धादिङलाई विभिन्न कोणबाट चिनाउने ९९ प्रमाण संकलन गरेर अंकबद्ध गरेको छु। यसलाई धादिङको गणितीय पहिचानभन्दा अन्यथा नहोला।
धादिङः उत्तरी हिमालयदेखि दक्षिण महाभारतसम्मै फैलिएको एक मात्र जिल्ला।
चीनको स्वशासित क्षेत्र तिब्बतलाई छुस्स मात्र छोएको अर्थात नेपालको सम्भवतः सबभन्दा कम, २ किलोमिटर अन्तर्राष्ट्रिय सिमाना भएको जिल्ला। नेपालको दोस्रो ठूलो भनिएको टार सल्यानटार रहेको जिल्ला। पहिलो ठूलो कुन हो? पत्ता लगाउँदै छु।
३ मुख्य नदीः त्रिशुली, बुढीगण्डकी र आँखु। सरकारले निशुःल्क हवाई उद्धार गर्ने व्यवस्था भएका ३ गाउँपालिकाः रुबीभ्याली, गंगाजमुना र खनियाबास।
पृथ्वी, त्रिभुवन, कालु पाँडे र पासाङ ल्हामुसहित ४ मुख्य राजमार्ग रहेका।
चलेका एफएम ५ वटा। ५ वटै जलाधार क्षेत्रमा जिल्लालाई विभाजन गरिएको।
६ जिल्लासँग सिमाना जोडिएको।
त्रिशुली नदीमाथि ७ वटा पक्की पुल एकसाथ बन्दै गरेकाः अमलटार, मासटार, घाटबेशी, गल्छी, सालटार, मलेखु र फोस्रेटारमा।
जिल्लाभर उपलब्ध आइसियु बेड ८।
९ ठाउँमा ट्राफिक प्रहरी पोष्ट।
देशका नयाँ १० सहरमध्ये एक - गल्छी बैरेनी यहीँ पर्ने। टेलिफोन कोड पनि १०।
देशमै धेरै, ११ गाउँपालिका भएको जिल्ला।
सरकारी स्तरबाट १२ जातका किम्बुका बिरूवा संरक्षण गरिएका।
१३ स्थानीय तह, १३ वटै अस्पताल।
रुबिभ्याली क्षेत्रमा सुनपाते सहित १४ किसिमका लालीगुँरास पाइने।
जिल्ला आवतजावत गरिने १५ मुख्य नाका।
ऐतिहासिक ठाउँ सोह्रघर रहेको। सल्यानटारमा १६ सय वर्ष पुराना ऐतिहासिक अवशेष उत्खनन् गरिएको।
जिपिएस प्रणालीजडित १७ एम्बुलेन्स।
पृथ्वी राजमार्गको मलेखुबाट १८ किलोमिटर उत्तरमा सदरमुकाम धादिङबेशी।
सल्यान, धादिङ र लामिडाँडा तीनवटा थुम मिलाएर १९ सालमा जिल्ला गठन भएको। १९ खोलाबाट बिजुली निकाली सकिएको।
सल्यानटार, विशालटार, फोस्रेटार, चुरेटार, कुरिनटार, बन्छेटार, ससाहाटार, कल्लेरीटार, पिपलटार, फिसफिसेटार, रिचोकटार, मासटार, मझिमटार, सालटार, कुमालटार, अमलटार, रिभिकटार, परेवाटार, पिल्टार र बेल्टार जस्ता कम्तीमा २० वटा टार। छिमेकी जिल्लाका २० स्थानीय तहसँग सीमा जोडिएको।
गरिबीको वर्गीकरणका आधारमा देशभरमा २१ औं स्थानमा रहेको।
बुद्धिस्ट २१ प्रतिशत।
२२ प्रतिशत तामाङ जाति।
मातृभाषा मात्रै २३ वटा बोलिने।
मध्यमस्तरका कम्तीमा २४ नदीखोला।
२५ सालमै स्थापना भएको धादिङकै पहिलो माध्यमिक विद्यालय गजुरीको आदर्श हाइस्कुल।
नौबिसेदेखि हाप्सेचौरसम्म त्रिभुवन राजपथको २६ किलोमिटर खण्ड पर्ने।
२७०४०' देखि २८०१४' उत्तरी अक्षांशसम्म तन्किएको।
जिल्लाभर रेडक्रसका उपशाखा र एग्रोभेट संख्या २९-२९।
गोर्खाको ताप्लेबाट आएर व्यापार व्यवसायमा संलग्न ३० परिवार मुस्लिम धादिङबेशीमा बसोबासरत।
