गीतसंगीत मूलतः मनोरन्जनको साधन हो। माया पिरती, सुखदुःख, पीडावेदना पोख्ने वा अभिव्यक्त गर्ने सशक्त माध्यम पनि हो। तर कतिपय सांगीतिक सिर्जनाहरू परिवर्तनका संवाहक पनि बन्न सक्छन्। इतिहासमा त्यस्ता कालजयी धुनहरू धेरै छन् जसले नयाँ इतिहास बनाउन, पीडितलाई मुक्ति दिन ठूलो योगदान गरेका छन्।
सांगीतिक प्रस्तुतिको ठूलो शक्ति हुन्छ। राजनेताले हजारौंपटक चर्को स्वरमा भाषण ठोकेभन्दा एउटा मात्रै प्रभावकारी गीतले पनि समाजमा धेरै गहिरो प्रभाव पार्न सक्छ।
जस्तो, बंगाली कवि तथा उपन्यासकार बंकिम चन्द्र चटर्जीको सन् १८८२ मा प्रकासित 'वंदे मातरम' (मातृभूमिको प्रशंसा) कविता अन्ततः भारतीय स्वतन्त्रता संग्रामको मूलगीत (एन्थम) नै बन्यो। अंग्रेज भगाऊ आन्दोलनमा लाखौंलाई पंक्तिबद्ध बनाउन अहम भूमिका खेल्यो। त्यो गीत अन्ततः यति प्रसिद्ध र शक्तिशाली बन्यो कि सन् १९५० मा स्वतन्त्र भारतको संविधान सभाले यसलाई राष्ट्रिय गीतको रूपमा सम्मान गर्यो।
त्यस्तै, बब मार्लीको 'स्ट्यान्ड अप फर योर राइट' (तिम्रो अधिकारका लागि उठ) बोलको गीत सन् १९७३ सालमा रिलिज भएदेखि नै अमेरिका, युके, युरोप लगायत उत्पीडित काला जातिले आफ्नो संघर्षको प्रमुख आवाजका रूपमा प्रयोग गर्दै आएका छन्। त्यस्तै बब डिलनको सन् १९६४ को 'चाइम्स अफ फ्रिडम' (स्वतन्त्रताका आवाजहरू) पनि कुनै बेला अमेरिकामा निक्कै शक्तिशाली स्वर थियो। हाम्रै देशको जनयुद्धमा जीवन शर्माको 'सिमली छायामा बसी, भरिया लामो सास फेरेको' र रामेश र रायनको 'गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ' (जुन १७ भाषामा उल्था भएको छ) जस्ता गीतहरूले ठूलो भूमिका खेले। हजारौं उत्पीडित जनलाई मुक्ति संग्राममा पंक्तिबद्ध हुन प्रेरित गरे।
समाजका जातीय, लिंगीय, वर्गीय, क्षेत्रीय विभेदविरूद्ध नेपालका अन्य गायक, कलाकारहरूले पनि कुनै न कुनै रूपमा आवाज बुलन्द गर्ने प्रयास गर्दै आएका छन्। यस क्षेत्रमा गायक तथा नायक यस कुमार चर्चित नाम हो। त्यस्तै लोक-गायक राजु परियार र कृष्ण परियारले गाएको गीत 'रूमाल धोको छु', राजुकै 'सुनपानीले छर्क मायालु' जस्ता गीत अति क्रान्तिकारी छन्।
'रूमाल धोको छु' को बोलले जातीय विभेदको कडा निन्दा गर्दै पीडकलाई भन्छ – दलितले सास फेरेको हावामा सास नफेर, दलितले छोएको खोलाको पानी नखाऊ, दलितले सिएको लुगा फुकाएर पात मात्रै लगाऊ!
