कुण्डलीमा सबै ग्रह लग्न र सप्तम भावमा छ भने त्यसलाई संकट योग भनिन्छ। यसलाई अर्को शब्दमा भन्दा कुण्डलीमा चन्द्रबाट ६,८१२ भावमा वृहस्पति भए र चन्द्रमा लग्नबाट केन्द्रमा नभए संकट योग बन्छ।
संकट योगमा जन्मिने व्यक्तिको जीवनमा उत्तारचढाव आउँछ। त्यस्तो व्यक्तिले सुख-समृद्धिका साथै दुःखकष्ट र आर्थिक संकट सामना गर्नुपर्छ।
ज्योतिषशास्त्रअनुसार स्वर्गका राजा देवराज इन्द्र संकट योगमा जन्मेका थिए। यो कुरा पुराणमा पनि उल्लेख छ। यही योगका कारण देवराज इन्द्रले सुख-समृद्धिसँगै दुःखकष्ट पनि भोगेका थिए। उनलाई सुखमा नजर लाग्थ्यो। वृत्तासुर हिरण्यकस्यप, राजा बलि, रावण, महिषासुर, तारकासुर र मधुकैतभ लगायत असुरहरू शक्ति सम्पन्न भएपछि आफ्नो शक्ति देवराजमाथि प्रयोग गर्थे।
देवराज इन्द्र शल्यचिकित्सा र आयुर्वेदमा निपुण थिए। पुराणअनुसार शल्यचिकित्साका प्रवर्तक सूर्यपुत्र अश्विनी कुमार हुन्। अश्विनी कुमारले नै देवराज इन्द्रलाई शल्यचिकित्सा र आयुर्वेदको ज्ञान दिएको भनाइ छ। देवराज इन्द्रले अपला ऋषि अत्रीकी पुत्रीको चर्मरोग शल्यक्रिया गरेका थिए।
आजको युगमा हामी 'टेस्ट ट्युब बेबी' लाई चिकित्सा विज्ञानको चमत्कार भन्छौं। महाभारतकालमा हस्तिनापुरकी महारानी गान्धारीका सय पुत्र थिए। दुर्योधन, दुशासन लगायत गान्धारीका ती सय पुत्रलाई त्यो समयको टेस्ट ट्युब बेबी मान्न सकिन्छ। त्यस्तै, राजा सागरका सात हजार पुत्र र भागीरथलाई पनि टेस्ट ट्युब बेबी मान्न सकिन्छ। यो त्यस बेलाको चिकित्सा विज्ञानको चमत्कार हो।
अश्विनी कुमार त कतिसम्म निपुण थिए भने उनले काटिएको शिरसमेत शल्यक्रिया गरेर जोडिदिएका थिए। दीर्धतमा नाम गरेका ऋषिको शिर उनका दास त्रैततले छेदन गर्दा अश्विनी कुमारले नै ऋषिको शिर जोडिदिएको कथा छ।
उनै अश्विनी कुमारले खेल नामक राजाकी पत्नी विश्पला युद्धमा घाइते हुँदा शल्यक्रियाबाट इस्पात (फलाम) को खुट्टा जोडेको र प्लास्टिक सर्जरी गरेको पुराणमा उल्लेख छ।
पुराणअनुसार सम्पूर्ण चर-अचर जगतमा इन्द्रलोक भौतिक र दैहिक रूपले सर्वाधिक सुख-सम्पन्न लोक हो। यो लोकमा राजा भौतिक र दैहिक सुखमा लिप्त हुन्छन्। देवराज इन्द्र त्यही सुखमा लिप्त हुँदा अन्य सैन्यशक्ति र आफ्नो नियम-कर्तव्यबाट उनी विमुख हुन्छन्। यसले अरू असुरहरू शक्तिसम्पन्न भई स्वर्गलोकमा आक्रमण गर्थे। सधैं शक्तिशाली असुरबाट पराजित भएपछि इन्द्र स्वर्गलोक छाडेर मर्त्यलोकमा लुकेर बसेको प्रसंग पुराणमा भेटिन्छ।
देवराज इन्द्रले सधैंको पराजयबाट मुक्त हुन एक हजार वर्षसम्म महादेवको तपस्या गरे। महादेव प्रसन्न भई उनलाई श्रीयन्त्र दिए र भने, 'तन्त्रमन्त्रद्वारा बलि दिई इष्टदेवताका रूपमा यसलाई पूजा गरेर राख्नू।'
भगवान शंकर (महादेव) को कृपा र श्रीयन्त्र प्राप्तिका कारण देवराज इन्द्र शक्तिसम्पन्न भए र पुनः इन्द्रलोकको सिंहासनमा बसे।
लंका नगरको निर्माण
महादेवले आफ्नी पत्नी पार्वतीको हठका कारण लंका नगर निर्माण गर्न लगाएका थिए। पछि ऋषि विश्रवाले महादेवबाट उक्त नगर दानमा पाएका थिए। ऋषिको दुस्साहस देखेर पार्वती साह्रै रिसाइन् र श्राप दिँदै भनिन्, 'महादेवको सरलताको फाइदा उठाउँदै पाएको दरबार महादेवकै एक अंशले जलाएर खरानी बनाइदेओस्। दरबारसँगै तिम्रो कुलको पनि नास होस्।'
