नागरिकतासम्बन्धी विवादबारे मैले उठाउन खोजको विषय सकिएको छैन। अघिल्लो लेखमा कानुन र अधिकारको विषयमा लेखेको थिएँ। अब म पाठकहरूलाई कानुन र अधिकारभन्दा टाढा नागरिकताको विज्ञानमा लगेर जान्छु।
यहाँ नागरिकता भन्नाले वंश प्रणालीसमेत हो र वंश प्रणालीबाट सदियौंदेखि आमालाई अलग गरिएको छ। वंश प्रणालीमा बाबु र आमा दुवैलाई छुट्याउनै सकिँदैन। त्यसैले मैले लैजान खोजेको नागरिकताको विज्ञानबाट भाग्न जोसुकैलाई मुश्किल हुनेछ।
कानुन र अधिकार नागरिकताको विज्ञानभन्दा धेरै पछिका कुराहरू हुन्। ती तथ्य र प्रमाणले मात्रै होइन, उमेरले पनि विज्ञान भन्दा हजारौं वर्ष कान्छा छन्। त्यसैले हामीले नागरिकताको विज्ञानको पनि खोजी गर्नुपर्ने हुन्छ।
हरेक व्यक्ति समाजको अभिन्न अंग हो, समाज विज्ञानको इतिहासमा उसको महत्त्वपूर्ण योगदान हुन्छ। समाज विज्ञानमा व्यक्तिको पहिचानलाई नामेट पार्ने प्रयत्न किन भइरहेको छ भन्ने विषयमा पनि छलफल हुनुपर्ने आवश्यकता छ।
कुनै पनि व्यक्ति समाज विज्ञानको इतिहासबाट अलग रहन सक्दैन भन्ने कुरा छर्लंगै छ। व्यक्तिको नागरिकता समाज विज्ञानको इतिहाससँग पनि जोडिएको हुन्छ। यद्यपि, वर्तमान समाजमा देखा परेका केही जटिलताहरू सम्बोधन गर्न आमाको नामबाट मात्र सन्तानलाई नागरिकता दिइनुपर्छ भन्ने विषयमा अघिल्लो लेखमा चर्चा भइसकेको छ।
अघिल्लो लेख छापिएपछि समर्थनका साथै विरोधमा निकै तिखा प्रतिक्रियाहरू पनि आएका छन्। गालीगलौज हुन्छ, विरूद्धमा धेरै व्यक्तिहरू खनिनेछन् भन्ने जानेरै मैले उक्त विषय उठाएको थिएँ। यो लेख पढेपछि तिखा प्रतिक्रिया दिने व्यक्तिहरू कसरी प्रस्तुत हुनेछन् भनेर हेर्न बाँकी छ। निश्चित धारणा बनाएर बसेका व्यक्तिहरूले पनि अब विज्ञानसम्मत तथ्य, तर्क र त्यसलाई पुष्टि गर्ने आधारहरू पेस गरेर आउनुपर्नेछ। म ती व्यक्तिहरूलाई विज्ञानसम्मत तथ्य, तर्क र त्यसलाई पुष्टि गर्ने आधारहरू पेस गरेर आउन चुनौती दिन्छु। अब लेखको विषयमा जाऔं।
परिवार र नागरिकताको सम्बन्ध
परिवार भन्नेबित्तिकै बाबु, आमा र छोराछोरी भन्ने बुझिन्छ। बाजेबजैका सन्तानका रूपमा परिवार रहेको हुन्छ। कुनै पनि परिवारलाई बाबु र आमाबाट अलग गर्न सकिँदैन। अधिकांश परिवारमा बाबु र आमा सँगसँगै रहेका हुन्छन्। जुनसुकै कारणले बाबु वा आमामध्ये कुनै एक वा दुवैले सन्तानलाई छोडेको भए पनि बाबु र आमाको आनुवांशिक अस्तित्व सन्तानमा हुन्छ। बाबु र आमाको सम्बन्धबाट छोराछोरीको जन्म हुने भएकाले आनुवांशिक अस्तित्व कसैले पनि मेटाउन सक्दैन।
