मेरा सहकर्मी दाइ दीक्षित भट्ट प्रविधि क्षेत्रका उद्यमी र 'आर्ट एन्ड डिजाइन' विषयका शिक्षक हुन्। केही वर्षअगाडि उनलाई ज्योतिषशास्त्र सिक्न रहर लाग्यो। सिक्दै जाँदा उनलाई अभ्यास गर्न मन लाग्यो।
सुरूमा उनले आफ्नो परिवार, आफन्त र साथीहरूको हात र चिना हेर्न थाले। पछिल्लो समय अलिअलि व्यावसायिक रूपमा उनी ज्योतिषको सूत्रमा आधारित रहेर विगत, वर्तमान र भविष्यको विश्लेषण गर्छन्।
उनी आफैं ज्योतिषशास्त्रलाई पूर्ण विश्वास गर्दैनन् तर यो अभ्यास गरिरहँदा उनलाई एउटा कुराले अचम्मित बनाएको छ — उनीसँग हात वा चिना देखाउन आउने करिब ९० प्रतिशत सेवाग्राही महिला छन्।
सेवाग्राहीसँगको अनुभव सुनाउँदै दीक्षित दाइ भन्छन्, 'अधिकांशलाई आफ्नो भविष्यको चिन्ता वा जिज्ञासा हुँदैन। उनीहरू त आफ्नो मनका पीडाहरू सुनाउन आउँछन्। कतिपय आफ्नो कुरा सुनाएपछि हल्का भयो भनेर जान्छन्। कतिपयलाई जवाफ पनि चाहिँदैन, सुनिदिए हुन्छ।'
सेवाग्राहीको कुरा सुन्दै गर्दा धेरैपटक दीक्षित दाइको आङ सिरिंग हुन्छ। उनीहरूका कतिपय कुराले उनलाई मर्माहत बनाउँछ।
ती क्षणहरू सम्झिँदै दीक्षित दाइ भन्छन्, 'हामीले कस्तो परिवार, समाज र संस्थाहरू बनायौं जहाँ एकले अर्काको कुरा राम्रोसँग सुन्दैन।'
उनलाई लाग्छ — उनीहरूको कति कुरा घरकै मानिसले सुनिदिए हुने हो नि! संस्थाको सुपरभाइजरले सुनिदिए हुने हो नि! यति पोख्ने ठाउँ पाए सायद उनीहरू आफूलाई शान्त राख्न सक्छन्। आफ्नो कुरा सुनाउन कतै भौंतारिनु पर्दैन। विचलित हुनु पर्दैन। आफ्नो कामलाई प्रभावकारी बनाउन सक्छन्।
दीक्षित दाइले आफ्ना सेवाग्राहीसँग जे अनुभव गरिरहेका छन्, उस्तै अनुभव धेरै परिवार, विद्यालय, कार्यालय र समाजमा नै देख्न सकिन्छ। भेटिने बित्तिकै सुनाउनेहरू धेरै भेटिन्छन्। अरूको कुरा ध्यान दिएर सुन्ने कमै भेटिन्छन्।
बाल्यकालदेखि वयस्क हुन्जेलसम्मका घटनाहरू याद गर्ने हो भने साँच्चिकै सुन्ने मानिसको नाम सम्झिन कठिन हुन्छ।
स्कुलमा सबै कक्षा 'सुनाउने कक्षा' भए। शिक्षक आउनुभयो। पाठसँग सम्बन्धित सिद्धान्त र उदाहरण सुनाउनुभयो। आफ्नो विचार दिनुभयो। त्यही सिद्धान्त र व्यवहारबारे प्रश्न गर्नुभयो। जवाफ सही भए स्याब्बासी दिनुभयो। गलत भए, कतिले सच्याइदिनुभयो, कतिले गाली गर्नुभयो, कतिले पिट्नुभयो। कलेज र विश्वविद्यालयमा यही क्रम जारी भयो।
शिक्षकले बोटको हाँगाबाट जमिनतर्फ स्याउ खसेको देख्दा आश्चर्यचकित बनेका आइज्याक न्युटन र त्यही सोचमा डुबेर गुरूत्वाकर्षण सम्बन्धी नियम पत्ता लगाएको कथा सुनाउनुभयो।
तर हामीलाई सोधेर सुन्नुभएन — न्युटनझैं तिमीलाई प्रकृतिको कुन लीलाले अचम्मित बनाएको छ?
