मंसिर छिप्पिँदै जाँदा देशभरि तापक्रमको पारो झरिरहेको भए पनि सत्तारूढ नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढिरहेको छ। वडा, पालिका, क्षेत्र र जिल्ला अधिवेशन सकिएका छन्, सात प्रदेशका अधिवेशन जारी छन्। अर्को साता काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन सुरू हुँदैछ।
कांग्रेसको इतिहास हेर्दा हरेक महाधिवेशनले कुनै न कुनै ऐतिहासिक वैचारिक कुराहरूमा आफ्नो मत स्पष्ट गरेका छन्, मुलुकलाई निर्देशित गर्ने प्रयास गरेका छन्।
अहिले हुन गइरहेको महाधिवेशन भने त्यो बिरासत छोड्नेतिर अघि बढेको छ। वैचारिक विषयलाई थाँती राखेर यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रीत गर्ने भनिएको छ। त्यो आफैंमा बिडम्बनापूर्ण कुरा हो। संविधान जारी भएपछि पहिलो पटक संघीयताअनुरूपका संरचना बनाएर कांग्रेसले आफ्नो अधिवेशन गर्दै छ। त्यसरी चुनिएको नेतृत्वले संघीयता कार्यन्वयनमा देखिएका चुनौती कसरी चिर्छ भन्ने वैचारिक स्पष्टता ऊसँग छैन।
वैचारिक स्पष्टताबिना भइरहेको अहिलेको महाधिवेशनबारे म केहीबेरमा थप चर्चा गर्नेछु। अहिले भने कांग्रेसको स्थापना र यसका महाधिवेशनले कसरी आफ्नो समयका प्रमुख विषयमाथि स्पष्टता दिएका थिए त्यसबारे कुरा गरौं।
कांग्रेस विचारबाट प्रवाहित पार्टी हो। सुरूआती दिनका यसका दस्तावेज हेर्दा थाहा हुन्छ यो संगठन वैचारिक धरातलमा जन्मिएको हो र विचारले नै यसलाई डोहोर्याउँदै अघि बढाएको हो। २००७ सालमा गरिएको क्रान्तिको आह्वान वैचारिक क्रान्तिको आह्वान थियो।
कांग्रेस विचारको पार्टी हो भन्ने कुरा पार्टी निर्माणको सन्दर्भमा विपी कोइरालाले २ अक्टुबर १९४६ मा गर्नुभएको आह्वानबाट पनि प्रष्ट हुन्छ। उक्त आह्वानमा विपीले भन्नुभएको छ- नेपालीसँग आधुनिक समयका चाहना प्राप्त गर्नका लागि आफ्नो संगठन नहुनु दु:ख कुरो हो। आजको समयको माग नेपालमा जवाफदेही सरकारको स्थापना र भारतको स्वतन्त्रता प्राप्तिको बृहत् उद्देश्य लिएको नेपाललाई समेत समेटेर एउटा अखिल भारतीय संगठन बनोस् भन्ने छ।
नेपालमा प्रजातन्त्रको स्थापना गर्न सक्ने वैचारिक संगठनको आवश्यकता विपीले औंल्याउनुभएको थियो। त्यस्तो संगठन तब सम्भव छ, जब भारत स्वतन्त्र हुन्छ भन्ने उहाँको अवधारणा थियो। नेपालमा स्वतन्त्रताका निम्ति केही संरचनात्मक परिस्थितिहरू छन्, तिनको निवारण हुनु जरूरी छ। भारत स्वतन्त्रता पनि नेपाल स्वतन्त्रता पहिलो कडी हो भन्ने विपीको बुझाइ थियो।
यसको अर्थ नेपाली कांग्रेसको गठन, उद्देश्य र दृष्टिकोण नै नेपालमा प्रजातान्त्रिक राज्य व्यवस्था स्थापना गर्नु हो र विश्वभरिका लोकतान्त्रिक आन्दोलनमा पनि सहभागी हुनु हो। विश्वव्यापी स्वतन्त्रता आन्दोलनसँग आफूलाई जोड्नुको अर्थ नेपाली कांग्रेसको प्रस्थान विन्दु नै वैचारिक दृष्टिकोणबाट भएको थियो भन्ने देखिन्छ। एउटा विचार, दृष्टिकोण र आकांक्षा बोकेर हिँड्नका लागि कानुनको शासनप्रतिको जिम्मेवारीलाई बोध गरेर कांग्रेसको स्थापना भएको थियो। वैचारिक पार्टी हुनुका कारण सुरूदेखि नै कांग्रेस महाधिवेशनले वैचारिक स्पष्टतालाई महत्व दिएको देखिन्छ।
