बाघको आक्रमणबाट जीवन गुमाउने सबैप्रति श्रद्धाञ्जलि।
निगुरो टिप्न जाँदा बर्दिया, मधुवा नगरपालिका-५, नौ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको बाघले ज्यान लियो। गत जेठ १७ गते सोमबार बेलुकी क्षेत्रीलाई नेपाल-भारत सीमावर्ती जंगलमा बाघले आक्रमण गरेको थियो। क्षेत्रीको घटनास्थलमै मृत्यु भएको थियो भने निगुरो टिप्न गएका अरू दस महिलाले भागेर ज्यान बचाएका थिए।
२०७७ चैत २२ गते आइतबार। वन तथा वातावरण मन्त्रालयका पदाधिकारीसहित हामी बर्दिया राष्ट्रिय निकुञ्जमा थियौं। निकुञ्ज र मध्यवर्ति क्षेत्रमा बाघको आक्रमण धेरै भएको र त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर हामीबीच लामो छलफल चल्यो। त्यही दिन साँझ नेपालगञ्जबाट काठमाडौं उडान भर्न ठिक्क परेको हाम्रो भ्रमण दलले बाघ आक्रमणको अर्को अत्यासलाग्दो घटना सुन्नुपर्यो।
निकुञ्जमा कार्यरत हात्तीका पछुवा पुलिसराम थारूलाई बाघले आक्रमण गर्यो। राष्ट्रिय गैंडा गणना कार्यक्रममा सहभागी भइरहेको अवस्थामा थारूलाई बाघले आक्रमण गर्दा उनले ज्यान गुमाए।
त्यस्तै कैलालीकी ५० वर्षिया नन्दकली थापाको बाघसँग द्वन्द्व गर्दागर्दै मृत्यु भयो। छोरासँग मोटरसाइकलमा बर्दिया राष्ट्रिय निकुञ्जको आमबासादेखि कर्णाली चिसापानी जाँदै गर्दा उनलाई बाघले आक्रमण गरेको थियो।
बाघ आक्रमणबाट मानिसको मृत्युको सिलसिला यति मात्र होइन। बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र र खाता जैविकमार्ग वरपर यो वर्ष सिलसिलावद्ध मानिस–बाघ द्वन्द्वका केही गम्भीर घटना भए। यसबाट हामीले नराम्ररी मानव क्षति बेहोर्नुपर्यो।
मानिस–बाघ द्वन्द्वको सबभन्दा प्रभावित जिल्ला बर्दिया हुन पुगेको छ। यति ठूलो संख्यामा बाघले मानिसलाई आक्रमण गरेको यसअघि कहिल्यै थिएन। यी सबै घटना कोरोना महामारीयता नै भएका हुन्। महामारी सुरू भएपछि मानिसहरूको बाहिरी काम बन्द भयो, निगुरो टिप्न या माछा मार्न जंगल पस्दा अधिकांश घटना भएको देखिन्छ।
बाघले गत साउनयता एक दर्जनको ज्यान लियो। बर्दियामा मात्र ११ र कैलालीमा एक जनाको मृत्यु भएपछि मानिस र बाघ द्वन्द्वको विषय यतिबेला राष्ट्रिय बहसको विषय बनेको हो। हामी चाहन्छौं, यी नै अन्तिम घटना हुन्। आमनागरिकले सचेतना अपनाउनुपर्छ। जिम्मेवार निकायहरूले गम्भीरताका साथ विश्लेषण गरेर नयाँ रणनीति बनाउनु पर्ने बेला भएको छ।
हाम्रो प्रकृतिको सुन्दर उपहार बाघ हेर्दा जति आकर्षक छ, त्यति नै हिंस्रक। त्यसैले केही समययता मानिस–बाघ द्वन्द्वको क्रममा बाघप्रतिको रिसइवीका कारण बाघ आक्रमण गर्ने र मार्ने घटना पनि सार्वजनिक भए। यसप्रति पनि हाम्रो चिन्ता छ।
बाँकेको गोकुल सामुदायिक वनमा गत जेठ २ गते दस वर्षको वयस्क भाले पाटे बाघ मृत फेला पर्यो। त्यो क्षेत्रमा घरपालुवा जनावर खान पल्केर आउने बाघको स्वाभाव थाहा पाएका स्थानीयले आक्रमणबाट आफू र अरू जनावर जोगाउन जनावरमा विष मिसाइदिएको अनुमान छ। बाघ धेरैअगाडि मरेकाले त्यसबारे जिम्मेवार संस्थालाई यकिन गर्न गाह्रो भएको छ।
सिलसिलाबद्ध मानव–बाघ द्वन्द्व बढिरहेका बेला जिम्मेवार निकाय सबैलाई यो द्वन्द्वको तत्काल समाधान गर्नु पर्ने जिम्मेवारी महशुस भइरहेको छ। बाघ लगायत वन्यजन्तु संरक्षण क्षेत्रमा झन्डै चार दशकदेखि काम गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघलगायत वन्यजन्तु संरक्षण र अनुसन्धान आफ्ना प्रमुख काममध्ये एक महत्वपूर्ण ठान्छ।
