धेरै वर्षको अन्तरालमा यो बर्खाको सुरूआतमै उत्तरी गोरखाको आफ्नै खेतमा रोपाइँ गर्ने मौका मिल्यो।
आफन्ती र छरछिमेकको साथमा हिलोमा खाली खुट्टा गाड्दा, हातले हिलाम्मे माटो सुम्सुम्याउँदा र लतक्कै गलेको माटोको सुगन्ध लिँदा बेग्लै आनन्द भयो। यो स्वदेशको सुवास थियो, संस्कृति र सभ्यताको पहिचान थियो। यति आनन्द लन्डन र सिड्नीमा बस्दा पनि कहिल्यै अनुभव भएन।
कोही जोत्दै छन्, कोही आली लाउँदै छन्, कोही दाँदे कुदाउँदै छन्। कोही महिला ब्याडमा बिउ उखेल्दै छन् त कोही घोप्टो परेर बिउ छुपुछुपु गाड्दै छन्। निकै कठिन परिश्रम गर्नु परेको छ सबै खेतालाहरूले। तैपनि सबै रमाएकै छन्।
गाउँका धेरै केटाहरू खाडी र मलोसियामा पसिना बगाउन गएका कारणले प्रायःजसो खेताला पाका छन् तैपनि तिनको बुढो र खिइँदै गएको हड्डीमा नयाँ जोस र जाँगर भरिएको आभास हुन्छ, मनसुनी बैंसले मात्तिएका ससाना खहरेमा ठूला र शक्तिशाली भेल आए जस्तै।
करिब तीन बजे मेरी आमाले डोकाभरि खाजा बोकेर ल्याउनुभयो। थकित जिउहरूमा भोक जाग्यो। हात धोएर खेतालाहरू आए। दाल, भात, तरकारी, अचारको स्वादमा रमाए। गफगाफ पनि चल्दै गयो। छोरा मान्छेहरूले केही गिलास रक्सी वा जाँड पिए। सबैका लागि एक खाले पिकनिकजस्तो रमाइलो भयो तर सबै खेताला हामीसँग थिएनन्।
अघिसम्म हाँस्दै खेल्दै सँगै रोपाइ गरिरहेका मान्छेहरू भोजनको समय दुई किनारा भए; दलित भनिएका जति हामतिर, पवित्र जात कहलिएकाहरू अलि पर। खाने बेला हामी सँगै बस्न नमिल्ने, हामीबीच स्पर्श हुनै नहुने। दालचामल, नुनभुटुन सबै हामीले नै दिएको हो तर चोखो मानिने जातका लागि चोखै जातले पकाएर ल्याएका थिए।
यसरी हजारौं वर्षअघि मनुले निर्माण गरेको सामाजिक र धार्मिक कानुनले हामीलाई विभाजन गर्यो। धार्मिक विश्वासकै कारण त्यति सोझा, इमानदार, सहयोगी गाउँलेहरू जातीय नियम उल्लंघन भयो भने हत्याहिंसा गर्न समेत पछि पर्दैनन्।
समाजशास्त्र बुझेको मान्छे म, मेरो आक्रोश ती उपल्ला जातिका गाउँलेहरूभन्दा हाम्रो धर्म, संस्कार, संस्कृति र राजनीतिप्रति बढी केन्द्रित भयो। यी थोरै पढेका वा निरक्षर खेतालाहरूले मनुस्मृति, परासरस्मृति जस्ता अत्यन्तै विभेदी धर्मशास्त्र पक्कै पढेका थिएनन्।
तिनले चालचलनका रूपमा मनुकै हजारौं वर्ष पुरानो कानुन अक्षरशः पालना गरिरहेका छन्। मूलतः शूद्र कहलिएकासँग खानपिन गर्दा, घुलमिल हुँदा पितृले पिर्ने, कुलकुलाइन रिसाएर अनिष्ट गर्ने त्रासका कारण गाउँलेहरूले हामीलाई पाइलापाइलामा छुट्याउँदै, अपमानको शिकार बनाउँदै आएका छन्।
गाउँ मात्रै किन? राजधानीमा समेत हामी सितिमिति डेरा पाउँदैनौं, छोरीको बिहे गर्दा पिटिने, मारिने खतरामा हुन्छ किनकि मनुको आज्ञा सबैले पालना गर्छन्। दलित अधिकार एकादेशको कथा बनेको छ किनभने मनुको धार्मिक कानुनका अगाडि राज्यको कानुन अर्थहीन र निस्प्रभावी बनेको छ।
प्रश्न उठ्छ– यति विभेदी समाज कसरी मेरो भन्नु? यति धेरै विभेदले गाँजेको देश कसरी मेरो ठान्नु? कसरी मैले यो देशको माया गर्नु? किन नैले यो देशलाई सम्मान गर्नु? कसरी हामी उत्पीडितले नेपाली हुनुमा गर्व गरौं?