क्षेत्रफलको हिसाबले ३१ औं ठूलो जिल्ला।
सदरमुकाम सुनौला बजारबाट ३२ सालमा धादिङबेशी सारिएको। दैनिक औसत ३२ हजार यात्रु पृथ्वी राजमार्ग भएर हिँड्ने।
करिब ३३ हजार करदाता करदाता सेवा कार्यालय, गल्छीमा आबद्ध।
३४ प्रतिशत मानिस रोजगारीका लागि भारत जाने गरेका।
३५ प्रकारका तरकारी उत्पादन भई बिक्री हुने गरेका।
मलेखुमा ३६ सालदेखि माछाको व्यापारले गति लिएको।
अतिरिक्त हुलाक कार्यालय ३७ वटा।
अत्यधिक सडक दुर्घटना हुने पृथ्वी हाइवे। २०७७/७८ मा मात्रै सवारी ज्यानसम्बन्धी ३८ मुद्दा दर्ता भएका।
नयाँ कानुन जारी भएपछि बहुविवाहका ३९ मुद्दा दर्ता भइसके।
सक्रिय एनजिओ ४०। जिल्लाको प्रमुख तामाङ जातिका ४० थर रहेका।
कृषि क्षेत्रमा ४१ प्रतिशत जमिन प्रयोग भएको।
सबै प्रहरी युनिट र जिल्लाभर इँटा भट्टाको संख्या ४२-४२।
४३ सालतिरबाट क्रसर व्यवसाय थालनी भएको।
टेलिकमका ४४ टावर रहेका।
धादिङ र गोर्खाको सिमानामा प्रस्तावित बुढीगण्डकी आयोजना बन्दा ४५ हजार जनसंख्या पूर्णरूपमा विस्थापित हुने। ४५ सालमा धुनिबेशीमा व्यावसायिक रेशम खेतीको सुरूआत भएको।
राष्ट्रिय कृषि गणना, २०६८ अनुसार आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने परिवार ४६.६३ प्रतिशत।
जिल्लामा ४७ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) भइसके।
जनसंख्याको ४८ प्रतिशतले प्राथमिक तह उत्तीर्ण गरेका। ४९ वटा गाईभैंसी फार्म सञ्चालनमा रहेका।
साविकमा गाविस संख्या ५०।
२०७२ सालको भूकम्पबाट सदरमुकाम धादिङबेशीमा मात्रै सरकारी कार्यालयका ५१ वटा भवनमा क्षति पुगेको।
कम्तीमा ५२ संस्थागत विद्यालय (बोर्डिङ)।
जनसंख्यामा महिलाको हिस्सा ५३ प्रतिशत।
क्षयरोगको उपचारको लागि ५४ डट्स क्लिनिकहरू।
५५ हजार घरधुरी विद्युतका ग्राहक।
संघ, प्रदेश र स्थानीय तह गरी कम्तीमा ५६ सरकारी कार्यालय।
जिल्लाभर बसोबासरत जातजाति ५७।
५८ वर्षअघि धादिङको महेशखोला र त्रिशुली नदीको दोभानबाट नेपालमै जलयात्राको सुरूआत भएको।
उपलब्ध एम्बुलेन्स ५९ वटा।
विगत तीन वर्षमा राति १२ बजेदेखि बिहान ६ बजेसम्म औसतमा ६० आपराधिक घटना भएका।
९ देखि १२ सम्म पढाइ हुने माध्यमिक विद्यालय संख्या ६१।
उत्तरमा विश्वको ६२ औं अग्लो चुचुरो गणेश हिमाल बसेको।
उज्यालोका लागि विद्युत प्रयोग गर्ने जनसंख्या ६३ प्रतिशत।
प्रथम धादिङ महोत्सव ६४ सालमा आयोजना भएको।
गरिबी निवारण कोषले नियमित कार्यक्रम ६५ सालदेखि सुरू गरेको।
स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचित पदाधिकारीमा महिला वडा सदस्यतर्फ ६६ जना आदिबासी जनजाति महिला रहेका।
नौबिसेदेखि मौवाखोलासम्म पृथ्वी राजमार्गको लम्बाइ ६७ किलोमिटर।
पछिल्लो तथ्यांक अनुसार जिल्लाभर १४ वर्षमुनिका घरमूली ६८ जना।