कोषको कार्यकारी प्रमुखका हैसियतले कोषले त्यसरी नै काम गरिरहेको जानकारी गराउँछु। साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बाघ लगायत वन्यजन्तुको अनुसन्धानमा कोषले सघाउँदै आएको छ। देशभर बाघ पाइने क्षेत्रमा सयौं क्यामरा राखेर एकातिर बाघको 'मनिटरिङ' गरिँदैछ भने अर्कोतिर वन्यजन्तुका शिकारीको ‘निगरानी’ पनि भइरहेको छ।
त्यसै सिलसिलामा राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, देवीदत्त गण र नेपाल प्रहरीको संयुक्त प्रयासमा विभिन्न मितिमा बर्दियाको विभिन्न स्थानबाट मान्छे खान पल्केका चार बाघलाई नियन्त्रणमा लिइएको छ। त्यस्तै २०७७ चैत २२ गते निकुञ्जका कर्मचारी पुलिसराम थारूलाई मार्ने बाघलाई त्यसैदिन बेलुका समातियो। बाघलाई हाल कोषको व्यवस्थापनमा रहेको सदरचिडियाखानामा राखिएको छ। यो त भयो, अस्थायी व्यवस्थापन, अस्थायी समाधान।
बाघले हाम्रो मानव जीवनमा नराम्ररी क्षति पुर्याइरहेकाले स्थायी समाधानतर्फ र गहिरो अध्ययन तथा समाधानका पाइला चाल्न जरूरी देखिएको छ।
बाघ संरक्षणमा सरकारले उच्च प्रतिबद्धतासाथ काम गरिरहेको छ। सन् २०१० मा रूसको पिटसवर्गमा भएको विश्व बाघ सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए। सम्मेलनमा नेपालले सन् २०२२ सम्म आफ्नो देशमा बाघको संख्या दोब्बर (दुई सय पचास) पार्ने प्रतिबद्धता व्यक्त गरेको थियो। त्यतिबेला नेपालमा १ सय २१ वटा बाघ थिए। सरकारको संरक्षण अभियानकै कारण पछिल्ला दस वर्षमा नेपालमा एक सय ३५ भन्दा बढी बाघ थपिएका छन्।
संख्या दोब्बर पार्न बाघलाई चाहिने बासस्थान र आहार पाइने क्षेत्र बढाउनुपर्ने थियो। त्यो भनेको बाघको आहारा प्रजाति बढाउने घना वन विकास गर्नु हो। सरकारले त्यसका लागि बाँकेमा नयाँ राष्ट्रिय निकुञ्ज स्थापना र पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल विस्तार गर्यो। बासस्थान र आहारासँगै बाघको अवैध शिकार र चोरी निकासी पनि रोक्नुपर्थ्यो। यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत वन्यजन्तु अपराध नियन्त्रण ब्युरो बनाइयो। सरकारले राष्ट्रिय बाघ संरक्षण समिति बनाएर पनि काम गरिरहेको छ। यसरी एकातिर बासस्थान र आहारा थपियो, अर्कातिर चोरी-निकासी नियन्त्रण भएकाले नेपालले बाघको संख्या दोब्बर पार्ने लक्ष्य भेट्टाउन लागेको छ।
सन् २०२१, नोभेम्बरबाट बाघ गणनाको औपचारिक काम सुरू हुँदैछ। सन् २०१८ को गणनाअनुसार नेपालमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी बाघ संख्या २ सय ३५ थियो। पछिल्ला तीन वर्षमा यो संख्या बढेको हुन सक्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको पहलमा विगत दस वर्षदेखि निरन्तर अध्ययन, अनुसन्धान र निगरानी भइरहेको छ। सेना र प्रहरीले पनि प्रभावकारी काम गरिरहेका छन्। अझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमार्फत वन्यजन्तुको अवैध व्यापार नियन्त्रणमा प्रभावकारी काम भइरहेको छ। यसमा राष्ट्रिय अनुसन्धान विभागको समेत सक्रियता प्रभावकारी छ।
त्यसो भए बाघ संख्या बढेकै कारण मान्छे मार्ने सिलसिला बढेको हो त?
