'मैले पढाएको कस्तो लाग्यो?'
बाल्यकालमा पढेको विद्यालयदेखि स्नातकोत्तर सकेको विश्व विद्यालयसम्म यो प्रश्न कुनै पनि शिक्षकले सोध्नु भएको याद छैन। शिक्षकहरूले धेरै प्रश्नहरू सोध्नु भयो। विभिन्न लिखित र मौखिक परीक्षाहरू लिनु भयो। हाजिरी जवाफ र वादविवाद गराउनु भयो। तर आफूले कस्तो पढाएँ भनेर कहिल्यै सोध्नु भएन।
शिक्षकहरूले सोध्नु भयो, 'तिम्रो भविष्यको सपना के हो?'
तर उहाँहरूले कहिल्यै सोध्नु भएन, 'तिम्रो सपना पूरा गर्न मैले तिमीलाई कसरी सहयोग गरौं? कसरी सिकाऊँ?'
अलिअलि याद छ, विद्यालय निरीक्षकहरू विद्यालयमा आएको र कक्षाकोठाको पछाडि बसेर शिक्षकहरूले पढाएको हेरेको। शिक्षकहरूले सायद विद्यालय निरीक्षक र अन्य अधिकारीबाट पृष्ठपोषण र सुझाव पाउनु भयो होला। प्रधानाध्यापक र विभिन्न विज्ञबाट सुझाव पाउनु भयो होला।
मेहनती र लगनशील शिक्षकले सिकाउने तरिकाहरू पुस्तकमा पनि खोज्नु भयो होला। पुस्तकालय जानु भयो होला। अग्रजसँग सोध्नु भयो होला। कम्प्युटर र इन्टरनेटमा पहुँच हुनेले अनलाइनमा उपलब्ध अनेकन् सामग्रीहरू खोतल्नु भयो होला।
तर शिक्षकलाई सबैभन्दा नजिकबाट अनुभव गर्ने विद्यार्थीहरूसँग नै सुझाव र पृष्ठपोषण माग्ने गरिएन।
विद्यार्थीलाई मात्र थाहा हुन्छ- शिक्षक कक्षाकोठामा आउँदा कस्तो वातावरण हुन्छ? शिक्षकको कुन व्यवहार फलदायी र कुन हानिकारक छ? कसरी पढाउँदा विद्यार्थीहरूले राम्रोसँग बुझ्छन्? शिक्षकले सिकाउने तरिका स्पष्ट र सजिलो छ कि छैन?
सायद उहाँहरूलाई कसैले सिकाएन। केही शिक्षकलाई लाग्यो होला- बालबालिकाहरूले के नै जानेका हुन्छन् र!
आजसम्म पनि यदाकदा केही विद्यालय र शिक्षकहरूको प्रयासबाहेक विद्यार्थीहरूलाई शिक्षण सिकाइबारे सोध्ने प्रयास भएको पाइँदैन। हाम्रो समग्र शिक्षा प्रणालीले आजसम्म गरिरहेको यो एउटा महाभूल हो- कक्षाकोठादेखि नीति बनाउने ठाउँसम्म विद्यार्थीहरूको पर्याप्त सहभागिता नगराउनु।
जब विद्यार्थीहरूका लागि नीति र योजना बन्ने क्रममा उनीहरूको अनुभव र विचार सुनिँदैन, उनीहरूलाई सहभागी गराइँदैन, ती नीति र कार्यक्रमहरू सही रूपमा विद्यार्थीहरूका लागि कसरी उपयोगी होलान् र!
कुनै कम्पनीले आफ्नो सामानबारे ग्राहकसँग पृष्ठपोषण माग्छ, सर्वेक्षण गर्छ, अनुसन्धान गर्छ। समग्र शिक्षा प्रणालीको सेवाग्राहीहरू त विद्यार्थीहरू हुन्। तर शिक्षा सुधार र सुदृढीकरणको छलफलमा उनीहरू नै अटाउँदैनन्।
कुनै कम्पनीले आफ्नो वस्तु वा सेवा बिकेन भने ग्राहकलाई गाली गर्दैन। ग्राहकको इच्छा, पृष्ठभूमि र आवश्यकताको अध्ययन गर्छ।
आफूले पढाएको विद्यार्थी असफल हुँदा शिक्षक लगायत नीतिगत तहका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिले यस्तै गर्नु पर्ने होइन र?
