केही दिनअघि राष्ट्रिय स्तरको एउटा टेलिभिजन च्यानलले आफ्नो मुख्य समाचारको समयमा सुदूरपश्चिमको गौरीफन्टा नाकामा सीमा पार गर्न लागेका युवाहरूको ताँती देखायो।
उक्त दृश्य देखाउनुअघि टेलिभिजनले धनगढीको बसपार्कमा भेला भएका केही युवाहरूलाई पछ्याएको रहेछ। तीमध्येका केहीसँग संवाद गरेको रहेछ।
संवादको एउटा प्रश्न थियो– देशमा स्थानीय तहको चुनाव आउँदै छ, चुनावमा भोट नहालीकन किन तपाईं भारत जाँदै हुनुहुन्छ?
तीन जना युवाको जवाफ एकै प्रकारको थियो– चुनावले हामीलाई केही दिँदैन, जसले जिते पनि हामीलाई रोजगारी दिने होइनन्। हामीलाई परिवार पाल्न पनि मुश्किल छ, अनि भारत नगएर के गर्ने?
अर्का एक जनाले भने– यहाँ हाम्रा केही साथीहरूले लेबर काम गरेका थिए। तर तीन वर्षसम्म त्यसको भुक्तानी पाएनन् अनि यहाँ बसेर के गर्नु?
यी सुदूरपश्चिमका प्रतिनिधि युवाहरू हुन्। उनीहरूको निराश जवाफबाट हामी सहजै अनुमान गर्न सक्छौं, देशमा हुन लागेको चुनावप्रति ग्रामीण युवाहरूको कुनै लगाव र चासो छैन। यो चुनावमा जसले जिते पनि उनीहरूको भान्साको चुलो बाल्न कसैले सघाउने होइन।
टेलिभिजनको दृश्य देख्दा लाग्यो कतै गाउँमा भोट हाल्ने युवाहरू नै नहुने पो हुन् कि!
आफूले भारतमा चौकीदारी गरेको बताउने माओवादी नेता त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री छन्। उनको पाँच वर्षको कार्यकाल चाँडै पूरा हुँदैछ।
पाँच वर्ष कार्यकाल पूरा गर्नै लाग्दासम्म पनि उनले भारतमा काम गर्न जाने नेपालीको पीडा आफैंले बोध गरेका हुँदा त ती युवाहरूमा उत्साह जगाउने कुनै काम गर्ने थिए। स्वदेशमै बसेर काम गर्न प्रेरित गर्ने थिए र यसनिमित्त उचित वातावरण बनाउने थिए। स्वरोजगारीका अवसरहरू सिर्जना गर्ने थिए। उनले प्रदेशमा रोजगारी सिर्जनाको कुनै पनि काम गरेनन्।
सधैं जसो डडेल्धुरा त कहिले कञ्चनपुरबाट चुनाव जितेर नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री पदमा आसीन छन्। दोस्रो पटक नेपाली कांग्रेसका सभापति भएका छन्। यति शीर्ष र कार्यकारी तहका नेता देउवाले पनि सुदूरपश्चिमका युवाहरूले स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउन सकेनन्। यसतर्फ अलिकति पनि योगदान गर्न सकेनन्।
सुदूरपश्चिम एउटा उदाहारण हो। देशभरबाट युवाहरू रोजगारीका लागि विदेश जाने प्रचलन नयाँ होइन, करिब दुई सय वर्षदेखि भइरहेको छ। यसो हुनु रहर हो कि बाध्यता भन्नेतर्फ भने कसैको पनि ध्यान गएको देखिँदैन।
दलित महिला संघ (फेडो) ले गत वर्ष खास गरी कोभिडलाई ध्यानमा राखेर सात वटै प्रदेश समेट्ने गरी एउटा सर्वेक्षण गरेको थियो। यसमा वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिहरू समेटिएका थिए। सर्वेक्षण यो पंक्तिकारकै नेतृत्वमा भएको थियो।
