एउटा हाँसिरहेको मान्छे अचानक रून थाल्यो वा रोइरहेको मान्छे अचानक हाँस्न थाल्यो भने तपाईंको मनमा के खयाल आउँछ?
अरूको मनमा 'किन त्यस्तो गरेको होला' भन्ने प्रश्न आउँछ कि आउँदैन ठ्याक्कै थाहा छैन। तर मलाई चाहिँ किन मात्रै होइन के, कसरी भन्ने लाग्छ।
नसोधी हाले पनि मनमा निकै बेरसम्म के भएछ भन्ने हुन्छ। प्रायः मान्छे असाध्यै दुखी हुँदा यस्तो हुन्छ भन्ने सोचिन्छ। तर सोचाइ र यथार्थ अलि फरक हुन्छ। कसरी फरक हुन्छ म सुनाउँछु।
तर सुनाउनुभन्दा अघि तपाईंको परिचय माग्छु ल!
एकपटक तपाईं आफ्नो परिचय दिनुस् न। धेरै केही भन्नु पर्दैन। नामसँगै ठेगाना भनिदिनु भए हुन्छ। तपाईं सँगसँगै म आफ्नो परिचय दिन्छु।
नमस्कार!
मेरो नाम क्रान्तिशिखा, घर रोल्पा।
मैले यति भन्दाभन्दै तपाईंको मनमा केही प्रश्न उठे है? नआत्तिनुहोस्, यस्ता प्रश्न तपाईंको मनमा मात्रै उब्जिएको होइन। तपाईंजस्तै अन्य धेरै व्यक्तिका मनमा उब्जिएका यस्तै प्रश्न सुन्दै आइरहेकी छु।
म सम्झन्छु त्यो एकदिन, मैले इन्टर्न गरेको अफिसको पहिलो दिन सबैको अगाडि परिचय दिँदाः
मः नमस्कार, म क्रान्तिशिखा, घर रोल्पा।
सरः ए...रोल्पा कि पो हो तपाईं? त्यस्तो त देखिनु हुन्न त!
उहाँले भन्नुभएको 'त्यस्तो' कस्तो चाहिँ हो भन्ने बुझ्नै सकिनँ। त्यस्तोमा के के पर्छ भनेर सोध्न सकिनँ।
त्यति भन्दाभन्दै मेरै छेउमा बसेकी अर्की म्यामले भन्नुभयो, 'दुर्गमतिरका पनि धेरै टाठाबाठा भइसकेका छन् नि अब त!'
त्यसैमा अर्का 'सज्जन' ले थप्नुभयो, 'नाम पनि रोल्पैलाई मिल्ने जस्तो रैछ!'
'घर रोल्पा भए त विरोध गरिहाल्ने बानी होला नि!'
'घर रोल्पा भए त घरका सबै जंगलतिर पसे होलान् नि!'
'हो, म रोल्पामै जन्मेकी हुँ। त्यहीँ हुर्केकी हुँ। त्यहीँ पढेकी हुँ। रोल्पा पड्किए पनि म शान्त छु। तर म क्रान्तिशिखा नै हुँ,' तर त्यति बेला यो भन्न सकिनँ। चुपचाप सुनिरहेँ। मेरो अनुहारको भाव त्यो बेला कस्तो थियो, सम्झना भएन। तर मुटु भने चिसो भइरह्यो।
मैले यति भन्न पाउँछु कि पाउँदिनँ, म जान्दिनँ। तर म के जान्दछु भने भूगोलले कुनै पनि व्यक्तिलाई मूल्यांकन गर्न हुँदैन। भूगोलले व्यक्तिलाई चिन्दैन। भूगोलले चिने पनि व्यक्तिको परिचयमा हावी हुन हुँदैन।
सुगम ठाउँमा बसेको अनुभूति गर्ने धेरैको यस्तो बानी हुँदो रहेछ। सुगम र दुर्गमको मानक के भन्ने बहस गर्दै गरौंला। तर के चाहिँ सत्य हो भने भूगोलले दिने आवरण र भाषा हेरेर सोहीअनुरूप प्रश्न गर्नेहरूको जमात धेरै रहेछ। यस्ता प्रश्न गर्दा उनीहरूलाई आफू बसिरहेको भूगोलको वर्चस्व निर्वाह गरेजस्तो लाग्ने रहेछ।
यस्तै हेपाहा प्रवृत्तिको गन्ध आउने प्रश्नले हामी जहाँको हौं, त्यहाँको भन्न अझै हिच्किचाउँछौं। हामीलाई हाम्रो विचारले कम र भूगोलले धेरै परिचय दिन्छ भन्ने सोच्छौं।
मैले आफ्नो नाम भनुन्जेल सुन्ने मान्छेहरूको अनुहारमा एउटा 'रियाक्सन' अनि ठेगानाभन्दा अर्कै 'रियाक्सन' हुन्छ। मैले यस्तो धेरैपटक महसुस गरेँ। किन सुन्ने मान्छेले यस्तो गर्छन् भन्ने पनि धेरै सोचेँ।
अझ जुन ठाउँमा मेरो पहिलो दिन हुन्थ्यो, त्यहाँ यस्तो प्रतिक्रिया पाएँः कलेजको पहिलो दिन। अफिसको पहिलो दिन। अस्पतालको पहिलो दिन।