पछिल्लो समय बाघ र मानिसबीच द्वन्द्व बढ्नुमा बाघको आपसी सम्बन्ध र मानिससँगको सम्बन्ध नै प्रमुख कारण हुन सक्ने विज्ञहरूको धारणा छ। नेपालमा पाइने पाटेबाघ जंगलको मुख्य शिकारी हो। तर बाघले सामान्य अवस्थामा मानिसलाई आक्रमण गरिहाल्दैन।
हेर्दा निकै डरलाग्दो देखिए पनि बाघ प्राकृतिक हिसाबले निकै लजालु स्वभावको हुन्छ। मानिससँग सकभर सम्पर्कमा आउन चाहँदैन। टाढैबाट देखादेख भइहाले पनि लुक्ने बाघको प्राकृतिक स्वभाव हो। अहिले बाघ आफ्नो स्वभाव विपरित मानिसमाथि आक्रमण गरिरहेको छ। यसबारे वृहत अनुसन्धान हुनुपर्ने देखिन्छ। व्यवहारिक अनुसन्धानबाट मानिस–बाघ द्वन्द्वको निरूपण गर्नुपर्छ।
हामी सबैलाई थाहा छ, बाघ जंगलमा आफ्नो क्षेत्र बनाएर बस्छ। सामान्य अवस्थामा एउटा पोथी बाघले २५–३० किलोमिटरमा आफ्नो क्षेत्र बनाउँछ भने भाले बाघको क्षेत्र ४० देखि १०० किलोमिटरसम्म हुन सक्छ। आफू अधिनस्थ क्षेत्र बनाउन पोथीभन्दा भाले बाघ निकै संवेदनशील र जुझारू हुन्छ।
भाले बाघले आफ्नो क्षेत्रमा चार–पाँच वटासम्म पोथी बाघ राखेको अध्ययनहरूले देखाएका छन्। तर आफ्नो क्षेत्रमा अर्को भाले बाघ आएको सहनै सक्दैन। दिसा–पिसाब, गन्ध लगायत अन्य विभिन्न संकेतको माध्यमबाट बाघले आफ्नो क्षेत्र बनाएका हुन्छन्। अरू आएको पनि त्यही माध्यमबाट थाहा पाउँछन्।
उनीहरू आफ्नो मुख्य क्षेत्रमा अरूलाई छिर्नै दिँदैनन्। नयाँ बाघलाई पुरानाले ठाउँ नदिएको वा धेरै बूढो भएपछि तन्नेरीले लखेटेको पनि हुन सक्छ। यस्तो बेला कमजोर बाघले घना जंगलभन्दा टाढा आहारा नपाउने क्षेत्रमा जानुपर्ने हुन्छ। हो, त्यही बेला आहारा खोजी क्रममा बाघले मान्छे आक्रमण गर्ने र घरपालुवा जनावरको शिकार गर्ने। यस्ता बाघ बस्ती नजिक आइपुग्ने र मानिसलाई देखे आक्रमण गर्न सक्छन्।
पछिल्लो अध्ययनबाट हाल ९६८ किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले ८७ वटा बाघ छन् भन्ने देखिएको छ। अक्सर सबै बाघको क्यामरा ट्यापिङबाट निगरानी र अनुसन्धान भइरहेको छ। एउटा वयस्क बाघले एकपटकमा चालीस किलोसम्म मासु खान सक्छ। खान नसकेको मासु उसले पछिका लागि लुकाएर राख्छ।
बाघलाई मानव बस्ती वरपर मासु जोहो गर्न सजिलो हुँदैन। बाघको मनपर्ने आहारा मृग, जरायो, बँदेल, निलगाई, गौरीगाईजस्ता जनावर हुन्। बाघ संख्या बढेसँगै उसको आहारा मात्रा पनि बढिरहेको छ। यी जनावरको शिकार गर्न बाघले निकै समय र शक्ति खर्च गर्नुपर्छ।