यो आलेखमा उक्त सर्वेक्षणले देखाएका अवस्थाहरूको चर्चा र विश्लेषण गर्ने प्रयास गरिएको छ।
सर्वेक्षणमा हरेक प्रदेशमा गोलाप्रथाबाट ३० जना दलित र ३० जना गैरदलित उत्तरदाता छनोट गरी निर्धारित प्रश्नहरू गरिएको थियो। कम्तीमा ३० जना उत्तरदाताको सहभागितालाई प्रतिशतमा व्यक्त गर्न सकिने तथ्यांकशास्त्रको नियमअनुसार यहाँ त्यसको केही विश्लेषण गरिएको छ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूमध्ये सुदूरपश्चिमका उत्तरदाता बढी पढेका पाइए। आधारभूत तह मानिने कक्षा आठदेखि एसइइसम्म पढ्नेको संख्या ५२ प्रतिशतभन्दा बढी थियो। निरक्षर साढे एक प्रतिशत मात्र थिए। नेपालभरको तथ्यांकमा ७.६ प्रतिशत निरक्षर थिए। यसको अर्थ हो, सुदूरपश्चिमका युवाहरूले आधारभूत तहको शिक्षा लिएका छन् तर स्वदेशमा रोजगारीको अवसर नभएर विदेश जानु परेको छ।
यसरी वैदेशिक रोजगारीमा जानेहरूमा प्राविधिक शिक्षा प्राप्त गर्ने नेपालभरमा जम्मा १.७ मात्र प्रतिशत देखिए, सुदूरपश्चिममा यो संख्या शुन्य देखियो। यसको मतलब सुदूरपश्चिममा रोजगारीमूलक प्राविधिक शिक्षाको पूरै अभाव छ।
सहभागी उत्तरदाताहरूमध्ये सुदूरपश्चिममा आम्दानीको मुख्य स्रोत कृषिबाट जम्मा ७.७ प्रतिशत देखियो भने वैदेशिक रोजगारीमा निर्भरता ८१.५ प्रतिशतको देखियो। यो निर्भरता पूरा नेपालमा ३८.३ प्रतिशत मात्र देखियो। यसको मतलब सुदूर पश्चिममा कृषि अत्यन्त कमजोर रहेको कारणले पनि वैदेशिक रोजगारीमा बढी निर्भर हुनु पर्यो।
कृषि कमजोर भएपछि पर्याप्त खाद्यान्न हुने भएन। सुदूरपश्चिममै सर्वेक्षणमा सहभागी ८४.२ प्रतिशत उत्तरदाताहरूले आफ्नो कृषि उब्जनीले तीन महिना पनि खान नपुग्ने बताए। यसरी तीन महिना खान पुग्दैन भन्ने उत्तरदातामध्ये ७५.१ प्रतिशत दलित थिए।
वैदेशिक रोजगारीबाट फर्केका उत्तरदाताहरूमध्ये कुन देशमा बढी गएका थिए भन्ने हेर्दा अचम्म लाग्ने कुरा के देखियो भने सुदूरपश्चिमबाट भात जाने ९८.५ प्रतिशत भेटिए। देशभरबाट भने सरदर ४८.१ प्रतिशत भारत जाने भेटिए।
हामीलाई मधेश प्रदेशबाट धेरै व्यक्ति रोजगारीका लागि भारत जान्छन् होला भन्ने लागेको थियो तर त्यहाँ त जम्मा ३७.९ प्रतिशत मात्रै भारत जाने भेटिए।
नेपाली युवाहरू रोजगारीका लागि लाखौंको संख्यामा पुग्ने गन्तव्य खाडी देश र मलेसिया हुन् तर सुदूरपश्चिमबाट जम्मा १.५ प्रतिशमात्रै खाडी गएको पाइयो। नेपालको सरदर ३५.२ प्रतिशत देखियो।
निश्चय पनि खाडी र मलेसिया जानेले भारत जानेको भन्दा बढी कमाउँछन् तर सुदूर पश्चिमका युवाहरूको निर्भरता भारतमा अत्यधिक देखियो। बढीभन्दा बढीलाई भारतको सट्टा खाडी तथा मलेसिया पठाउन सके उनीहरूको आम्दानी र अवस्था अझ राम्रो हुने थियो।
