विद्यालयमा हुँदा प्रायः कक्षाहरूमा म प्रथम भएँ। सबै विद्यार्थीलाई उछिनेर पहिलो हुँदा गर्व र खुसी महसुस हुन्थ्यो। आफू सबभन्दा प्रतिभाशाली र जान्ने विद्यार्थी जस्तो लाग्थ्यो। धेरै वर्षसम्म विद्यालयमा प्राप्त गरेको यो उपलब्धि मेरा लागि गौरवको विषय थियो।
तर, केही वर्षदेखि मलाई आफू 'टपर' भएकामा लाज लाग्न थालेको छ। एक किसिमको अपराधबोध र नरमाइलो महसुस हुन थालेको छ। मेरा केही साथीहरू मभन्दा पनि बढी मिहिनेत गर्थे। हाम्रो आर्थिक हैसियत उस्तै थियो। तर परीक्षाको दौडमा म अगाडि भएँ। उनीहरू पछाडि परे। यसको कारण मैले त्यति बेला थाहा पाएँ, जब म आफू जन्मेको र हुर्केको भन्दा फरक परिवेशमा पढाउन गएँ।
कुरा २०७० साल वैशाख महिनाको हो।
'टिच फर नेपाल' अभियानको पहिलो समूहका हामी ३३ युवाहरू दुई वर्षका लागि दक्षिण ललितपुरका १६ वटा सरकारी विद्यालयमा गयौं। हाम्रो मुख्य उद्देश्य सबभन्दा बढी विद्यार्थी फेल हुने विषय गणित, विज्ञान र अंग्रेजी सिकाउँदै विद्यार्थीलाई सफल बनाउन हर प्रयास गर्नु थियो।
शत प्रतिशत तामाङ जाति बस्ने मेरो कार्यथलो मेरा लागि विल्कुल अनौठो थियो। एउटा देशको मान्छे अर्को देशमा जाँदा 'कल्चरल सक' हुन्छ भन्ने सुनेको थिएँ। मलाई आफ्नै देशभित्र त्यस्तो भयो।
सातदोबाटोबाट करिब चालीस किलोमिटर मात्र दुरीमा भए पनि विकासको सर्वमान्य परिभाषामा यो विकट थियो। सडक पुगेको थिएन। एक गाग्री खानेपानी पाउन गाउँलेले निकै संघर्ष गर्नुपर्थ्यो। बिहान-बेलुकाको चिसो र दिउँसोको गर्मीमा बालबालिकादेखि जिउ कुप्रिएका बुढाबुढीहरू डोकोमा गाग्री बोकेर घन्टौं उकालो-ओरालो हिँडेको देख्दा विरक्त लागेर आउँथ्यो।
विद्यालय पुग्न तीन घन्टाभन्दा बढी हिँड्नु पर्ने विद्यार्थीहरूको संख्या पनि उल्लेख्य थियो।
म विज्ञान पढाउन गएको थिएँ। जब कक्षाकोठा पसेँ, मलाई अत्यास लाग्न थाल्यो। विद्यार्थीहरू मसँग बोल्न सहज मानेनन्। कक्षामा व्याख्या गरेको कुरा बुझ्न उनीहरूलाई निकै कठिन भयो।
अवधारणा बुझाउन नयाँ-नयाँ विधिहरू प्रयोग गरियो। त्यो प्रक्रियामा उनीहरू रमाए। अवधारणा बुझे पनि लेख्न उनीहरूलाई कठिन थियो। एकपटक किताब र अन्य सामग्रीहरू दिएर पढाएको पाठको परीक्षा लिएँ। त्यसमा ९० प्रतिशत जति विद्यार्थीहरू १० प्रतिशतभन्दा कम अंक ल्याएर फेल भए।
मेरो सपना थियो- विद्यार्थीहरूलाई विज्ञानको सिद्धान्त र प्रयोगमा अब्बल बनाउने, जीवन र जगतका विविध विषयको जानकारी दिने, सचेत नागरिक र असल मानव बन्न प्रेरित गर्ने।
तर मलाई आफ्नै सपनादेखि डर लाग्न थाल्यो।
मैले त केमिस्ट्रीको एउटा सूत्र बुझाउन सकिरहेको थिइनँ, फिजिक्सको एउटा अवधारणा कापीमा लेख्न सक्ने बनाउन सकिरहेको थिइनँ।
सोच्न थालेँ- कारण के होला?
