आवश्यक छ।
कतिपय शिक्षकले समाजका ज्ञानहरू कक्षाकोठामा उतार्ने प्रयास गरेका छन्- समुदायबाट नै विभिन्न स्रोत व्यक्ति कक्षाकोठामा ल्याउने, समुदायकै विज्ञान र प्रविधि सिकाउने, समुदायमै भएका उद्योग र उद्यमशीलताका प्रयासलाई विषय बनाउने।
शिक्षकसँगै शैक्षिक संस्थाहरू र समाज जोडिनु आवश्यक छ। समाज र शैक्षिक संस्थाहरूले एकअर्काबाट सिक्नु जरूरी छ।
अब हामीले विद्यालय र कलेजहरूलाई त्यो दिशामा लैजानु छ, जुन समाजको वास्तविकतामा आधारित होस्। जहाँ समाजका स्रोत, साधन र चुनौतीबारे मन्थन होस्। मन्थनबाट निकास खोज्ने प्रक्रिया होस्। पाठ्य विषय समाजका आवश्यकतामा आधारित होस्। समाजले पनि शैक्षिक संस्थाबाट निकालिएको ज्ञान प्रयोग गरोस्। समाजका कति समस्याको समाधान निकाल्न शैक्षिक संस्था र सम्बन्धित निकायबीच सहकार्य होस्।
पुरानै ढाँचामा जाने हो भने हामी विद्यालय र विश्वविद्यालयबाट भुत्ते, अल्छी, समाज नचिनेको र काम नलाग्ने मानिस मात्र उत्पादन गरिरहने छौं।
(लेखक विजयमणि पौडेल किङ्स कलेजका सामुदायिक केन्द्र प्रमुख र टिच फर नेपालमा पूर्व प्रज्ञार्थी हुन्।)
ट्विटरः @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)