कुनै विद्यार्थी परीक्षा र जीवनमा असफल हुनु विद्यार्थीको मात्र असफलता होइन। त्यो त शिक्षक, विद्यालय, समुदाय र सरकार सबैको दोष हो।
हामीलाई लाग्छ, वार्षिक वा त्रैमासिक रूपमा लिइने परीक्षाहरू विद्यार्थीका परीक्षा हुन्। तर त्यो परीक्षा शिक्षक, विद्यालय, समुदाय, सरकार तथा सम्पूर्ण सरोकारवालाको पनि परीक्षा हो। ती परीक्षाहरूमा विद्यार्थीहरू असफल हुनु सबै असफल हुनु हो।
सन् २०१३ मा 'टिच फर नेपाल' को पहिलो समूहको 'फेलो' हरूको प्रशिक्षणको दौरान तत्कालीन तालिम प्रमुख स्वस्तिका श्रेष्ठले भन्नु भएको थियो, 'शिक्षकको रूपमा तिम्रो एक मात्र विद्यार्थी असफल भए पनि त्यो तिम्रो असफलता हो।'
उहाँको भनाइ शिक्षकमा मात्र होइन, शिक्षा प्रणालीका सम्पूर्ण हिस्सेदारहरूमा लागू हुन्छ। एउटा विद्यार्थी मात्र असफल हुनु भनेको पनि हाम्रो सम्पूर्ण शिक्षा प्रणाली असफल हुनु हो।
शैक्षिक उपलब्धि बढाउन भनेर हामीले धेरै राष्ट्रिय र अन्तराष्ट्रिय निकायलाई गुहार्यौं। धेरै तालिम र गोष्ठीहरू गर्यौं। तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गर्ने विद्यार्थीको राष्ट्रिय परीक्षण (NASA) ले विद्यार्थीको सिकाइ स्तर सन्तोषजनक देखाएको छैन।
तुलसीपुर उपमहानगरपालिकाले सन् २०१९ मा आफ्नो क्षेत्रका सबै विद्यालयहरूमा असर (ASER- Annual Status of Education Report) सर्भे गरेको थियो। यस सर्भेका अनुसार कक्षा ८ मा अध्ययनरत ६४ प्रतिशत विद्यार्थीहरूलाई कक्षा ३ मा सिकिसक्नु पर्ने गणितको साधारण भाग मिलाउन आएको थिएन। ७३ प्रतिशत विद्यार्थीहरूले कक्षा ३ कै तहको साधारण अंग्रेजीको प्रश्नको जवाफ दिन सकेका थिएनन्। ४० प्रतिशत विद्यार्थीहरूले नेपाली भाषा बुझेर जवाफ दिन सकेका थिएनन्।
यस सर्भेले सार्वजनिक विद्यालयमा विद्यार्थीहरू सिकाइ उपलब्धिमा निकै संघर्ष गरिरहेको देखाएको थियो। तुलनात्मक रूपमा सार्वजनिकभन्दा केही बढी भए पनि निजीमा पनि सन्तोषजनक थिएन।
तुलसीपुर उपमहानगरपालिकाको यस तथ्यांक नेपालको अन्य ठाउँमा पनि यस्तै होला भन्ने अनुमान लाउन सकिन्छ। उपमहानगरपालिकै यो स्थिति छ भने दुर्गम ठाउँमा रहेका पालिकाहरूको स्थिति झन् निराशापूर्ण रहेको अनुमान लाउन सकिन्छ।
ग्रेडमा मापन गरिने शैक्षिक उपलब्धि एउटा पक्ष भयो, हाम्रो शिक्षालाई जीवन र सीपसँग नजोडिएको आरोप पनि लाग्ने गरेको छ।
यस्तो स्थितिमा मन्त्रालयदेखि शिक्षकसम्म सबैले हरेक कक्षामा विद्यार्थीहरूलाई सोध्नै पर्छ- सिकाउने तरिकामा कहाँ त्रुटि भयो? जति कुरा सिक्यौ, के कारणले गर्दा सिक्यौ? जति सिकेनौ, के कारणले गर्दा सिक्न पाएनौ? कक्षाकोठा र विद्यालय कस्तो होस् भन्ने चाहन्छौ? अभिभावकले के कुरा बुझिदिऊन् भन्ने चाहन्छौ? समुदाय र सरकारले के गरोस् भन्ने चाहन्छौ? आफूलाई अब्बल बनाउन आफैं के के गर्न चाहन्छौ?