आफूले गर्नसक्ने मिहिनेत गरेजस्तै लाग्थ्यो।
हरेक दिनको रूटिन यस्तो हुन्थ्यो- बिहान र बेलुकाको अतिरिक्त कक्षा, अभिभावकसँग भेटघाट, विद्यालय समय, पाठयोजना निर्माण र सामग्रीको तयारी। बिहान उठेदेखि बेलुका नसुतुञ्जेलसम्म प्रायः खाली समय थिएन। यति मिहिनेत खन्याउँदा पनि किन बुझिरहेका छैनन्? किन लेख्न सकिरहेका छैनन्?
मलाई आफ्नै सिकाउने क्षमतामाथि शंका लाग्यो। सायद मलाई सिकाउन आइरहेको छैन। मैले विद्यार्थीहरू बुझ्न सकिरहेको छैन। विद्यालय र कलेजका विभिन्न कक्षाहरूमा प्रथम हुँदै आएको मेरो घमन्ड चकनाचुर भयो।
त्यसपछि विक्षिप्त मनले एकदिन टिच फर नेपालका तत्कालीन प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई एउटा मेसेज पठाएँ, 'म शिक्षक हुन योग्य छैन। मैले पढाएँ भने विद्यार्थीहरूमाथि अन्याय हुनेछ। मेरो ठाउँमा अर्को शिक्षक खोज्न सुरू गर्नु होला।'
झोलाकुम्लो बोकेर काठमाडौं फर्किने योजना गर्दा आफू विद्यार्थी हुँदाको समय याद आयो।
मलाई त आफू विद्यालय हुँदा कुनै अवधारणा बुझ्न र लेख्न यति संघर्ष कहिल्यै पनि भएन। शिक्षकले कक्षामा कुनै पाठ पढाउँदा लगभग धेरै कुरा बुझ्थेँ। बुझेपछि लेख्न सक्थेँ। निबन्ध, कथा र कविताको माध्यमबाट आफूलाई अभिव्यक्त गर्न सक्थेँ। वादविवाद र वक्तृत्वकलामा फरर बोल्न सक्थेँ।
मलाई आफ्ना सहपाठीहरूको पनि याद आयो। आजका विद्यार्थीहरू जस्तै कतिपय मेरा साथीलाई लेखेर र बोलेर आफूलाई अभिव्यक्त गर्न कठिन हुन्थ्यो। उनीहरू विभिन्न विषयमा फेल हुन्थे। कति साथी अगाडिको बेन्चमा बस्न डराउँथे। कतिले सानैमा पढाइ छाडे। कति पढ्दापढ्दै काम गर्न विराटनगर र काठमाडौं लागे। कति खाडी मुलुक पुगे। कति केटी साथीहरूको ८-९ कक्षामा पढ्दापढ्दै बिहे भयो।
केही सहपाठीहरू, विद्यार्थीहरू र आफैंबारे चिन्तन गरिरहँदा मलाई झल्याँस्स भयो- म मिहिनेतले मात्र प्रथम भएको होइन।
मिहिनेतकै कुरा गर्ने हो भने मेरा सहपाठी र विद्यार्थीको मिहिनेतलाई पनि नजरअन्दाज गर्न मिल्दैन। बिहान ७ बजे घरबाट निक्किएर पसिनैपसिना भएर दस बजे विद्यालय आइपुग्ने विद्यार्थी पनि थिए। बिहान खाएको एक छाक भात वा ढिँडोको भरमा दिनभर कक्षामा शिक्षकका कुरा सुनेर बस्ने विद्यार्थी पनि थिए। घरमा बिहान बेलुकाको धन्दा सकाएर शिक्षकले दिएको गृहकार्य सकेर आउने विद्यार्थीहरू पनि थिए।
शैक्षिक उन्नतिमा मिहिनेतको पनि ठूलो अर्थ छ। तर, जब मैले विद्यार्थीहरूलाई जीवनका भोगाइ कापीमा लेख्न दिएँ र उनीहरूको जीवन नियालेर हेर्ने चेष्टा गरेँ, उनीहरू र आफूले बाँचेको जीवनबीच केही फरक पाएँ। एउटै देशमा उनीहरू र मैले गर्ने अनुभव फरक थिए। उनीहरू र मलाई समाजका मानिसले गर्ने व्यवहार फरक थिए। कक्षाकोठाभित्र पनि उनीहरू र मेरो अनुभव फरक थियो।