समाजमा बाबु वा आमाले आफ्ना छोराछोरीलाई अलपत्र पारेर छोडेका प्रशस्त उदाहरण छन्। बाबुले श्रीमती र छोराछोरीलाई हेला गरेर छाडे पनि वा आमाले श्रीमान र छोराछोरीलाई छोडेर हिँडे पनि बाबुआमाको आनुवांशिक अस्तित्वलाई छोराछोरीले नकार्न सक्नै कुरै भएन। समाज विज्ञानको भाषामा भन्दा आनुवांशिक अस्तित्व भनेकै बाबु–आमाको नामथर हो। नागरिकताको कागजमा बाबु वा आमाको नाम नराख्दैमा बाबु–आमाको आनुवांशिक अस्तित्व झिकेर फाल्न सकिँदैन।
संसारमा एकनिष्ट विवाह र परिवारको संरचना कसैले भत्काउन सक्ने अवस्था छैन। भविष्यमा हुने आफ्नो विवाहका लागि पनि बाबुआमाको नामथर किन चाहिन्छ भन्ने वैज्ञानिक तथ्यहरू लेखको तल उल्लेख गरेको छु।
अपवादका रूपमा कुनै महिला एकल आमा हुन सक्छिन्। ती महिला एकल आमा भए पनि तिनले जन्माएका छोराछोरीहरूले विवाह गर्छन् र छोराछोरी जन्माउँछन्। एकल आमाबाट जन्मिएका बच्चाहरूले विवाह गर्दैनन् भन्ने कुनै ग्यारेन्टी छैन। एकल आमा भए पनि, उनले बाबुको बारेमा छोराछोरीलाई बताउन नचाहे पनि छोराछोरीको विवाह गर्दाको बखत हाडनाता नपरोस् भनेर विचार त पक्कै गर्नुपर्ने होला। हाडनाता के हो र हाडनाताभित्र किन विवाह गर्नु हुँदैन भन्ने विस्तार तल उल्लेख गरिएको छ।
बाबु–आमाको इतिहास र वर्तमान
हामीले हाम्रा पूर्खाहरूबाट सिक्दै आएको र कानुनले तय गरेको कुरा के भने, हामीलाई सबैसँग विवाह गर्ने छुट हुँदैन। विवाह नहुने भएपछि यौनसम्बन्ध कायम गरेर छोराछोरी जन्माउन पनि छुट हुँदैन। यसका केही निश्चित वैज्ञानिक, सामाजिक, सांस्कृतिक नियम र विधिहरू छन्। विवाह यौन सम्बन्ध कायम गर्न र बच्चा जन्माउन गरिन्छ। स्वस्थ बच्चा कसरी जन्मिन्छन् भन्नेबारे वैज्ञानिक प्रणाली र नियमहरू छन्।
नेपालको कानुनले ७ पुस्तासम्मको हाडनाता वा नातासम्बन्धमा विवाह गर्ने अुनमति दिँदैन। कुनै पनि व्यक्तिले कानुनको यस प्रावधानविरूद्ध बोलेको, विवाह गर्न पाउनुपर्छ भनेको सुनिएको छैन। समाजमा आम रूपमा प्रचलनमा भएको व्यवस्था के हो भने, एउटै गोत्रीय थर भएका व्यक्तिहरूको विवाह गराइँदैन। फरक फरक गोत्र हुने हुनाले अन्तरजातीय विवाहको सन्दर्भमा समाज उदार हुँदै गएको छ। तर एउटै गोत्रीय विवाहलाई अस्वीकार गरिन्छ।
दर्शनशास्त्री फ्रेडरिक एंगेल्सका अनुसार आदिम समाजमा यस्तो थिएन। लोग्ने मान्छेहरूका धेरै स्वास्नीहरू थिए र स्वास्नीहरूका पनि धेरै लोग्नेहरू थिए। ती लोग्ने–स्वास्नीबाट जन्मिएका छोराछोरीहरू कसका हुन् भन्ने छुट्टिँदैन थियो। तिनीहरू सबैका छोराछोरी हुन्थे।
क्रमशः विवाहको घेरा साँघुरो हुँदै गयो र अहिलेसम्म आइपुग्दा एकनिष्ठ विवाह संस्थागत भइसकेको छ। एकनिष्ठ विवाह व्यवस्थित बन्दै गएपछि हाडनाता र नातासम्बन्धको बीचमा हुने विवाहको प्रचलनमा पूरै रोक लाग्यो। अहिले हाडनातामा यौनसम्बन्ध र विवाहलाई पूरै बन्देज मात्रै गरिएको छैन कि दण्डनीय बनाइएको छ।