विनाशकारी भूकम्पबाट जिल्लामा ६९ अर्बभन्दा बढीको क्षति भएको।
७० प्रतिशत भन्दा बढी नेपाली भाषी।
धादिङेली महिला र पुरुषको औसत आयु करिब ७१ वर्ष।
७२ प्रतिशत हिन्दु।
७३ हजार ८४२ घरधुरी।
बुढीगण्डकी जलविद्युत आयोजना निर्माण हुँदा कम्तीमा ७४ वटा धार्मिकस्थल हराउने।
राजमार्ग क्षेत्रमा अव्यवस्थित ढंगले खुलेका शाखा सडक ७५। पछिल्लो स्थानीय तह निर्वाचनमा कुल मतदाताको ७५ प्रतिशतले मतदान गरेका।
७६ प्रतिशत मानिस कृषि पेसामा संलग्न।
७७ जिल्लामध्ये एक।
७८ सालमा बजार अनुगमन टोलीले ७८ दिनसम्म निरन्तर बजार अनुगमन गरेको।
हालसम्म कोभिड-१९ संक्रमणका कारण मृत्यु हुने ७९ जना।
कक्षा ८ सम्म पढाइ हुने निमावि ८० वटा।
भूकम्पपश्चात ८१ हजारभन्दा बढी लाभग्राहीले निजी आवास अनुदान पाउन सरकारसँग सम्झौता गरेका।
जिल्लामा कार्यपालिका सदस्य ८२ जना।
कम्तीमा ८३ वटा बालुवा प्रशोधन उद्योग (फिरफिरे) ले अनुमति लिई सञ्चालनमा रहेका।
पृथ्वीनारायण शाहको व्रतबन्ध भएको मैधीकोटमा रहेको कोट भैरवी मन्दिरमा गुठीको जग्गा कमाउने मोहीबाट ८४ मुरी धान व्यवस्था गर्नुपर्ने प्रचलन थियो।
८५ प्रतिशत घरहरूको पर्खाल माटोको गारोले बनेको। गृष्म ऋतुमा मात्रै ८५ प्रतिशत वर्षा हुने।
धादिङको मौवाखोलादेखि काठमाडौंसम्मको राजमार्गको लम्बाइ ८६ किलोमिटर।
८७ प्रतिशत घरको जग माटोको गारोले बनेको।
३० डिग्रीभन्दा बढी ढालयुक्त जमिन ८८ प्रतिशत।
सदरमुकाम धादिङबेशी काठमाडौंबाट ८९ किलोमिटर पश्चिममा रहेको।
पछिल्लो दुई वर्षमा झुन्रडिएर आत्महत्या गर्नेको संख्या ९०।
करिब ९१ प्रतिशतसँग आफ्नै घर भएको।
९२ हजार हेक्टर वनक्षेत्र रहेको।
तामाङ, ब्राह्मण, क्षेत्री, नेवार, मगर, गुरूङ, सार्की, चेपाङ, कामी, दमाई र घले गरी मुख्य ११ जातिले जनसंख्याको ९३ प्रतिशत हिस्सा ओगटेका।
९४ प्रतिशत जनतामा खानेपानीको पहुँच।
उत्पादित तरकारीको ९५ प्रतिशत काठमाडौं निर्यात हुने।
झन्डै बराबर क्षेत्रफल भएका दुई स्थानीय तहः थाक्रे गाउँपालिका र धुनिबेशी नगरपालिका, क्रमशः ९६.४ र ९६.३ वर्ग किलोमिटर। नेपालकै उत्कृष्ट मानिने जोगिमारामा पाइने चुनढुंगामा ९६ प्रतिशत क्याल्सियम कार्बोनेट रहेको।
कम्तीमा ९७ वटा मुख्य बजार केन्द्र रहेका।
सस्पेन्सन टावर नभएका ९८ वटा झोलुंगे पुल।
२०६८ को जनगणना अनुसार ९९ जना लिम्बू जातिका रहेका।
अन्त्यमा, जिल्लामा काम गर्ने क्रममा देखे भोगेका र विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त तथ्यांक यी परिचयका स्रोत रहेको बेहोरा अवगत गराउँदै थप रोचक सूचना तथा जानकारी पाएँ आगामी लेखमा पस्किने वाचासहित निजामती सेवा दिवस-२०७८ को शुभकामना !
(उपाध्याय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)