सडक व्यापार नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको पछिल्लो कदमले फेरि एकचोटि सहर व्यवस्थापनको मुद्दालाई छलफलको विषय बनाएको छ।
सहरमा सडक व्यापार धेरै पुरानो प्रथा हो। असन र इन्द्रचोकका डबलीहरूमा तरकारी व्यापार आजको होइन। यो अनौपचारिक व्यापार तपाईं-हामीले थाहा पाएदेखि नै थियो र छ।
सहरीकरणसँगै यो व्यापारको आकार र प्रकार भने फेरिएको छ। खर्पन र डोकामा ताजा तरकारी ल्याएर बेच्ने हिजोको तरिकामा पूरै दिन पसल फिँजाएर बस्ने चलन नौलो हो। यसले सहरको सीमित सार्वजनिक स्थल ओगट्ने होडमा सडक व्यापारीहरूको हात माथि पारेको पक्कै हो।
त्यसैले यो व्यापारलाई केही सहरिया शुभचिन्तकहरूले सहरको कसिंगर सम्झन्छन् र छिटोभन्दा छिटो बढार्नुपर्छ भन्ने बुझाइ राख्छन्।
उनीहरूको प्रतिनिधित्व गर्दै पछिल्लो प्रजातन्त्र कालको कुरा गर्ने हो भने काठमाडौंमा पिएल सिंहदेखि अहिलेसम्मका सबै मेयरले आफ्नो कार्यकालको सुरूआतमै यो मुद्दा सम्बोधन गर्न खोजेको देखिन्छ। तर २०५० सालमा सुन्धाराको खुला बजार हटाउने प्रयासदेखि आजसम्म यस विषयलाई सारमा बुझ्ने र दिगो समाधान खोज्नेभन्दा क्षणिक प्रयास गर्ने र असफल भएपछि होस् त भनेर आँखा चिम्लनेभन्दा बढी हुन सकेको छैन।
२०४६ सालअगाडि काठमाडौं सहर त्यति फैलिएको थिएन। प्रजातन्त्र पुनर्स्थापनासँगै उपत्यकामा व्यापक रूपले अनियन्त्रित जनसंख्या भित्रियो। यो जनसंख्याले स्वाभाविक रूपमा यहाँ आर्थिक अवसरहरू खोजेको थियो र त्यसको एउटा सजिलो उपाय फुटपाथ बन्यो।
धरहरामुनिको यस्तो बजार सम्भवतः काठमाडौंको पहिलो संगठित सडक व्यापार थियो। यसको दिगो समाधान खोज्ने भन्दै तत्कालीन महानगरपालिकाले यो बजारलाई नयाँ ठाउँ नबनेसम्मका लागि भनेर खुलामञ्चमा सार्यो।
तर सडक र सहर पचाएका ती व्यापारीले सुन्धाराको आफ्नो पसल खुलामञ्चमा सारे। सुन्धाराको पसलमा आफन्तलाई पसारे। यसरी एकातिर सुन्धाराका पसलले निरन्तरता पायो, अर्कातिर खुलामञ्च पूर्णतः सडक व्यापारीको थप अतिक्रमणमा पर्यो।