नेपालको कानुनमा सात पुस्तासम्म्मको हाडनाता करणीलाई अपराध मानिन्छ र कैद तथा जरिवानाको सजाय गरिन्छ। बाबु–आमाको नाम थर र सात पुस्तासम्मको हाँगो खोज्दै जाँदा त्यसलाई पत्ता लगाउन सकिन्छ। त्यसैले नागरिकतामा बाबु र आमाको नामथर निकै महत्त्वपूर्ण हुन्छ।
विवाहिता महिलाले आफ्नो सुविधाका लागि माइती र पति दुवैको थर प्रयोग गर्न सक्ने व्यवस्था मुलुकी देवानी संहिता २०७४ को दफा ८१ ले गरेको छ। विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा पतिको थरलाई नै मान्यता दिने व्यवस्था छ।
सोही संहिताअनुसार ‘कानुनबमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाताको नभएमा’ मात्रै पुरुष र महिला विवाह योग्य हुन्छन्। विवाह गर्न हाडनाता छुट्याउने काम पनि बाबु र आमाको नामथरले मात्रै गर्न सक्छ। नागरिकतामा बाबु र आमाको नामथर कति महत्त्वपूर्ण हुने रहेछ भन्ने यो बलियो उदाहरण हो।
अब हाडानाता भनेको के हो ? यस विषयमा चर्चा गरौं।
मुलुकी अपराधसंहिता २०७४ को दफा २२० अनुसार हाडताना भनेको आफ्नो वंशका सात पुस्तासम्मका हाँगो र नातालाई लिइन्छ। यदि सात पुस्तासम्मका व्यक्तिहरूबीच करणी गरेमा एक वर्षदेखि तीन वर्षसम्म कैद र दशदेखि तीस हजारसम्म जरिवारना हुने व्यवस्था छ। सात पुस्ताका नाताबीच सहमतिमा करणी लिनु दिनुलाई अपराध मानिन्छ। त्यति मात्रै होइन, हाडनातामा जबर्जस्ती करणी भएको रहेछ भने त्यस्ता व्यक्तिहरूलाई जबर्जस्ती करणीको सजायबाहेक हाडनाता करणीको थप सजाय हुने व्यवस्था छ।
हाडनाता कसरी छुट्याउने त? हाडनाता छुट्याउने भनेकै बाबु–आमाको नामथरबाट हो। हाडनातामा विवाह र करणी नहोस् भन्न पनि बाबु–आमाको नामथर चाहिन्छ। हाडनाता छुट्याउने अन्य कुनै पनि उपाय उपलब्ध छैनन्।
अब पाठकहरूले बुझ्नु भएको होला कि नागरिकतामा बाबु र आमाको नामथर किन चाहिने रहेछ।
सरकारी कार्यालयहरूमा कर्मचारीहरूले कहिलेकाहीँ भन्छन्- लोकसेवाको फारममा बाजेको नाम भर्नु नपर्ने भए कुनै पनि नेपालीले बाजेको नामसेमत भन्न सक्दैनथे।
यो विषयले पढालेखा, बुद्धिजीवी, अधिकारकर्मी, देश दुनियाँका ज्ञातालाई आफ्ना बाजेबजैको नामथर किन आवश्यक छ भन्ने कुराको पनि जानकारी छैन भन्ने देखाउँछ। हाम्रा बाबु, आमा, हजुरबाबु, हजुरआमाहरूले भएभरका नातागोता चिन्नुपर्छ, तिनीहरुको मावली घर कहाँ हो, तिनीहरू के थरी हुन् सबै जान्नुपर्छ भनेको पारिवारिक र सामाजिक सम्बन्ध बढाउन मात्रै होइन, हाडनातामा विवाह हुने सम्भावना बन्देज लगाउन पनि हो।