अनि मलाई महसुस भयो, वास्तवमा म 'टपर' थिइनँ, म त असमान प्रणालीको फाइदा पाउने एक पात्र मात्र थिएँ।
म एक ब्राह्मण।
मलाई कसैले पनि जातको आधारमा हेपेन। मेरो बुवा पुरोहित हुनुहुन्थ्यो। मलाई मानिसले 'पुरेत' को छोरा भन्थे, कसैले सानो पुरेत भन्थे। चाडवाड, पूजा र श्राद्धमा टीका लाएर दक्षिणा दिन्थे। कसैले बालकै भए नि मेरो खुट्टामा ढोग्थे। मैले पाएको सम्मान मेरा विद्यार्थीहरूले पाएका थिएनन्। कति मानिसले उनीहरूलाई जातकै आधारमा अपमान गर्छन्। कतिले उनीहरूले छोएको खाँदैनन्।
म एक नेपालीभाषी।
मेरो घरमा जुन भाषा बोलिन्थ्यो, पाठ्यपुस्तक र शिक्षकले पढाउने भाषा त्यही थियो। मेरो नेपाली उच्चारणप्रति कसैले पनि गिज्याएन। शिक्षकले पढाएको र पाठ्यपुस्तकमा लेखिएको कुरा बुझ्न मलाई खासै समस्या परेन। 'त' लाई 'ट' र 'अ' लाई 'आ' भन्यो भन्दै भाषाकै लागि मलाई कसैले पनि अपमान गरेन। परीक्षामा भाषाकै कारण जवाफ लेख्न कठिन भएन। तर मेरा विद्यार्थीका लागि नेपाली दोस्रो भाषा थियो। आमाको काखबाट छुटेर विद्यालय आउनेबित्तिकै आफ्नै भाषा बोल्न र बुझ्न पनि कठिन भएको उमेरमा उनीहरूले अंग्रेजीबाहेक सबै विषय नेपाली भाषामै पढ्नुपर्यो।
म एक केटा।
भरपुर स्वतन्त्रता अनुभव गर्न पाएँ। किसानको सन्तानको रूपमा पक्कै केही जिम्मेवारी थिए, तर केटी विद्यार्थीजस्तो अनुभव गर्नुपरेन। मेरो घर मेरो आफ्नै थियो, अर्काको घर गएर अरूको भित्तो पोत्ने जात भन्दै मलाई कसैले आफ्नै घरमा पराया बनाएन। अपमानित गरेन। मेरो शरीरबाट मासिक श्राव भएन। महिनावारी बेला हुने पीडा, तनाव र संवेगात्मक उतार-चढाव मैले भोग्नु परेन। महिनाको चार दिन मलाई कसैले घर बाहिर निकालेन। महिनावारी बेला गृहकार्य गर्न नसकेका बेला 'अल्छे' भन्दै मलाई कुनै शिक्षकले बाँसको सिर्कनाले पिटेन। स्कुल जानुअगाडि र फर्केपछि मैले खाना पकाएर अरूको जुठो भाँडा माझ्नु परेन। १४-१५ वर्षदेखि नै घरमा मेरो बिहेको कुरा भएन।
म एक निम्न मध्यम परिवारको सदस्य।
मेरो घरमा दुई छाक खान दुःख भएन। चाहनाहरू पूर्ति नभए पनि बिहान-बेलुकाको भोक मेटाउन संघर्ष गर्नु परेन। कति विद्यार्थीको परिवारलाई दुई छाकका लागि अन्न जुटाउनै हम्मे हम्मे थियो।
विद्यार्थीहरूको भोगाइबाट मैले बुझेँ, कक्षाकोठा समाजको प्रतिबिम्ब हो र समाज पनि कक्षाकोठाको प्रतिबिम्ब। एउटा विद्यार्थी सिकारू मात्र भएर कक्षाकोठा आउँदैन। उसले कक्षाकोठामा न्याय पनि खोजिरहेको हुन्छ।
छरछिमेक र टोलमा आफ्नो पहिचानका आधारमा अपमानित विद्यार्थी कसरी शिर उँचो पारेर कक्षाकोठामा बोल्न सक्छ र!