यसरी ऋषिले लंका नगर प्राप्त गरेपछि देवता र यक्षहरूले कुबेर (रावणकी सौतेनी आमा इलबिल्लाका छोरा) लाई लंकापति बनाए।
त्यो समय सुमेरू क्षेत्रका राजा सुकेशका तीन छोरा माली, सुमाली र माल्यावान नामका तीन राक्षसको दबदबा थियो। सुमालीकी छोरी कैकेसीको विवाह ऋषि विश्रवासँग भएको थियो। ऋषि विश्रवा र कैकेसीका कोखबाट तीन छोराहरू रावण, कुम्भकर्ण र विभीषणको जन्म भयो।
विश्रवा एक ऋषि हुन् भने कैकेसी दानवपुत्री थिइन्। ऋषिपुत्र भएकाले रावण, कुम्भकर्ण र विभीषण तीनै जनाले वेदको शिक्षा पाएका थिए। यी तीन दाजुभाइमध्ये रावणमा विलक्षण प्रतिभा थियो। त्यही भएर उनले चारै वेद कण्ठ गर्न सके। आफ्नो हजुरबुवा-हजुरआमाले उक्साएपछि रावणले सुरूमा सुम्बा र बाली द्वीप कब्जा गरे र आफ्नो शासनको क्षेत्रफल विस्तार गरे। पछि अंगद्वीप, मलयद्वीप, बराहद्वीप, शंखद्वीप, कुशद्वीप, यवद्वीप र आन्ध्रालयसमेत कब्जा गरे। त्यसपछि रावणले लंकामाथि कब्जा गरि लंकापति बने।
अर्को धार्मिक किम्बदन्तीअनुसार नैऋव्यकोणको लंकाका अधिपति रावण गोकर्णमा तपस्या गर्न थाल्छन्। महादेव उनको तपस्याबाट खुसी भएर भन्छन्, 'हे रावण! तिम्रो भक्ति देखेर म प्रसन्न भएँ। तिम्रो इच्छा के छ भन। म तिमीलाई वरदान दिन्छु।'
महादेवको वचन सुनेर रावणले हात जोडेर भने, 'हे प्रभु! म के मागौं? हजुरका कृपाले मसँग सबथोक छ।'
महादेवले भने, 'यहाँसम्म आएर तिमीले एकथोक नमागी सुख पाउँदैनौ।'
रावणका मनमा सम्पूर्ण लक्षणले युक्त भएकी पार्वती नै मागौं कि भन्ने हुन्छ। अनि उनी महादेवलाई भन्छन्, 'हे ईश्वर! अरू मलाई केही चाहिन्न। दिनुहुन्छ भने हजुरको काखमा बसेकी माता पार्वती मलाई दिइबक्सनुहोस्।'
रावणले यस्तो बिन्ती गरेपछि महादेवलाई आपत पर्छ। तै पनि बाचा गरिसकेकाले उनले पार्वतीलाई रावणसँग पठाउँछन्।
रावणले पार्वतीलाई पिठ्यूँमा बोक्छन् र महादेवसँग विदा हुन्छन्।
रावणलाई ज्ञान थियो, माता पार्वती शक्तिकी स्रोत हुन्। पार्वतीलाई लंका लग्न पाए कुनै पनि शक्तिले उनलाई पराजित गर्न सक्दैन भन्ने उनलाई थियो।
यसरी रावणले पार्वतीलाई लगेको कुरा सर्वत्र फैलिन्छ। वैकुण्ठनाथ विष्णुले पनि यो थाहा पाउँछन्। त्यसपछि उनी वायुभन्दा तीव्र गतिमा लंका पुगेर रावणको योजना विफल पारिदिन्छन्।
त्यस्तै, एकपटक रावणले महादेवको ज्योतिर्लिंग नै लंका लग्न खोजेका थिए। उक्त कार्य भगवान गणेशले विफल पारेका थिए।
त्रेतायुगको अन्त्यमा फेरि लंकाधिपति रावणले लंकादेश शक्तिशाली बनाउन सीतालाई हरेर लगे। रावणलाई ज्ञान थियो, माता सीता पनि पार्वतीजस्तै शक्तिकी स्रोत थिइन्। त्यसैले सीतालाई लंकामा विराजमान गर्न पाए कुनै पनि शक्तिले उनलाई पराजित गर्न सक्दैन भनेर उनले सीता हरण गरेका थिए। यो कार्य पनि रामचन्द्रले विफल पारिदिए। रामचन्द्रले युद्धमा लंकादेशका साथै सबै राक्षसलाई सखाप पारे।
यसरी लंकाधिपति रावणले लंकालाई शक्तिशाली बनाउन पटकपटक प्रयत्न गरे पनि सफल हुन सकेनन्।