मेरो ठाउँमा कुनै विदेशी नागरिक मेला भर्न आएको भए पनि यसरी सबैसँग टाढा बसेर अपमानको गाँस खानु त पर्ने थिएन। यति धेरै छिःछि र दुरदुर उसले पक्कै सहनु पर्ने थिएन। चालचलनका, रीतिथितिका र परम्पराका नाममा, कुलधर्म बचाउने र देवीदेउता खुसी राख्ने बहानामा अझै कति पुस्ता यो तहको घृणा र अपमान सहिरहने हो हामीले?
हामीले छुँदा छोइने देवतालाई हो कि मान्छेलाई हो? हाम्रो स्पर्शले साँच्चै देउता रिसाउँछन् भने हामी अर्कै धर्मतिर लाग्न बाध्य हुनेछौं। अपमान खप्न नसकेर धेरै उत्पीडितहरू क्रिस्चियन बनिरहेका छन्न्। आत्मसम्मानका लागि, मान्छेझैं बाँच्नका लागि संगठित रूपमा ठूलै संख्यामा धर्मत्याग गर्नु पर्ने स्थिति आउन पनि सक्छ।
यदि हाम्रो स्पर्शले देउता होइन, मान्छे मात्रै रिसाउने हो भने यो मान्यता हटाउने प्रयास किन गरिँदैन? नयाँ संविधान र कानुन कार्यान्वयन गर्ने प्रयत्न किन आजसम्म भएन? यो अहं प्रश्न अब राज्यसत्ता र धार्मिकसत्ताका ठेकेदारहरूले दिनै पर्छ।
विशेषतः गाउँघरमा पाइलापाइलामा कथित दलितले कति घृणा, अपमान र हिंसा सहिरहनु परेको छ भन्ने कुरा हरेक नेतालाई थाहा छ। यी कोही पनि उच्च खानदानबाट आएका होइनन्। आजका शासकहरू प्रायः सबै गाउँले र किसान पृष्ठभूमिबाट आएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुरा जिल्लास्थित पुर्ख्यौली घरमा पुस्तौं हलिया बसेका 'साना जाति' का पूर्वहलियाले अझै हलिया मुक्तिको सेवासुविधा पाउन सकेका छैनन्।
पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराईहरूलाई बाउआमाले दूध बेचेर स्कूल पढाएका हुन्। यिनीहरूले राज्यसत्ता विरूद्धसंघर्ष गर्दा हामीलाई ठूला सपना बाँडे। मुक्ति दिन्छु भनेर उफार्नुसम्म उफारे। जनयुद्धको नाममा हामीलाई मर्न र मार्न पनि अग्रसर गराए। हामी लड्यौं, भिड्यौं। हामीले नै भूमिगत नेताहरूलाई सेल्टर दियौं। बोकेर खोला तार्यौं, खुवायौं, झुप्रामा लुकायौं। के गरेनौं?