विद्यार्थीहरूसँग संसारबारे फराकिलो ज्ञान नहोला तर उनीहरूसँग कक्षाकोठा र विद्यालयको ताजा अनुभव हुन्छ। उनीहरूसँग सिद्धान्तका पर्खालहरू कम हुन्छन्। उनीहरू स्वच्छन्द तरिकाले सोच्न सक्छन्।
टिच फर नेपालको फेलोसिपको दौरान शिक्षणको सुरूआती दिनहरूमा मैले एउटा गल्ती गरिरहेको थिएँ- विद्यार्थीलाई आफूले सिकाएको तरिकाबारे बुझ्ने कोसिस गरिनँ। जोन डिवे र पाउलो फ्रेरेलाई पढ्न कोसिस गरेँ। छिमेकी मुलुक भारतमा गिजुभाइले गरेका प्रयासहरूबाट सिक्न खोजिरहेको थिएँ।
वर्षाको मौसममा कक्षाकोठामा सिकाइ क्रियाकलाप गर्न संघर्ष भइरहेको थियो। जस्ताको छानामा पानी दर्किएपछि कक्षामा एकअर्काले बोलेको सुन्न निकै कठिन थियो। यसले गर्दा धेरै कक्षाहरू डिस्टर्ब भयो। यसको समाधानको तरिका खोज्न साथीहरूसँग कुरा भयो। अनलाइनमा खोजियो। तर कतै उपाय फेला परेन।
एक दिन पानी परिरहेको बेला कक्षामा विद्यार्थीहरूलाई अनायसै सोधेँ, 'के गर्ने? पानी परेको बेला कसरी सिक्ने?'
उनीहरूले विभिन्न जवाफ दिए, 'पानी परेको बेला कक्षा नगर्ने, रोकिएको कक्षा शनिबार वा कुनै बिदाको दिन गर्ने।'
केही विद्यार्थीहरूको यस्तो विचार आयो, 'सरले नबोलिकन अभिनय गरेर सिकाउने, हामीले पनि अभिनयकै शैलीमा छलफल गर्ने। पानी परेको दिन लेख्ने अभ्यास गर्ने। सरले जे सिकाउनु छ, सबै कुरा सेतो पाटीमा लेखेरै सिकाउने।'
मैले नसोचिरहेको समाधान विद्यार्थीहरूले दिए। त्यसपछि हामी पानी परेको दिन कि त लेख्ने अभ्यास गर्थ्यौं, कि त अभिनय गर्दै सिक्थ्यौं।
यो उपलब्धिपछि मैले आफूले पढाएको शैलीबारे विद्यार्थीहरूको अनुभव सोधेँ। सल्लाह र सुझाव मागेँ।
उनीहरूले मैले कल्पना नै नगरेका सुझावहरू दिएका थिए- सेतो पाटीमा लेखेको अक्षर पछाडिको बेन्चबाट हेर्न अलिक गाह्रो भयो, अलिक ठूलो अक्षर लेख्नु पर्यो। बोली अलिक छिटो भयो, राम्रोसँग बुझ्नै कठिन भयो।
एक विद्यार्थीले लेखेकी थिइन्- सरले अगाडि र पछाडिको बेन्चलाई धेरै ध्यान दिनु भयो। बीचको बेन्चमा बस्नेलाई कम वास्ता गरेजस्तो लाग्यो।
अर्का विद्यार्थीले लेखेका थिए- कहिलेकाहीँ प्रश्न सोध्नेबित्तिकै जवाफ आउँदैन। प्रश्न सोधेपछि एकैछिन सोच्ने समय दिनु पर्यो।
'के' सिकाउने, शिक्षकहरूले जान्नु पर्ने रहेछ तर 'कसरी' सिकाउने विद्यार्थीहरूले आफ्नै अनुभवबाट अभिव्यक्त गर्न सक्ने रहेछन्।
शिक्षक, नीति निर्माता र 'विज्ञ' को ज्ञान र सिद्धान्तहरूसँग विद्यार्थीहरूको अनुभव जोडेर हेर्न सके मात्र वास्तविक परिवर्तन सुरू हुन्छ। बालबालिकाले अनुभव गरिरहेको साना-साना देखिने समस्याहरू मात्र समाधान गर्न सकियो भने पनि त्यसले सिकाइमा उल्लेख्य प्रभाव पार्छ।
पाँचखाल नगरपालिकाको एक अनुभव
स्थानीय निर्वाचनको दुई हप्ताअगाडि काभ्रेको पाँचखाल नगरपालिकाले एक कार्यशाला आयोजना गरेको थियो। समग्र शिक्षा प्रणाली कसरी सुधार्न सकिन्छ भन्ने हेतुले विद्यार्थी र शिक्षकहरूसँग छलफल गरेको थियो।
यस कार्यशालामा आजाद माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रा अर्पणा दनुवार आफ्नो नगर प्रमुख महेश खरेलसँग गुनासो गर्दै थिइन्, 'विद्यालयको अगाडि जेब्रा क्रसिङको व्यवस्था हुनु पर्यो। गाडीहरू हुइँकिएर आउँदा हामीलाई बाटो काट्न सारै अप्ठ्यारो भयो।'