'यिनीहरूको बुद्धि पिँधमा हुन्छ, पढेलेखेर केही हुनेवाला छैन' भन्दै हरेक दिन गाली खाने विद्यार्थीले कसरी आत्मबल देखाउन सक्छ र! मातृभाषामा राम्रोसँग बोली नफुट्दै दोस्रो भाषामा किताब रट्नुपर्ने विद्यार्थीले कसरी प्रतिस्पर्धामा अब्बल स्थान हासिल गर्न सक्छ र! छालाको रङ र लवजका आधारमा राष्ट्रियतामाथि प्रश्न उठाइने विद्यार्थीले 'मेरो देश' शीर्षकमा गर्व साथ कसरी निबन्ध लेख्न सक्छ र!
अचम्म लाग्न थाल्यो- विभेद र कठिनाइको तीतो अनुभवसँग १५-१६ वर्ष पनि नपुग्दै उनीहरू कसरी लड्छन्? यति हुँदाहुँदै पनि हरेक दिन मुस्कुराएर विद्यालय आउने तागत कसरी आउँछ?
त्यसपछि मलाई लाग्यो, विद्यार्थीहरूले विभेद भोग्दाभोग्दै सिक्ने आत्मबल गुमाएका छन्। उनीहरूका लागि विद्यालय समाजभन्दा फरक छैन। समाजको विभेद विद्यालयमा पनि छ। समाजका मानिसहरूले देखाउने पूर्वाग्रहबाट शिक्षकहरू समेत मुक्त छैनौं। किताबमा आफूले घरमा बोल्ने भाषा छैन। उनीहरूको दैनिक जीवनको अनुभव र शिक्षण सिकाइबीच आकाश पातालको अन्तर छ।
यस्तो विषम परिस्थितिमा पनि विद्यार्थीहरूको पढाइप्रतिको प्रतिबद्धता देखेर मेरो मनले काठमाडौं फर्किन मानेन। राहुल सांस्कृत्यायनले कतै भनेका थिए, 'भागो नहीँ, दुनियाँको बदलो।'
तर, गान्धीबाट प्रेरित हुँदै मलाई महसुस भयो, दुनियाँ होइन, आफू परिवर्तन हुनुपर्छ। विद्यार्थीमा आत्मबल बढाउने हो भने एक शिक्षकले नै आत्मबल बढाउनु आवश्यक छ।
विद्यार्थीहरूको कथा बुझेपछि एउटा अठोट आयो। इतिहासमा जेसुकै भएको होस् वा आज समाजमा जस्तोसुकै विभेद भइरहेको छ, विद्यार्थीहरू त्योभन्दा अगाडि बढ्नुपर्छ। विभेद कम गर्न वा हटाउन विभिन्न नीतिगत कुरा एउटा शिक्षकको नियन्तणमा छैन तर विद्यालय र कक्षाकोठामा गर्न सक्ने गर्नैपर्छ।
त्यतिबेला विद्यार्थीहरू नेपाली भाषामा बुझेको कुरा लेख्न संघर्ष गरिरहेका थिए। मलाई अरू केही गर्न आएन। त्यसैले विद्यार्थीहरूको भाषा सिकेर सुरू गरेँ।
'नमस्कार' वा 'गुड मर्निङ' भन्दै कक्षाकोठामा पस्नुभन्दा 'ल्हास्सो' भनेर पस्दा विद्यार्थीहरू खुसी भए।