पछिल्लो समय लोक गीत-संगीतमा सर्वाधिक रूचाइएका बागलुङे कलाकार प्रकाश सपूतले पनि आफूलाई 'प्रोटेस्ट सिंगर' का रूपमा उभ्याउने जमर्को गर्दै छन्। सामाजिक न्यायका खातिर आवाज उठाउँदै छन् जसले उनलाई नाम र दाम दुवै मिलेको छ।
जातकै कारण सांगीतिक क्षेत्रमा फस्टाउन नसकिएला कि भन्ने स्वाभाविक डरले आफ्नो विश्वकर्मा थर नलेखी निरन्तर प्रगतिपथमा अगाडि बढेका सपूतले आज आएर जातीय, लैंगिक विभेदविरूद्ध कला प्रस्तुत गर्नु आफैंमा स्वागतयोग्य कदम हो। धेरैले यसरी नै बुझेका छन्।
तर उनका कतिपय पछिल्ला गीतहरूले जानी-नजानी समाज रूपान्तरणको मुद्दालाई फाइदाभन्दा बढी हानि गरिरहेको महसुस हुन्छ।
व्यक्तिगत रूपमा म पनि लोक संगीतको पारखी हुँ। र, सपूतको फ्यान पनि।
तर केही समयअघिको उनको 'सकम्बरी' गीत सुन्नै सकिनँ। त्यसमा स्वर र भाका उत्कृष्ट छन्, तर शब्द र दृश्यले मेरो परिवर्तनकारी, समानतावादी चेतलाई नराम्ररी घोच्छ। सायद धेरै दर्शक-श्रोतालाई पनि यस्तै हुन्छ होला। किनकि त्यस गीतले नारी मुक्तिको आवाज बुलन्द गर्नुको सट्टा पीडित नारीलाई नै दोषी करार गरेको छ।
सकम्बरीमा महिलालाई अत्यन्तै निर्मम तरिकाले केरकार गरिएको छ। महिलाको योग्यता, क्षमता, स्वतन्त्रता र इमानदारिता माथि प्रश्नै प्रश्न उठाइएको छ। नारी अस्मितामाथि अघोर शंका गरिएको छ।
'तिम्रो झुम्का कल्ले किन्दियो, तिम्रो फुली कल्ले किन्दियो, तिम्रो रातो स्कुटी कल्ले किन्दियो' भन्दै अपमान गरिएको छ। अन्ततिर नारीलाई आफ्नो गल्ती महसुस गर्न, बाटो बिराएको 'कन्फेस' गर्न लगाइएको छ।
यस्तो पनि लैंगिक विभेदविरूद्धको आवाज हुन्छ र?
प्रश्न उठ्छ – के गाउँबाट सहर झरेका सबै महिला ज्यान बेचेर बाँच्छन्? वेश्यावृत्ति गरेर मात्रै सफल हुन्छन्? के नैतिक र इमानदार कामबाट कोही महिला माथि उठेकै छैनन् त?
सपूतले सहर छिरेका महिलालाई राम्रो गरेर खाऊ, शरीर व्यापार नगर भनेर सम्झाउन खोजेका हुन् भने पनि तरिका पटक्कै मिलेन। गीतमा गायक तथा सर्जक प्रकाश सपूतको चरम महिला विरोधी, परम्परावादी, पितृसत्तावादी सोच र दृष्टिकोण छताछुल्ल भएको छ।
वेश्यावृत्तिकै कुरा गर्ने हो भने पनि यसमा दोषी नारी मात्र हुँदैनन्। पुरूष पनि उत्तिकै दोषी छन्। देह-व्यापार महिला र पुरूष दुवैको संलग्नतामा हुन्छ। कतिपय गरिब महिलाहरू जबर्जस्ती देह-व्यापारमा लगाइएका पनि हुन्छन्। मानव बेचविखन रोकिएको छैन। फेरि जमाना बदलिँदै गएको छ। काठमाडौं जस्ता ठूला सहरमा पुरूष वेश्या (जिगोलो) को संख्या पनि बढ्दै गएको छ। यो सत्य सपूतले खोइ उजागर गरेको?
देशव्यापी रूपमा महिलाहरू ठूलो अन्याय र अत्याचारमा परेका छन्। दाइजोको समस्या खासगरी तराईमा चर्को छ। यौनहिंसा सर्वव्यापी छ। महिलाको बलात्कार र हत्या भइरहेको छ। तर सितिमिति राज्यले नारीको अधिकार सुरक्षित नै गर्दैन। यस्तो विकराल स्थितिमा उल्टो नारीकै मानमर्दन गर्नु उपयुक्त हुन्छ? सपूतले साँच्चै पीडितको न्याय चाहेको हो भने यतातिर आक्रोश खोइ?
सपूतले आफ्नो पछिल्लो सिर्जना 'दमाई महाराज' मा पनि यस्तै गल्ती गरेका छन्। सर्वप्रथम त गीतको शीर्षक नै उराठलाग्दो छ। भारतका धेरै धार्मिक महाराजहरू ठगीधन्दा र बलात्कार केसमा जेल परेका बेला झन् शूद्र थरको महाराजले सन्देश दिएको कति नसुहाएको!