नेपाली राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशन २५ जनवरी १९४७ मा कलकत्तामा भयो। त्यो महाधिवेशनले नेपालमा क्रान्तिको आवश्यकता छ भन्ने सन्दर्भमा नेपाल र भारतको अविच्छिन्न सम्बन्ध छ तर नेपालको स्वतन्त्रताका निम्ति हामीले क्रान्ति गर्नु जरूरी छ भन्छ।
यसले नेपालमा जन्मिएका र काम गरिरहेका अरू पार्टीहरुको पनि विश्लेषण गरेको छ। प्रजा परिषद जो कांग्रेसभन्दा पुरानो पार्टी हो, प्रथम महाधिवेशनले त्यसको चर्चा गरेको छ। प्रजा परिषदको उद्देश्यको प्रशंसा गरेको छ। महत्वपूर्ण पक्ष के छ भने वैचारिक दृष्टिकोणबाट स्वतन्त्रताका निम्ति चाहना गर्ने पार्टी भएको हुनाले यसले आफूजस्तै अरू सामाजिक र राजनीतिक आन्दोलनलाई पनि सुरूदेखि नै वृहत्तर लोकतान्त्रिक आन्दोलनको सहयात्रीका रूपमा हेर्दै आएको छ। कम्युनिष्टको जस्तो यो वर्ग शत्रु हो, यो दुश्मन हो भन्ने भाषा कांग्रेसले प्रयोग गरेको देखिन्न।
दोस्रो महाधिवेशनमा आइपुग्दा नेपाली राष्ट्रिय कांग्रेसले ठूलो सैद्धान्तिक र व्यवहारिक राजनीतिको फाउन्डेसन (आधार) तयार गरेको देखिन्छ। उक्त महाधिवेशनको निर्णयमा नेपाली कांग्रेसको मूल उद्देश्य नेपालमा महाराजधिराजको वैधानिक अधिनायकत्वमा उत्तरदायी शासन कायम गर्नु हो भनिएको छ। यो २००७ सालको क्रान्तिभन्दा अघिको कुरा हो।
यसरी दोस्रो महाधिवेशनबाट एउटा ठूलो क्रान्तिको बिगुल फुकेको देखिन्छ। त्यतिबेलाको विश्लेषण के छ भने राजाहरूलाई समेत राणाहरूले बन्दी बनाएका छन्। उनलाई मुक्त गराएर क्रान्ति गर्नुपर्छ। त्यतिबेलै नेपाली कांग्रेसले नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाउनु पर्छ भनेको छ। अन्तर्राष्ट्रिय सम्बन्धहरूका बारेमा पनि महाधिवेशनले बोलेको छ।
२००५ फागुन १८ गते दरभंगामा भएको नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो महाधिवेशनमा आफ्नो पार्टीको दुई वर्षको संघर्ष, भारतले प्राप्त गरेको स्वतन्त्रता विवेचना गरिएको छ।
२००६ चैत २७-२९ मा कलकत्तामा भएको नेपाली कांग्रेसको चौथो महाधिवेशनले मूल राजनीतिक प्रस्ताव, प्रवासी नेपाली, आर्थिक प्रस्ताव, बर्माका नेपाली, राजबन्दीहरू, मलायामा गोर्खा फौज र बिघट्टीका बारेका छलफल गरेको देखिन्छ। यो नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकता महाधिवेशन पनि थियो।
नेपाली कांग्रेसको पाँचौं महाधिवेशन २००९ मा जनकपुरमा भएको थियो। उक्त महाधिवेशनले पार्टीले राजनीतिक र आर्थिक दुइटा मुख्य काम गर्नुपर्ने उल्लेख गरेको छ। पार्टीको औद्योगिक नीति र वैदेशिक नीतिबारे पनि महाधिवेशनमा छलफल भएको थियो।
२०१२ मा वीरगन्जमा भएको कांग्रेसको छैठौं महाधिवशेनले पहिलो पटक प्रजातान्त्रिक समाजवादी घोषणापत्र पारित गरेको थियो। उक्त महाधिवेशनले भूमि रेकर्ड अपरेसन, घुम्ती अदालतको माग, जमिनदार र किसान, भन्सार कर, वनको राष्ट्रियकरणलगायत १८ वटा प्रस्ताव पारित गरेको थियो। २०१७ मा काठमाडौंमा कांग्रेसको सातौं महाधिवेशन भयो। त्यसपछि पञ्चायतका ३० वर्ष राजनीतिक दलहरू प्रतिबन्धित रहे।
बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएपछि कांग्रेसको आठौं महाधिवेशन २०४८ फागुनमा झापामा भएको थियो। उक्त महाधिवेशनमा राजनीतिसँगै कृषिसम्बन्धी र अन्तर्राष्ट्रिय प्रस्तावहरू पनि पारित भएका थिए।
२०५३ मा भएको नवौं महाधिवेशन राजनीतिक, स्वावलम्बन र रोजगार, परराष्ट्र नीतिसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गरेको थियो। नेपाली कांग्रेसको दसौं महाधिवशेन २०५७ साल माघमा पोखरामा भएको थियो। उक्त महाधिवेशनमा कांग्रेसका नीति तथा कार्यक्रम प्रस्तुत गरिएका थिए।
२०६२ भदौमा काठमाडौंमा भएको कांग्रेसको ११ औं महाधिवेशनले महत्वपूर्ण प्रस्तावहरू पारित गरेको थियो। उक्त महाधिवेशनले माओवादी समस्याको समाधान, संविधान सभा र राजसंस्थालाई हेर्ने दृष्टिकोणबारे निर्णय गरेको थियो। यही महाधिवेशनले केन्द्रीय समितिमा दलित महिला, जनजाति र मधेसीका लागि प्रतिनिधित्वका लागि आरक्षित सदस्य संख्याको निर्धारण र निर्वाचन गर्ने निर्णय गरेको थियो।
कांग्रेसको १२ औं महाधिवेशन २०६७ असोजमा काठमाडौंमा भएको थियो। यो नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीचको एकता महाधिवेशन थियो। त्यही महाधिवेशनबाट कांग्रेसमा प्रत्यक्ष निर्वाचित महामन्त्रीको पद राखियो।
२०७२ फागुनमा काठमाडौंमा भएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनले संविधानको कार्यान्वयन र भूकम्पपीडित जनताप्रतिको दायित्व लगायत विविध विषयमा प्रस्ताव पारित गरेको थियो।
‘नयाँ संविधानले ल्याएको परिवर्तन ग्रहण गरौं, परिवर्तनलाई व्यवहारमा उतार्न कार्यान्वयनको नेतृत्व गरौं’ भन्ने प्रतिवद्धता उक्त महाधिवेशनले पारित गरेको थियो।
अब विचारको यो शृंखलालाई विश्राम दिएर हुन लागिरहेको कांग्रेसको १४ औं महाधिवेशनको कुरा गरौं।
कुनै पनि राजनीतिक दलले महाधिवेशन गर्नुका दुई प्रमुख उद्देश्य हुन्छन्: एउटा समकालीन विषयहरूमा वैचारिक स्पष्टता। अर्को संगठन विस्तार।
महाधिवेशनले विचारको प्रस्फुरणका लागि मद्दत गर्छ। पार्टीका नेता/कार्यकर्ता आधिकारिक फोरमहरूमा छलफल गर्न पाउँछन्, आफ्ना विचार राख्न पाउँछन्। व्यापक कार्यकर्ता परिचालन हुने समय भएकाले त्यही बेला पार्टीको विचार र दृष्टिकोण बाहिर पनि फैलिन मद्दत पुग्छ।
सुविचारित संगठनलाई कसले नेतृत्व गर्छ भन्ने तेस्रो कुरा हो। महाधिवेशनबाट पारित विचारलाई कार्यान्वयन गर्न नयाँ नेतृत्व पनि चयन हुन्छ। कम्युनिष्ट पार्टीमा मात्रै पहिला नेतृत्व चयन गरेर पछि विचारको कुरा हुन्छ।
पहिला नेतृत्व आउँछ अनिमात्र विचार भन्नु बयलको अघि गाडा राखेजस्तै हो। पार्टीको गाडालाई चलाउने बयल (गोरु) विचार हो। गोरुअघि राखेर गाडा चल्दैन।
अहिलेको महाधिवेशनमा कसले जित्छ भन्नेमात्र चर्चा भइरहेको छ। समाचारहरूमा देउवा गुट र पौडेल गुटका उम्मेदवारले जिते वा हारे भन्ने कुराले प्राथमिकता पाइरहेको छ। कसैलाई थाहा छैन कांग्रेस महाधिवेशनमा उनीहरूको वैचारिक धार के हो?