जब तिनै विद्रोही नेता शासक बने, हाम्रो पीडा बिर्सिंदै गए। आरक्षण मार्फत केही बफादार दलितलाई सांसद, पालिका सदस्य आदि बनाए होला तर जातीय घृणा र अपमान रोक्ने कुनै नीति वा कार्यक्रम आजसम्म ल्याएका छैनन्।
दलितका सवालमा राजा महेन्द्र र आजका प्रधानमन्त्रीहरूबीच तात्विक भिन्नता छैन। महेन्द्रले २०२० सालमा मुलुकी ऐन संशोधन गरी जातीय विभेद तथा छुवाछुत अन्त्य भएको घोषणा गरे। तर चलिआएको धार्मिक र सांस्कृतिक चलन चल्न दिने भनेर लेखे। छोइछिटो निर्मूल पार्ने हेतु कुनै कदम चालेनन्।
आजका दलीय राजाहरूले पनि संविधान र कानुनमा छुवाछुत मेटाइसकेका छन्। तीन पटक त नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसके। तर त्यो संविधान, त्यो कानुन, त्यो घोषणा भालुलाई पुराण भएको छ। धार्मिक र सांस्कृतिक रूपमा निकै संवेदनशील विषय भएकाले छुवाछुतको सवाल नछुने अघोषित सहमति सबै दलको छ।
नेताहरूले जातीय विभेद व्यावहारिक रूपमा हटाउन कुनै कसरत नगर्नुका पछाडि थुप्रै कारण छन्–
१. शीर्ष नेताहरू पाका छन्। मतलब, उनीहरूको सोच सन् १९६० सेरोफेरोको छ।
२. सबै नेता कथित उच्च जातीय छन्।
३. वामपन्थी भनिने लगायत प्रायः सबै नेता गहिरो धार्मिक विश्वास राख्छन्। उनीहरूको भित्री मनमा देवीदेउता र पितृको डर छ।
४. सबैभन्दा महत्वपूर्ण, पवित्र र अकाट्य परम्परा मान्दै आएको छुवाछुत हटाउन खोज्दा चुनाव हार्ने खतरा हुन्छ भन्ने त्रास छ।
५. अधिकांश दलित नेता र अगुवाहरू दलीय दाम्लोमा हुनाले तिनले पार्टीमा वा सरकारमा आफ्नो मुद्दा सशक्त ढंगले राख्नै सक्दैनन्। सम्बन्धित क्षेत्रबाट दबाब नआएपछि नेतालाई हाइसन्चो हुने नै भयो।
अब हामी उत्पीडितहरू दलित मुद्दामा राज्यको, पार्टीको यस्तो चरम बेवास्ताविरूद्ध संगठित रूपमा उठ्नै पर्छ। हाम्रो अलग्गै संघर्षको ज्वारभाटा उठाउनु पर्छ। अन्य जातिका सचेत मानिसहरूले पनि हामीलाई साथ दिनुपर्छ।
यो समस्या ६० लाख उत्पीडित नागरिकको मात्रै नभएर समग्र देशकै समस्या हो। यस्तो अन्याय र अत्याचार कायम रहँदा विश्वसामु हाम्रो देश, समाज, धर्म,संस्कृति, सभ्यता बदनाम भइराखेको छ। घर, गोठ, पसल र अन्य स्थानमा गल्लीको कुकुर छिर्न मिल्ने तर निश्चित जातका मान्छे छिर्दा पिटिने, मारिने भने पछि कुन ढुंगो युगमा छ त हाम्रो सभ्यता र संस्कृति?
अझ महत्वपूर्ण कुरा त यो छ कि यस्तो खालको विभेद कायम रहँदासम्म सबैले चाहेको शान्ति र समृद्धि सम्भव हुँदैन। जातिवादी परम्पराले कसरी मुलुकलाई उन्नतिको मार्गमा अघि बढ्न दिएको छैन भन्ने तथ्य बुझ्न कुनै ठूलो विश्वविद्यालयको मानवशास्त्री वा समाजशास्त्रीले खर्चिलो र लामो अध्ययन अनुसन्धान गर्नु आवश्यक छैन। जोकोहीले गाउँघर अवलोकन गरे पुग्छ। दसैंतिहार जस्ता चाडवाडको चालचलन हेरे पुग्छ। बिहे र ब्रतबन्ध जस्ता संस्कार वा अनुष्ठान बुझे पुग्छ। अझ यो असार–साउनमा रोपाइँ हेर्दा पनि प्रष्ट हुन्छ।
जोत्नलाई नभइन हुने सामग्री हो नारा। नारा बनाउँछ सार्कीले मरेका गाईको छाला काढेर अनेक अपमान सहँदै। परम्परागत हलोको निकै सानो तर सबैभन्दा महत्वपूर्ण भाग फाली हो। दरो र धारिलो फालीबिना हलोको काम छैन।
खेत रोप्दा आली लगाउने, बाउसे गर्ने कोदालो पनि कामीकै सीप होइन र? कामीको आरन नभई हँसिया, कोदालो लगायत धरैजसो कृषि औजार बन्दैनन्, मर्मत हुँदैनन्न्। कामीले बनाएका औजारबिना अझै पनि देशका धेरै भूभागमा खेती नै सम्भव हुँदैन। लौरोले घोचेर त पक्कै जग्गा आवादी हुँदैन होला!
