उमेर हुँदो हो, यस्तै पचपन्न 'प्लस'। चट्ट कोरेको कपाल। धारिलो आइरन लगाएका लुगा। हेर्नेलाई 'रइसवाला फिल' हुने गरी पान चपाउँदै गाडीबाट झरे।
श्रीमती पनि ओर्लिइन्। लवाइ छनकले मुस्लिम समुदायका भएको संकेत दियो। (यहाँनिर कुनै समुदाय वा जातिप्रति लक्षित गर्न खोजिएको होइन)।
गाडीबाट तेस्रो व्यक्तिको पनि पदार्पण भयो- सम्भवतः नवविवाहिता।
तीनै जना नयाँ पाइला पुनर्स्थापना केन्द्र (रिह्याब) को गेटभित्र पसे। छोरा रहेछन् रिह्याबमा। पैंतालीस दिन पुगेछ त्यहाँ राखेको। रिह्याबमा राखेपछिको सुधारबारे बुझ्न भेटघाट गर्ने पहिलो दिन रहेछ।
छोरो लागुऔषधको कुलतमा परेको थाहा पाएपछि टुटेको सपना फेरि जोडिन्छ कि? सम्भावनाको सुनुश्चितता गर्ने दिन भएकाले सपरिवार भेट्न आएका।
आफू लामो समय कुनै खाडी मुलुकमा वैदेशिक रोजगारीमा बसेर पसिना बहाएका। आफू विदेशमा दुःख गरेर भए पनि सन्तानलाई सुखसयलमै राख्न कुनै कमी हुन नदिएका। दुई छोरा 'अब्बा जान' को बिँडो थाम्दै पहिले नै विदेसिइसकेका। कान्छो चाहिँ लागुऔषधको कुलतमा फसेछन्।
छ-सात वर्षै भइसकेछ गाँजा खान थालेको। गाँजा त 'गेट-वे ड्रग्स' न भयो। त्यसपछि गाँजा छाडेर अरू दुई-चार किसिमका 'ड्रग्स' खाएछन्। पछिल्लो समय ब्राउन सुगरको लत लागेको रहेछ। वर्षौंदेखि लुकिछिपी गर्दै आएको यो लतबारे परिवारलाई थाहा हुनासाथ हत्तपत्त रिह्याबमा पठाएका रहेछन्।
रिह्याब सेन्टरको भेटघाट कक्षमा जब दुवै जना आमनेसामने भए, न बाउले छोराको अनुहार हेर्न सके, न छोराले बाउको। 'पिन ड्रप साइलेन्स' को अवस्था बन्यो। दुवैका आँखाको डिलमा आँसु भरिए।
सायद दुवैलाई लाग्यो होलाः आ-आफ्नो कर्तव्य पूरा सकिनँ।
तर बोली दुवैको फुट्न नसकेपछि मैले मध्यस्थकर्ता बन्ने प्रयास गरेँ। अम्मी जान र बेगम भेटघाट कक्ष बाहिरबाटै टुलुटुलु हेरिरहे।
बाबु भन्छन्, 'कहिलेकाहीँ पैसा माग्थ्यो। पढाइमा टपर। स्कुल कलेजलाई कहिल्यै फी तिर्नुपरेन। सधैं स्कलरसिप। यस्तो कुलतमा होला त सोचेकै थिइनँ। तर अब परिहाल्यो, त परिहाल्यो। जुन दिन थाहा पायौं, सिधै यहाँ भर्ना गरिदियौं।'
बाबुलाई छोरा सुध्रिनेमा दुई मत थिएन।
छोरा भन्छन्, 'अस्ट्रेलिया जाने रहर थियो। साथीहरूको लहलहैमा कति बेला सिकियो, थाहै भएन। सुरूसुरूमा अरूले नै खुवाउने। बिस्तार बिस्तारै नशा बन्दै गएपछि आफैंलाई चाहिने। अनि पैसाको बन्दोबस्त गर्न अनेक बहाना बनाउनु पर्ने। तर यो पैंतालीस दिनमा छोड्न सक्छु भन्ने लागिसक्यो। निस्किएपछि बिल्कुल खान्नँ।'
२०५४ सालमा नेपाल प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट शंकास्पद २७२ जनालाई पक्राउ गरी सोधपुछ गर्दा १११ जना लागुऔषधमा फसेका पाएपछि उक्त युवा समूहलाई कुलतबाट बचाउन स्थापना गरिएको लागुऔषध दुर्व्यसनी शिविर नेपालको उपचार तथा पुनर्स्थापना केन्द्रको कोशेढुंगा सावित भयो। आज देशभर दुई सयभन्दा बढी रिह्याब सेन्टर छन्।
उनीजस्ता थुप्रै युवा परिवारको मञ्जुरीमा रिह्याब सेन्टरमा पुर्याइन्छन्। थोरै युवा भने आफैं आश लिएर सुधार केन्द्रको दैलोमा पुग्छन्। आज देशभर हजारौं युवा रिह्याब सेन्टरमा छन्। अधिकांश ढिला ल्याइन्छन् किनकि एक त परिवारलाई थाहा पाउनै ढिला भइसकेको हुन्छ। अर्कोतर्फ रिह्याबमा बस्दा सामाजिक प्रतिष्ठाको डर हुन्छ।
रिह्याबमा ल्याइसकेपछि भने मान्यता प्राप्त चिकित्सकबाट परीक्षण गराइन्छ। कम्तीमा तीन-चार महिना अनुशासनमा राखिन्छ। व्यायाम, प्रशिक्षण, ध्यान, खेलकुद, जीवनोपयोगी सीप सबै सिकाइन्छ।