नेपाली कांग्रेसमा मध्यम वर्गीय, पढेलेखेका, आधुनिकताका पक्षधरहरू मानिसको वर्चश्व छ भने एक किसिमका पुरातन पन्थीहरूको पनि यसमा केही हदसम्म बोलवाला रहिरह्यो। विगतमा तिनै राजनीतिक र सामाजिक पृष्ठभूमिका आधारमा कांग्रेसभित्र फरक-फरक समूह थिए।
सुवर्णशमशेरलाई कुलीनबाट आएको भनिन्थ्यो भने विपीलाई नागरिकस्तरबाट आएको भन्ने ठानिन्थ्यो। पछि कृष्णप्रसाद भट्टराईलाई नेपालभित्र राजनीति गरेको र गिरिजाप्रसाद कोइरालाई विदेशबाट राजनीति गरेर आएको भनेर मतभेद भयो। ती मतभेदका पछाडि सामाजिक र राजनीतिक पृष्ठभूमि महत्वपूर्ण थिए।
अहिले देउवा र पौडेलका फरक-फरक गुट हुनुको सैद्धान्तिक वा सामाजिक पृष्ठभूमि के हो भन्ने छुट्याउन निकै गाह्रो छ।
रामचन्द्र गुट र शेरबहादुर गुटबीचको वैचारिक भिन्नता के हो? व्यक्तिगत कुण्ठा, इच्छा, आकांक्षाका लागिमात्रै फरक हुन् या विचार र सैद्धान्तिक रूपमै यिनीहरू एक-अर्कासँग फरक छन् भन्ने कुरा जनताले थाहा पाउनु पर्छ।
यो कुरा नबुझी ठूलो, तामझामको र पुरानो पार्टी भनेर केही नेताबीचको प्रतिष्पर्धा र कुराकानीलाई हामीले एउटा तमाशाका रूपमा हेर्ने हो कि मुलुकले राजनीतिको कोल्टे फेर्दैछ, मुलुकलाई नेतृत्व दिन सक्ने विचारबारे छलफल हुँदैछ भन्ने कुरा हेर्ने, सुन्ने हो?
००७ सालमा पार्टी गठन गर्नुको अर्थ सामाजिक रूपान्तरण गर्नु थियो। त्यतिबेला कांग्रेस पार्टी बन्नुको अर्थ नेपालमा लोकतन्त्र स्थापना गर्नु थियो। उपनिवेशवादसँग लड्नु थियो, नेपालको स्वतन्त्र अस्तित्वलाई उजागर गर्नु थियो।
छैठौं महाधिवेशनबाट समाजवाद, आठौं महाधिवेशनबाट उदारीकरण र ११ औं महाधिवेशनबाट गणतन्त्रको कुरा गर्न थालियो। यसले के देखाउँछ भने नेपाली कांग्रेस समयअनुसार चल्ने पार्टी थियो।
अहिले आएर पार्टी सत्ता प्राप्तिका लागिमात्रै हो भन्ने हो भने सत्ताका लागि पनि चुनावहरूमा चुस्त भएर जाने किसिमबाट पार्टीमा वैचारिक स्पष्टता छैन। सामाजिक रूपान्तरणका लागि पार्टी हो भनौं भने अहिले यत्रा सामाजिक र राजनीतिक मुद्दाहरू उठिरहेका छन्। त्यसमा कांग्रेस कहिल्यै बोल्दैन। संसदमा बोल्दैन, केन्द्रीय समिति र महासमितिमा बोल्दैन। हुँदाहुँदा महाधिवेशनमा पनि नबोल्ने भइसक्यो।
सामान्यत: महाधिवेशनअघि केन्द्रीय समिति र महासमितिले एजेन्डा तय गर्ने भन्ने थियो। तर यसपालि त्यो पनि गरिएन।
संघीयतामा गएपछि विधान संशोधन गरेर पहिलो पटक संघीयताबमोजिम कांग्रेसको नयाँ संरचना बन्न लागेको छ। संयन्त्र तयार भयो, नेतृत्व तयार हुँदैछ तर त्यो नेतृत्वका लागि विचार खोई?