अर्पणा र अन्य विद्यार्थीहरूले आफू र आफ्ना साथीहरूले दैनिक भोगिरहेका अनुभवको आधारमा सुझाव दिइरहेका थिएः
- हामीलाई सिकाउने शिक्षकलाई योग्य बनाइदिनु पर्यो। पर्याप्त शिक्षकको व्यवस्था गरिदिनु पर्यो।
- महिनावारीको समयमा छात्राहरूलाई साह्रै गाह्रो हुन्छ। विद्यालयमा नै सफा शौचालय, पर्याप्त पानी, प्याड र आराम गर्ने ठाउँको व्यवस्था गरिदिनु पर्यो।
- प्राविधिक विषय पढ्नका लागि यहाँका विद्यार्थी बिहान ५ बजे उठेर भ्याइनभ्याइ बनेपा, काठमाडौं जानु पर्ने समस्या छ। यस्तो विषय पढ्ने व्यवस्था आफ्नै ठाउँमा गर्न सके सबैको समय र खर्च बच्थ्यो।
- एसइई सकेपछि कहाँ पढ्ने भनेर सबैलाई तनाव हुन्छ। आफ्नै नगरपालिकामा गुणस्तरीय उच्च शिक्षा पढ्ने व्यवस्था गरिदिनु पर्यो।
- विद्यालय आउन र जानका लागि सवारी साधनको व्यवस्था गरिदिनु पर्यो। मेन रोडमा चल्ने गाडीहरूले विद्यार्थीहरूलाई चढाउँदैनन् र अन्य ठाउँमा त सार्वजनिक गाडी पनि छैन।
- हामीलाई खेतीपाती गर्न आउँछ। अब कम्प्युटरमा पनि दक्ष बनाइदिनु पर्यो।
- सबै शौचालयमा चुकुल र पानी हुनु पर्यो।
- अपांगता भएका साथीहरूलाई पनि सहज हुने शौचालय व्यवस्था गरिदिनु पर्यो।
यस कार्यशालामा शिक्षक र विद्यार्थीहरूले प्रस्तुत गरेको कुरामा फराकिलो अन्तर थियो। शिक्षकको दरबन्दी थप्नु पर्नेबाहेक विद्यार्थीहरूले प्रस्तुत गरेको कुनै पनि कुरा शिक्षकको प्रस्तुतिमा थिएन।
यस्तो कार्यक्रम अन्य ठाउँमा गर्ने हो भने पनि उस्तै नै हुने अनुमान गर्न सकिन्छ। यस्तो लाग्छ, विभिन्न भूमिकामा बसेका वयस्कहरूले बालबालिकाले अनुभव गरेको कुरा बुझ्न सकेका छैनौं। बालबालिकाकै तहबाट संसार हेर्न सकेका छैनौं।
पाँचखाल नगरपालिकाको प्रयास हरेक ठाउँ हुनु पर्छ। बालबालिकालाई के समस्या छ भनेर उनीहरूबाहेक अरूलाई थाहा नहुन सक्छ। बालबालिकासँग छलफल गर्दा सिकाइप्रति नै उनीहरूको अपनत्व बढ्छ। कुनै नीति आफैंसँग छलफल गरेको ल्याएको हो भन्ने थाहा पाउँदा त्यस नीतिको हिस्सा उनीहरूले पनि महसुस गर्नेछन्।
प्राध्यापक विद्यानाथ कोइराला धेरै ठाउँमा भन्छन्, 'एउटा भान्सेले आफूले पकाएको खाना कस्तो भयो भनेर खानेहरूसँग सोध्छ। शिक्षकहरूले पनि आफूले पढाएको कस्तो भयो भनेर सोधौं।'
अब शिक्षकले मात्र होइन, शिक्षामा काम गर्ने हरेक व्यक्ति र निकायले विद्यार्थीहरूलाई सोधौं- हाम्रो व्यवहार र प्रयास कस्तो लागिरहेको छ? हामीले गरेको कामले सिकाइमा सहयोग गरेको छ कि छैन?
यस लेखको अन्तर्य विद्यार्थीहरूलाई मात्र सोधौं भन्ने होइन। शिक्षक, कर्मचारी, नीति निर्माता र सबै सरोकारवालाबीच छलफल हुनु पर्छ। तर यस्ता छलफलहरूमा विद्यार्थीलाई छुटाउनु हुँदैन। वयस्कलाई साना र सामान्य लाग्ने कुराहरू नै सिकाइका लागि बाधक भइरहेका हुन सक्छन्। यसका लागि हरेक नीति र कार्यक्रमको केन्द्रमा विद्यार्थीहरूलाई राखेर सोचौं, उनीहरूलाई पनि सहभागी गराऔं।
ट्वीटर- @mani_bijaya
(लेखक किङ्स कलेज काठमाडौंका सामुदायिक केन्द्र प्रमुख हुन्।)