भनिन्छ, महान सोच भएका मानिस ज्ञान विज्ञानका कुरा गर्छन्। मध्यम सोच भएका मानिस विषयवस्तुका कुरा गर्छन्। निच सोच भएका मानिस अर्काको कुरा गर्छन्। लंकाधिपति रावण अतुलनीय ज्ञानी र धेरै विद्याका सफल साधक थिए। एक कुशल राजनीतिज्ञ थिए। कुशल सेनापति, विद्वान र ज्योतिष तथा वास्तुकलामा पारंगत थिए। उनमा अत्यधिक शक्ति र बुद्धि थियो। यस कारण उनले थुप्रै असाधारण काम गरेका थिए-
१. शिवताण्डव स्तोत्र रचना– शिव ताण्डव स्तोत्रका रचयिता रावण हुन्। उनले आफ्ना आराध्य देवाधिदेव महादेवको स्तुति गर्न यसको रचना गरेका हुन्।
२. रावण संहिता– यसमा ज्योतिषसम्बन्धी महत्वपूर्ण जानकारी छन्। यसले रावणको जीवनका सम्पूर्ण कुराको जानकारी प्रदान गर्छ।
३. चिकित्सा एवं तन्त्र विषयक अद्भूत ग्रन्थ रचना– रावणले चिकित्सा तथा तन्त्रसम्बन्धी अद्भूत ग्रन्थहरू दस शतकात्मक अर्कप्रकाश, दस पटलात्मक उड्डीसतन्त्र, कुमारतन्त्र र नाडी परीक्षाको रचना गरेका छन्।
४. अन्य ग्रन्थ– रावणले अरूण संहिता, अंक प्रकाश, इन्द्रजाल, प्राकृत कामधेनु, प्राकृत लंकेश्वर, रावणीयम आदि किताब रचना गरेका छन्।
५. रक्ष संस्कृति– रावणले सबैको रक्षा गर्न रक्ष संस्कृतिको स्थापना गरेका थिए भन्ने भनाइ छ। रावणले असंगठित राक्षस समाजलाई एकत्रित गरेर उनीहरूको कल्याणका लागि थुप्रै काम गरेका थिए।
६. रावणको वेधशाला– रावणको सेनामा शस्त्रास्त्रका ज्ञाता भार्गव शुक्राचार्य, शम्बूक, कुम्भकर्ण, वज्रज्वालाजस्ता थुप्रै वैज्ञानिक थिए। उनीहरूले दारू पञ्च अस्त्र, सूर्यहास, मकरमुख, आसि विषमुख, वाराहमुख जस्ता तत्कालीन समयका विध्वंशकारी अस्त्रहरू निर्माण गरेका थिए। रावण स्वयंले आफ्नो वेधशालामा दिव्य रथ निर्माण गरेका थिए।
७. रावणहस्त वीणा– यो एक वाद्ययन्त्र हो। यसलाई भायोलिनको पूर्वज मान्नेहरू पनि छन्। यसलाई पछि सारंगीका रूपमा विकसित गरिएको थियो।
८. विमानस्थल– रावणको वायुसेना पनि थियो। पुष्पक विमान तथा अन्य विमान उडान र अवतरणका लागि रावणको अधिकारमा उसानगोडा, गुरूलोपोथा, तोतूपोलाकन्दा र वारियापोला नामका विमानस्थल थिए भन्ने भनाइ छ।
९. जलपोत– रामायणका अनुसार रावणसँग वायुयानका साथै थुप्रै जलपोत (पानीजहाज) थिए। रामायणको प्रसंगबाट के थाहा हुन्छ भने त्यति बेला सामान्य मानिससँग पनि डुंगा थियो। त्यसैले रावणजस्तो पराक्रमी महाराजासँग जलपोत हुनु स्वाभाविक हो।
१०. मधुमक्खी यन्त्र– लंकामा त्यति बेला टेलिफोनजस्तो दूरसञ्चार यन्त्र थियो। यसलाई मधुमक्खी यन्त्र भनिन्थ्यो। विभीषणले लंकाबाट निष्कासित भएपछि आफूसँग मधुमक्खी र दर्पण यन्त्र पनि राम भएको ठाउँमा लिएर आएका थिए।
११. लिफ्ट– लंकामा यान्त्रिक सेतु, यान्त्रिक ढोका र यस्ता चौतारा पनि थिए जो बटन थिचेपछि माथि-तल गर्थे। यी चौतारा सम्भवतः लिफ्ट थिए। यस्तो विकासप्रेमी राजा ज्ञानमा मात्र नभई बलमा पनि निकै शक्तिशाली थिए।
रावणका अधुरा योजनाहरूः
- रावण सुनमा सुगन्ध ल्याउन र रक्सीबाट दुर्गन्ध हटाउन चाहन्थे।
- उनको योजना स्वर्ग जाने सिँढी बनाउने थियो।
- उनी कुनै एक वृद्ध नमरी बालक नमर्ने व्यवस्था मिलाउन चाहन्थे।
- समुद्रको पानी स्वादिलो बनाउन चाहन्थे।
- हरेक मानिस गोरो हुने योजना बनाएका थिए।
रामसँगको युद्धमा असामयिक निधनका कारण रावणाका यी सपना सपनामै सीमित रहे।
रावणले लक्ष्मणलाई तीन शिक्षा दिएका थिए जुन यस प्रकार छन्:
१. पहिलो शिक्षा: 'शुभस्य शीघ्रम्' - शुभकार्य जतिसक्दो चाँडो गर्नुपर्छ। भोलि कहिल्यै आउँदैन, त्यसैले कुनै कार्य भोलि भनेर छाड्नु हुँदैन। अशुभ कार्य जतिसक्दो ढिलो गर्नुपर्छ। यो संसारमा आफ्नो अनुभवभन्दा अमूल्य ज्ञान अरू केही छैन। बुद्धिमानहरू अरूको अनुभववाट ज्ञान लिन्छन्। मैले भगवान रामलाई चिन्ने शुभकार्य गर्न धेरै ढिलो गरेँ। रामलाई मैले पहिल्यै चिन्न सकेको भए आज मेरो यो हालत हुने थिएन।
२. दोस्रो शिक्षा: आफ्ना प्रतिद्वन्द्वी, आफ्नो शत्रु, रोग र ऋणलाई कहिल्यै कमजोर नठान्नू। राम बाँदर सेनासहित आएपछि मलाई यी प्रतिद्वन्द्वी अत्यन्त कमजोर प्रतीत भयो। मैले यही ठाउँमा भूल गरेँ। मैले जसलाई सामान्य बाँदर र भालु सम्झिएँ, उनीहरूले मेरो पूरै सेना नष्ट गरिदिए। जब मैले ब्रह्माजीसँग अमरताको वरदान मागेको थिएँ, तब मनुष्य र बाँदरका अतिरिक्त कसैले पनि मेरो वध गर्न नसकोस् भनेको थिएँ, किनभने मैले मनुष्य र बाँदरलाई तुच्छ ठानेको थिएँ। आफ्नो दुश्मनलाई कमजोर ठान्नु नै मेरो जीवनको बर्बादी थियो। यस कारण कहिले पनि दुश्मनलाई कमजोर नठान्नू।
३. तेस्रो शिक्षा: आफ्नो जीवनको महत्वपूर्ण रहस्य र कमजोरी कहिले पनि कसैलाई नभन्नू। मैले मेरो ज्ञानी भाइ विभीषणलाई मेरो मृत्युको रहस्य बताएको थिएँ। आज उही मेरो मृत्युको कारण बन्यो। रामले मेरो अमृत सुकाइदिए र मलाई यस्तो घायल बनाए। यहाँ पनि म चुकेँ, किनभने विभीषण मेरो मृत्युको राज जान्न चाहन्थे। मेरो जीवनको सबभन्दा ठूलो गल्ती यही भयो।
एकदिन लक्ष्मणले भने, 'हे महापण्डित रावण! मलाई राजनीतिको केही ज्ञान दिनुहोस्।'
रावणले भने, 'लक्ष्मण, राजनीति एक बृहत् विषय हो। यसबारे अध्ययन गर्न विलक्षण र तीक्ष्ण बुद्धि भएकाहरूलाई पनि दस जुनी लाग्छ। ईश्वरको अनुकम्पाले म दसानन विलक्षण र तीक्ष्ण बुद्धिधारी भएकाले एकै जुनीमा राजनीतिको ज्ञान पाएँ। जो व्यक्ति अवस्था बुझेर उचित समयमा साम, दाम, दण्ड र भेद गरी चार प्रकारले काम गर्न प्रविण हुन्छ, उही वास्तविक राजनीतिज्ञ हो।'
रावणबाट यी तीन शिक्षा प्राप्त गरेपछि नै लक्ष्मणको जीवन परिवर्तन भएको मानिन्छ।
इन्द्रजीत (मेघनाथ) लंकाधिपति रावणका महापराक्रमी पुत्र हुन्। उनी शक्तिशाली योद्धा थिए। मेघनाथले स्वर्गलोकको विजयपछि देवराज इन्द्रले पूजा गर्दै आएको कुलदेवी श्रीयन्त्र (जुन देवराजले महादेवको स्तुति गरी प्राप्त गरेका थिए) खोसेर लंका ल्याए र इष्टदेवीका रूपमा स्थापना गरे।
रावण तन्त्रविद्यामा निपुण भएकाले तुलेजु भवानीलाई रावणले तान्त्रिक विधिबाट बलि दिई पूजा गर्ने गर्थे। यही श्रीयन्त्रलाई पछि उनले तुलजा भवानी भन्न थालेका थिए। तुलजा भवानी पनि शक्तिकी स्रोत थिइन्। तुलजा भवानीकै कारण रावण त्रिलोक विजेता बने।
त्रिलोक विजेता हुनुमा उनका छोरा मेघनाथको पनि उत्तिकै ठूलो भूमिका छ। तुलजा भवानीको पूजा गरी युद्ध गर्न गएको दिन कुनै पनि शक्तिले परास्त गर्न सक्दैनथ्यो।
रावणले यसरी प्राप्त गरेको तुलजा भवानीलाई रामचन्द्रले युद्धपछि अयोध्या ल्याए। रामचन्द्र स्वर्गारोहण हुने बेला त्यस श्रीयन्त्रलाई सरयू नदीमा डुबाए। पछि यही तुलजा भवानी देवीलाई अयोध्याबाट सिमरौनगढ हुँदै राजा हरसिंहदेवले काठमाडौं उपत्यका ल्याएका थिए।
