म पाल्पा, तानसेन निवासी हुँ। मेरा बाजेका बुबा अर्थात तीन पुस्ताअघि काठमाडौंबाटै राणाहरूसँग पाल्पा आएर बसेका रे। मैले आफ्ना सबै किसिमका संस्कार हेरेँ भने मूलधारका ब्राह्मण–क्षेत्रीको संस्कारभन्दा कुनै हिसाबमा फरक छैन। मेरो परिवारमा जन्म, मृत्यु र विवाह लगायत संस्कार अरू हिन्दु जातिसँग हुबहु मिल्छ।
तर हामीलाई तल्लो जातको देखाउन चलनमा केही फेरबदल भयो। मृत्युमा ब्राह्मण–क्षेत्री १३ दिन किरिया बस्दा हाम्रोमा दस दिन बस्ने चलन थियो। ब्राह्मण–क्षेत्री परिवारमा किशोर उमेर नलाग्दै हुने उपनयन (ब्रतबन्ध) संस्कार हाम्रोमा हुँदैन। हामीले जनै लगाउन पाउँदैनौं। त्यसैले उपनयन र विवाहको कर्म एकैसाथ गर्ने चलन छ। विवाह भनेको कर्म चल्ने संस्कार भएकाले त्यो संस्कारमा प्रवेश गर्नुअघि उपनयनको सामान्य विधि गर्ने चलन छ।
हामी आमहिन्दुहरूले मुख्य रूपमा मनाउने सबै चाडपर्व मनाउँछौं। हाम्रा आफ्नै कुल देवता थिए, तिनको पूजा पनि हुन्थ्यो। तर त्यो परम्परा छोडिसकेका छौं।
मेरो गोत्र आत्रेय हो, थर काला पौडेल। मैले आफ्नो सबै पृष्ठभूमि केलाउँदा आफूलाई कुनै पनि दृष्टिकोणबाट गैरहिन्दु देखिनँ। मेरो जस्ता लाखौं परिवार नेपालमा छन्। उनीहरू सबै हिन्दु हुन् भन्दा फरक पर्दैन। तर हिन्दुभित्र पर्ने दलितभन्दा दसौं गुणा धेरै दलितहरू गैरहिन्दुमा पर्ने विभिन्न अध्ययन तथा प्रमाणले पुष्टि गर्छन्।
नेपालको सभ्यता र संस्कृति खास गरी सुदूरपश्चिम तथा कर्णालीबाट सुरू भएको मानिन्छ। अहिले पनि दलितको जनसंख्या सुदूरपश्चिममा १७, कर्णालीमा २३ र गण्डकीमा १७ प्रतिशत छ। मधेस प्रदेशमा पनि यत्तिकै प्रतिशत दलित जनसंख्या भए पनि त्यहाँ मधेसी दलितको बाहुल्य छ। यसको चर्चा अर्को कुनै आलेखमा गरूँला।
तीन वटा प्रदेश सुदूरपश्चिम, कर्णाली र गण्डकीमा रहेका दलित जनसंख्या, उनीहरूको धर्म, संस्कृति, रहनसहन हेर्दा मूलधारको हिन्दुभन्दा धेरै अर्थमा फरक देखिन्छ।
अहिले पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा बसोबास गर्ने दलितहरूको गोत्र र थर छैन। मेलै भेटेका त्यस क्षेत्रका धेरै साथीहरूसँग कुरा गर्दा उनीहरूलाई थर र गोत्र थाहा नभएको पाएँ। हिन्दु मान्यताअनुसार सगोत्रमा विवाह हुँदैन। यससम्बन्धी प्रश्नमा साथीहरूले खास गरी ठाउँ विशेषबाट आएका वा पेसा जनाउने थरहरू रहेकाले मिल्ने थरमा विवाह नहुने बताए।
जस्तै– सुदूपश्चिममा पार्की थरले बेतबाँसको समान बनाउने जनाउँछ। ओडले घर बनाउने र आग्रीले सुरुङ खन्ने जनाउँछ। ढोलीले दमाहा–ढोल बजाउने जनाउँछ त हुड्केले हुड्के नाच नाच्ने जनाउँछ। वादीले वाद्यवादन बनाउने र बजाउने, गाइने वा गन्धर्वले गीत गाउने र सारंगी बजाउने जनाउँछ।
यी सबै जातिका थर–गोत्र मूलधारका हिन्दुसँग थोरै मात्र मिल्ने देखिन्छ।
नेपालमा दलितभित्रको जात निर्माणमा मुख्य दुइटा आधार भेटिन्छन्।