यी सबै ठाउँमा मैले आफ्नो परिचय दिँदा प्रश्नमाला पाएकी छु। कतिपटक प्रश्न पचाउन नसकेर कोठाबाटै निस्किएकी छु। कतिपटक मनमा आएका जवाफलाई मनमै थुपारेकी छु।
प्रश्न सोध्नै हुँदैन भन्ने होइन। तर सोधेको प्रश्नपछिको उत्तर पनि त स्वीकार्नु पर्यो नि।
रोल्पाकै हुँ भन्दा 'साँच्चै हो? कसम हो त?' भनेर शंका गर्नु त भएन नि।
पहिल्यैदेखि सुन्दै आएको भएर, अन्दाज गरेर, कत्ति कुरा भनिएका मात्रै हुन्। भन्दाभन्दै, सुन्दासुन्दै यी कुराहरू जबरजस्ती 'ध्रुवसत्य' मानिएका हुन्। 'बन्दुक बोकेको समाज' मा हुर्किएको भन्दैमा मेरो काँधमा जबरजस्ती बन्दुक बोकाउन मिल्छ र? जे देखेर हुर्किन्छ, पछि गएर त्यही बनिन्छ भन्ने कपोकल्पित मात्रै होइन र?
रोल्पालाई प्रतिनिधित्व गर्न मैले के कम्ब्याट र खाकीको जुत्ता लगाउनुपर्ने हो? कि छापामारले जस्तो निधारमा रातो पट्टी बाँध्नुपर्ने हो? यसो भनिरहँदा मैले माओवादी युद्ध र बन्दुकबाट परिवर्तन आउँछ भन्नेहरूको विचारलाई नजरअन्दाज गर्न खोजेकी होइन।
मैले काठमाडौंमै बस्ने या सहरमा बस्ने व्यक्तिलाई त्यस्तै प्रतिक्रिया दिएँ भने अपमान भएको महसुस गर्छन् होला कि गर्दैनन् होला? उनीहरूले परिचय दिँदै गर्दा मैले पनि त्यस्तै भनेँ वा सोधेँ भने उनीहरूले के गर्छन् होला?
कलेजको साथी सिरहाको तर वर्ण गोरो। उसलाई कसैले तराई मूलको भनेर कहिल्यै पत्याउँथेनन्। 'म सिरहाको हो भनेर नागरिकता समेत देखाएको छु,' भन्दै थियो। अझ पहाड घर कहाँ हो भनेर हैरान पार्थे।
भूगोललाई स्वीकार्न नसक्नु भनेको भाषा र मौलिकतामाथि विश्वास नगर्नु होइन र?
यी दुवैलाई स्वीकार्न सकिएन भने मातृत्वमाथि नै प्रश्न उठ्नु होइन र?
रोल्पाबाट माओवादी युद्ध सुरू भयो भन्दैमा म छिटो आक्रोशमा आउँछुसम्म भन्छन् मान्छेहरू। जिस्केरै भनेको हो तर जिस्काउनलाई पनि ती कुराहरू मस्तिष्ककै उपज हुन्।
केही नदेखेर हुर्केकाहरू पछि गएर सबै देख्ने बनेका छन्। धेरै देखेर बढेकाहरू केही हेर्नै नखोज्ने भएका छन्। जे देखिन्छ पछि त्यही बनिन्छ भन्ने हुँदैन। जे बनिन्छ त्यो पहिल्यै नै देखिएको हुन्छ भन्ने त झनै हुँदैन।
संरचनाबाहिर जानु भनेको क्रान्ति गर्नु हो। मैले देखेको रोल्पा र मैले देख्ने रोल्पा कसैले देख्नै सक्दैन। मैल त्यहाँ युद्धबाहेक मलाई शान्त बनाउने अरू कति स्थिति देखेकी छु। मेरा लागि विश्वका जुनसुकै सहर मेरो रोल्पाको अगाडि फिक्का लाग्छन्। त्यसैले पनि रोल्पालाई दिने रियाक्सनलाई स्वीकार्न कतिपय अवस्थामा मलाई धेरै गाह्रो हुन्छ।
केही यस्ता कुरा हामीसँग जोडिएका हुन्छन् जुन हामीले परिवर्तन गर्नै सक्दैनौं। तीमध्ये एउटा जन्मभूमि पर्छ।
एउटा व्यक्ति आफू बसिरहेको ठाउँ छाडेर अर्को ठाउँमा जाँदा कत्ति दबाव, तनाव, भय, चिन्ता र अप्ठ्याराबाट गुज्रिएर आएको हुन्छ। सानो ठाउँबाट आएको मान्छे यसै पनि ठूलो ठाउँसँग डराइरहेको हुन्छ। अझ त्यसमाथि हरेक मान्छेको भूगोलप्रतिको प्रतिक्रियाले उसलाई कमजोर बनाइरहेको हुन्छ।
आफू बसेको ठाउँबाट जति टाढाटाढा जान्छौं, त्यति नै धेरै भूगोलको माया लाग्छ। रोल्पा छाडेर काठमाडौं जाँदा रोल्पाको माया, देश छोडी विदेश जाँदा नेपालको माया लाग्छ। पृथ्वी छोड्ने अन्तरिक्ष यात्रीलाई पृथ्वीको माया लाग्दो हो!