शिक्षकले पानीको ऊर्ध्वचाप सम्बन्धी सिद्धान्त पत्ता लाएको क्षणमा 'युरेका' भनेर चिच्याउँदै नांगै गल्लीमा कुदेका आर्किमिडिजको कथा सुनाउनुभयो।
तर हामीलाई सोधेर सुन्नुभएन — आर्किमिडिजको जस्तै तिम्रो 'युरेका मोमेन्ट' केही छ? वा तिमीले सोचेको र पत्ता लाउन नसकेको केही कुरा छ?
मेरो परिवारमा एक कान्छो सदस्यका रूपमा आफ्नो कुरालाई महत्व दिएर आजसम्म पनि कसैले सुनेजस्तै लाग्दैन।
कतिपय पारिवारिक भेटघाट र कार्यक्रमहरूमा देखेको छु — भेट्नेबित्तिकै ठूलाहरू सानालाई उपदेश दिन थाल्छन्। ठूलाहरू सानाहरूको स्कुल, कलेज र परीक्षाको ग्रेडबारे सोध्छन्। अलिक उमेर बढेकालाई उनीहरूको पेसा-व्यवसाय र सेवा-सुविधाबारे सोध्छन्। त्यसपछि 'के सही र के गलत' शीर्षकमा प्रवचन दिन थाल्छन्। उनीहरूको 'कमजोरी' माथि मजाक उडाउँछन्। आफूभन्दा नयाँ सोच र मान्यता बोकेको नयाँ पुस्तालाई पुरानो सोच र मान्यता किन सही छ भन्दै उपदेश दिन्छन्।
काठमाडौंमा हुर्किएको मेरो भतिज काठमाडौंबाट आजित भएर एउटा गाउँमा गएर आफ्नो करिअर विस्तार गर्दैछ। पारिवारिक भेटघाटमा उसले अनेकौं उपदेश सुन्नुपर्छ — यति धेरै पढेको मान्छे 'गाउँ' जाने हो त! साथीहरू धमाधम विदेश गएका बेला गाउँमा हल्लिएर बसेर के हुन्छ! खुरूखुरू विदेशी भाषा सिक र बाहिर जाऊ। विदेश नजाने भए काठमाडौंमा आएर बस!
उपदेश दिनेहरूको कुरा सुन्दा लाग्छ — उनीहरूलाई शाश्वत सत्य थाहा छ र मेरो भतिजले महाभूल गरेको छ।
आफ्नो परिवार र आफन्तहरूको पारिवारिक भेटघाटमा ठूलाले सानालाई यस्ता प्रश्न सोधेर ध्यानपूर्वक सुनेको कतै देखेको छैन — आफ्नो अध्ययन वा करिअरमा खुसी छौ? जिन्दगीको अनुभवले आजसम्म तिमीलाई के के सिकाएको छ त? तिम्रा सपना र आकांक्षाहरू के के छन्? तिमीलाई कतै मद्दत चाहियो भने भन है! हामी तिम्रो साथमा छौं।
परिवारबाहिर समुदायमा हेरौं। बेला बेला विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छन्। कतिपय कार्यक्रम राजनीतिक-सामाजिक उद्देश्यका हुन्छन् भने कतिपय ज्ञान र सीप विकास गर्ने कार्यशालाहरू हुन्छन्। यस्ता कार्यक्रममा मन्च तयार गरिन्छ, 'विशिष्ट' अतिथिलाई बोलाइन्छ। पानसमा बत्ती बालिन्छ वा रिबन काट्न लगाइन्छ। आम सहभागीभन्दा वक्ताहरूलाई विशेष कुर्सीमा राखिन्छ। अनि तिनै वक्ताहरूलाई पोडियममा बोलाएर होस् वा प्यानल बनाएर, बोल्न लगाइन्छ। स्टेजबाट स्टेजमुनिका सहभागीलाई कुरा सुनाइन्छ।
'क्षमता' विकास गर्ने भनिएका कतिपय कार्यशाला यस्ता हुन्छन्, जुन सहभागीको कुरै नसुनी र पृष्ठभूमि र आवश्यकता नै नबुझी डिजाइन गरिएको हुन्छ। त्यसैले धेरै कार्यशालाहरूले अपेक्षित नतिजा दिन नसकेको हामीले देखेका छौं।
पूरै कुरा नसुनी वा नबुझी उपदेश दिन अगाडि सरिहाल्ने मानिसहरू देख्दा लाग्छ, उनीहरूले त्यही गरिरहेका छन् जुन उनीहरूले देखे, भोगे वा सिके।
म स्नातकोत्तर र स्नातक तहमा पठाउँछु। कक्षामा विद्यार्थीहरूको धारणा बुझ्न, कुनै सिद्धान्तका बहुआयामिक विषय केलाउन सामूहिक छलफल सञ्चालन गर्छु।
छलफलका बेला म देख्छु — एकले अर्कोको कुरा सुन्नै सक्दैनन्। एउटा समूहले आफ्नो कुरा प्रस्तुत गरेको बेला अर्को समूहले ध्यान दिएर सुन्दैन।
एकदिन कक्षामा मेले सोधेँ, 'किन अरूको कुरा सुन्न गाह्रो हुन्छ?'