किन शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुने, दुई पटक पार्टी सभापति हुने? वा रामचन्द्र पौडेललगायत नेता किन पार्टीको सभापति बन्ने? यी प्रश्नको उत्तर कसैले दिँदैन।
जो नेताहरू यो महाधिवेशनमा पदका आकांक्षी हुनुहुन्छ। उहाँहरूको राजनीतिक विचार, राजनीतिक धरोहर, दृष्टिकोण, कार्यक्रमबारे केही छलफल नै नभई महाधिवेशन प्रतिनिधिहरूले केका आधारमा भोट हाल्लान्?
जो नेता बन्छ उसैको नीति र कार्यक्रम चल्छ भन्ने पनि तर्क आउन सक्छ।
नेपाली कांग्रेस एक नेताको नीति र कार्यक्रममा चल्ने पार्टी हो? त्यसका लागि त समयले उत्पादन गरेको नेता हुनुपर्छ, जस्तो २००७ सालको क्रान्तिमा खारिएका नेताहरू थिए।
अहिले त्यस्तो परिस्थिति होइन। सबै बराबर मानिसहरू बीचको नेतृत्व चयन हो। त्यही भएर अहिले व्यक्ति होइन विचारले झन् धेरै ठाउँ पाउनु पर्ने हो।
लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरूबिना र उनीहरूको जवाफदेहिता र पारदर्शिताबिना यो देश चल्न सक्छ कि सक्दैन? संविधान बनाउने मुख्य पार्टी भएको हैसियतले संघीयतामा यसको स्पष्ट धारणा के हो? अदालतमा देखिएको समस्या कांग्रेसले कसरी समाधान गर्न चाहन्छ। झनझन् कठिन हुँदै गएको भूराजनीतिलाई सन्तुलनमा राख्न कांग्रेसको परराष्ट्र सम्बन्धमा के हो? संविधानमा धर्मनिरपेक्षता लेखिएको छ तर कांग्रेसका जिम्मेवार पदाधिकारी नै धर्मनिरपेक्षताबारे दसथरी कुरा गरेर हिँडिरहेका छन्। कांग्रेसका नेताहरूले धर्मनिरपेक्ष भएको भारतले मन पराउँदैन भन्ने अनि महाधिवेशनमा त्यसबारे कुनै छलफल नै नहुने भन्ने हुन्छ?
वैदेशिक रोजगारीमा जाने लाखौं नेपालीले ‘मेरा आफन्त पदमा पुग्छन्, पार्टीमा पुग्छन्, मन्त्री हुन्छन्’ भनेर राजनीतिक दलप्रति आकर्षित हुने हो कि यसले मेराबारे, मेरो समुदायका बारे मेरा विषयहरूका बारेमा चर्चा-परिचर्चा, छलफल गर्छ भनेर हेर्ने हो? विदेशमा बस्ने नेपालीहरू हाम्रा निम्ति कर तिरिदिने, नेताहरू विदेश गएका बेला घुमाइदिने र राजनीतिक दलका निम्ति पैसा उठाउने संयन्त्र मात्रै हुन् वा तिनीहरूको भावनालाई कुनै रूपमा प्रतिनिधित्व गर्ने ठाउँ यसमा छ?
