क्यानडाको नोभास्कोसिया राज्यको राजधानी हेलिफ्याक्स हो। भौगोलिक हिसाबबले क्यानडा संसारको दोस्रो ठूलो देश भए पनि जनसंख्या तीन करोड मात्रै छ। बस्तीहरू छरिएका छन्, राजधानी सहरहरू पनि सानै छन्। तर युरोपेली मूलका व्यक्तिहरूले निर्माण गरेका हुँदा सहरको वास्तुशैली प्रायः युरोपकै जस्तो छ।
हेलिफ्याक्स संसारका मानिसहरूले कम सुनेको नाम भए पनि टाइटानिक जहाज डुबेको ठाउँ भन्नेबित्तिकै सबैको ध्यानाकर्षण हुन्छ।
हेलिफ्याक्स तुलनात्मक रूपमा सानो सहर हो तर यसको सुन्दरता अनुपम छ। अठारौं शताब्दीमा निर्माण भएको यो सहरको वास्तु चिटिक्क मिलेको छ।
क्यानडाका धेरै सहरहरू युरोपका विभिन्न ठाउँबाट बसाइ सरेका गोराहरूको शिल्प, कला र बुद्धिले बनेका भए पनि यसमा अफ्रिकाका विभिन्न मुलुकहरूबाट ल्याइएका दासहरूको श्रम परेको छ, पसिना बगेको छ।
कति अफ्रिकी दासको त्यहाँ चिहान पनि बनेको छ। अर्थात् आजको युरोप तथा अमेरिकाको निर्माण र विकासमा अफ्रिकाबाट भेडाबाख्रा जसरी ल्याइएका दासहरूको ठूलो योगदान छ।
मैले हेलिफ्याक्स नजिकैको करिब छ हजार जनसंख्या बसोबास गर्ने सानो सहर एन्टिगोनिसमा पढाइको सिलसिलामा पाँच महिना जति बस्ने अवसर पाएँ।
मेरो पढाइको विषय ‘सामाजिक विकास’ भएको हुँदा बीचचीचमा त्यहाँका बासिन्दाहरूका समस्या र उनीहरूको जीवनका बारेमा आगन्तुक व्यक्तिहरूबाट प्रवचन दिइन्थ्यो। त्यही सिलसिलामा काला जातिकी एक क्यानेडियन महिलाले आफूहरूले त्यहाँ पहिचानको लडाइँ गरिरहेको बताइन्।
उनीहरूका पूर्खा दासका रूपमा त्यहाँ भित्रिएका हुँदा उनीहरू को हुन् र कहाँबाट आए? के उनीहरू पहिले पनि दासकै रूपमा थिए?
यी प्रश्नहरूबारे अफ्रिकाका विभिन्न मुलुकमा गएर खोज्दा आफ्ना पुर्खा कसरी क्यानडा तथा अमेरिका ल्याइए भन्ने दारुणिक कथा फेला पारेको ती महिलाले बताइन्।
त्यो कथा प्रस्तुत गरिन्।
उनका अनुसार युरोपेलीहरूले बारुद र बन्दुकको आविष्कार गर्दा अफ्रिकाका सबै बासिन्दा कविला युगमा थिए। उनीहरूसँग आधुनिक हतियार केही थिएन। युरोपका सबै देशहरूले संसारका विभिन्न ठाउँमा उपनिवेश बनाइरहेका थिए तर त्यहाँ काम गर्न उनीहरूलाई निकै अप्ठ्यारो थियो। काम गर्नलाई श्रमशक्ति थिएन। स्थानीयवासीलाई दमन गरेर उपनिवेश बनाएको हुँदा उनीहरूले अवरोध र विद्रोह गर्छन् भन्ने डर थियो। अतः त्यहाँ काम गर्ने श्रम बाहिरबाट ल्याउन सहज मानेर अफ्रिकाका विभिन्न ठाउँबाट मानिस ल्याइए।
ती महिलाले भनेअनुसार गोराहरू गाउँगाउँमा गए, प्रतिरोध गर्नेलाई मारे। प्रतिरोध गर्न नसक्नेहरूलाई खेदेर पानी जहाजमा चढाएर ल्याए।
अफ्रिकाका विभिन्न ठाउँबाट युरोप र अमेरिका ल्याउने क्रममा हजारौंको संख्यामा उनीहरूको ज्यान गयो। ल्याइपुर्याइएकाहरू अनेक मालिकहरूलाई बेचिए।