उनीहरूले जवाफ दिए, 'सुन्दा सुन्दै डिस्ट्राक्सन हुन्छ। अल्छी लाग्छ। एक-दुई वाक्य सुन्नेबित्तिकै 'जज' गर्न सुरू गरिन्छ, त्यसपछि सुन्नै मन लाग्दैन।'
विद्यार्थीहरूले भनेजस्तै सुन्न पनि गाह्रो छ। सुन्नलाई धैर्य चाहिन्छ। समानुभूति चाहिन्छ। आफूभन्दा फरक विचार सुन्नेबित्तिकै हामीलाई रिस उठ्न सक्छ। कसैको एउटा विचार सुन्दा सुन्दै आफ्नो मनमा अरू विचार आउन सक्छ। कसैको कुरा पूरा सुन्न 'फोकस' चाहिन्छ। ध्यान चाहिन्छ। अनि मुख्य कुरा, जसले कुनै कुरा भनिरहेको हो, उसको अनुभव, विचार र भाव पनि महत्वपूर्ण छ भन्ने विश्वास चाहिन्छ।
एकअर्कालाई राम्रोसँग सुने मात्र कति कुराहरू आफैं समाधान हुन्छन्। हामी राम्रोसँग नसुनीकन समाधान दिन थाल्छौं। कुरा नबुझी कति तालिम दिइहाल्छौं।
म 'टिच फर नेपाल' को फेलोसिपमा आबद्ध हुँदा एकपटक व्यवस्थापन समूह र फेलो शिक्षकहरूबीच असमझदारी पैदा भएको थियो। एक पक्षले अर्को पक्षको कुरा सुन्न सकिरहेको थिएन। भुइँ तहमा खटिने फेलोहरू निकै असन्तुष्ट थिए। यही क्रममा व्यवस्थापन पक्षले एउटा संवाद सुरू गर्यो। त्यस्तो संवादलाई 'फिस बाउल' भनिने रहेछ।
एक जना मध्यस्थकर्ताले दुवै पक्षलाई पालैपालो एक अर्काको कुरा सुन्न लाउने रहेछन्। एउटा पक्षले वृत्तको भित्र बसेर आफ्नो कुरा सुनाइरहँदा अर्को पक्ष वृत्तबाहिर बसेर सुनिरहन्छ। एउटा पक्षले बोलिरहँदा अर्को पक्षले केही प्रतिक्रिया देखाउँदैन। कुनै स्पष्टीकरण दिँदैन। केवल अर्को पक्षको कुरा सुनिरहन्छ।
यस संवादको सुरूमा भनिएको थियो — लिसन टु अन्डरस्ट्यान्ड, नट टु रेस्पोन्ड (प्रतिक्रिया दिनलाई होइन, बुझ्नका लागि सुन)।
आफ्नो कुरा खुलेर बोल्ने र अरूको कुरा कुनै प्रतिक्रिया नदिई ध्यान दिएर सुन्ने यस संवादको नतिजा अकल्पनीय थियो।
आफ्नो असन्तुष्टि पोख्ने क्रममा मैले व्यवस्थापनसँग चिढिँदै भनेको थिएँ, 'हामी पनि मान्छे हौं। व्यवस्थापनले हामीलाई मान्छे जस्तो व्यवहार गरेन। मेसिनजस्तो व्यवहार गर्यो।'
मैले रिसको झोंकमा यो कुरा भन्दा पनि कसैले मलाई प्रतिक्रिया दिइरहेको थिएन।
मलाई यस्तो लाग्यो — मैले जसलाई लक्षित गरेर यो कुरा भनेको छु, उनीहरूले मलाई ध्यानपूर्वक सुनिरहेका छन्।
संवादको क्रममा थाहा भयो — हामीलाई व्यवस्थापन गर्नेहरू पनि मानिस थिए। हामीजस्तै उनीहरूका सामर्थ्य र सीमितताहरू थिए।