वैदेशिक रोजगारीबाट बढी आम्दानी भित्र्याउन कामदारले त्यहाँ कति समय बिताउँछ भन्ने पक्ष महत्वपूर्ण हुन्छ। सुदूरपश्चिमको हकमा ५०.८ प्रतिशत उत्तरदाताले एक वर्षभन्दा कम समय वैदेशिक रोजगारीमा बिताएको बताए। यही पक्षमा नेपालको सरदर २८.७ प्रतिशत देखियो। दुई देखि तीन वर्ष बिताउने ३५.३ प्रतिशत रहेछन्।
भारत जानेको संख्या ठूलो भए पनि लामो समय काम गर्ने गरी स्थायी प्रकृतिको रोजगारी भएको पाइएन।
वैदेशिक रोजगारीमा जानेहरूको बचत त्यहाँ जान लगानी गरेको आर्थिक स्रोतमा निर्भर हुँदो रहेछ। आफ्नै बचत खर्च गरेर जानेहरू नेपालभर ७१.९ प्रतिशत देखिए भने सुदूर पश्चिममा ३०.८ प्रतिशत मात्र। अर्थात् सुदूरपश्चिममा करिब ७० प्रतिशत व्यक्तिहरू वैदेशिक रोजगारीमा जान ऋण लिँदा रहेछन्।
एकातर्फ एक वर्षभन्दा कम समयका लागि जाने र ऋणसमेत लिने हुँदा आम्दानीले जीवन धान्न नपुग्ने देखाउँछ। बैंक वा वित्तीय संस्थाबाट ऋण लिँदा १२ देखि १८ प्रतिशतसम्म ब्याज लाग्छ, साहुमहाजनसँग २४ प्रतिशतभन्दा बढीमा लिनु पर्छ। सुदूरपश्चिममा ७२.३ प्रतिशतले साहुसँग ऋण लिएको बताए जब कि यसमा नेपालको सरदर ३०.५ प्रतिशत देखियो।
यसरी बढी ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जानु पर्दा उनीहरूले कति बचाउन सक्छन् भन्ने प्रश्न गर्न सकिन्छ। आम्दानीको ठूलो हिस्सा साँवाब्याज तिर्नमै खर्च हुन्छ। बैंकबाट ऋण लिने सुदूरपश्चिममा जम्मा १.५ प्रतिशत मात्र देखिए। यसको मतलब बैंकसम्म उनीहरूको पहुँच छैन वा बैंकले पत्याउँदैन भन्ने देखिन्छ।
साहुसँग ३६ प्रतिशतसम्म ब्याजमा ऋण लिने ३६.८ प्रतिशत भेटिए। यो समूह चरम शोषणमा परेको प्रष्ट छ। वैदेशिक रोजगारीबाट फर्केर आएकामध्ये ६३.२ प्रतिशतले ऋण तिरेको र ३६.८ प्रतिशतले तिर्न बाँकी रहेको बताए।
रोजगारीबाट फर्केर आएका मध्येलाई फर्किनुको कारण सोधिएको थियो। त्यसमा सुदूरपश्चिममा ९०.८ प्रतिशतले रोजगारी गुमाएर फर्किनु परेको बताएका थिए, जब कि यो नेपालभरमा यो संख्या सरदर ७३.१ प्रतिशत थियो।
रोजगारीबाट फर्किँदा कसले खर्च बेहोरेको थियो भन्ने प्रश्नको उत्तरमा आफ्नै खर्चले आएको बताउने सुदूरपश्चिममा ८७.७ प्रतिशत थिए, केही अंश रोजगारीदाताले र बाँकी आफैं मिलाएर भन्नेहरू १०.८ प्रतिशत थिए।
यहाँ उल्लेख गरिएका तथ्य तथ्यांकहरू हेर्दा सुदूरपश्चिमका युवाहरूको भारतमाथिको निर्भरता ९८ प्रतिशतभन्दा बढी देखियो। त्यहाँ रोजगारीमा विदेश जानेको अनेक पीडा र कष्ट हामीले धेरैभन्दा धेरै सुनेका छौं। देशका प्रधानमन्त्री त्यही प्रदेशका छन्। मुख्यमन्त्री स्वयं भारतमा चौकीदारी गरेर आएको हुँ भन्छन्।
यी नेताहरूले भारतमाथि ऊर्जाशील युवाको निर्भरता घटाउन कुनै प्रयास नगरेको देख्दा अचम्म लाग्छ, दुःख पनि लाग्छ। आगामी दिनमा गठन हुने स्थानीय, प्रादेशिक र संघीय सरकारहरूले रोजगारीका लागि भारतमाथिको अधिक निर्भरता घटाएर स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ कदम चाल्न जरूरी छ।