जब यस अर्घेल्याइँको चौतर्फी विरोध भयो, तत्कालीन महानगरले विष्णुमती छेउको ह्यूमतमा यो बजार लैजाने कोशिस गर्यो। यो प्रयासमा सडक व्यापारीले तीव्र विरोध गरे। अन्तमा औपचारिक रूपमा फुटपाथ पसल भृकुटीमण्डप सारियो।
यसरी फुटपाथ पसल औपचारिक रूपमा निषेध गरी हङकङ बजारले परिचित भृकुटीमण्डपको बजारको श्रीगणेश भयो।
सहरको घनत्वसँगै विस्तारै फुटपाथ पसलहरू पुनः न्यूरोड, इन्द्रचोकमा देखा परे। सहरको फैलिँदो विस्तारसँगै बालाजु, चाबहिल, कोटेश्वर, कलंकी लगायत सडक, चौबाटामा थप व्यापार देखिए।
२०५४ सालमा केशव स्थापित मेयर भएलगत्तै असन, इन्द्रचोकका फुटपाथ पसल हटाइएको थियो। तर ती पसल हटाएर खाली भएको ठाउँ अर्को दिनदेखि मोटरसाइकल पार्किङले भरियो। अनि महानगरपालिकाले पार्किङभन्दा रोजीरोटीको फुटपाथ पसल नै ठीक भन्ने तर्कका साथ पुनः पसललाई छुट दियो।
त्यसयता पनि थुप्रैपटक यी पसल हटाउने प्रयत्न नभएका होइनन्। काठमाडौं महानगरले नगर प्रहरी व्यवस्था गर्नुको प्रमुख कारण फुटपाथ पसल नियन्त्रण नै थियो। तर यो काममा न महानगरले सफलता हासिल गर्यो, न सडक व्यापार व्यवस्थित र मर्यादित हुनसक्यो। यसमा थप विकृति देखा परे।
एक समय यस्तो थियो, महानगरमा नगर प्रहरीको जागिर खानुको आकर्षण आफ्ना आफन्तलाई सडक व्यापारमा संरक्षण दिनुसम्मको रह्यो।
उनीहरू यति तल झरे, आफ्नो सम्पर्कको सरस्वती छाप कापीलाई सडकमा व्यापार गर्न छुट तर त्यहीँ आफूलाई खुसी नपार्ने बिणा छाप कापी बेच्नेलाई लखेट्नेसम्मका चर्तिकला देखाए। सडक व्यापारीमाथि दुर्व्यवहार गरे। नगर प्रहरीको भ्यान आगमनसँगै क्षणभरका लागि हुने दौडधुप, तानातान र छिनाझप्टीले काठमाडौंको सडकमा दैनिक रमिता हुन्थ्यो।
केही स्थानमा स्थानीय युवाको अग्रसरतामा यी बजार व्यवस्थित गर्ने भन्दै औपचारिकता प्रदान गरियो। कतिपय युवा क्लबले पसल व्यवस्थित गरिदिएबापत आर्जनहरू थाप्न थाले। कतिपयले आफ्नो पसलअगाडि सडक पसल थाप्न दिएबापत भाडा उठाउन थाले।
व्यवस्थापनमा असफल भएपछि आजित भएर होला, महानगर यस विषयमा 'मौनतम् सम्मति लक्षणम्' को अवस्थामा बस्यो। तर बेला बेला सडक व्यापार महानगरको मुद्दा बन्ने गरेको छ।
आखिर को हुन् त सडक व्यापारी? किन यो समस्याको स्थायी समाधान निस्कन सकेको छैन?