नान्यदेवका पालामा मुसलमान बादशाहले अयोध्या सहरमा आक्रमण गर्दा पराजित सूर्यवंशी नान्यदेव मुसलमानहरूको नोकरी गर्न पुगे। उनको सम्पूर्ण परिवारको मृत्यु भयो। नान्यदेव विरक्त भई यत्रतत्र घुम्न थाले।
एकदिन नान्यदेव सरयू नदीको तिरमा बास बस्न पुगे। त्यस रात सपनामा देखेअनुसार सरयू नदीमा भमराले छोपेर राखेको तामाको पेटारो फेला पारे। उक्त पेटारोमा 'राम्रो वेती नलो वती राजा पुरूवा, अलर्कस्य धनं प्राप्य नान्यदेव भविष्यति' भन्ने श्लोक लेखिएको थियो।
तामाको पेटारोभित्र सुनको बट्टामा पूजा गरिराखेको किताबसहित श्रीयन्त्र प्राप्त भयो।
नान्यदेव त्यो श्रीयन्त्र लिएर जनकपुरको जंगलतिर लागे। नान्यदेवले त्यस जंगलमा देश बनाए र सिमरौनगढ नाम राखे। सिमरौनगढ अहिले नारायणी अञ्चलको बारा जिल्लामा पर्छ। राजा हरसिंह देव सिमरौनगढका अन्तिम कर्नाटकवंशी राजा थिए। विक्रम सम्बत् १३८१ मा तत्कालीन बंगाली शासक गयासुद्दिन तुगलकको सिमरौनगढ आक्रमणपछि सत्ताच्यूत भएका हरसिंहदेव भागेर नेपाल मण्डलतर्फ लागे। त्यति बेला भक्तपुरमा रूद्र मल्लको शासन थियो।
हरसिंह देव सोझै नेपाल उपत्यका पस्न सकेनन्। केही कालसम्म यताउति घुमेपछि दोलखातिर जान लाग्दा तीनपाटन भन्ने ठाउँमा १३८२ माघमा उनको मृत्यु भयो। यो तीनपाटन भन्ने ठाउँ सिन्धुली जिल्लामा कमला खोँचको माथि महाभारत पर्वत शृंखलामा पर्छ।
हरसिंहदेवको मृत्युपछि उनकी रानी देवलदेवी (भक्तपुरका राजा रूद्र मल्लकी बहिनी) आफ्ना छोरा जगतसिंह, सँगै आएका भाइभारदार, जनता र उनीहरूले सिमरौनगढबाट साथमा ल्याएको तुलजा भवानीसहित राजा रूद्र मल्लकहाँ शरण लिन पुगिन्। भक्तपुरमा शरण पाएपछि देवलदेवीले आफूले ल्याएको कलश र श्रीयन्त्र राजालाई उपहारस्वरूप हस्तान्तरण गरे।
भाषा वंशावलीमा नेपाल सम्बत् ४४४ पौष शुक्ल नवमी शनिबार अर्थात् विक्रम सम्बत् १३८२ पौषमा तुलजा भवानी भक्तपुर भित्रिएको उल्लेख छ।
राजा रूद्र मल्लले तलेजु भवानी भित्र्याउँदा सर्वप्रथम 'वाने लायकु' मा विराजमान गराएका थिए। 'वाने' शब्द 'वंता' बाट आएको शब्द हो, जसको अर्थ नेपाल भाषामा पूर्व दिशा भन्ने बुझिन्छ। 'लायकु' शब्दले राजप्रसाद भन्ने बुझाउँछ, जहाँ राजपरिवारहरू बस्ने गर्छन् र शासन पनि त्यहीँबाटै गरिन्छ। त्यसैले 'वाने लायकु' मा रहेको तलेजु मन्दिर नै नेपाल मण्डलको पहिलो तलेजु मन्दिर हो। दसैंमा अहिलसम्म यहाँको तलेजु मन्दिरमा बलिसहित पूजा गरिन्छ। यस लायकुमा तलेजु देवगृह पनि छ। यसलाई मल्ल राजाहरूको आगछेँका रूपमा पुजिन्छ।
हाल लायकु भन्नाले खौमा नजिक रहेको क्षेत्र बुझिन्छ। यो क्षेत्र यक्ष मल्लका पालादेखि मात्र लायकुका रूपमा परिणत भएको थियो। त्यसअघिका राजाहरू वाने लायकुमा बस्ने गर्थे।
यसरी सिमरौनगढबाट ल्याइएको तुलजा भवानीको मूर्ति तान्त्रिक विधिबाट स्थापना गर्ने क्रममा राजा रूद्र मल्लले जनताको सहयोग लिई सर्वप्रथम वने लायकू (हाल दत्तात्रय) भन्ने ठाउँमा एक हात गहिरो र एक हात चौडा खाल्डो खने। खाल्डोबाट माटो झिकेर फेरि त्यही माटोले खाल्डो पुर्दा पहिलेजस्तो जमिन बराबर भएन। त्यसपछि मेगेजिन भन्ने बगैंचाको ठाउँमा खाल्डो खनियो। त्यो खाल्डो पुर्दा माटो बढी भयो। त्यसपछि क्वाछेँ टोलमा खाल्डो खन्दा माटो पुगेन।
