पछिल्लो केही समययता सञ्चारमाध्यममा गेटा मेडिकल कलेजका विषयमा विभिन्न समाचारहरू आइरहेका छन्। पटकपटक गेटा मेडिकल कलेज तत्काल सञ्चालन हुनुपर्ने माग गर्दै संसददेखि सडकसम्म आवाज उठिरहेको छ।
भर्खरै निर्वाचित स्थानीय जनप्रतिनिधिले पनि मेडिकल कलेज सञ्चालन हुनुपर्नेमा सक्रियता देखाउँदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। स्थानीयले समूह नै बनाएर निरन्तर दबाबमूलक काम गरिरहेका छन्।
कसरी सुरू भयो सूदुरपश्चिममा मेडिकल कलेजको कुरा
करिब दुई दशकअघिदेखि सूदुरपश्चिममा मेडिकल कलेज बनाउने कुरा चल्दै आएको हो। सर्वप्रथम जगत गुरु शंकराचार्यले सूदुरपश्चिममा मेडिकल कलेज खोल्छु भनेका थिए। त्यसपछि तत्कालीन प्रधानमन्त्रीले धनगढीमा बनाउनुपर्ने कुरा अघि सारे। तर स्थापनाका लागि समिति बन्नेबाहेक त्यस बेला अन्य कुनै उल्लेख्य काम भएन।
राज्यको नजरबाट टाढा रहेको सूदुरपश्चिममा एउटा मेडिकल कलेज स्थापना गर्ने कुरा निर्वाचनको सम्मुखमा चर्को गरी उठ्न थाल्यो। सबैजसो राजनीतिक पार्टीले सूदुरपश्चिममा एउटा मेडिकल कलेज स्थापना गर्छौं भन्दै यसैलाई चुनावी नारा पनि बनाए।
नजिकै भारतका अस्पताल वा नेपालगन्ज नभए काठमाडौं जानुपर्ने बाध्यताबाट छुटकारा पाउन सकिन्छ होला भन्ने आश जनताले गरेका थिए। भारतका विभिन्न सहरमा उपचारका निम्ति जाँदा लामो दुरीका कारण कतिको ज्यानै जान्थ्यो। कतिले बाटामा अनेक दुःख पाउँथे। त्यसैले जनताले चुनावी नारा पत्याए।
२०६६ सालमा सरकारले गेटा मेडिकल कलेज बनाउने घोषणा गर्दै बजेट विनियोजन गर्यो। त्यसपछि गुणस्तरीय स्वास्थ्य सेवा सहजै पाउन सकिनेमा सूदुरपश्चिमका जनता झन् आशावादी बने। बजेट बिनियोजन भइसकेपछि पनि निर्माण गर्ने भनिएको क्षेत्रमा वन भएकाले केही समय अन्यौल भयो। वन मन्त्रालयले वर्षाैंसम्म सहमति दिएन र निर्माण प्रक्रिया अघि बढ्न सकेन। २०७१ सालमै भवन शिलान्यास भइसक्दा पनि वातावरणीय प्रभाव मूल्यांकन र रूख कटान आदेश नपाएका कारण २०७३ सालमा बल्ल पूर्वाधार निर्माण सुरू भयो।
म बाजुराबाट आएर धनगढीमा प्लस-टु पढ्दै गर्दा 'अब धनगढीमै मेडिकल कलेज बन्ने कुरा छ, यतै पढ्नुपर्ला' भन्ने सोच्थेँ। तर मैले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट करिब ६ वर्ष लाग्ने बिडिएस (दन्त चिकित्सा) पढेँ। पढाइ पूरा गरी हाल म धनगढीको सेती प्रादेशिक अस्पतालमा कार्यरत छु। यति समय बितिसक्दा पनि गेटा वास्तविक रूपमा कहिले सञ्चालनमा आउँछ भन्न सक्ने अवस्था छैन।
डाक्टर गोविन्द केसीको पाँचौं अनसन तोड्दा, २०७१ चैत १९ गते पाँचै विकास क्षेत्रमा आगामी पाँच वर्षमा कम्तीमा एकएक सरकारी मेडिकल कलेज स्थापना हुने नीति लिने सहमति सरकार आफैंले गर्यो। तर स्थापनाका लागि काम अघि बढिसकेको गेटा कलेज अन्यौलताबीच हराइरह्यो। त्यसपछि गोविन्द केसीका हरेक अनसनमा गेटाको निर्माण र सञ्चालन द्रुत गतिमा गर्नुपर्ने समेटिँदै आए।