फेरि आफ्नै जात अनुसार 'कामी महाराज' किन भनेनन् होला? आजसम्म त्यस्तो सर्वस्वीकृत दमाई धर्मगुरू कहीँ कतै सुनेको छैन। जानीनजानी बाहुनको नक्कल गर्दै दमाईकै घरमा पुरेत्याइँ गर्नेहरू त एकाध छन्। तर गुरू छैनन्, हुन सक्दैनन्। यस्तो गीत बनाएर सपूतले दमाई जातिको सम्मान गरेका हुन् या व्यंग्य? बुझ्नै कठिन छ।
यो गीतमा सपूतले साना बच्चालाई ललिपप दिएर फकाए जस्तै 'हल हल हल' भन्दै फकाएका छन्। जातीय घृणा, अपमान र हिंसाविरूद्ध उठ, जाग भन्ने भाव कतै छैन। उल्टो, हल हल, मन बुझाऊ, धर्मगुरूको भक्तिमा मन लगाऊ, पूजापाठ गर, पण्डितको वजन जोखेर अन्नदान गर भन्ने सन्देश छ। तिम्रो पीडा कर्मको फल हो पनि भनिएको छ। यसरी यस गीतमा सपूतको विचार पुरै पुरातनपन्थी, ब्राह्मणवादी देखिन्छ।
धर्मशास्त्र, वेदपुराणमा जातीय विभेद र छुवाछुत नै छैन भन्ने भारतीय र नेपाली कट्टरपन्थी ब्राम्हणहरूले जिकिर गर्दै आएका छन्। यो ठूलो भ्रमजाल हो, झुट हो। यसरी उनीहरूले सोझासिधा जनताको आखामा धूलो छर्दै आएका छन्। जब कि मनुस्मृति र परासरस्मृतिकै आधारमा हाम्रो समाज चलेको छ र दलितमाथि चरम थिचोमिचो हुँदै आएको छ।
दुःखको कुरा, त्यहफ ब्राह्मणवादी भ्रम र झुट 'दमाई महाराज' ले फैलाएको छ। देवीदेउता रिसाउँछन्, कुल बिग्रिन्छ भन्ने मान्यताका कारण नै जति पैसा र इज्जत कमाए पनि सपूत आफैं काठेखोला गाउका साथीसंगीको घरभित्र पस्न पाउँदैनन्, बागलुङ जिल्लाका अधिकांश मन्दिरमा छिर्न पाउँदैनन्। धार्मिक विश्वासकै कारण सायद दमाई, गाइनेहरू सपूतकै घरमा पनि पस्न पाउँदैनन्। यस अर्थमा दलित मुक्ति आन्दोलनका दृष्टिले सपूतको गीत सरासर गलत छ, घातक छ।
सफल गायक, नायक बन्नु एउटा कुरा हो। समाजशास्त्र गहिरोसँग अध्ययन गर्नु, बुझ्नु अर्कै कुरा हो। यसै पनि ब्राह्मणवादी शिक्षा र राजनीतिका कारण कुन चामल, कुन बियाँ छुट्ट्याउनै गाह्रो पर्छ। कसैले आफूलाई हौस्याएको हो कि होच्याएको हो भन्ने पीडितले थाहा पाउनै मुस्किल पर्न सक्छ। किनकि जात व्यवस्था ठूलो भ्रमजालमा अडेको छ। झुटै झुटको मलजलले सबल बनेको छ।
प्रकाश सपूत र उनी जस्ता अन्य कलाकारहरूले पनि आफ्नो सिर्जना उत्कृष्ट र भाइरल बनाउने होडमा जे पायो त्यही गर्नु हुँदैन। कि त उही माया-पिरतीकै गीतमा गाउनु, नाच्नु, रमाउनु। तर जातीय, लिंगीय, क्षेत्रीय, धार्मिक जस्ता संवेदनशील विषयहरू छुनुअगाडि केही गहिरो अध्ययन, चिन्तन गर्नुपर्छ। हर पक्षबाट सोचविचार गर्नुपर्छ।
कुनै विषय आफूले नबुझे बुझ्ने विज्ञहरूसँग परामर्श लिन पनि अप्ठ्यारो मान्नु हुँदैन। नत्र सामाजिक परिवर्तनको मुद्दा उठाउन खोज्दा परिवर्तनकै खिलाफमा उभिएको ठहर्छ। त्यही होस नपुर्याउँदा 'सकम्बरी' र 'दमाई महाराज' लैंगिक र जातीय मुक्तिको 'एन्थम' बन्नुको साटो परिवर्तन विरोधी र पुरातनपन्थी आवाजहरू बनेका छन्।
ट्विटर- @MitraPariyar
(लेखक डा. मित्र परियार समाजशास्त्री तथा दलित अभियन्ता हुन्।)