जीविकोपार्जनका लागि यति महत्वपूर्ण भूमिका खेल्ने यी श्रम र सीपका धनी नागरिकमाथि खेती लगाउने मौसममा, खेतबारीका कान्लाकान्लामा, गरागरामा कति अपमान भइरहेको छ! परम्परागत सीपले समाजलाई लगाएको गुनका बदलामा चरम घृणा र हिंसा पाएको छ।
उसैले बनाएको वा टालेको भाँडोमा पकाएको खाना उसैले झुक्केर छोयो भने पनि लात खान्छ। उसैले बनाएको वा मर्मत गरेको थालबोडका कुकुरले चाटे पनि घिन नमानी सबैले धुन्छन् तर ऊ आफैंले धुनै पर्छ। उसैले बनाएको सुनको गहना चोपेको पानी छर्केर उसैले खाएको भाँडा, उस्तै परे ऊ बसेको ठाउँ समेत चोख्याइन्छ। योभन्दा ठूलो अपमान, योभन्दा ठूलो बैमानी अरू के हुन सक्छ?
गाउँका हरेक व्यक्तिसँग कुस्ती खेलेर हाम्रो मुक्ति हुँदैन। हामी संगठित बनेर अर्कै, अलग्गै विद्रोह मच्चाउनु पर्छ। एउटा यस्तो विद्रोह जसले मान्छे होइन, विचार मारोस्। एउटा यस्तो विद्रोह जुन कथित उच्च जातको नियन्त्रण र निगरानी बाहिर होस्।
हाम्रो नयाँ संघर्षले सशक्त दबाबमूलक सिर्जना गरी धार्मिक र सांस्कृतिक सुधार गर्न राज्यसत्ता र धार्मिकसत्तालाई बाध्य तुल्याउनु पर्छ।
हामीले परिकल्पना गरेको संघर्षमा भद्र अवज्ञा पनि महत्वपूर्ण हुनेछ। यसले परम्परागत मान्यताहरू, विश्वासहरू माथि ठाडो चुनौती दिनेछ।
जस्तै, जुन मन्दिर छिर्न पाउँदैनौं त्यहाँ हामी पूजा गर्दैनौं, भेटी चढाउँदैनौं, दमाह ठोक्दैनौं, नगरा लगाउँदैनौं। अलग्गै भोज खुवाउनेको कुनै बिहे, ब्रतबन्ध र पूजामा बाजा बजाउन इन्कार गर्नेछौं। बर्खामा हाम्रा आरनहरू बन्द गर्नेछौं। विभेदी घरलाई नारा दिने छैनौं। एक-दुई जनाले मात्रै, एक-दुई गाउँमा मात्रै यस्तो हर्कत गर्दा कुटपिट होला, हत्या गरेर पनि संघर्ष दबाइएला। तर संगठित रूपमा देशैभरि यस्ता आन्दोलन फैलाउँदै लगेपछि हाम्रो सीप र साधनको इज्जत गर्न, हामीलाई पनि मान्छेको दर्जा दिन यो समाज, यो संस्कृति, यो धर्म, यो राष्ट्र बाध्य हुनेछ।
देशमा दिगो शान्ति र तीव्र समृद्धि देख्न चाहने सबै जातका, सबै क्षेत्रका देशवासीले हाम्रो यो अलग किसिमको सांस्कृतिक क्रान्तिमा साथ र सहयोग दिनुपर्छ।