२०७३ सालबाट २०७९ सम्म आइपुग्दा गेटाको भव्य भौतिक संरचना लगभग बनिसकेको छ। तर कलेजकै रूपमा अघि बढाउन अझै केही वर्ष लाग्ने देखिएको छ। हाल अरू सबै प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज छ। कतिमा सरकारी मेडिकल कलेज बन्ने प्रक्रिया अघि बढेको छ। निजी भए पनि सञ्चालनमा छन्। यी सबै कुराबाट सूदुरपश्चिम प्रदेश भने बञ्चित छ। यहाँ अहिलेसम्म न कुनै निजी मेडिकल कलेज छ, न सरकारी।
त्यसैले भारतको खटिमा, पलिया, वनबास लगायत ठाउँ पहाडी क्षेत्रका जनताका लागि स्वास्थ्यका भरपर्दो स्थान बनेका छन्। पछिल्लो तीन/चार वर्षमा भने धनगढी र अत्तरिया वरिपरि सुविधा-सम्पन्न निजी अस्पताल बनेका छन्। सबै आम जनताको पहुँचमा नभए पनि यसले भारत जानुपर्ने बाध्यात्मक परिस्थितिमा थोरै भए पनि ब्रेक लगाएको छ।
सेती प्रादेशिक अस्पताल ५० शैय्याको रूपमा बनेको थियो। तर अहिले त्यही भौतिक संरचनाभित्र जेनतेन ३०० शैय्याको अस्पताल चलिरहेको छ। अस्पतालमा गुणस्तरीय सेवा हुँदाहुँदै पनि सीमित स्रोतसाधनका कारण शल्यक्रियाको पालो महिनौंपछि आउँछ। अनि बिरामीहरू बाहिर महँगो शुल्क तिरेर उपचार गराउन बाध्य छन्। यी समस्या समाधानका निम्ति आशाको केन्द्रबिन्दुका रूपमा गेटा मेडिकल कलेजलाई सबैले पर्खिरहेका छन्।
भौतिक संरचना बन्यो, प्रारूप अझै अनिश्चित
अहिलेसम्म भौतिक संरचनाको काम धेरै हदसम्म पूरा भइसक्यो। फोहोर व्यवस्थापनका निम्ति संरचना, विद्युत जडान, खानेपानी, केही भवन लगायत भने बन्न बाँकी छ। तर यसलाई कुन प्रारूपमा सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन।
यी कुरा उठाइरहँदा म प्राध्यापक डाक्टर नरेन्द्र भट्टका कुरा सम्झिन्छु। म बिपी प्रतिष्ठान धरानमा पढ्ने बेलामा उहाँले भन्नुभएको थियो- पहिले यहाँका जनताका लागि कुन प्रारूप आवश्यक छ भन्ने खोज, अनुसन्धान, छलफल र अन्तर्क्रिया गरेर निर्णय गर्ने। अनि बल्ल अरू काम सुरू गर्ने। सबै कुरा बनाएर अहिले कुन प्रारूपमा सञ्चालन गर्ने भनेर छलफल गर्नु उल्टो बाटो हो। त्यसैले अझ ढिलो गर्नु हुँदैन।
यसबीचमा गेटा मेडिकल कलेजकै लागि भनेर सरकारले अध्ययन गर्न पटकपटक कमिटी बनाएको छ। निचोड आउन सकेको छैन। भर्खरै जाँचबुझका लागि टोली गेटा भ्रमण गरेर फर्किएको छ। त्यस्तै सरकारले तत्काल अस्पताल सञ्चालन गर्ने भनेर डाक्टर प्रमोद जोशीलाई निर्देशकका रूपमा खटाएको छ। यसले तत्कालीन समस्या टालटुल गर्न सकिएला तर कलेज चलाउन त्यसको प्रारूप निर्धारण गर्नु मुख्य विषय हो।
अहिले गेटालाई शिक्षा मन्त्रालयले आफ्नो मातहत राख्न खोज्दै छ भने स्वास्थ्य मन्त्रालयले आफ्नो मतहात। यसरी मन्त्रालयको जुधाइमा सूदुरपश्चिमबासी परिरहेका छन्। यसले गर्दा काममा अझ ढिलासुस्ती भइरहेको छ।
गेटा मेडिकल कलेज कसरी सञ्चालन गर्ने त?