कहीँ माटो नपुगेको र कहीँ बढी भएकाले राजा रूद्र मल्ल चिन्तित भए। आखिरमा हाल तुलजा भवानी स्थापना गरिएको ठाउँमा खाल्डो खनेर पुर्दा जमिन बराबर भयो। राजा रूद्र मल्लले त्यो ठाउँ आसपासका सबै प्रजालाई इच्छाबमोजिम पैसा, घर र जग्गा दिएर सन्तुष्ट पारे। त्यस बेलादेखि नेपालका शासक वर्गहरू तुलजा भवानीका उपासक बने।
राजा गमन सिंहदेवका पालामा भोटका जनताले तुलजा भवानी भक्तपुर ल्याइएको थाहा पाएछन्। उनीहरू भक्तपुरसँग युद्ध गरेर तुलजा भवनी खोसेर लैजाने विचारले आए। उनीहरूको फौज खासांखुसं पुग्दा भक्तपुर सहर नै दनदन बलिरहेको देखे। आश्चर्य मान्दै एक-एक डल्लो माटो सबैले राख्दा पहाड बन्यो, आगो भने बलिरह्यो।
त्यो देखेर आश्चर्य मान्दै उनीहरू सबै फर्किए। त्यही माटोबाट बनेको भनिने पहाड ‘दनेपाचो’ का नामले प्रख्यात छ।
पायाः न्हकेगु– खड्ग जात्रा
पायोः नेवारी शब्द हो, जसको पर्यायवाची शब्द खड्ग चालन वा खड्ग जात्रा भन्ने बुझिन्छ।
'पा' को अर्थ काट्ने (खड्ग) र याः को अर्थ यात्रा हो। देवीदेवताले ग्रहण गर्ने विभिन्न अस्त्रमध्ये खड्ग एक हो। यसको धार्मिक, राजनीतिक, दार्शनिक तथा सांस्कृतिक दृष्टिबाट आफ्नै किसिमको महत्व छ। समाजमा खड्गलाई एउटा शस्त्रका रूपमा मात्र नभई स्थान, वस्तु र तत्वसित जोडेर हेर्ने गरेको पाइन्छ।
त्यसबाहेक खड्गलाई देवदेवीको प्रतीक, विजयको प्रतीक र राजाको प्रतिनिधिका रूपमा पनि लिइन्छ। खड्गसिद्धिबाट शक्ति प्राप्त भई शत्रुमाथि विजय प्राप्त गर्नुका साथै आफ्नो मनोकांक्षासमेत पूरा हुने शास्त्रीय कथन छ। त्यसैले प्राचीन कालदेखि खड्गको विशेष पूजा र उपयोग हुँदै आएको छ। राजा-महाराजाहरू युद्धमा जाँदा, शुभकामना व्यक्त गर्दा र आशीर्वाद दिँदा समेत 'खड्गसद्धिरस्तु' वा 'खड्गसिद्धि जयकामनार्थ' भन्ने चलन छ। खड्गसिद्धि लिने परम्परा भगवान ब्रह्माबाट भएको बताइन्छ।
ब्रह्माजीले जगतको रक्षा तथा देवद्रोही असुरहरूको विनाशका लागि खड्गको उत्पत्ति गरी भगवान रूद्रलाई प्रदान गरेका थिए। भगवान रूद्रले पनि त्यो तेजस्वी खड्ग हातमा लिएर चतुर्भुज रूप धारण गरी सबै असुर तथा शत्रुहरूको विनाश गरेको उल्लेख छ। त्यसबाहेक धर्मपाल, चण्डी, रूद्रको प्रतीक अर्थात् जन्म-जन्मान्तरको शत्रुनाश गर्ने तत्वका रूपमा पनि लिइन्छ। खड्गको उत्पत्तिबारे महाभारतको शान्ति पर्वमा विस्तृत वर्णन गरिएको पाइन्छ।
हिन्दुशास्त्रको मान्यताअनुसार खड्गको उत्पत्ति अधर्म निवारण तथा शत्रुनाशका लागि भएको हो। बौद्ध धर्मग्रन्थमा खड्गको प्रयोग मञ्जुश्रीको समयदेखि भएको वर्णन पाइन्छ। यसरी खड्गबारे ऐतिहासिक हिन्दु तथा बौद्ध दुवै धर्मग्रन्थहरूमा उल्लेख भएका छन्।
प्रत्येक पाँच वर्षमा मखनतारणी बहाल सिंहदोबाटेमा भद्रकालीसँग र प्रत्येक बाह्र वर्षको एकपल्ट काष्ठमण्डपमा भूतिसःअगाडि (राष्ट्रप्रमुख) राजाको र पचली भैरवसँग खड्ग साट्ने दसैंको मौलिक परम्परा छ। विजया दशमीको रात यसरी खड्ग साट्नाले राज्य स्थिर भई शान्ति कायम हुन्छ भन्ने मान्यता छ।