यदि कुनै कारणवश विवाह भइहाल्यो भने मुलुकी देवानी संहिताको दफा ७२ बमोजिम बदर हुने व्यवस्था गरिएको छ। नागरिकतामा बाबु र आमा दुवैको नामथर भएन भने हाडनाता हो कि होइन भन्ने कुरा कसरी थाहा पाउने? प्रश्न महत्त्वपूर्ण छ। जवाफ सरल छ, बाबु–आमा दुवैको नामथर।
नाताकुटुम्बहरूको बीचमा प्रेम र यौनसम्बन्ध नहोस् भनेर पनि छोराछोरीको नागरिकतामा बाबु र आमाको नामथर उल्लेख हुनु अनिवार्य छ। कतिपय व्यक्तिहरूले हेला गर्ने बाबुको नामथर नागरिकतामा किन उल्लेख गर्ने भनेको पनि सुनिन्छ। बाबुले हेला गरोस् केही छैन, आमाले छोराछोरी छोडेर अर्को विवाह गरेर जाऊन् केही छैन। तर छोराछोरीको प्रेम, विवाह र तिनका सात पुस्तासम्मको विवाहका लागि पनि बाबु र आमाको थरलाई निरन्तरता दिनुपर्ने आवश्यकता हुन्छ। हाडनातामा प्रेम, विवाह र यौनसम्बन्ध नहोस् भनेर सचेतना अपनाउनु महिला अधिकारको विरोधी हुनु होइन। यदि यो विषय महिला अधिकारको विरोधको विषय हो भने तथ्य र प्रमाणसहित आफ्नो विचारमार्फत् आउन चुनौती दिन्छु। त्यसरी आउने चुनौतीको सामना गर्न म सधैं तयार छु।
हाडनाताबीचको विवाह आफ्नो र सन्तानको भविष्यको लागि समेत नराम्रो मानिन्छ। छोराछोरी अपांगता भएका, सुस्त मनस्थितिका जन्मिने, मन्द बुद्धिको हुने जस्ता दीर्घकालीन समस्या हुन्छन्। बाबु र आमाको नाम र थर निकै महत्त्वपूर्ण छ र तिनलाई नागरिकतामा उल्लेख गर्नु व्यवहारिक र वैज्ञानिक दुवै छ।
यदि बाबु–आमाको नामथर राखिएन भने पढाइ-लेखाइ वा अन्य कारणले सहरमा बसोबास गर्न आएका युवायुवतीबीच प्रेम सम्बन्ध भयो भने उनीहरूले विवाह गर्ने खतरा रहन्छ। यसप्रकारका कैयौं घटना भएका पनि छन्। ताजा उदाहरणका रूपमा चितवनकी सुजिता भण्डारी र झापाका सुकदेव भण्डारीको बीचमा भएको प्रेमसम्बन्धलाई लिन सकिन्छ।
सुजिता भण्डारी २०७८ सालमा चितवनको स्थानीय जंगलमा मृत भेटिइन्। मृत्युको कारण खोज्दै जाँदा भण्डारीको आफ्नै काकाको छोरासँग प्रेम सम्बन्ध भएको खुल्यो। उनीहरूबीच त्यसरी प्रेम सम्बन्ध कसरी कायम हुन पुग्यो? पारिवारिक प्रेम हुनुपर्ने व्यक्तिहरूको बीचमा विवाह गरेर जीवन बिताउनेसम्मको प्रेम सम्बन्ध कायम भयो र करिब दुई वर्षसम्म एउटै कोठामा जोडीको रूपमा सँगै बसे। आफू छुट्टिनै नसक्ने र विवाह पनि हुन नसक्ने अवस्थामा पुगेपछि सुजिता भण्डारीले आत्महत्या गरिन्। समाचारमा नआए पनि सहरीकरणका कारण देशभर यस्ता कैयौं घटना छन्। युवा पुस्तामा देखिएको सचेतनाको अभावले यस्ता घटना भएका छन्।