आफू जन्मेको ठाउँ जस्तोसुकै किन नहोस्, प्यारो लाग्छ। जन्मेको ठाउँमा आमाको प्रसव पीडा मिसिएको हुन्छ। त्यसैले पनि अझ आफू जन्मेको ठाउँ नजिकको लाग्छ। त्यही ठाउँको नाम आफ्नो परिचयमा मिसाउँदा कसैले नाक खुम्च्यायो, निधार खुम्च्यायो भने आफ्नै आमालाई गिज्याएजस्तो लाग्ने रहेछ। मानवीय स्वभावले पनि हामी स्वीकारिन चाहन्छौं।
स्वीकार्नु भनेको सम्मान गर्नु हो। प्रेम गर्नु हो। विश्वास गर्नु हो।
एउटै देशभित्रको भूगोलका मान्छेलाई स्वीकार्न यति गाह्रो हुन्छ हो?
मलाई मात्रै महसुस भएको मात्र त पक्कै होइन होला। यदि हो भने मलाई 'इन्फिरियोरिटी कम्प्लेक्स' भएको हुन सक्छ। होइन भने विकट ठाउँबाट सुगममा आएकालाई त यो प्रश्नले कहिले नछाडेको हुन सक्छ।
शब्द भन्दा डरलाग्दो हुन्छन् अनुहारबाट दिने 'एक्सप्रेसन'।
मीठो मानेर खानुभएको खानेकुरा जत्ति नै मीठो भए पनि निधार र मुख खुम्च्याएर 'मिठो छ' भन्नुभयो भने त्यसको मिठास हराउँछ। खानेकुरा त फेरि पकाउन मिल्छ। आफू अब अर्कै भूगोलमा जन्मिन्छु त भन्न मिल्दैन।
म जन्मेको ठाउँको भाषा अनि मान्दै आएको संस्कृति र पहिरिँदै आएको भेषलाई स्वीकार भनेर आफ्नै देशभित्र सूक्ष्म आन्दोलन गरिरहेको जस्तो लाग्छ। मेरो जन्मभूमि बाहेक यो देशभित्रको अरू ठाउँ मेरो होइन कि जस्तो लाग्छ। अत्यन्त गम्भीर र संवेदनशील विषयलाई एकदमै हलुका र सतही बनाएजस्तो लाग्ने रहेछ।
भाषा, पहिरनकै कुरा गर्ने हो भने मैथिली भाषा नेवारले पनि बोल्न सक्छन्। पहाडमा थारू बस्न सक्छन्। कायस्थ हिमालमा बस्न सक्छन्। तर उनीहरू पनि भन्छन्- आफ्नो भूगोलबाट टाढा हुँदा सिमान्तकृत भएको महसुस हुन्छ। त्यस्तै लुंगी लगाउने राई, मगर, गुरुङ, लिम्बू मात्रै नहुन सक्छन्।
एउटा व्यक्तिलाई जात, जाति, भेष, वर्ण, सम्प्रदायको बाकसभित्र जबरजस्ती घुसाइन्छ। रोल्पा, सिरहा, जुम्लाको मात्रै अनुभव होइन यो, हरेक भूगोलका नागरिकको हो जो आफ्नो पहिचानका लागि अर्को भूगोलसँग भावनात्मक लडाइँ लडिरहेका छन्।
तपाईं हामीले सामान्य सोचेर सोध्ने केही प्रश्नहरू उत्तर दिनेलाई असामान्य लाग्न सक्छ। यसले कालान्तरमा देखाउने नतिजा निकै भयंकर हुन सक्छ। हामीले देखाउने हाम्रो अनुहारको अभिव्यक्ति कुन ठाउँमा, कसको अगाडि कसरी देखाउने भनेर सचेत हुनैपर्छ।
(क्रान्तिशिखा धितालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)
ट्विटरः @krantishikha