विभिन्न सुझाव तथा अध्ययनका आधारमा यो लेखमा चार वटा सम्भावित मोडल र त्यसरी सञ्चालन गर्दा कस्तो अवस्था होला भन्नेबारे उल्लेख गरेको छु।
पहिलो, त्रिभुवन वा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज।
दोस्रो, बिपी कोइराला, पाटन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै गरी छुट्टै र स्वास्थ्य मन्त्रालय मातहत रहने गरी सूदुरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने।
तेस्रो, छुट्टै सूदुरपश्चिम चिकित्सा विश्वविद्यालयका रूपमा अघि बढाउने।
चौथो, सूदुरपश्चिम विश्वविद्यालयअन्तर्गत नै रहने गरी मेडिकल कलेज सञ्चालन गर्ने।
सुरूमा पहिलो विकल्पमा जाऊँ।
अहिलेको अवस्थामा मेडिकल कलेजका निम्ति सम्बन्धन दिन सक्ने त्रिभुवन र काठमाडौं विश्वविद्यालय मात्रै छन्। पोखरा र पूर्वाञ्चल विश्वविद्यालयले यसका निम्ति काम अघि बढाए पनि अहिले नै त्यो प्रक्रिया पूरा भइसकेको छैन।
डाक्टर गोविन्द केसीको अन्दोलनपछि बनेको माथेमा प्रतिवेदन र त्यसैअनुरूप बनेका नियम-कानुनले अहिलेकै अवस्थामा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन बन्देज लगाएको छ। त्यसैले गेटालाई अहिलेकै अवस्थामा त्रिभुवन वा काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन सक्दैनन्।
नियम-कानुन संशोधन गरेर सम्बन्धन दिइयो भने पनि कम्तीमा तीन वर्ष अस्पताल सञ्चालन गरिसकेपछि मात्रै विद्यार्थी भर्ना लिने काम अघि बढाउन मिल्छ। फास्ट ट्र्याकमा यो विकल्पमा जाँदा पनि २०८३/८४ अघि विद्यार्थी भर्ना लिन पाउने छैन। यसले सूदुरपश्चिमको समग्र स्वास्थ्य अवस्थालाई अझै एक दशक पछाडि धकेल्ने निश्चित छ। त्यसैले गेटा मेडिकल कलेजका लागि यो विकल्प उपयुक्त छैन।
दोस्रो विकल्प हेरौं।
पछिल्लो समय देशका विभिन्न ठाउँमा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तै मोडलमा गेटालाई स्वायत्त संस्था बनाउने।
अहिले बिपी, पाटन, कर्णाली, राप्ती, मदन भण्डारी, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा अध्ययन गराइरहेका छन्। यसमध्ये पाटन, बिपी र कर्णालीमा एमबिबिएस, एमडी, एमएस लगायत विशेषज्ञ तहको जनशक्ति उत्पादन भइरहेको छ।
प्रतिष्ठानको प्रारूपमा जाँदा अस्पताल र कलेजसँगै सुरू गर्न मिल्छ। तीन वर्ष कुर्नु पर्ने बाध्यता छैन। त्यस्तै यो आफैंमा स्वायत्त संस्था हुनाले यसले सूदुरपश्चिमको वास्तविक अवश्यकता बुझेर त्यहीअनुरूप काम अघि बढाउन सक्छ। गेटाले सेतो एप्रोन लगाउने विद्यार्थीहरू आफ्नो आँगनमा चिकित्सा क्षेत्रमा भविष्य खोज्दै लागिरहेको पाउनेछ। त्यसपछि सूदुरपश्चिमका सबै पहाडी जिल्ला अस्पतालहरूमा हरेक महिना प्रतिष्ठानका विशेषज्ञ चिकित्सकद्वारा घुम्ती क्लिनिक सञ्चालन गर्न सकिन्छ। यसरी उपचार सेवा प्रदान गर्दा समग्र सूदुरपश्चिमको स्वास्थ्य अवस्था सुधार हुन सक्छ।