पहिलो, युद्ध र अन्य षड्यन्त्रबाट पराजितहरूको जातिच्यूत गर्ने र उनीहरूलाई 'अछूत' बनाउने।
अर्को, कुनै 'उच्च जात' का व्यक्तिले 'पानी नचल्ने तल्लो जात' का महिला वा पुरुषसँग विवाह गरेमा तिनका सन्तान जुन जात तल्लो मानिएको छ त्यसमा झार्ने।
यसरी उपल्लो भनिएको जातबाट तल्लो भनिएको जातमा खसेकाहरूमा पनि दुई थरी छन्। एउटा, हिन्दु बाहुन–क्षेत्रीबाट तल झरेका र केही जनजातिहरूबाट झरेका। यहाँ संस्कार र संस्कृति हेर्दा 'तल झरेको' जातको संस्कार र संस्कृति अँगालेको देखिन्छ। यस्तो संस्कृति विवाहमा स्पष्ट देखा पर्छ।
सामान्यतया मूलधारका हिन्दुहरूमा मामाचेली र फुपूचेला विवाह हुँदैन। जनजाति बहुल क्षेत्रमा रहेको दलित बस्तीमा मामाचेली र फुपूचेलामा विवाह चल्छ। किनभने त्यहाँका बहुसंख्यक दलित परिवारका पुर्खा कुनै न कुनै समयमा जनजाति थिए।
मैले आफ्ना पुर्खाका बारेमा भन्नु पर्दा मअघिको कुनै पुस्ता बाहुन वा क्षेत्रीबाट तल झरेको देखिन्छ। अतः मेरो परिवारमा मामाचेली र फुपूचेला विवाह हुँदैन।
सामान्यतया जात व्यवस्था तथा छुवाछुत हिन्दु समाजभन्दा बाहिर विरलै पाइन्छ। यता सुदूरपश्चिम, कर्णाली र केही हदसम्म गण्डकीका दलितहरूमा उनीहरू हिन्दु भएको आधार भेटिँदैन। किनभने अन्तरजातीय विवाहबाट जात 'खसेका' हरूको संख्या यति धेरै अर्थात् २५ लाखभन्दा बढी हुन सक्दैन, अन्य कारणहरू जिम्मेवार हुन सक्छन्।
युद्ध तथा अन्य षड्यन्त्रबाट हराइएकाहरू मारिन्थे वा मारिने स्तरको अपराध नभएमा त्यसको जाति च्यूत गरिन्थ्यो। यसको पछिल्लो उदाहरणको रूपमा पृथ्वीनारायण शाहका ससुराली खलकका मगराती सार्कीहरूलाई लिन सकिन्छ। उनको ससुराली मकवानपुरका सेन ठकुरी खलक थिए र उनीहरूका बफादार सैनिक मग्राती मगरहरू थिए।
सानै उमेरमा विवाह गरेकी आफ्नी श्रीमती लिन जाँदा पृथ्वीनारायण शाहलाई उनका ससुराली खलकले अपमान गरेको निहुँमा पछि एकीकरणको युद्धमा उनीहरू जातिच्यूत गरेर अछूत बनाइए (पद्मलाल विश्वकर्मा, इन्सेक मानव अधिकार वर्ष पुस्तक, १९९३)।
उक्त घटनामा रोचक कुरा के छ भने पृथ्वीनारायणका ससुराली सेन खलक मात्रै नभई उनीहरूका बफादार मग्राती मगरहरू पनि एकैचोटि जातिच्यूत गरिए। तनहुँका उनीहरूकै वंशज सेन खलकहरू भागेर भारतको रामनगर गए। पछि जातिच्यूत हुनबाट बचाउन उनीहरू सगोत्रमा मिसाइए। मग्राती मगरहरूलाई मिसाउने कोही पनि निस्केनन्, सार्कीकै रूपमा रहे (डिकबहादुर विश्वकर्मा, समानुपातिक समावेशी नै किन? २०२०)।
यो सिद्धान्त सुदूरपश्चिम, कर्णाली र गण्डकीमा व्यापक प्रयोग भएको देखिन्छ। यी तीन वटै प्रदेशमा दलितका संस्कारहरू हिन्दुसँग मिल्दैनन्।
सुदूरपश्चिम र कर्णालीका बासिन्दाजस्तै त्यहाँका अधिकांश दलितहरू मष्टोलाई आफ्नो इष्ट देवता मान्छन्। धेरै दलित, त्यसमा पनि कामी समुदायका व्यक्तिहरूले तन्त्रमन्त्र साधनामार्फत मष्टो पूजारीको स्थान हासिल गरेका छन्। उनीहरूलाई मष्टो मान्ने खस क्षेत्रीहरूले पनि सम्मान गरेर ढोग्नेसम्मको चलन छ।