सडक व्यापारलाई बुझ्न, सहर र सहरको अनौपचारिकता बुझ्न जरूरी हुन्छ। प्रकृतिमा जंगलको पर्यावरण निर्माण भएको हुन्छ, त्यसैगरी सहर मानव निर्मित पर्यावरण हो। जंगलजस्तै सहरी पर्यावरण पनि क्लिष्ट हुन्छ। यहाँका सदस्यहरूबीच प्रतिस्पर्धा र सरसहयोग हुन्छ। एउटा प्रजातिको उपस्थिति अर्कोका लागि चुनौती र अवसर दुवै हुन्छ। जसरी जंगलमा फुल्ने फूलले भमरा आकर्षित गर्छ, त्यसरी नै सहरको आवश्यकता पूरा गर्न विभिन्न पेसा-व्यवसाय फष्टाएको हुन्छ।
यही आकर्षण र सीमाहरूले सहरमा ठूल्ठूला व्यापारिक घरानादेखि फुटपाथ पसलेजस्ता स-साना व्यापारी झुम्मिन पुग्छन्। साना-ठूला सबै सहरमा अनौपचारिक व्यवसाय आकर्षित हुन्छन्। त्यसैले त सिनेमा घरअगाडि बदाम र सोडा पसल मौलाउँछन्। तर आजको प्रतिस्पर्धामा ठूला व्यापारीले अत्याधुनिक हलहरू निर्माण गरिसके। हलभित्र छिर्न तपाईंको झोलाको तलासी लिइन्छ। यसो नगरिने हो भने पपकर्न र क्यापाचिनोको महँगो व्यापारमा हलमालिकले आधिपत्य जनाउन पाउने थिएनन्।
हालै भारतमा मल र ठूला चेन पसलविरूद्ध उठेको आन्दोलन सहरको यस्तै अवसरमाथि कसले हात माथि पार्ने भन्ने प्रतिस्पर्धाको लडाइँ थियो। यस्तो स्पर्धा एउटा जिउँदो सहरमा निरन्तर चलिरहन्छ। यस्तै आन्दोलन, नियमन तथा प्रतिस्पर्धाले सहरका सदस्यलाई एउटा आकारमा सीमित राख्छ। त्यसैले अनौपचारिक अर्थ-व्यवस्था सबै सहरहरूको अनिवार्य वास्तविकता बनेको छ।
यो कुनै राजनेताको लहडमा सुरू हुँदैन र अन्त्य पनि हुँदैन। त्यसैले फुटपाथ पसल होस् वा अनौपचारिक (सुकुम्बासी) बस्ती हटाउनुपर्छ भन्दा होस्, यसको विषयवस्तुलाई जरैदेखि बुझ्न आवश्यक हुन्छ।
अन्य थुप्रै व्यवसायजस्तै सडक व्यापार पनि सहरको अनौपचारिक अर्थतन्त्रको एउटा पाटो हो। औपचारिक व्यापारका व्यापारीहरूको सिन्डिकेटविरूद्ध यो एक प्रकारको विद्रोह पनि हो। यसले बजारलाई आमजनताको पहुँचसम्म पुर्याउन मद्दत गर्छ। करको दायराभित्र पार्न नसकिएको यो व्यवसाय यस्तै सरकारी छिद्रहरूको उपयोग गर्दै पसल भाडा बचाउँदै, सस्तो र खोजेको ठाउँमा भेट्टाइने भएकाले नै मौलाएको हुनुपर्छ।
अफिसबाट हतारहतार फर्किँदै गरेकाले बाटोमा भेटिएको ताजा साग किन्ने बेला यी पसलेले सडक मिचेको छ वा छैन भन्ने आदर्शपट्टि आकर्षित नहुनु स्वाभाविकै हो। यसरी सस्तो र सहजै उपलब्ध हुने दुइटा गुणको कारण नै सडक व्यापार फस्टाएको हो। तर यो अर्थतन्त्रको लहरो त्यति छोटो छैन। योसँग थुप्रै अनौपचारिक सीप र पेसा जोडिएका हुन्छन्।
बाहिरबाट आयातित मात्र होइन, स्थानीय कृषि उत्पादन, लत्ता कपडा, जुत्ताचप्पलसम्मको पहिलो बजार यिनै पसल हन्। कतिपय यस्ता सामग्री पारिवारिक उत्पादन हुन्, परिवार मिलेर घरमै दिनभरि उत्पादन गर्ने र साँझ बजारमा बेच्न पुग्ने। मूल्यमा प्रतिस्पर्धा गर्ने उनीहरूको यो सजिलो उपाय हो।