तर अहिले देशभरका प्रतिष्ठानमा राजनीतिक नियुक्ति मुख्य समस्या बनेको छ। पछिल्लो समय प्रतिष्ठानहरूमा कर्मचारीका नाममा राजनीतिक कार्यकर्ता भर्ती गर्ने र व्यापक अनियमितताको विषय छताछुल्ल छ। यस्तो अवस्थामा प्रतिष्ठान प्रारूपमा सञ्चालन हुने भएमा नियुक्त हुने पदाधिकारी लगायत विषयमा अहिले देखिएका चुनौती समाधान गरेर मापदण्ड र नीति तर्जुमा गर्नु पर्छ।
तेस्रो विकल्प भनेको चिकित्सा विश्वविद्यालयका रूपमा अघि बढाउने हो।
देशमा अहिले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। छुट्टै मेडिकल विश्वविद्यालय छैन। बिपी प्रतिष्ठानलाई नै स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रस्ताव सिनेट बैठकबाट पारित भइसकेको छ। तर यो निर्णय दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने उद्देश्यले गरिएको भन्ने कुरा बाहिरिएको छ। यसको विरोधमा प्रतिष्ठान भित्रबाट र डाक्टर गोविन्द केसीले बिएन्डसीलाई तत्काल सम्बन्धन दिए आन्दोलन गर्ने चेतावनी दिए। अनि यो निर्णयबाट पदाधिकारी र सरकार पछि हटेका हुन्।
आफ्नै गतिमा अघि बढिरहेका अन्य प्रतिष्ठान वा मेडिकल कलेजलाई पुनः चिकित्सा विश्वविद्यालयको ढाँचामा मोड्नुभन्दा स्थापनाको प्रारम्भिक प्रारूपका बारेमा छलफल भइरहँदा गेटालाई नै विश्वविद्यालयका रूपमा अघि सार्न सकिन्छ। यसले समग्र सूदुरपश्चिमको स्वास्थ्य अवस्था उकास्न मद्दत गर्छ नै, यसपछि स्थापना हुने भनेर भौतिक पूर्वाधार निर्माण भइरहेका सरकारी मेडिकल कलेजलाई पनि यसैअन्तर्गत राखेर अघि बढाउन सकिन्छ।
अहिलेकै अवस्थामा प्रस्तावित गेटालाई चिकित्सा विश्वविद्यालय बनाउने हो भने अझै केही समय अवश्य लाग्छ। तर दीर्घकालमा यसको प्रभावकारिता धेरै हुनेछ। त्यसैले अहिले गेटामा अन्दोलनरत समूह लगायत यससँग सरोकार राख्ने सबैले विश्वविद्यालयका रूपमा, नभए प्रतिष्ठानका रूपमा तत्काल सञ्चालन गरी अध्ययन-अध्यापन अघि बढाउन दबाब दिरहेका छन्।
चौथो विकल्प भनेको सूदुरपश्चिम विश्वविद्यालयकै मतहत रहने गरी मेडिकल कलेज विस्तार गर्ने हो।
सूदुरपश्चिम विश्वविद्यालय आफैं अहिले कसरी अघि बढ्ने भन्नेमा संघर्षरत छ। पोखरा र पूर्वाञ्चल विश्वविद्यालयले अन्य थुप्रै कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसक्दा पनि चिकित्साशास्त्र अध्ययनका निम्ति अझै गृहकार्यमै छन्। कार्यक्रम सुरू भइसकेको छैन।
सूदुरपश्चिम विश्वविद्यालय त स्थापना भएको करिब एक दशक मात्र हुँदैछ। चिकित्साशास्त्र अध्ययनको जिम्मा पाए अझै ५/६ वर्ष लाग्ने निश्चित छ। त्यसमाथि राजनीतिक खिचातानीको थलो बनेको विश्वविद्यालयले भर्खरै उम्रिँदै गरेको कलिलो मेडिकल कलेजलाई कुन किसिमको व्यवस्थापन गर्न सक्छ भन्ने पनि हो। त्यसैले अहिले नै मन्त्रालयगत खिचातानीका कारण सूदुरपश्चिमको 'ड्रिम प्रोजेक्ट' लाई यसरी अल्झाउनु र उल्झाउनु कुनै हालतमा सही हुन सक्दैन।