बाघ–मानिस द्वन्द्व बढ्नुको अर्को प्रमुख कारण बाघको बासस्थानमै मानिस जानु हो। मान्छेलाई आक्रमण गर्नु बाघलाई सहज भएर र आफनो शिकार ठानेर पनि हुन सक्ने देखिन्छ। यही क्रममा मानिस खान पल्किँदै गएपछि उसले पटकपटक आक्रमण गरिरहेको देखिएको छ।
अर्को कुरा भाले बाघसँग झगडा परेको वा पोथी बाघसँग संसर्ग भइरहेका बेला मानिस नजिक परे बाघले आक्रमण गरेको हुन सक्छ। साथै पोथी बाघले नजिकै आएको मानिसबाट आफ्ना बच्चा असुरक्षित छन् भन्ने ठानेर पनि आक्रमण गर्ने गरेको अनुसन्धानबाट देखिएको छ। समग्रमा बाघ संख्या बढेसँगै मानिसमा संवेदनशीलता नभएकाले पनि घटना भएको देखिन्छ।
बाघ–मान्छेबीच द्वन्द्व कसरी घटाउने ?
प्रमुख कुरा के भने मानिसले बाघको बासस्थान र उसको क्षेत्रमा जानै भएन। बाघको संवेदनशीलता मानिसले बुझ्नैपर्छ। राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको अहिले ठाउँ–ठाउँमा क्यामरा राखेर बाघको आवतजावतबारे निगरानी गरिरहेका छन्। यसबारे बाघको आवातजावतबारे विस्तृतमा जानकारी प्राप्त भइरहेको छ।
बाघ देखिने ठाउँमा यहाँ नजानुहोला भनेर सूचना टाँस्ने काम भएको छ। तर नजानू भने पनि जुन जंगलमा बाघ बस्छन्, त्यहीँ गइदिने मानिसहरू पनि छन्।
जस्तो, बर्दियाको खाता जैविक मार्ग छेउको बस्तीका मानिस बाघकै बासस्थानमा आश्रित छन्। बाघको संवेदनशीलता बुझ्ने हो भने बर्दियाको खाता जैविक मार्गको निकट रहेको मानवबस्ती सार्न पहल गर्नुपर्ने हुन्छ।
मानिस–बाघ द्वन्द्व कम गर्न अर्को पनि काम गर्नु जरूरी छ- हाम्रा विकास पूर्वाधार वन्यजन्तुको प्राकृतिक रूपमा हुने आवतजावतमा असर नपर्ने गरी बनाउनुपर्छ। विदेशतिर जंगल क्षेत्रमा सडक बनाउनुपर्यो भने वन्यजन्तु ओहोरदोहोर हुने गरी करिडोर बनाइन्छ। हामी कहाँ पनि त्यसै गरे वन्यजन्तुको संरक्षण हुने देखिन्छ।
मानिसले जीविकोपार्जनका लागि जैविक क्षेत्रको भर पर्दा र बाघले पनि जीवनयापन क्रममा मानिसको आधार क्षेत्रमा प्रवेश गर्दा मानव–बाघ द्वन्द्व बढिरहेको देखिन्छ। मानिसको जीवन बचाउनै पर्नेछ। अर्कोतर्फ लोपोन्मुख बाघ संरक्षण गर्नु पनि हाम्रो कर्तव्य हो। मानव–बाघ द्वन्द्व कम गरी दुवैको संरक्षण हुने गरी प्रभावकारी कार्यक्रम ल्याउनु जरूरी छ। यसबाट मात्र मानव–बाघ दुवैको सहअस्तित्व कायम हुने देखिन्छ।
(लेखक अधिकारी राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव तथा बाघ संरक्षण समितिका सदस्य हुन्।)