सडक व्यापारीहरू व्यापार मात्र गर्दैनन्, उनीहरू सहरका सेवासुविधाका उपभोगकर्ता पनि हुन्। काठमाडौंको भित्री सहरका साँघुरा कोठाहरूको बहाल तिर्ने अधिकांश परिवार सडक व्यापारी लगायत अनौपचारिक व्यवसायकर्ता छन्। भाडा नतिरे पनि दैनिक व्यापार सामग्रीको ढुवानीमा उनीहरूले राम्रै खर्च बेहोरेका हुन्छन्। उनीहरू सधैं आफ्नो सामानको सुरक्षाका लागि चिन्तित हुन्छन्।
स्वाभाविकै छ, यो समुदायको पहिलो ग्राहक सहरका निम्नमध्यम वर्गीय हुन्। त्यसैले सडक व्यापारको कुनै पनि निर्णय लिँदा यो जनमतलाई ध्यान दिनु जरूरी छ। फुटपाथ पसलको विकल्प खोज्दा बेच्नेको मात्र होइन, आवाजविहीन किन्नेको पनि पक्षपोषण हुनु जरूरी छ। किनकि समाजको यो तप्काको सहर निर्माणमा महत्वपूर्ण भूमिका हुन्छ र उनीहरूलाई यो सहर हाम्रो पनि हो भन्ने अनुभूति दिनु राजनीतिक नेतृत्वको सुझबुझ ठहरिन्छ।
त्यसैले सडक व्यापारीलाई सहरकै आमसदस्यमध्ये एक साझेदारका रूपमा बुझ्न जरूरी हुन्छ।
अनौपचारिक अर्थतन्त्रले र अझ सडक व्यापारले काठमाडौं सहरमा कस्तो भूमिका खेलिरहेको छ भन्नेबारे खासै अध्ययन भएको छैन। तै पनि यस क्षेत्रले सहरको अर्थतन्त्रमा तात्विक असर पार्ने योगदान दिएको छ भन्दा अत्युक्ति हुँदैन।
२०६३ सालमा गरिएको एक अध्ययनअनुसार काठमाडौं र ललितपुरमा त्यसबेला ११० स्थानमा दस १० हजार ७१३ सडक पसलहरू थिए। यस व्यापारमा सहभागी ९४५ जनसंख्या आप्रवासी हुन्। जसमध्ये ३९५ पसल तरकारी र फलफूलजस्ता चाँडै गल्ने खाद्य सामानका थिए। लत्ताकपडा २५५, अन्य सामग्री १८५, चियाखाजा १४५ र सेवा व्यवसाय ४५ वटा थिए।
यी दस हजारभन्दा बढी पसलले त्यस बेलै दैनिक दुई करोड २४ लाख रूपैयाँको व्यापार सडकबाटै हुने देखाएको थियो। आम्दानीको हिसाबमा खाद्य सामानको व्यापार त्यति नाफामूलक देखिँदैन थियो। लत्ताकपडा र अन्य सामग्रीको भने व्यापार र कमाइ निकै राम्रो देखिन्थ्यो। सडक ओगट्नेमा पनि खाद्य सामानको व्यापार साँझ केही घन्टाका लागि मात्र हुन्थ्यो। कपडा आदिको भने दिनभरि हुन्थ्यो। तरकारी व्यापार प्रायः काँठका महिलाले गर्थे भने अन्य सामग्रीका पसल प्रायः पुरूषले चलाउँथे।
पन्ध्र वर्षयता काठमाडौं धेरै साँघुरो भइसकेको छ। सीमित खुला क्षेत्र उपयोगमा प्रतिस्पर्धा अझ तीव्र बनेको छ। पहाडको फेदीसम्मै सहर फैलिसकेको छ। सडक व्यापार पनि चक्रपथ नाघेर बाहिरी फेदसम्म पुगिसकेको छ।
यो अवस्थामा सहर व्यवस्थापकहरूलाई दुइटा चुनौती एकसाथ छन्- यी सस्ता बजार टिकाइराख्नुपर्ने आवश्यकता छ। अर्को, सहरको लाइफलाइन बनेका सडक र सार्वजनिक स्थलहरू सामाजिक, सांस्कृतिक र सुरक्षा दृष्टिले पनि खुला राख्नुपर्ने बाध्यता छ।
उसो भए यो समस्याको दिगो समाधान के हुन सक्छ त?