यी सबै विकल्प केलाउँदा र अवस्था नियाल्दा गेटाको अबको सम्भावित निकास सूदुरपश्चिम चिकित्सा विश्वविद्यालय वा राष्ट्रिय चिकित्सा विश्वविद्यालय नै हो।
सूदुरपश्चिममा पहिलो मेडिकल कलेज खुल्दै गर्दा सूदुरपूर्व धरानमा २७ वर्षअघि स्थापित बिपी प्रतिष्ठानलाई नजिकबाट नियाल्नै पर्छ। भारत र नेपाल सरकारको सबभन्दा ठूलो लगानीमा स्थापित यो प्रतिष्ठानले उत्पादन गरेका दक्ष चिकित्सक अहिले देशैभरि गुणस्तरीय सेवा प्रवाह गरिरहेका छन्।
त्यो समयमा प्राध्यापक डाक्टर मदन उपाध्यायको नेतृत्वमा अस्पताल र शैक्षिक पाठ्यक्रमको दरिलो जग बसालियो। अहिलेसम्म अध्ययन, अनुसन्धान र उपचारका निम्ति देशकै मानक संस्थाका रूपमा प्रतिष्ठान स्थापित छ। तर भन्नै पर्छ, पछिल्लो एक दशकमा राजनीतिक दलको हस्तक्षेप, व्यापक अनियमितता र भ्रष्टाचारका कारण बिपी प्रतिष्ठानको गुणस्तर खस्किँदै गएको छ।
यसको सुधारका लागि २०७८ असार १ गतेदेखि अहिलेसम्म प्रतिष्ठानभित्र र बाहिर आन्दोलन जारी छ। सरकारले छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने भनेको थियो। लामो समय भइसक्दा पनि समस्या ज्युँकात्युँ छन्।
यसको अर्थ नेपालमा प्रतिष्ठान मोडल फेल भयो भन्ने हुँदै होइन। पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले गुणस्तरीय सेवा दिइरहेका छन्। अध्ययन-अध्यापन गराइरहेका छन्।
आशा गरौं, बिपी पनि चाँडै पुरानै अवस्थामा फर्किनेछ।
गेटालाई पनि समुदाय केन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने, चिकित्सा शिक्षासम्बन्धी अध्ययन-अनुसन्धान गर्ने र गुणस्तरीय एवं दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने मूल उद्देश्य राखेर चिकित्सा विश्वविद्यालयका रूपमा अघि बढाए समग्र सूदुरपश्चिमको स्वास्थ्य सेवामा सुधार हुनेछ। प्रदेशका पहाडी जिल्ला अस्पतालमा बेलाबेला विशेषज्ञ चिकित्सक पुगेर गुणस्तरीय र सुलभ उपचार सम्भव हुनेछ।
त्यसैले सबभन्दा भरपर्दो मोडल चिकित्सा विश्वविद्यालय नै हो।
सेती प्रादेशिक, महाकाली प्रादेशिक र टिकापुर अस्पताललाई नै सूदुरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने भनेर केन्द्रीय र प्रदेश सरकारले छुट्टाछुट्टै बजेट बिनियोजन गरिसकेको छ। यो अवस्थामा गेटालाई चिकित्सा विश्वविद्यालय बनाएर अघि बढ्न अब ढिलो नगरौं।
मेडिकल क्षेत्रका धेरै विज्ञहरूको पनि छुट्टै चिकित्सा विश्वविद्यालय नभए प्रतिष्ठान मोडलमै अघि बढ्नुपर्छ भन्ने सुझाव छ। धनगढीका निजी अस्पताल र सेती प्रादेशिक अस्पतालमा सेवा दिइरहेका विशेषज्ञ चिकित्सक पनि सरकारले मेडिकल कलेज सञ्चालन गरे आफूहरू गेटामा काम गर्न प्रतीक्षामा रहेको बताउँछन्।
सबै पक्ष तयार छन्, सरकारले अब ढिलो नगरी यसको निम्ति निर्णय लिनु पर्छ।
(डाक्टर अमृत राज जैशी हाल सेती प्रादेशिक अस्पतालमा कार्यरत छन्।)