यसरी अफ्रिकाबाट खेदेर दासहरू ल्याउने एउटा समूह हुन्थ्यो। उनीहरूलाई खरिद गर्ने अर्कै हुन्थ्यो, अर्थात् युरोप र अमेरिकामा ती अफ्रिकीहरूको खरिदबिक्री हुन्थ्यो।
तिनै दासहरूको श्रम, पसिना र ज्यानको बदलामा खडा भएका हुन् ती भव्य भवन र सहरहरू हुन्।
उहिले यसरी पानीजहाजमा दासहरू भेडाबाख्राजस्तो गरेर लगिन्थे, बीचमै ज्यान गुमाउनेहरू पनि हजारौं हुन्थे।
हामीले यता नेपालको बारेमा कुरा गर्दा अहिले फरक यति छ। हाम्रा युवाहरू हवाइजहाजमा चढ्छन्। विमान परिचारिकाहरूले केही सम्मान गरेजसरी सेवा दिन्छन्। अनि पुग्छन् ५० डिग्री तापक्रम भएका खाडी मुलुकहरूमा।
म धेरैपटक विदेश यात्रामा निस्किँदा इमिग्रेसन कक्षमा ग्रामीण युवाहरू सयौंको संख्यामा लाइन लागेका हुन्छन्। ती युवाहरूले प्राथमिक कक्षा त अवश्य पूरा गरेका होलान्। धेरैले माध्यमिक कक्षा पूरा गरेका होलान् तर तीमध्ये धेरैले इमिग्रेसन डेस्कमा बुझाउनु पर्ने कार्ड समेत भर्न जान्दैनन्।
कतिसम्म भने पासपोर्टमा के लेखेको छ भन्ने पनि पढ्न जान्दैनन्। अन्य यात्रुलाई कार्ड भरिदिन आग्रह गरिरहेका हुन्छन्।
त्यसरी कार्ड भरिदिने काम मैले पनि धेरै पटक गरेको छु। तिनै निरीह युवाहरूले श्रम बेचेर पठाएको रेमिटेन्सबाट देश चलिरहेको छ। यहाँका इमिग्रेसन अधिकृतको पनि तलब आएको छ।
यति जान्दाजान्दै पनि ती श्रमिक युवाहरू कति अपमान र हेयको दृष्टिकोणले हेरिन्छन् भन्ने कुरा लेखेर साध्य छैन।
युरोप र अमेरिकामा पुगेका दासहरूको कुनै अधिकार हुँदैन थियो। मालिकलाई भने उनीहरूको ज्यान लिनेसम्मको अधिकार हुन्थ्यो।
अहिले खाडीमा पुगेका युवाहरूलाई त्यहाँका कम्पनीहरूले अर्धदासका रूपमा व्यवहार गरेका अनेक उदाहरणहरू देख्न सकिन्छ।
सबभन्दा पहिले त उनीहरूको पासपोर्ट र कागजपत्र खोसिन्छ। यसपछि उनीहरूले कम्पनीको स्वीकृति नभइकन केही पनि गर्न पाउँदैनन्। उनीहरू बँधुवा मजदुर बन्छन्।
जे कामका लागि भनेर लगिएको हो त्यही काम नपाउनु, कबोल गरेको जति तलब नदिनु, दिएको पनि समयमा नदिनु सामान्य घटना जस्तो भएको छ।
श्रमिकले काममा चित्त बुझेन, म अर्को ठाउँमा जान्छु भन्नु असम्भवप्रायः हुन्छ। कम्पनी छोडेर हिँडेकै बहानामा कति श्रमिकहरू जेल हालिन्छन्।
साझा मोलमोलाइ गर्ने अन्तर्राष्ट्रिय श्रमिकको मौलिक अधिकारको उच्चारण समेत गर्न पाइँदैन। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) तोकेको आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको नियम त सम्भवतः त्यहाँ कतै पालना हुँदैन। कुनै कानुन र नियमले यसमा ध्यान दिएको छैन।
