लैला बेगमलाई मैले पहिलो पटक उनकै घर सुस्तामा भेटेँ। पहिलो भेटमै मलाई सोध्न मन लागिहाल्यो- तपाईंको नाम लैला कसले राखिदियो?
उनले मुसुक्क मुस्कुराउँदै भनिन्, 'लैला मैले आफैंले राखेको नाम हो। यो जमिन मेरो मज्नु अनि म यसकी लैला।'
लैलाको गुलाबी रङको घर नारायणी किनारको बगर नजिकै छ। काठको डुंगा चढेर लैलाको घर सुस्ता पुग्दा लाग्छ कि यो युटोपिया हो- एउटा काल्पनिक संसार जहाँ सबै ठीक छ।
सुस्तामा करिब ३०० घरहरू छन्। मुस्लिम, हिन्दु, दलित, जनजाति, धनी, गरिब सबै जना मिलेर बसेको एउटा सुन्दर तराई बस्ती।
लैलाले गजक्क पर्दै भनिन्, 'हाम्रो सुस्तामा त यो मेरो घरअगाडिको मस्जिद बनाउँदा हिन्दुहरू, दलित महिलाहरू सबै जनाले श्रमदान गरेर बनाएको हो नि! हामी मुस्लिमहरू पनि दुर्गा पूजा, छठ सबैमा चन्दा दिन्छुम्। सबै जना सँगै मिलेर बसेको छुम्।'
'यो गुरुङ दाइ सुस्तामा हवल्दार भएर आएको। पूरै सुस्तामा एउटा तामाङ छ, उसलाई पनि हामीले धेरै माया गरेर यतै राखेको छुम्,' नीलो बट्टाबाट सुर्ती झिक्दै लैलाले गुरुङ दाइतिर हेर्दै भनिन्।
अर्को कुर्सीमा बसेका गुरुङ दाइले हाँस्दै जवाफ फर्काए, 'अनि म गयो भने त यो सुस्ता इन्डियाले लागिहाल्छ। म त बाँचुन्जेल रूँघेर बस्छु नि!'
गुरुङ दाइ अर्थात् गोपाल गुरुङ। रिटायर्ड हवल्दार हुन्। आहिले 'सुस्ता बचाओ' अभियानका अध्यक्ष पनि।
नवलपरासी जिल्ला र भारतको सिमानासँग जोडिएको छ सुस्ता।
आज तपाईंले गुगलमा सुस्ता कहाँ पर्छ भनेर खोज्नुभयो भने विकिपेडियाले सुस्ता बिहारको एउटा ठाउँ हो भनेर लेखेको पाउनु हुनेछ।
सन् १८१६ को सुगौली सन्धिअनुसार नवलपरासी जिल्ला र भारतको अन्तर्राष्ट्रिय सिमाना नारायणी नदी हो। सन्धिमा लेखिएअनुसार नारायणीको पश्चिमतर्फ नेपाल र पूर्वतर्फ भारत हो। सन्धि गर्दा सुस्ता बस्ती नदीको पश्चिममा पर्थ्यो। तर जब नदीको धार परिवर्तन भएर नारायणी पश्चिमबाट बग्न थाल्यो त्यसपछि नेपाल-भारत सीमा विवाद सुरू भयो। सुस्ताको ४० हजार ९८० हेक्टर जमिनमध्ये १४ हजार पाँच सय हेक्टर जमिन भारतले अतिक्रमण गरिसकेको छ। बाँकी रहेको सुस्ता बस्ती जोगाउन लागि परेका अभियन्ताहरू आज सुकुम्बासी भएका छन्।
लैला बेगम, आदम खान, गोपाल गुरुङ जस्ता २६ जना सुस्तावासीलाई भारतीय सीमा सुरक्षा बलले कालो सूचीमा सूचीकृत गरेको छ। भारतीय सीमा क्षेत्र वरिपरि यी व्यक्तिहरूलाई देख्नासाथ गिरफ्तार गर्ने उर्दी जारी छ।
२०४० सालमा भारतीय प्रहरीले सुस्ता बस्तीमा अतिक्रमण गर्यो। आफ्नो जमिन बचाउन लैला बेगम र उनको टोलीले एउटा जुक्ति लगायो।
पुरुषहरूलाई भारतीय प्रहरीले थुनामा हुल्ने डर भएपछि बस्तीका महिलाहरूले झाडु लिए र भारतीय प्रहरीमाथि उल्टै आक्रमण गरे। घम्साघम्सीको क्रममा सुस्ताका महिलाले भारतीय प्रहरीको टोपी र फूली दुवै थुते। अतिक्रमण गर्नलाई बस्तीमाथि गरेको आक्रमण असफल भयो।
लैला त्यो दिन सम्झिँदै हाँस्दै भन्छिन्, 'पछि तिनीहरू नै हाम्रो जागिर जोगाइदिन पर्यो भनेर टोपी र फूली माग्न आए। मैले उल्टै गाली गरेर पठाइदिएँ।'
त्यो आक्रमणयता पटकपटक भारतीय प्रहरीहरूले अतिक्रमण गर्न प्रयास गरिरहन्छन्। तर लैला बेगम पक्की घर बनाएर त्यहाँ आफ्नो र परिवारको ज्यानको पर्वाह नगरी सिमानाको रक्षा गरेर बसेकी छिन्।
उनै लैलासँग नेपालको नागरिकता भने छैन। सुस्तामा बसेर नेपालको सीमा सुरक्षा गर्ने अधिकांश सुस्तावासीसँग नागरिकता छैन।
लैला बेगमका बुवाले पुस्तौं पुस्ता त्यही सुस्ताको जमिनमा खेती किसानी गरेर बसे। त्यसपछि लैलाले नेपालको सिमानाको रखवाली गरिन्। तर यो देशले उनलाई नागरिकता दिने कुरामा किन विभेद गर्यो?