राजा गुणकामदेवद्वारा काठमाडौं नगर व्यवस्थित गर्दा प्रतिस्थापित गणदेवताहरूमा पचलीलाई बिँड र म्हेपीलाई शिर पर्ने गरी मञ्जुश्रीले खड्गकार बनाएका थिए। चारैतिर स्थापित अष्टमातृकामध्ये भद्रकाली र पचली कडा पिठका रूपमा लिइने हुँदा यी दुईबाट विघ्न नपरोस् भनी राष्ट्रप्रमुखले खड्ग साटेर शक्ति स्थिर गर्नुपरेको कथन छ।
विक्रम सम्बत् २०५५ सालमा पचलीसँग स्वर्गवासी राजा वीरेन्द्र र २०६० सालको विजया दशमीमा तत्कालीन राजा ज्ञानेन्द्रले खड्गसिद्धि लिएका थिए।
खड्ग जात्रा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा मनाउने गरिन्छ। काठमाडौंका विविध ठाउँमा हिन्दु र बौद्धहरूको भिन्दाभिन्दै पायाःको चलन छ। काठमाडौंको असन र ठमेलमा मनाइने जात्राको विधि अन्तको भन्दा भिन्न छ। काठमाडौं वा भक्तपुर, हिन्दु वा बौद्ध सबैको जात्राको निचोड भने एउटै हो।
यसरी नेवारहरूले आ–आफ्नो आगम परम्परालाई अविच्छिन्न गतिशील तुल्याइरहेका छन्। त्यस्तै, तन्त्रअनुसार नेवारहरूले दसैंको अष्टमीका दिन आफ्नो आगममा खड्गसिद्धिको आराधना गरी विधिपूर्वक देवीको खड्ग स्थापना पनि गर्छन्।
पायाः जात्राको पौराणिक कथा
सत्ययुगमा महिषासुरले स्त्रीबाहेक कसैले पनि मार्न नसक्ने वरदान ब्रह्माजीबाट पाएका थिए। जति युद्ध गर्दा पनि देवगणले महिषासुरको वध गर्न नसकेपछि विष्णु, रूद्र र इन्द्रले आफ्ना शक्तियुक्त देवी स्थापना गरे। सुमधुर स्वर, सुन्दर शरीर र शालीन व्यवहारले युक्त महिषासुरलाई देखेर देवी आफैं मोहित भइन्। त्यही मोहनीले लठ्ठ भएकी देवीले दानवसँग युद्ध गर्न नसकेपछि मधु (मदिरा) को प्रयोग गरेर महिषासुरलाई पराजित गरिन् भन्ने विश्वास छ।
पौराणिक कथाअनुसार मधुपानपछि महिषासुरको वध गरेर क्रोधित भएकी देवीले हातमा खड्ग लिएर कोही बाँकी छन् कि भनेर असुर सेनाको खोजी गर्दै हिँडेकी थिइन्। यही कथाका आधारमा खड्ग चालन अर्थात् पायाः जात्रा सुरू गरिएको भनाइ छ। काठमाडौं र भक्तपुरमा मनाइने यो जात्राले ऐतिहासिकता प्रदर्शन गर्ने कोसिस गरेको देखिन्छ।
भक्तपुरमा पायाः जात्रा क्रममा तलेजु भवानीलाई नै नगर परिक्रमा गराउने चलन छ। दशमीको दिन नवदुर्गाले मूलचोकमा गएर तलेजु भवानीसँग सिद्धि प्राप्त गर्नुपर्छ। भक्तपुरमा यो जात्रा सांभुङ्ग (क्रोध) भैरवसम्म पुगेपछि नवदुर्गा गणले विदा माग्छन्। भक्तपुरमा बडादसैंको दिन मध्यरात मनाइने पायः जात्रा अर्थात् खड्ग जात्रामा तलेजु भवानीको साक्षात रूप मानिने पायःद्यो (देवी) लाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्याइन्छ। बडादसैंको साँझपख तलेजु आगम मन्दिरको ख कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरूप पाय द्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ।
खड्ग जात्रा क्रममा पाय द्योःलाई राजोपाध्यायले आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा छ। पाय द्योः दरबार स्क्वायरस्थित स्वर्णद्वार पुगेपछि पंक्तिबद्ध रूपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गरिन्छ। तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिपछि पाय द्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रापथमा अगाडि बढ्ने चलन छ। यसरी सांभुङ्ग भैरव पुगेपछि फेरि नवदुर्गा देवगणहरूले तलेजु भवानीलाई ढोग गरी विदा माग्छन्। अर्थात्, तलेज भवानीले नवदुर्गालाई शक्ति प्रदान गर्छिन् र नवदुर्गा देवगणले उनीसँग विदा माग्छन्।