अहिलेको पुस्ता सामाजिक रूपमा गैरजिम्मेवार छ भन्ने चितवनको घटनाबाट पुष्टि हुन्छ। आम रूपमा तपाईं कुन थरी भनेर सोधिन्छ। यसलाई कतिपयले जात सोध्यो भनेर अर्थ्याएको पनि पाइन्छ। तर कुरा त्यसो होइन। त्यति सोधेपछि गोत्र, नातासम्बन्ध आदि धेरै कुरा खुल्छन्। सुजिता भण्डारी र सुकदेव भण्डारीले सुरूमा त्यति सोधेको भए उनीहरूको बीच प्रेम सम्बन्ध कायम हुने थिएन र मृत्यु जस्तो अकल्पनीय घटनाबाट गुज्रिनु पर्ने थिएन।
विवाह संस्थाको जन्म र भविष्य
प्राचीन समयमा एक पुरुषको धेरै महिला र एक महिलाको धेरै पुरुषसँग शारीरिक सम्बन्ध कायम हुन्थ्यो र उनीहरूबाट जन्मिएका छोराछोरी सबैका हुन्थे भन्ने विषय माथि चर्चा गरिसकिएको छ। अब विवाह संस्था किन जन्म भयो भन्नेबारे चर्चा गरौं।
मान्छेको चेतना वृद्धि हुँदै जाँदा पुरुष वा महिलाको धेरै जनासँग यौन सम्बन्ध र बच्चा जन्माउने कुराले व्यक्ति र समाजमा समस्या पैदा भयो। बच्चा हुर्काउने, बिरामी हुँदा उपचार गर्ने, आदि कुरा जटिल हुँदै गए। उनीहरूको आयु, मनोविज्ञान, हुर्काइ, बढाइ आदिमा समस्या आउन थाले। व्यक्तिगत सम्पत्तिको उत्पत्ति भएपछि सम्पत्तिको मालिक को हुने भन्ने कुरा छुट्याउनुपर्ने भयो। त्यसो गर्न बाबुआमा र छोराछोरी भएको परिवारको आवश्यकता पर्यो। एकनिष्ठ विवाहको सुरूआत भएपछि, यद्यपि कैयौं पुरुषले एकभन्दा धेरै महिलासँग विवाह गर्ने प्रचलन निकै पछिसम्म थियो, पुरुष र महिलाले आफ्नो गोत्रभन्दा बाहिर विवाह गर्नुपर्ने भयो। विवाह संस्था सुरू भएपछि बाबुआमा, बाजेबजै, नातिनातिना आदिको पारिवारिक चक्र निरन्तर अगाडि बढ्दै गयो।
बाबु र आमा कोही कसैले टुटाउन वा छुटाउन नसक्ने मनोवैज्ञानिक र भावनात्मक शक्ति हो। प्राकृतिक विपत्ति, सम्बन्ध विच्छेद वा कुनै कारण बाबुआमा नभएको खण्डमा जुनसुकै व्यक्तिले पनि आफ्नो बाबु र आमाको कल्पना गर्छ। कुनै पनि व्यक्तिलाई आफ्नो बाबु र आमाको भौतिक वा अभौतिक तस्बिर खोज्ने अधिकार हुन्छ।
अर्काे पक्षमा जाऔं, कानुनमा व्यवस्था नगरिए पनि, आमा वा बाबुमध्ये कुनै एकको नाममा नागरिकता लिए पनि उक्त व्यक्तिले भावी श्रीमान, श्रीमती र छोराछोरीलाई आफ्नो बाबु आमाका बारेमा यथार्थ जानकारी दिर्नैपर्ने हुन्छ। यदि यथार्थ जानकारी गराइएन भने त्यसले एक प्रकारको सन्देह पैदा हुन्छ। त्यसरी सन्देह पैदा हुनु राम्रो हुँदैन। सन्देह पैदा हुनु भनेको फरक खालको व्यवहारको सामना गर्नु पनि हो। यदि बाबुआमाका बारेमा यथार्थ जानकारी दिइयो भने त्यहीअनुसारको व्यवहार हुन्छ र छोराछोरीले पनि आफ्नो बाजेबजैको बारेमा जानकारी प्राप्त गर्छन्। भावी पुस्तालाई आफ्ना परिवारको जानकारी दिनै नपाउने गरी प्रमाणहरू निमिट्यान्न पार्ने कार्यले कुनै उपलब्धि दिने होइन।