युरोप र अमेरिका पुर्याएका दासहरू त्यहाँ ‘डन्जन’ भनिने अँध्यारो सुरङजस्तो ठाउँमा भेडाबाख्रा जसरी कोचिन्थे। यता खाडीका सहरहरूमा अहिले पनि १० गुणा १२ (फिट) को कोठामा दस जनाजति कोचेर राखिएका हुँदा रहेछन्। ती सबैको ड्युटी एकै समयमा नहुँदा सुत्न पालो मिले पनि सबै जना भेला हुँदा सकस हुँदो रहेछ। बिदाका दिनमा राम्ररी सुत्न नपाउने समस्या हुँदो रहेछ।
युरोप र अमेरिकामा दासहरू वस्तुसरह मानिने र उनीहरूको मानवीयताको मूल्य नहुने हुँदा अकालमै ज्यान गुमाउनु सामान्य घटना थियो। आजकाल खाडी र मलेसियामा विदेशी श्रमिकहरूले अत्यधिक गर्मीमा पानीको अभाव झेल्दै काम गर्दा मिर्गौला अन्य अंगका रोग झेल्नुपरेको छ। सडक दुर्घटनामा परेर ज्यान गुमाउनु परेको छ।
उखरमाउलो गर्मीबाट कोठामा आएर एअर कन्डिस्नर (एसी) खोलेर सुत्दा हृदयघातले ज्यान जाने गरेको छ।
असुरक्षित कार्यस्थलमा दुर्घटनामा परेर ज्यान गुमाउने नेपालीको मृत शरीर दिनमै छ–सात वटा आउने गरेको छ।
त्यो दास युगमा युरोप र अमेरिकामा अफ्रिकी दासहरूले ज्यान गुमाउनुमा र अहिले खाडीमा नेपाली श्रमिकहरूले ज्यान गुमाउनुमा तात्त्विक फरक कति होला!
मैले खाडीमा गर्ने नेपाली श्रमिकहरूको दयनीय अवस्थाबारे सुनेको छु। एकजना नेपाली श्रमिक एउटा घरमा मालीको काम गर्न बसेका रहेछन्। मालिकका घर अन्यत्र पनि रहेछन्। श्रीमतीहरू धेरै रहेछन्। ती मालिक एक महिनाजसोमा मात्रै ती नेपाली बसेको घरमा आउने रहेछन्।
घरमा मालिक्नी र उनकी छोरी बस्ने रहेछन्। ती श्रमिक बस्ने छुट्टै टहरो रहेछ।
हरेक शुक्रबार नेपाली श्रमिकहरू त्यहाँको कुनै चोकमा भेट भएर दुःखसुख साट्ने, रमाइलो गर्ने रहेछन्।
एकदिन मालीको काम गर्ने ती नेपाली श्रमिक साथीहरूसँग भेट्दा अत्यन्त दुखी र साह्रै ख्याउटे हालतमा देखिएछन्। साथीहरूले के समस्या छ भनेर सोधेछन्। सुरूमा त उनले केही होइन भनेर टार्न खोजेछन् तर कर गरेपछि डराउँदै खास कुरा सुनाएछन्।
के भएको रहेछ भने मालिक्नीले ती नेपाली श्रमिकलाई धम्की र प्रलोभन दिएर आफूसँग यौन सम्पर्क गर्न लगाइछन्। केही दिनमा छोरीले थाहा पाइछन्। छोरीले पनि आमाले झैं बाध्य बनाइछन्।
मालिकले यो गतिविधि थाहा पाए भने सिधै ती श्रमिकलाई मार्छन्। वा जबरर्जस्ती गरेको आरोप लगाएर मृत्युमै पुर्याउँछन्।
श्रमिकको सबै कागजपत्र मालिकसँग छ। उम्किने कुनै उपाय छैन।
यस्ता दारूण कथाव्यथाहरू कति होलान्!
यिनै कथाव्यथाहरूको मूल्यमा श्रमिकहरूले यहाँ रेमिटेन्स पठाइरहेका छन्। त्यही रेमिटेन्सबाट आयात गरिएका सामानमा भन्सार र भ्याट लगायतका कर लगायत देशको खर्च चलिरहेको छ।
श्रम निर्यात रोक्न सकिँदैन तर विकसित देशको श्रमशक्ति अर्को देशमा जाँदा जुन सुविधा हुन्छ, त्यही हाम्रो सन्दर्भमा किन लागू हुन सक्दैन?
यो आजको मुख्य प्रश्न हो।
देशको कुल गार्हस्थ्य उत्पादनको २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने श्रम बजारलाई व्यवस्थित र मर्यादित गराउन केले रोकेको छ?