चन्द्रवासका आधारमा नगरको माथिल्लो र तल्लो क्षेत्रमा पायाः जात्रा हुन्छ। ज्योतिष शास्त्रअनुसार कुनै कार्य गर्दा चन्द्रमा दाहिने वा सम्मुख हुनुपर्छ। यस कारण कुनै शुभकार्य वा यात्रा गर्दा चन्द्रवास हेरिन्छ। यदि चन्द्रमाको वास मेष, सिंह र धनुराशिमा भए पूर्व सम्मुख चन्द्र हुन्छ। कन्या, वृषभ र मकरमा दक्षिण चन्द्र हुन्छ। दक्षिण चन्द्र भनेको दाहिने चन्द्र हो। चन्द्रमाको वास पूर्व र दक्षिण भए तलेजु भवानीको यात्रा माथिल्लो क्षेत्रमा हुन्छ। त्यस्तै चन्द्रमाको वास तुला, कुम्भ र मिथुन— पश्चिम चन्द्रमाको वास, वृश्चिक, कर्क र मीन— उत्तर हुन्छ। चन्द्रमाको वास पश्चिम र उत्तर भए तल्लो क्षेत्रमा पायाः जात्रा गरिन्छ।
पायाःको विधि - सांभुङ्ग भैरव
आश्विन शुक्ल अष्टमीको दिन औपचारिक रूपमा पायाः जात्राको सुरूआत गरिन्छ। तलेजु भवानीलाई मूलचोक ल्याएपछि खड्गको विधिसम्मत पूजा गरी यो जात्राको औपचारिक सुरूआत गरिन्छ।
पञ्चोपचार विधिद्वारा अष्टमीको दिन द्यछेँमा नवदुर्गाको पूजा गरी सोही दिन पिठपूजा, अष्टभैरव, क्षेत्रपाल तथा गणेशको समेत पूजा गरिन्छ। नवदुर्गाको पूजापछि अष्टमीकै दिन खड्ग जात्रामा प्रयोग गरिने खड्गलाई शास्त्रीय विधिद्वारा पूजा गरिन्छ। अर्थात्, पायाःमा अष्टमीको रात तान्त्रिक विधिअनुसार कालरात्रि पूजा गरी भोगबलि चढाउने चलन छ।
नवमीको सबै विधि पूरा भएपछि त्यसै दिन आगमघरमा बलिदिने चलन छ। पायाःमा दशमीको दिन आगमघरमा देवीदेवताको पूजा तथा अन्य पूजा सबै तान्त्रिक विधिअनुसार गरिन्छ। दशमीको दिन शरीरमा देवदेवी गण प्रवेश गराएका मातृका गण बाहिर निस्कन्छन्। उनीहरूको हातमा खड्ग र ढाल हुन्छ। उनीहरूभन्दा अघिअघि एउटा बाटो पन्छाउने टोली हिँड्छ। त्यसको पछिपछि भूत पन्छाउने टोली निस्किएको हुन्छ। त्यसपछि कुभिन्डो समाउने टोली निस्कन्छ। देवदेवी गणले आफ्नै गणको पहिरन लगाएको हुन्छ।
पौराणिक कथाअनुसार यसरी देवगणले शरीरमा कम्पनका साथ राक्षस गणलाई खोज्दै हातमा खड्ग लिएर नगर परिक्रमा गर्छन्। हिन्दु धर्मावलम्बीले मनाउने पायाः यही रितले सम्पन्न गरिन्छ। अर्कातर्फ बौद्ध पायाःको विधि हिन्दुको भन्दा केही भिन्न छ। देवीले असुर सेनालाई भेटेर खड्गले प्रहार गर्न खोज्दा असुर सेना पहिले ढालमा लुकेको र त्यहाँ खड्गले प्रहार गरेपछि कुभिन्डोमा लुकेको हुन्छ।
त्यस्तै, मध्यपुर थिमिमा पनि विजया दशमीका दिन पाया: जात्रा मनाउने गरिन्छ। यो जात्रालाई शक्ति पूजन वा मल्लकालीन सेना दिवसका रूपमा पनि मनाउने गरिन्छ। थिमिको लायकुबाट सुरू हुने यस जात्रामा मल्लकालीन सैनिक पोसाक तथा मल्लकालीन हातहतियारसहित बालकुमारीदेखि दिगुटोलसम्म प्रदर्शन गरिन्छ। स्थानीय भाषामा 'खाँ पिहावइगु' वा 'भुइ फसि पालिगु' भन्ने यो जात्रालाई हतियार प्रदर्शन गर्ने जात्राका रूपमा पनि लिइन्छ।
पाया:को अर्थ हतियार हो, जसको पुष्टि 'पाया: तेयगु' (हतियारमा धार राख्ने) शब्दबाट हुन्छ। यसरी मल्लकालीन हतियार प्रदर्शन गरी बालकुमारी मन्दिर अगाडि राखिएको कुभिन्डो (भुइँ फर्सी) काट्ने गरिन्छ।