वंश र परम्परा राजतन्त्रका लागि मात्रै चाहिने होइन। आम जनतालाई पनि चाहिन्छ। ठूलावडा, धनी, ठालूहरूले मात्रै आफ्नो वंश परम्परा, योगदान लेखिने, सामान्य घरमा जन्मिएको व्यक्तिले ठूलठूला खोज, अनुसन्धान गर्ने अवस्था आयो भने उसको वंश परम्परालाई पूरै मेटिनुपर्ने बनाउनु हुँदैन। जुनसुकै व्यक्तिलाई पनि आफ्नो वंशको खोजी गर्ने अधिकारबाट बञ्चित गराउनु हुँदैन।
यदि नागरिकतामा बाबु र आमाको नामथर मेटियो भने वंशको खोजी गर्ने अधिकारबाट बञ्चित हुनुपर्छ। आजसम्मको इतिहासमा महिलाहरूलाई वंशबाट अलग गरिएको छ। महिलाहरूको वंशको अधिकारलाई पनि सुनिश्चित गरिनुपर्छ। महिलाहरूलाई वंशको अधिकार सुनिश्चित गर्दा सम्बन्धित महिलाको बाबु र आमालाई अलग गर्न सकिँदैन। वंशमा महिलाहरूको अधिकारको सुनिश्चित गर्नु भनेको बाबुआमा दुवैको वंशको अधिकार हुन्छ भनिएको हो। वंशमा महिलाको अधिकार सुनिश्चित गरिनुपर्छ भन्नुको अर्थ नागरिकतामा आमाको मात्रै नाम राख्नुपर्छ भनिएको होइन।
अब यहाँ तर्क आउन सक्छ, जाबो वंश किन चाहियो?
अध्ययन, अनुसन्धान र इतिहासप्रति कुनै रूचि नभएका व्यक्तिलाई यसको जवाफ दिनुपर्ने आवश्यकता भएन। तर मानव समाजको इतिहास अध्ययन गर्दा यी कुरा चाहिन्छन्। आज हामीले गोपाल वंशकाल, महिसपाल वंशकाल, लिच्छवि वंशकाल, मल्ल वंशकाल, किरात वंशकाल, शाह वंशकाल भनेर इतिहासको अध्ययन गरिरहेका छौं, वंशको खोजी भइरहेको छ। राजाहरूको इतिहास लेखिँदै आएकालै त्यो महत्त्वपूर्ण भएको हो।
त्यसै गरी मानव समाजलाई ऐतिहासिक योगदान गरेका जनताको इतिहास लेखिनुपर्दा पनि व्यक्तिको वंशीय इतिहास खोज्ने परम्परा विद्यमान छ। आफ्नो अघिल्लो पुस्ता को थिए, तिनीहरू के गर्थे, कहाँ, कसरी बसाइ सर्दै आए, तिनको इतिहास कस्तो थियो भनेर खोज्ने अधिकार सबै व्यक्तिमा रहनुपर्छ।
भावी सन्ततिले खोज्न सक्ने आफ्नो वंशको इतिहास, जसले समाजशास्त्रीय अध्ययनमा ठूलो महत्त्व राख्छ, त्यसलाई अधिकारका नाममा नियोजन गरिनु हुँदैन। एक थान नागरिकतामा अधिकार खोजेर व्यक्तिका वंश, सामाजिक, सांस्कृतिक सम्बन्धहरू टुटाइदिन खोज्नुको रहस्य के हो? मैले यी कुरा कहिल्यै पनि बुझ्न सकेको छैन।
आफूलाई बाबु पनि चाहिने, आमा पनि चाहिने, अन्यलाई बाबु, आमा नभए पनि नागरिकता दिनुपर्छ भन्नुको तात्पर्य के हो? बाबु, आमा दुवैको अस्तित्व खोजेर नागरिकता देऊ, व्यक्तिका वंश, ऐतिहासिक, सामाजिक, सांस्कृतिक अधिकारहरू सुनिश्चित गर भन्न कुन कुराले बाधा उत्पन्न गरेको छ? यसको जवाफ अधिकार खोज्दै हिँड्ने कोही कसैले दिएको जस्तो मलाई लागेको छैन।
बाबुआमा दुवैको इतिहास किन चाहिन्छ ?