लैलालाई भारतको सिमानामा बस्ने भारतीय सुरक्षा बलले बारबार भन्छ- भारतको शरणमा आयौ भने हामी पूरै सुस्तालाई रासन कार्ड दिनेछौं, धन सम्पत्ति दिनेछौं।
तर लैला र सुस्तावासीहरूलाई नेपाली भूमिसँग प्रेम छ।
कुराकानी गर्दा उनीहरू भन्छन्- नेपाल सरकारले हामीलाई नागरिकता दिए त पटकपटक दुःख दिने ती भारतीयहरूलाई हामी नागरिकता देखाएर भन्ने थियौं, हेर्नुस् हामी नेपालका नागरिक हौं र यो जमिन नेपालको हो।
लैला बेगमको घरमाथि नेपालको ठूलो झन्डा फर्फराउँछ। तर त्यही घरभित्रको दराजमा नागरिकता छैन।
सुस्तामा द्वन्द्व चलेका बेला सरकारले नागरिकता बनाउने टोलीलाई त्रिवेणीसम्म पठायो। तर खोला पारि पर्ने सुस्तासम्म त्यो टोली पुगेन। भारतबाट आक्रमण भएका बेला घर छाडेर पारि त्रिवेणी जाँदा यता जग्गा अतिक्रमण हुने डर भयो। सिमानामा सशस्त्र प्रहरीको दरिलो उपस्थिति नभएकाले सुस्तावासीलाई भएको जमिन पनि अतिक्रमण हुने डर भयो।
जमिन रूँघेर बसेका सुस्तावासीहरूलाई तत्कालीन सिडिओले नागरिकता टोलीलाई सुस्ता द्वन्द्वपछि पारि सुस्ता नै पठाउने आश्वासन दिए। नारायणीको तिरले नेपालसँग जोडेको सुस्तामा आजसम्म पनि नागरिकता टोली पुगेको छैन।
लैला बेगमका श्रीमान भारतीय हुन्। उनीसँग पनि नागरिकता छैन। पहिले टोली आएन, अहिले कागजात पुग्दैन। कागजात भएको जमिनमा भारतले अतिक्रमण गरिसक्यो।
अहिले चोकचोकमा नागरिकता विधेयक सम्बन्धी व्यापक बहस चलिरहेको छ। नागरिकता कसले पाउने अनि कसले नपाउने भनेर आज हामी तर्क-वितर्कको लेखाजोखा गर्दा देशको सीमामा बसेर सिमाना जोगाउने यी सुस्तावासीहरूलाई आएको विधेयकले झन् प्रभाव पारेको छ। अधिकांश सुस्तावासीले लामो समयदेखि त्यही भूमिमा बसेर खेती-किसानी गरेका भए पनि अतिक्रमण भएको जग्गाको आधारमा उनीहरूले कसरी नागरिकताको दाबी गर्ने?
भारतीय सीमा सुरक्षाका प्रहरीहरूलाई कुचो र लाठीले खेदेर सीमा बचाउने महिलाहरूलाई अहिलेको नागरिकता सम्बन्धी विधेयकले किन पुरुषसरह व्यवहार गर्दैन? पुरुषसरह नेपाली सोच्दैन?
यदि यी कथित राष्ट्रवादीहरूलाई देशको त्यति नै माया थियो भने यी सीमावासीहरूलाई नागरिकता दिएर नेपाली भएको प्रत्याभूति सबभन्दा सुरूमा दिन सक्नुपर्थ्यो। सीमा जोगाएर बसेकाहरूलाई अनेकथरी प्रमाण र कागजात नभएको आधारमा शंका होइन, सम्मानले नागरिकता दिनुपर्ने थियो।
सिधै कुरा भन्नुपर्दा, भारतसँग सीमा गाँसेर बसेको तराईका नेपालीहरूलाई नागरिकता दिन हाम्रो देश डराएको देखिन्छ। सीमा बचाएर बसेका यी नागरिकताविहीन सुस्तावासीले पनि तराईको पहिचान दिन्छन्। तराईको देशभक्तिलाई दुई-तीन जना नेताको भाषण र केही थान नेताको डरले परिभाषित गरिनु हुँदैन। तराइ नेपाल हो, अनि सुस्तावासी नेपाली।
त्यसैले सरकार मेरो देशको सिमाना बचाएर बाँचेकी लैला बेगमको सुस्ता बचाउने लडाइँ जुनसुकै कागजातभन्दा माथि छ। लैला र सुस्ता नेपालका लागि उभिए, के सरकार उनीहरूका लागि उभिन सक्ने हिम्मत गर्न सक्छ?