हामी नेपालमा जलवायु परिवर्तनका यति ठूला असर भोगिरहेका छौं। मौसमी प्रकोप र परिवर्तन देखिरहेका छौं। त्यो सन्दर्भमा नेपाली कांग्रेसले वातावरण, विकास र बसाइँसराइ, युवा बेरोजगारसम्बन्धी विषयहरूमा छलफल गर्नु पर्ने हो कि होइन? आममानिसले थाहा पाउनु पर्ने होइन र, कुनचाहिँ नेता वा कुनचाहिँ समूह यस विषयमा चुस्त दुरूस्त सोचिरहेको छ।
कोरोना महामारीले विश्व अर्थव्यवस्थामा गहिरो प्रभाव पारेको छ। स्वास्थ्य प्रणालीलाई कसरी प्रभावकारी बनाउने, महामारीको कसरी असर कम गर्नेबारे बहस जारी छन्। तर कांग्रेसले ती विषयमा पनि महाधिवेशनमा छलफल गर्न चाहेको छैन।
यी विषयहरूमा मुलुकको अग्रणी पार्टीको हैसियतले विचारहरू स्पष्ट गर्नुपर्ने, निर्देशित गर्नुपर्ने महत्वपूर्ण कार्यभार छोडेर नेतृत्व चयनमा मात्रै लाग्दाखेरी नेपाली कांग्रेसको इतिहासलाई हेर्ने मानिसको दृष्टिकोणबाट हेर्दा मलाई बडा अचम्म लागेको छ।
विचार, गति र दिशा तिनै कुरा नभइकन पार्टीले आगामी चार वर्षमा कसरी आफूलाई निर्वाचन अब्बल साबित गर्छ र मुलुकले भोगिरहेका विभिन्न समस्या पार लगाउँदै कसरी अगाडि बढ्न सक्छ? यो बडा चिन्ताको विषय छ।
अहिले अरू पार्टीभन्दा कांग्रेस भिन्न देखिन छाडिसक्यो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वलाई स्थापित गर्नमात्रै चितवनमा महाधिवेशन गरेर भर्खरै फर्किएका छन्। कुनै पनि वर्तमान राजनीतिक मुद्दाहरूमा नबोल्ने राजनीतिक सम्मेलनको के अर्थ हुन्छ र! प्रचण्ड पार्टीमा त अहिलेसम्म चुनावबाट नेतृत्व नै छानिएको छैन।
कांग्रेसमा पनि जसले म्यानिपुलेट गर्न सक्यो, जसले गुट र उपगुटलाई मिलाउन सक्यो त्यही नेता बन्ने र ऊ नै प्रधान हुने अवस्था बनिसक्यो। ठूलो लोकतान्त्रिक पार्टीमा विभिन्न मत र ती मतमा मतान्तर बाँडिएको कुरालाई मिलाउनु स्वभाविक हो। तर व्यक्तिगत इच्छा, आकांक्षा र कुण्ठाका भरमा राजनीति सञ्चालन गर्ने हो भने यो पार्टीले जुन ऐतिहासिक, क्रान्तिकारी कार्यभार लिएर २००७ सालदेखि हिँडिरहेको थियो, त्यो भुत्ते हुने स्थितिमा छ।
चार-पाँच हजार मान्छे जम्मा हुन्छन्, आ-आफ्नो कुरा गरेर जान्छन् भने हामीलाई लिनु-दिनु केही थिएन तर भोलि राज्य सञ्चालन गर्ने यिनै मान्छे हुन् भन्दा पो हामीलाई विश्मय भयो!
६४ वर्षअघि विपीले कार्यकर्तालाई लेखेको चिठीमा उल्लेख छ: राजनीति र नैतिकताको एक उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ। म चाहन्छु कि देशको राजनीतिमा अग्रणी हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग यहाँ प्रारम्भ गरोस्। र कसले भन्न सक्छ कि यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलिने छैन?
यसले के देखाउँछ भने विपीले कांग्रेसलाई नेपालभित्र मात्र होइन यसका विचारहरू नेपालबाहिर पनि जान सक्ने नैतिक बल भएको पार्टी बनाउन चाहनुभएको थियो। उहाँले चाहेजस्तो पार्टी अहिले कहाँ छ?
विचारलाई पाखा लगाउँदै सत्ता प्राप्तिका लागि नैतिक कुराबाट विमुख भएर गठजोड गरिरहने हो भने विचारको आडमा बनेको कांग्रेस कालान्तरमा नैतिक/अनैतिक सबै कुरामा सम्झौता गरी सत्तामा पुग्न लालायितहरूको झुन्डमात्रै बन्न सक्ने सम्भावना छ।