मान्छेहरूले दुई हजार ७ सय वर्षपछि गौतम बुद्धको वंश खोजिरहेका छन्। विश्वविख्यात व्यक्तिहरूको वंश नखोजिएको दुनियाँमा कुनै इतिहास छैन। अहिले जन्मिएका व्यक्तिहरू भोलिका दिनमा विश्वविख्यात हुँदैनन् भन्ने कुनै ग्यारेन्टी छैन। तिनीहरू विश्वविख्यात हुन सक्छन्। तिनीहरूको भविष्यको चिनारीलाई हामीले आजैबाट खारेज गर्नुपर्ने किन हुँदैछ भन्ने कुरामा पनि ध्यान जानुपर्ने आवश्यकता छ।
हामीले गौतम बुद्धको इतिहास पढ्दा बाबु र आमाको नाम पढ्नुपर्ने, पृथ्वीनारायण शाह, अंशु वर्मा, अब्राहम लिंकन, महात्मा गान्धी, जर्ज वासिङ्टन, सरआइज्याक न्युटन, ग्यालिलियो ग्यालिली आदि सयौं व्यक्तिहरूको इतिहास पढ्दा गोत्र, जाति, बाजे, बजै, बाबु र आमाको नामसहित सबै कुराको इतिहास पढ्नुपर्ने, भविष्यका राजनीतिज्ञ, वैज्ञानिक, साहित्यकार, इतिहासकारहरूको इतिहासलाई आजैदेखि तेरो बाबु–आमा नभए पनि हुन्छ किन भएको छ भन्नेबारे कसैले सोचेको छैन। यस्ता खालका विचार र व्यवहारले कुनै पनि व्यक्तिलाई भविष्यसम्म निकै असर पर्छ भन्ने कुराको छलफल कहिल्यै भएको छैन। अधिकारको एकोहोरो सुगा रटाइ, निरपेक्ष समानताको हुलहुज्जत प्रकट भइरहेको छ।
बाबु र आमाको अवस्था जस्तोसुकै भए पनि, परिस्थितिले जतिसुकै क्रुर बनाए पनि नागरिकतामा बाबु र आमा दुवैको नाम राख्नु प्रत्येक व्यक्तिका लागि गौरवको विषय बनाइनुपर्छ। महिलाले सन्तानको बाबु खुलाउने कुरालाई अपमानको विषय बनाउनु हुँदैन। बरू सन्तानको पहिचान, आनुवांशिक अधिकार र सम्मानको विषय बनाउनुपर्छ। सन्तानको नागरिकतामा आमाको नाम नभए पनि हुने प्रावधान ल्याइनु हुँदैन। सन्तानको सुनौलो इतिहास लेखिनका लागि पनि आफूलाई जन्माउने बाबु–आमाको योगदान निरपेक्ष समानताको अधिकार भन्दा सयौं गुणा महत्त्वपूर्ण छ। आनुवांशिक रूपमा सुनिश्चित भएका बाबुआमाको पहिचान जुनसुकै तर्क र कारण दिएर भए पनि मेटाउने कार्य व्यक्तिको स्वतन्त्रता, स्वाभिमान, पहिचान, भविष्य, इतिहास आदि सबै कुराको विरूद्धमा छ भन्ने कुरा छर्लंग हुन्छ।
(विमल पोखरेल नेकपा मसालनिकट अखिल छैठौंको पूर्वअध्यक्ष तथा अधिवक्ता हुन्।)