एउटै किसिमको ड्रेसकोड। डबल डेकर बेडहरू। चिटिक्क मिलाइएका कोठा। दुर्व्यसनीको तीन बाटोः अपराध, मुत्यु वा पुनर्स्थापनाजस्ता लागुऔषधको कुलत छोड्न प्रेरित गर्ने उत्प्रेरणामूलक भनाइहरू कोरिएका भित्ता।
सुधार केन्द्रमा जोखिम पनि छ। सुधारका लागि देशभरका विभिन्न रिह्याबमा पुगेका नौ जना लागुऔषध प्रयोगकर्ता युवाको २०७८ सालको सुरूको नौ महिनामा रिह्याबभित्रै ज्यान गयो। फागुनमा एक जना विराटनगरको रिह्याबबाट भागेपछि खोलामा डुबेको अवस्थामा शव भेटियो। अन्य कैयौं युवा रिह्याबबाहिर ज्यान गुमाउन बाध्य छन्।
आफ्नो लागुऔषधको 'डोज' किन्ने पैसा जोहो गर्न अपराधको दुनियाँमा प्रवेश गर्ने युवा संख्या पनि ठूलै भएको संकेत दिनहुँजसो प्रहरीले लागुऔषध कारोबारीलाई ठाउँठाउँबाट पक्राउ गर्नुले दिन्छ।
लागुऔषधको कुलतबाट पीडित युवाको व्यवस्थापन गर्न राज्यमाथि दबाव छ। यस समस्याका कारण परिवार कसरी विखण्डनको मुखमा पुगेको छ, भावी पुस्तालाई कति चुनौती थपिएको छ, त्यसको न कुनै चित्र कोरेर देखाउन मिल्छ न सामान्य किसिमले अनुमान गर्न सकिन्छ।
यसको वास्तविक चोट तिनले भोग्नुपरेको छ, जसको कान्छो वा एक्लो छोरो वा छोरी ड्रग्सको कालो दुनियाँमा प्रवेश गरिसकेका हुन्छन्। लागुऔषध कारोबारीहरूले संगठित रूपले आफ्नो सन्तानलाई आफैंबाट बिस्तारै बिस्तारै खोसिरहेका हुन्छन्।
भरसक त अभिभावकलाई थाहै हुँदैन। जब थाहा हुन्छ, निकै ढिला भइसकेको हुन्छ। अभिभावकले न, छोराछोरी एडिक्ट भए भन्दै हिँड्न सक्छन् न एडिक्सनको उपचार गरेर सन्तानलाई पुनर्स्थापना गर्ने ग्यारेन्टी गर्न सक्छन्। सबै कुरा भगवान भरोसामा छोड्नुपर्ने अवस्था आइसकेको हुन्छ।
लागुऔषधको समस्या यसरी झाँगिदै छ जसबाट युवालाई जोगाउनै मुश्किल भइसक्यो। हरेक दिन कुनै न कुनै जिल्लाका १८ देखि ३० वर्षका युवायुवती कुनै न कुनै लागुऔषधसहित पक्राउ परिरहेका छन्।
आर्थिक वर्ष २०७७/७८ मा मात्रै दैनिक औसतमा १२ जना पक्राउ परे। दैनिक कम्तीमा ८ जनालाई मुद्दा चलाइयो। एक सय ४७ विदेशी नै परे। कारागारमा रहेका २१ प्रतिशत कैदी बन्दी त लागुऔषधको मुद्दामा कैद भुक्तान गरिरहेका छन्।
यी तथ्यांकहरूले एउटै कुरा सिधा सिधा भनिरहेछन्- लागुऔषध उत्पादन, ओसारपसार, बिक्री-वितरण र प्रयोगले युवाहरू बर्बाद हुँदैछन्। प्रहरी प्रशासनको कार्यचाप बढेको छ। कारागार प्रशासनको बोझ थपिएको छ। अदालतको ठूलो समय र स्रोत नष्ट हुँदैछ। परिवारका लागि अकाट्य पीडा छ। समाजका लागि कम देखिने, बढी दुख्ने अदृश्य महामारी भएको छ लागुऔषध दुरुपयोग।
त्यसैले भरसक कोही पनि यो कुलतरूपी महामारीमा नपरून्। परेकाहरू चाँडै समस्याबाट फुत्किन सकून्। फुत्केकाहरू समाजमा पुनर्स्थापित हुन सकुन्। पुनर्स्थापना भएकाहरूले अरुलाई यस्तो गलत बाटो जानबाट रोक्न सकून्।
त्यसका लागि अभिभावकले छोराछोरीको राम्रो हेरविचार गर्नमा कसर बाँकी राख्न भएन। विद्यालय उमेर नै सबभन्दा जोखिममा रहेकाले विद्यालयले थप सतर्कता अपनाउनु पर्यो। युवाहरूले सही र गलत छुट्याएर सही बाटो हिँड्ने प्रयत्न गर्नु पर्यो। पुनर्स्थापना केन्द्रहरूले प्रयोगकर्तालाई आगामी दिनमा पुनः नदोहोर्याउने गरी परामर्श दिनुपर्यो र उपचार गर्नुपर्यो।
(लेखक उपाध्याय गृह मन्त्रालय, लागुऔषध नियन्त्रण शाखाका प्रमुख हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)