'सन्चै छ?' भनेर सोध्नुभन्दा 'ज्याबान् मुला?' भनेर सोध्दा उनीहरूको जवाफ दिने हाउभाउ नै फरक थियो। त्यसपछि विद्यार्थीहरूकै सहभागितामा धेरै नेपाली गीतहरू तामाङमा उल्था गरेर गाउन थाल्यौं।
'नाम्सा नाम्सा ग्याम्से रेगो,
बस्ती बस्ती ग्याम्से रेगो,
चु ह्युल ला ली
शोवादा रेगो।'
माथिको गीत 'गाउँ गाउँबाट उठ' को अनुवाद हो। यस्तै केही गीतहरू आफ्नो भाषामा गाएपछि एकदिन एउटी बहिनीले भनेकी थिइन्, 'हाम्रो भाषामा पनि देशप्रेमको गीत गाउन मिल्ने रैछ है सर।'
हामीले केही विज्ञानका अवधारणा गाउँमा लोकप्रिय तामाङ सेलोको लयमा उल्था गरेर गायौं। कतिपय पाठ दोहोरी बनाएर गायौं। कतिपय प्रश्नहरू तामाङ भाषामा लेख्न थालेँ। विद्यार्थीहरूले भने नेपालीमा जवाफ दिनु पर्थ्यो। यसबाट केही सुधारिएको जवाफ आयो। नेपाली लेखनीमा यसले ठूलो फरक त पारेन तर दोस्रो भाषासँगको डर हटाउन केही सहयोग गर्यो। मलाई विद्यार्थीको नजिक हुन सहयोग गर्यो।
देशमा लोकतन्त्र छ। दशकौंदेखि हामीले सामाजिक न्यायको कुरा गरिरहेका छौं। अब विद्यालय र कक्षाकोठामा पनि यो कुराको अभ्यास हुनुपर्छ। सबै बालबालिकाको पृष्ठभूमि, अनुभव, प्रतिभा, रूचि र क्षमता समेटिने पाठ्यक्रम, शिक्षण र मूल्यांकन विधि तय हुनुपर्छ। सबै बालबालिकाले सम्मान पाउने गरी शैक्षिक संरचना र विद्यालय संस्कृति निर्माण हुनुपर्छ।
वयस्कहरूको बहसमा बालबालिका खासै अटाउँदैनन्। तर विद्यालयमा विद्यार्थीले विभेदरहित लोकतान्त्रिक अभ्यास भएको अनुभव गर्न पाए भने त्यो चेतना र व्यवहार जिन्दगीभर रहिरहन्छ। माथिल्लो तलामा जतिसुकै धन खर्चिए पनि जग बलियो नभए घर बलियो हुँदैन। बालबालिका देशका आधार हुन्। केही दशकपछिको देश त्यस्तै हुन्छ जसरी आज बालबालिका विद्यालयमा दीक्षित हुन्छन्। यसमा सबैले ध्यान दिनु जरूरी छ।
(लेखक विजयमणि पौडेल किङ्स कलेजका सामुदायिक केन्द्र प्रमुख र टिच फर नेपालमा पूर्व प्रज्ञार्थी हुन्।)
ट्विटरः @mani_bijaya
(यो लेख सेतोपाटीमा पहिलोपटक २०७७ फागुन १३ गते प्रकाशित थियो)