अहिलेको सडक व्यापारलाई दुई समूहमा छुट्याएर हेर्न सकिन्छः तरकारी, फलफूलजस्ता स्थानीय उत्पादनको र अन्य उपभोग्य सामग्रीको।
नियोजित सहरहरूमा यस्ता सामग्री व्यापारका लागि निश्चित स्थान व्यवस्था गरिएको हुन्छ। योजनाविहीन विस्तारित हाम्रो सहरमा भने यस्तो स्थान अभाव छ।
आवासीय क्षेत्रनजिक यस्ता खुला र स-साना तरकारी व्यापार केन्द्र व्यवस्था गर्नु आवश्यक देखिन्छ। सीमित अवधिका लागि खोलिने यस्ता स्थानमा उद्देश्यमूलक ढंगबाट साना व्यापारीलाई खाद्यपदार्थजस्ता तोकिएको उत्पादन मात्र व्यापार गर्न लगाइनुपर्छ।
लत्ताकपडा र अन्य सामग्रीका लागि साँझ-बिहान सञ्चालन हुने हाट ढाँचाका बजार चलाउन सकिन्छ। यस्ता बजार खुला सार्वजनिक स्थानमा भन्दा ट्राफिक डाइभर्सन गर्न मिल्ने सडकको केही क्षेत्र केही घन्टाका लागि लिएर, साँझ वा बिहानी बजारका रूपमा सञ्चालन गर्न सकिन्छ।
उदाहरणका लागि, बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वरिपरिको सडकमा हप्ताको एक साँझ राख्ने। अर्को साँझ जावलाखेलको टेलिकम वरिपरि। यस्तै व्यवस्था चाबहिल, कलंकी, बालाजु आदि ठाउँमा गर्न सकिन्छ।
प्रत्येक शनिबार न्यूरोडको मूलसडकमै यस्तो बजार राख्न सकिन्छ। यसले आफ्नो नजिकको क्षेत्रमा आएको बजारका कारण खरिद-बिक्रीमा बढोत्तरी हुन्छ। यस्ता स्थानमा खानेपानी र शौचालयजस्ता न्यूनतम आवश्यकताका सुविधा व्यवस्था गरिनुपर्छ।
ख्याल राख्नुपर्ने पक्ष के भने, यसरी स्थान उपलब्ध गराउँदा त्यो स्थान अरू दिन अन्य प्रयोजनका लागि हुनुपर्ने सुनिश्चित गरिनुपर्छ। पूरै दिन, साता वा महिना पसल चलाउन दिने हो भने त अर्को भृकुटीमण्डप बन्ने र त्यहाँ विस्तारै स्थायी संरचना नै बन्ने डर हुन्छ।
मानवता र गरिबीका नाममा सडकपेटी मिचेर यस्ता पसल चलाउने काम सामाजिक रूपमा वर्जित गर्नु आवश्यक छ। मानिसको सहज रूपमा हिँडडुल गर्ने अधिकार कुण्ठित गरेर रोजीरोटीको अधिकार स्थापना गर्न सकिँदैन। सहरको पनि सीमितता हुन्छ, उसको लचकताको पनि सीमा हुन्छ भन्ने बुझ्नु आवश्यक हुन्छ।
होइन, फुटपाथ नै आफ्नो अधिकार हो भन्ने तर्क गर्ने हो भने भृकुटीमण्डपमा खुला बजारका लागि व्यवस्था गरिसकेपछि अन्य स्थान उपलब्ध गराउन नगरपालिका बाध्य हुने आधार देखिँदैन। तर यस कामका लागि बजारको राम्रो अध्ययन, विकल्पको पहिचान, स्थानीय बासिन्दासँगको मन्थन र बजार व्यवस्थापन गर्ने संयन्त्रको तयारी पहिले गरिनुपर्छ।
के निश्चित छ भने, सहर भावनाले मात्र चल्दैन। सहर यहाँका सबै सदस्यको सामूहिक थलो हो।