त्यो संवादले समानुभूति पैदा गर्न सहयोग गर्यो।
त्यो संवादपछि एक किसिमको तिक्ततापूर्ण सम्बन्ध निर्माण हुँदै गरेको म र मेरो सुपरभाइजरले एकअर्कालाई अँगालो हालेका थियौं। एकअर्काको संवेदनाहरू बुझ्न सकेका थियौं। यस पूर्ण सुनाइले हाम्रो सम्बन्ध सङ्ग्लियो। यसबाट कामको प्रभावकारिता बढेको अनुभव छ।
एक वर्षको 'नारी दिवस' मा म अर्को फिस बाउलमा सहभागी हुने मौका पाएको थिएँ। यसमा महिला र पुरूषले छुट्टाछुट्टै वृत्तमा बसेर एकअर्काको अनुभव र अनुभूति सुनाएका थियौं।
त्यस दिन लागेको थियो — मैले आमा, दिदी, भाउजू र परिवारका अन्य महिला सदस्यको कुरा कहिल्यै ध्यान दिएर सुनेको रहेनछु। त्यस दिन मेरा कतिपय पूर्वाग्रहहरू हल्लिएका थिए।
फिस बाउल संवादमा एकले अर्कोलाई ध्यान दिएर सुन्छ। बोलिरहेको वाक्य पूरा सुन्छ। वाक्यहरूबीचको मौनता पनि सुन्छ। कोही रोयो भने नरोऊ भन्दै सम्झाउन थाल्दैन। पूर्णतः रून दिन्छ। वाक्य संरचना मिलाएर बोल्न नजान्नेलाई पनि सुन्छ।
यस्तो संवाद कुनै कार्यशालामा सीमित नभएर हाम्रो संरचना र व्यवहारको हिस्सा हुनुपर्छ। कसैलाई ध्यान दिएर सुन्नु लोकतान्त्रिक प्रणालीको एक महत्वपूर्ण अभ्यास हो।
परिवारका सदस्यको कुरा ध्यान दिएर सुन्यो भने उनीहरूलाई बुझिन्छ। उनीहरू कस्तो शारीरिक, मानसिक र सामाजिक अवस्थाबाट गुज्रिरहेका छन्, थाहा हुन्छ। उनीहरूलाई बेलैमा सहयोग गर्न सकिन्छ।
सार्वजनिक सेवा कसरी सुधार गर्ने कुरा सेवाग्राहीको अनुभव सुन्यो भने थाहा हुन्छ। सेवाग्राहीहरू नै ठूला विज्ञहरू हुन्। उनीहरूलाई थाहा हुन्छ के गर्नुपर्छ, के गर्नु हुँदैन।
जस्तैः शिक्षामन्त्रीले विद्यार्थी, शिक्षक, अभिभावक सबैको कुरा सुन्नुपर्छ। स्वास्थ्यमन्त्रीले बिरामी, बिरामी कुरूवा, चिकित्सक, नर्स सबैको आवाज सुन्नुपर्छ।
राम्रोसँग सुनेपछि म मात्र 'सर्वज्ञ' होइन, अरूसँग पनि ज्ञान छ भन्ने थाहा हुन्छ। राम्रोसँग सुनेपछि बुझिन्छ। बुझेपछि योजना बनाउन, सहयोग गर्न सकिन्छ।
लोकतन्त्र सुदृढ गर्ने र शान्तिपूर्ण वातावरण निर्माण गर्ने हो भने एकअर्कालाई राम्रोसँग सुन्ने संस्कार विद्यालयदेखि नै अभ्यास गराउनु आवश्यक छ। अनि हरेक तह तप्कामा यसको अभ्यास हुन जरूरी छ। हरेक ठाउँको नेतृत्वले यसको सुरूआत गर्ने कि?
ट्विटरः @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)