यसले खसक्षेत्री भनिएका र दलितहरूका बीचमा पनि पहिले छुवाछुत नभएको देखाउँछ। त्यसो हो भने दलितहरू कसरी हिन्दु बनाइए त भन्ने प्रश्न उठ्छ।
दलितहरू उक्त क्षेत्रमा कहिले आएर बसोबास गरे भन्ने लिखित इतिहास छैन। श्रुति र परम्परालाई आधार मान्ने हो भने त्यहाँ कुमाउ र गढवालबाट छिरेका बाहुन–क्षेत्रीभन्दा धेरै पहिलेदेखि उनीहरूको बसोवास रहेको पाइन्छ। त्यसको प्रमाणको रूपमा त्यहाँका विभिन्न ठाउँका नाम दलितको जातसँग मिल्नुलाई लिन सकिन्छ।
बझाङमा भूलकोट भन्ने ठाउँ छ। त्यहाँ भूल सार्कीहरूको ठूलो बस्ती छ। त्यहाँ उनीहरूको आफ्नै शासन व्यवस्था रहेको देखिन्छ। डा. कृष्ण भट्टचन र चक्रमान विश्वकर्माको अनुसन्धान टोलीले उनीहरूले छालाको मुद्रा प्रचलनमा ल्याएको भेटाएको थियो।
त्यस्तै अपमानको रूपमा प्रयोग हुने डुम शब्द डुम्राकोटबाट आएको हो। त्यहाँ डुम राजाले शासन गर्थे भनिन्छ। थलारा कोटको पुरानो नाम आग्रिकोट हो अर्थात सुरुङ खन्ने पेसा भएका कामी जातिको बसोवास भएको क्षेत्र।
त्यस्तै बझाङमै सुनिकोट भन्ने ठाउँ छ जहाँ कालु सुनेल भन्ने कामी राजा शासन गर्थे। केही वर्षअघिसम्म सुनेल राजाको दरबारको भग्नावशेष पनि थियो भनिन्छ। त्यही सुनीकोटको नामबाट सुनीगाड नामको खोला पनि छ।
यो कुरा कर्णालीको कालीकोटमा पनि लागू हुन्छ। त्यहाँ खाडाचक्र भन्ने ठाउँ छ जहाँ विश्वकर्माहरूको ठूलो बस्ती छ। खाडो बनाएर चक्र घुमाएको हुँदा त्यस ठाउँको नाउँ खाडाचक्र रहेको भनिन्छ। त्यहाँ चौधौं पुस्ताका कामी राजा देवजंग लोहार भएको र उनका सन्तान अहिले पनि त्यहाँ रहेको बताइन्छ। मलय बर्माले हराएपछि ती राजाको जातिच्यूत गरेको भनिन्छ।
जुम्लाको सुनार गाउँ पहिले सुवर्णनगर भनिन्थ्यो। त्यहाँ देशददेव कामी राजा थिए। उनलाई क्राचल्ल मल्ल राजाको सेनाले अपदस्त गरेको भनिन्छ। डोटी जिल्लामा कुमालीकोट भन्ने ठाउँ छ। पश्चिममा वादीहरूले कुमालको पनि काम गर्ने भएको हुँदा उक्त नाम रहेको र सो क्षेत्रका हर्ताकर्ता वादीहरू रहेको भनिन्छ।
प्यूठानको झिमरूक गाउँपालिका पहिले वादीकोट गाविसको नामले चिनिन्थ्यो (डिबी नेपालीको खोजमा आधारित अप्रकाशित कृति)।
यी सबै तथ्यहरू केलाउँदा एउटा के निष्कर्षमा पुग्न सकिन्छ भने अहिलेका बहुसंख्यक दलितहरू इतिहासको विभिन्न कालखण्डमा युद्ध तथा षड्यन्त्र गरेर जातिच्यूत गरिए। हिन्दु विजेताहरूले अछूत बनाए र उनीहरूकै संस्कार संस्कृति अपनाउन बाध्य पारे।
यता अन्तरजातीय विवाहको कारणले हिन्दुबाट जातिच्यूत भएकाहरूको संख्या पनि बढ्दै गयो। अतः पहाडी दलितमा दुई तिहाई गैरहिन्दु र एक तिहाई हिन्दु भएको मान्न सकिन्छ। अहिले हामी पहिचानको युगमा बाँचेका हुँदा आमदलित समुदायले आफ्नो पहिचान कसरी अघि बढाउने भन्ने कुरा सोच्न आवश्यक भएको छ।